Comments Add Comment

नयाँ डेपुटी गभर्नर बन्न कांग्रेस र एमालेवीच हानाथाप

पुष्प दुलाल
१२ पुस, काठमाडौं । बिहीबारदेखि राष्ट्र बैंकका बरिष्ठ र कनिष्ठ दुबै डेपुटी गभर्नरको पद रिक्त भएको छ । डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि रिक्त भएको पदमा नयाँ नियुक्तिको तयारी भइरहेको छ ।
Nrb
अर्थमन्त्री र गभर्नरबीच कसलाई नयाँ डेपुटी गभर्नर बनाउने भन्ने ‘भद्र सहमति’ बन्न नसक्दा गभर्नरले नयाँ डेपुटी गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न ढिलाइ गरेका छन् । डेपुटी गभर्नर नहुँदा गभर्नरलाई कामको बोझ थपिएको छ ।

राष्ट्र बैंककै कार्यकारी निर्देशकहरुमध्येबाट नयाँ डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ । राष्ट्र बैंकमा अहिले १६ जना कार्यकारी निर्देशक छन् ।

कानूनतः नयाँ डेपुटी गभर्नरका लागि सबै कार्यकारी निर्देशकहरुको योग्यता बराबर भए पनि राजनीतिक समीकरण र शक्ति सन्तुलनका आधारमा आधा दर्जनको सम्भावना बलियो देखिन्छ ।

सरकारको नेतृत्व एमालेले गरिरहेको छ । एमालेकै अर्थमन्त्री छन् । त्यसैले एकजना डेपुटी गभर्नर एमालेको कोटाबाट बन्ने निश्चित छ । तर, अर्थमन्त्री पौडेल दुबै एमालेनिकटलाई डेपुटी गभर्नर बनाउने मनस्थितिमा छन् । उता कांग्रेसनिकट गभर्नर चाहिँ आफूनिकटलाई डेपुटी गभर्नर बनाउन चाहन्छन् । त्यसैले अर्थमन्त्री र गभर्नरबीच अहिलेसम्म सहमति हुन नसकेको हो ।

सरकारले दुईवटै पदमा एमालेलाई नियुक्ति गर्ने सुइँको पाएका गभर्नरले एकजना एमाले र तीनजना कांग्रेस निकटको नाम सिफारिस गर्ने मनस्थितिमा रहेको स्रोतको दाबी छ । दाबेदारको पछिल्लो सूचीमा सत्ता साझेदार एमाओवादीका पनि एकजना उमेद्वार छन् ।

डेपुटी गभर्नर राजनीतिक नियुक्तिको पद भएकाले बढुवाजस्तो बरिष्ठताका आधारमा हुँदैन । शक्ति सन्तुलन, राजनीतिक पहुँच र राष्ट्र बैंकभित्रको माहोललाई आधार मानेर अनलाइनखबरले तयार पारेको रिपोर्ट:

चिन्तामणि शिवाकोटी

नयाँ डेपुटी गभर्नर पदका लागि सशक्त दाबेदार हुन- १२ औं बरियताका कार्यकारी निर्देशक चिन्तामणि शिवाकोटी । लामो समयदेखि एमालेमा सक्रिय शिवाकोटी संस्थापन पक्षसँग निकट मानिन्छन् ।

Cintamani-Siwakotiएमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग शिवाकोटी निकट रहेको बताइन्छ । प्रधानमन्त्रीसँगको उनको भौगोलिक, बैचारिक र व्यक्तिगत निकटता छ । उनीहरु दुबै तेह्रथुमको आठराइबाटबाट बसाईँ सरेर तराई झरेका हुन् ।

शिवाकोटीको स्थायी घर पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निर्वाचन क्षेत्रमा पर्ने मोरङको अमरदह हो ।

डेपुटी गभर्नर मन्त्रिपरिषदले नियुक्ति गर्ने भएकाले अर्थमन्त्रीले प्रस्ताव गर्दा प्रधानमन्त्रीले शिवाकोटीको नाममा अडान लिनसक्ने स्रोतहरुको भनाइ छ । प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीले चाहेको कुरा मन्त्रिपरिषदबाट निर्णय गराउन सक्छन् । यसअघिका प्रधानमन्त्री सुशील कोइरालाले अडान लिएर डा. चिरञ्जीबी नेपाललाई गभर्नर बनाएका थिए ।

राजनीतिक नियुक्ति भएकाले राजनीतिमा योगदान दिएकै व्यक्तिलाई प्राथमिकता दिइयो भने शिवाकोटी नै एमालेको कोटाबाट नयाँ डेपुटी गभर्नर बन्ने चर्चा छ ।

शिवाकोटी विद्यालय पढ्दादेखि नै बामपन्थी आन्दोलनमा सक्रिय छन् । १० कक्षा पढ्दा उनी अनेरास्ववियुको स्कुल कमिटी अध्यक्ष भएका थिए । त्यसछि नेपाल कमर्श क्याम्पस मिनभवन पढ्दा ०४३ सालमा अनेरास्ववियुका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सह-सचिवमा निर्वाचित भएका थिए । ०४४ मा राष्ट्र बैंक प्रवेश गरेपछि पनि शिवाकोटी बामपन्थी संगठनमै संगठित भएर सक्रिय भए । त्यसबेला राष्ट्र बैंकमा बामपन्थी कर्मचारीको नेतृत्व दीपेन्द्रबहादुर क्षेत्रीले गरेका थिए । शिवाकोटी क्षेत्रीले नेतृत्व गरेको कमिटीका सहसचिव भएर काम गरे । क्षेत्री गभर्नर भएर रिटायर्ड भइसेका छन् ।

वि.सं. ०२२ साल साउन ६ गते तेह्रथुमको आठराईमा जन्मिएका शिवाकोटी ०४४ साल चैत ७ गते राष्ट्र बैंकको नोकरीमा प्रवेस गरेका हुन् । शिवाकोटीभन्दा तीन तीन वर्षअघि अर्थात् ०४१ साल चैतमा राष्ट्र बैंकको जागिरमा प्रवेस गरेका डा. युवराज खतिवडा गभर्नर भएर रिटायर्ड भइसके । झापा स्थायी घर भएका खतिवडालाई ओलीले योजना आयोगको उपाध्यक्ष बनाएका छन् ।

जागिरे जीबनमा आन्तरिक लिखित प्रतिस्पर्धामा हरेकपटक भिडेरै बढुबा पाएका शिवाकोटी ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । डेपुटी गभर्नर नभएमा उनलेे ०७४ चैत ६ गते अवकाश पाउँछन् ।

नेपालबाटै कानूनमा एलएलबी, बिजनेस प्रसासनमा एमए, अर्थशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरेका शिवाकोटी ०६१ मा अमेरिकाबाट फिस्कल र मनिटसिर पोलिसीलाई मुख्य विषय बनाएर ‘विशिष्ठ श्रेणी’मा फाइनान्सियल म्यानेजमेन्टमा एमबीए गरेका छन् ।

शिवनाथ पाण्डे

नयाँ डेपुटी गभर्नर पदका लागि शिवाकोटीजस्तै अर्का सशक्त दाबेदार हुन् १६ औं बरियताका कार्यकारी निर्देशक शिवनाथ पाण्डे । पाण्डेले काम गरेरै गभर्नर डा. नेपालको मन जितेको राष्ट्र बैंकभित्र ठूलो चर्चा छ । गभर्नरले पाण्डेलाई बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मा दिएका छन् । यो विभाग राष्ट्र बैंकभित्रको सबैभन्दा संवेदनशील र शक्तिशाली विभाग भएकाले गभर्नरले आफ्ना विश्वासपात्रलाई जिम्मा लगाउने चलन छ ।

Shivanath-pandeyगभर्नरसँग राजनीतिक बिचारधारा पनि मिल्ने भएकाले पाण्डेका नाममा गभर्नरले अडाल लिनसक्ने आँकलन गरिएको छ । पाण्डे ०२० असोज २७ गते स्याङजाको दीर्घा अर्घले गाउँमा कांग्रेस परिवारमा जन्मिएका हुन् ।

एमाले वृत्तमा पनि पाण्डेको निकै राम्रो पकड छ । राष्ट्र बैंकभित्रका एमालेहरु नै सकेसम्म दुईवटै डेपुटी गभर्नर एमालेले राख्नुपर्ने अडान राख्दै आएका छन् । कांग्रेसलाई नै दिन परे पाण्डेलाई बनाउँदा हुन्छ भन्ने उनीहरुको धारणा छ ।

राष्ट्र बैंकका १६ जना कार्यकारी निर्देशकमध्ये एकमात्र चाटर्ड एकाउन्टेन्ड हुन् पाण्डे । राष्ट्र बैंकमा चाडर्ट उकाउन्टेन्टलाई डेपुटी गभर्नर बनाउँदै आएको इतिहास (जस्तै, महाप्रसाद अधिकारी, बिरबिक्रम रायमाझी, हिरण्यलाल प्रधान)ले पनि उनको सम्भावना बलियो देखिएको हो ।

डा. युवराज खतिवडाले १४औं बरियतामा रहेका चाटर्ड एकाउन्टेन्ट अधिकारीलाई डेपुटी गभर्नर बनाएर ठूलो भूमिका दिएका थिए । पाण्डे डेपुटी गभर्नर भए भने महाप्रसाद अधिकारीको भूमिकामा रहने विश्लेषण गरिएको छ ।

नेपालबाट ०४६ सालमा कमर्शमा बिकम गरेका पाण्डेले ०५४ मा भारतबाट चाटर्ड एकाउन्टेन्ट पूरा गरेका छन् । अडिटिङ अत्यन्तै प्राविधिक विषय हो ।

एकैचोटि गभर्नर भएर राष्ट्र बैंक छिरेका डा. नेपाललाई राष्ट्र बैंकभित्रको आन्तरिक संरचना र प्राविधिकपक्षमा ज्ञानको कमी छ । यसले गर्दा पनि उनले आफूसँग बिचारसमेत मिल्ने चाटर्ड एकाउन्टेन्ट पाण्डेलाई आफ्नो सहयोगी बनाउन चाहेको गभर्नरनिकटहरु बताउँछन् ।

एकजना अर्थमन्त्रीको र एकजना गभर्नरको कोटाबाट नयाँ डेपुटी गभर्नर हुन्छन् । पाण्डे गभर्नरको कोटाबाट डेपुटी गभर्नर बन्ने पहिलो दाबेदार हुन् ।

राष्ट्र बैंकमा ०४२ साल बैशाख ३ गते नोकरी सुरु गरेका पाण्डे ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । डेपुटी गभर्नर नभए उनले ०७३ साल पुस ३ गते अवकाश पाउँछन् ।

पाण्डेसँग कृषि सामाग्री संस्थान र नेपाल सरकारबीचको फरफारक र पेट्रलियमसँग सम्बन्धित भानु आयोगमा बसेर काम गरेको अनुभव छ । त्यस्तै, लुम्बीनी बैंक सुधार गर्न राष्ट्र बैंकले पठाएको टोलीको सदस्यकारुपमा साढे २ वर्ष र एक वर्ष एनसीसी बैंकको व्यवस्थापनको संयोजक भएर सुधारका काम गरेको अनुभव पनि छ । निजीकरणसम्बन्धी सरकारका विविभन्न प्राजेक्टमा काम गरेका पाण्डेलाई करको विषेशज्ञकारुपमा चिनिन्छन् ।

त्रिलोचन पंगेनी

तेस्रो बरियतामा रहेका पंगेनी नयाँ डेपुटी गभर्नरका लागि अर्का शक्तिशाली दाबेदार हुन् । कांग्रेसनिकट मानिएका पंगेनीको गभर्नर डा. नेपालसँग राम्रो निकटता छ । त्यसैले पंगेनीलाई गभर्नरले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सुम्पिएका छन् ।

Trilochan-Pangeniराजनीतिकरुपमा उनी डेमोक्र्याट हुन् । पंगेनीले कांग्रेस र एमाले दुबैलाई कन्भिन गरेको चर्चा पनि चलेको छ । पंगेनीको अर्थमन्त्री विष्णु पौडेलसँग पनि पारिवारिक सम्बन्ध भएको बताइन्छ । गभर्नर र अर्थमन्त्री दुबैको नजिक भएकाले उनी डेपुटी गभर्नर बन्ने बलियो सम्भावना देखिन्छ ।

०१६ साल बैशाख ११ गते जन्मिएका पंगेनी ०४४ फागुन ५ गते राष्ट्र बैंकमा नोकरी सुरु गरेका थिए । ०६७ असोज ६ गते कार्यकारी निर्देशकमा बढुवा भएका पंगेनी डेपुटी गभर्नर भएनन भने ०७४ बैशाख ११ गते सेवाबाट अवकाश पाउँछन् ।
देशबाटै ०३९ सालमा भूगोलमा एमए गरेका पंगेनीले ०६३ मा अमेरिकाबाट अर्थशास्त्रमा एमए गरेका छन् । उनीसँग बैंकिङ ट्रेनिङ, आन्तरिक लेखा, गभर्नरको कार्यालयलगायतमा काम गरेको अनुभव छ ।

भीष्म ढुंगाना

११ औं बरियताका ढुंगाना नयाँ डेपुटी गभर्नरका शक्तिशाली दाबेदारमध्येका एक हुन् । पहिलेदेखि बामपन्थी अभियानमा सक्रिय ढुंगानालाई यसअघिका गभर्नर डा. युवराज खतिवडाले राष्ट्र बैंकभित्र निकै मन पराएका थिए । अहिलेका गभर्नर डा. नेपालले पनि उनलाई मन पराएको बताइन्छ ।

Bhisma-Raj-Djunganaमोरङको लेटाङमा ०१९ सााल माघ १० गते जन्मिएका ढुंगानाले ०४६ जेठ २५ गते राष्ट्र बैंकमा नोकरी सुरु गरेका थिए । ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका ढुंगानाले ०७६ जेठ २४ गते अशकाश पाउनेछन् ।

नेपालबाट ०५० सालमा अर्थशास्त्रमा एमए गरेका ढुंगानाले ०५५ सालमा बेलायतबाट बिजनेस फाइनान्समा एमबीए गरेका छन् ।

ढुंगानाको पुख्र्यौली घर पनि प्रधानमन्त्री केपी ओलीको गाविस तेह्रथुमको इवा हो । ढुंगाना परिवार पनि ०१९ सालमा तेह्रथुमबाट मोरङ झरेका हुन् । महेन्द्र मोरङ ०३७ सालमा अहिलेकी राष्ट्रपति विद्या भण्डारीसँग क्याम्पस कमिटीमा सँगै काम गरेका ढुंगानालाई राष्ट्रपति भण्डारीसँग निकट मानिन्छ । उनी ०३४ सालदेखि संगठनमा सक्रिय भएका हुन् ।

वित्तीय क्षेत्र सुधार कार्यकमअन्तर्गत नेपाल बैंक र वाणिज्य बैंक सुधार कमिटीका मनिटरिङ र सुपरभिजन कमिटीका संयोजक थिए । त्यस्तै, नेपालका धेरै वित्तीय क्षेत्र सुधारसम्बन्धी ऐनहरु तर्जुमा गर्नमा उनको भूमिका छ । राष्ट्र बैंक ऐन ०५८, राष्ट्र ऋण ऐन, कालोसूचीसम्बन्धी व्यवस्था तयार गर्दा ढुंगानाले सदस्य सचिवको भूमिकामा काम गरेको अनुभव छ ।

लक्ष्मीप्रपन्न निरौला

गभर्नरका लागि अर्का शक्तिशाली दाबेदार हुन् १३ औं बरियताका कार्यकारी निर्देशक निरौला । राजनीतिकरुमा एमालेसँग निकट निरौला निवर्तमान युवराज खतिवडाले गभर्नर हुँदा उनका विश्वासपात्रमध्येका एक हुन् ।

Laxmi-Prapanna-Niraulaहाल खतिवडा योजना आयोगको उपाध्यक्ष छन् । राष्ट्र बैंकभित्र कसलाई अघि बढाउने भन्नेमा प्रधानमन्त्री र अर्थमन्त्रीले अवश्य पनि खतिवडाको सुझाब लिनेछन् । यस्तो अवस्थामा खतिवडाको रोजाइमा निरौला पर्न सक्ने स्रोतहरुको दाबी छ । खतिवडाको रोजाइमा अर्का कार्यकारी निर्देशक भीष्म ढुंगाना पनि पर्नसक्ने उस्तै सम्भावना छ ।

निरौला ०२१ साल फागुन ६ गते जन्मिएका हुन् । ०४६ माघ ८ गते राष्ट्र बैंकको नोकरी सुरु गरेका उनी ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भए । ०७६ माघ १० गते अवकास पाउँदैछन् ।

निरौलाले देशबाटै ०५५ मा अर्थशास्त्रमा एमए र ०७० मा सार्वजनिक प्रशासनमा एमपीएसम्मको अध्ययन पूरा गरेका छन् ।

बैंक तथा वित्तीय संस्था सुपरीवेक्षणलगायतका महत्वपूर्ण विभागमा बसेर काम गरेका निरौलासँग एनसीसी बैंक सुधारका लागि राष्ट्र बैंकले पठाएको व्यवस्थापन समितिका संयोजकसमेत भएर काम गरेको अनुभव छ ।

जनक अधिकारी

एमालेको कोटाबाट नयाँ डेपुटी गभर्नरका लागि अर्का शक्तिशाली दाबेदार हुन् १०औं बरियताका कार्यकारी निर्देशक जनक अधिकारी । १६ जना कार्यकारी निर्देशकहरुमध्ये अधिकारी अर्थमन्त्री विष्णु पौडेलका पि्रयपात्र मान्छिन् । अधिकारीलाई राष्ट्र बैंकको एमाले निकट कर्मचारी संगठनका अध्यक्ष बसन्त पाण्डेको पनि विषेश सहयोग छ ।

Janakbadhur-Adhikariकर्मचारी संगठनका अध्यक्ष पाण्डेले यसअघि युवराज खतिवडालाई गभर्नर र महाप्रसाद अधिकारीलाई डेपुटी गभर्नर आफूहरुले नै बनाएको सार्वजानिक अभिव्यक्ति दिएका थिए ।

त्यसैगरी एमालेवृत्तमा अत्यन्तै राम्रो पकड भएका निर्देशक बासुदेव अधिकारीले पनि अधिकारीलाई डेपुटी गभर्नर बनाउन लागि परेको स्रोतहरुको दाबी छ । एमालेवृत्तमा राम्रै पकड भएका, अर्थमन्त्रीका पि्रय मानिने भएकाले उनको सम्भावना देखिएको हो ।

वि.सं.०१८ साल जेठ १० गते जन्मिएका अधिकारी ०४६ जेठ २५ गते राष्ट्र बैंकमा नोकरी सुरु गरेका थिए । ०७१ असोज १० गते कार्यकारी निर्देशमा बढुवा भएका अधिकारी ०७६ जेठ १० गते अवकास पाउँछन् । अधिकारीले नेपालबाटै ०५० सालमा अर्थशास्त्रमा एमए गरेका छन् ।

विकास वित्त विभाग, ग्रामिण कर्जा सर्वेक्षण, वित्त व्यवस्थापन, विभा, लघुवित्त विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, ट्रेनिङ विभाग, जनशक्ति व्यवस्थापन विभागमा बसेर काम गरेको अनुभव छ ।

अरु पनि छन्

यसबाहेक कांग्रेसनिकट मानिएका डा. बिनोद आत्रेय, नारायण पौडेल र माओवादी निकट मानिएका एक्ला कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठ नयाँ डेपुटी गभर्नर बन्नसक्ने चर्चा छ ।

वि.सं. ०१५ साल कात्तिक ३ गते जन्मिएका आत्रेय ०४० साल माघ १ गते राष्ट्र बैंकको नोकरीमा प्रबेस गरेका हुन् । उनले भारतबाट बिजनेस प्रशासनमा एमबीए, नेपालबाट सार्वजानिक प्रशासनमा एमपीए र ०६० सालमा अष्ट्रेलियाबाट सार्वजानिक सेवा सुधारमा विद्यावारिधि गरेका छन् ।

त्यसैगरी नारायण ०२३ माघ २९ गते जन्मिएर ०४६ जेठ २५ गते राष्ट्र बैंकको नोकरी सुरु गरेका पौडेलको पनि उस्तै चर्चा छ । नेपालबाट व्यवस्थापनमा एमबीए, अर्थशास्त्रमा एमए र ०५६ मा बेलायतबाट बिजनेश फाइनान्समा एमबीए गरेका छन् ।

गभर्नरले चारजनाको नाममा चौथो बरियताका कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठको नाम पनि सिफारिस गरे भने सत्ता साझेदार एमाओवादी निकट डा. मीनबहादुर श्रेष्ठको पनि डेपुटी गभर्नर बन्ने बलियो सम्भावना छ । अहिलेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जनप्रशासन क्याम्पसमा स्ववियु सभापति हुँदा डा. श्रेष्ठले उनकै प्यानलबाट स्ववियु सचिव जितेका थिए ।

विसं. ०१७ साल माघ २० गते जन्मिएका श्रेष्ठ ०४४ साल फागुन ५ गते राष्ट्र बैंकको नोकरीमा प्रवेश गरेका थिए । लामो समय राष्ट्र बैंकको अनुसन्धान विभागमा बसेका श्रेष्ठलाई म्याक्रो र माइक्रो अर्थतन्त्रको राम्रो ज्ञान छ । उनी राष्ट्र बैंकका अहिलेका कार्यकारी निर्देशकहरुमध्ये सबैभन्दा धेरै विषय पढेका व्यक्ति हुन् ।

सर्वाजनिक प्रसाशनमा एमपीए, राजनीतिशास्त्रमा एमए, कानूनमा एलएलबी, बेलायतबाट बिजनेस प्रशासनमा एमबीए गरेका श्रेष्ठले ०६२ मा अष्ट्रेलियाबाट नेपालको वित्तीय उदारीकरणमा विद्यावारिधि गरेका छन् ।

माथि उल्लेख गरिएका नौ जना कार्यकारी निर्देशक बाहेक अरुको चर्चा भने धेरै न्यून छ । तर, बरियताका आधारमा नियुक्ति गरियो भने डेमोक्रेट मानिने पहिलो बरियताका प्रदीपराज पाण्डे, दोस्रो बरियताका हरि काफ्ले र तेस्रो बरियताका त्रिलोचन पंगेनीको पनि सम्भावना नभएको चाँहि होइन ।

राष्ट्र बैंकमा वामपन्थी विचारधारा राख्ने अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाको पनि सामान्य चर्चा छ । डा. शंकरप्रसाद आचार्य, राजनबिक्रम शाह, शिवराज श्रेष्ठको भने खासै चर्चा छैन । तर, उनीहरु सबैजना डेपुटी गर्भनरका लागि योग्य पात्रहरु हुन् ।

शक्तिकेन्द्र धाउँदै

पद प्राप्त गर्न बरिष्ठ कार्यकारी निर्देशकदेखि कनिष्ठसम्म शक्तिकेन्द्रको दैलो घच्घच्याउन पुगिसकेका छन् । दौडधूपमा रहेका एमालेनिकट कार्यकारी निर्देशकहरु अर्थमन्त्री र प्रधानमन्त्रीको दैलोसम्म पुगिसकेका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि राष्ट्र बैंककै पूर्वकर्मचारी भएकाले प्रधानमन्त्रीसम्म पुग्न झनै सहज छ ।

गभर्नरबाट सिफारिस हुने चार जनाभित्र पर्न कार्यकारी निर्देशकहरुले गभर्नरसँग नजिकिने अनेकौं प्रयास गरिरहेका छन् । आ-आफ्ना विचारसमूहका निकट कर्मचारी संगठनका नेताहरुलाई पनि कार्यकारी निर्देशकहरुले माथि ‘लाइन मिलाउन’ प्रयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment