Comments Add Comment

गैरकम्युनिष्टको नजरमा बाबुरामको नयाँ शक्ति

baburam

अरुणकुमार सुवेदी

चार दशकभन्दा लामो कम्युनिष्ट राजनीतिलाई छाडेर गैरकम्युनिष्ट नयाँ शक्ति बनाउन लागि परेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई अहिले राजनीतिक माहौलमा चर्चा/कुचर्चाका प्रमुख पात्र बनेका छन् ।

आफ्नो कम्युनिष्ट राजनीतिको उत्कर्षमा एकाएक हिंसापूर्ण शसस्त्र विद्रोहका अभियन्ता बनी जंगल पसेको र सशस्त्र विद्रोहलाई एक दशकपछि बिसर्जन गरेका भट्टराई गैरकम्युनिष्ट राजनीतिको मार्गमा हिँड्नु यस स्वप्नकारलाई अलि अनपेक्षित परिवर्तन लागेको छ ।

वहाँ र वहाँकै समूहमा आवद्ध भइरहेका कम्युनिष्ट भावभूमिबाट प्रेरित र क्रियाशील ठूलो जमातमा एकाएक आएको परिवर्तन नाटकीय हो या स्वभाविक समयले अवश्य बताउला । अहिलेलाई भने नयाँ राजनितिक दलको गर्भका रुपमा रहेको नयाँ शक्तिउपर केही विश्लेषण गर्ने जमर्को गरिन्छ ।

नेपालको राजनीतिक इतिहासमा काँग्रेसको विकल्पमा प्रजातान्त्रिक धारका नयाँ राजनितिक शक्ति निर्माण गर्ने कोशिस २००७/८ साल देखि नै अनवरत हुँदै आएको हो । काँग्रेस बाहिर र काँग्रेसभित्रबाट पनि त्यसका लागि सघन प्रयत्न भए । डा. डिल्लीरमण रेग्मी, मात्रिकाप्रसाद कोईरालादेखि प्रदिप गिरी हुँदै जगन्नाथ आचार्यसम्मले प्रयत्न गरेकै हुन् ।

यो स्वप्नकारले पनि पछिल्लो अध्यायमा आएर त्यसका लागि एउटा ‘प्लप शो ‘ गरेकै हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शक्ति सहित नेपाली काँग्रेसलाई झण्डै ठाडो विभाजन (भर्टिकल स्प्लिट) गराएकै हुन् । तर, पनि यी सबै प्रयत्न अन्ततः निष्फल भए ।

मुलुकका यी पछिल्ला दुई दशकमा नेपाली कांग्रेस अकर्मण्य, भ्रष्ट, निश्प्रभावी र विपथगामी भएकै हो । यस्तो अवस्थामा नै इतिहासमा काँग्रेसले सबभन्दा ठूलो विभाजन पनि भोग्यो । तैपनि यसका विकल्पमा नयाँ प्रजातान्त्रिक शक्ति स्थापना भएन । किन ? स्वप्नकारलाई यो अनौठो सैद्धान्तिक र शास्त्रीय (क्लासिकल) प्रश्नको कसीमा बाबुरामजीको प्रयत्नलाई रगडेर हेर्ने उत्सुकता भयो ।

अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी

विभिन्न वादका कुरा सुन्दा-सुन्दा वर्वाद भएको मुलुकमा फेरि वादकै चर्चा गर्नु मेरा लागि पनि प्रिय विषय हैन । तथापि यो राजनीतिको सैद्धान्तिक विश्लेषणसँग वाद नआई छाडदैन ।

नेपाली काँग्रेसको विकल्पमा नयाँ प्रजातान्त्रिक शक्ति स्थापित हुन नसक्नुका पछाडि एउटा महत्वपूर्ण सैद्धान्तिक कारण छ । नेपाली काँग्रेसले नयाँ शक्ति स्थापित हुन सक्ने दुईवटा सैद्धान्तिक धरातल ओगटेर बसेको छ । नेपालमा यसको विकल्पमा कम्युनिष्ट र सक्रिय राजतन्त्रवादी रहेको अवस्थामा प्रजातन्त्रको एकल धु्रब हुने शौभाग्य कांग्रेसलाई प्राप्त भयो भने सामाजिक न्यायको मुद्दा लिएर स्थापना हुन सक्ने प्रजातान्त्रिक समाजवादी धरातल पनि यसले ओगटी दियो । यही सैद्धान्तिक कारणले दक्षिणपन्थी प्रजातान्त्रिक धरातल र प्रजातान्त्रिक समाजवादी धरातल कुनै मा पनि नयाँ शक्ति निर्माण हुन सकेनन् ।

अर्को सैद्धान्तिक धरातल कम्युनिष्टमा बारम्बार नयाँ शक्ति स्थापित हुने र पतन हुने प्रक्रिया निरन्तर रह्यो । जनवादी केन्द्रीयताको श्वैर कल्पना /सपना देखाएर संगठन निर्माण गर्ने र निश्चित शक्ति आर्जन गरेपछि बहुदलीय व्यवस्थामा अवतरण गर्ने नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक नियति बनेको छ । फेरि पनि यही कारणले जनवादी केन्द्रियताको सपना त्याग्न नसक्नेहरुले अर्को कम्युनिष्ट पार्टी बनाएर पुनः शक्ति आर्जनमा लाग्ने ? यसको पछिल्लो उदाहरण माओवादी पार्टी हो ।

माथिका दुबै सैद्धान्तिक धरातलमा बाबुरामजीको पार्टीलाई खडा हुन सहज देखिन्न । अझ दोस्रो धरातलको सन्दर्भमा त वहाँले गैरकम्युनिष्ट पार्टी खोल्न लाग्नुभएको कुरा स्पष्ट गरेबाट त्यो मार्गमा जाने कुरै भएन । नेपालमा भुरेटाकुरे राजनीतिक दलहरु पनि माथिका कुनै न कुनै सैद्धान्तिक धरातलमा नै उभिएका छन् । अब बाबुरामजी कहाँ उभिने वहाँले स्पष्ट पार्नु पर्छ ।

आफुलाई शास्त्रीय शैली र सैद्धान्तिक धरातलीय आँखाबाट नहेर्न भनिरहेका नयाँ शक्तिका बिज शोचक डा. बाबुराम भट्टराई आफैँमा धेरै शंकाको घेराभित्र पनि हुनुहुन्छ । राजनीतिक नैतिकताको कसीमा पनि वँहाले जबाफदेहिता देखाइरहनु भएको छैन । यसकारण वहाँले पार्टीको औपचारिक घोषणा गर्नुपूर्व यी पक्षको प्रष्टीकरण जनतासामु राख्नुपर्ने हुन्छ ।

केही तत्कालीन मुद्दालाई पक्डिएर क्षणिक मत लिई सत्तारोहण गर्नलाई कहीँको डिजाइनबाट ल्याइएका भारतीय राजनीतिक पात्र अरविन्द केजरीवाललाई डा. भट्टराईले रोल मोडल त मान्नुभएको छैन ? गम्भीर प्रश्न छ ।

दिल्लीको हावासँग हल्लिने नेपाली राजनीतिको चरित्रमा नै वहाँ पनि सामेल हुनुभएको आरोप छ वहाँमाथि । भारतमा बढ्दै गएको ‘मोडरेट कञ्जरभेटिभ ‘ सांस्कृतिक राष्ट्रवादीहरुको पकडलाई चुनौति दिन पश्चिमाहरुले आएनजीओ र सञ्चार माध्यमहरुलाई उपयोग गरेर ल्याइएका व्यक्ति हुन् केजरीवाल । ठीक त्यही मोडेलमा नेपाली काँग्रेेस ‘सेकालारिज्म’ को मुद्दामा ढुलमुले देखिएका बखत भारतीय ‘सेकुलारिष्ट’ पश्चिमाहरुको बिजारोपणबाट जन्माउन लागिएको राजनीतिक शक्ति त हैन नयाँ शक्ति ? यस्तो प्रश्न पनि त्यतिकै महत्वपूर्ण छ ।

जनताका लागि कर्णप्रिय लाग्ने मुद्दा केजरीवालले भ्रष्टचारलाई बनाएका थिए भने डा. बाबुरामले आर्थिक बिकासलाई बनाइरहेका त छैनन् ? यी शंका र तर्कपूर्ण आरोपको सन्तोषजनक जबाफ नयाँ शक्तिका अभियन्ताले दिनुपर्ने हुन्छ ।
नयाँ शक्तिका बीजशेचक डा. बाबुराम नेपालका जातीय पहिचान र क्षेत्रीय पहिचानको जवर्जस्त समर्थक देखिनुभएको छ । यी दुबै साँस्कृतिक राष्ट्रियताका धारणाहरु हुन् । तर, जातीय र क्षेत्रीय पहिचानमाथि भइरहेको सांस्कृतिक अतिक्रमणमाथि वहाँ मौन रहनु रहस्यमय विषय बनेको छ ।

व्यष्टिगत पहिचानहरुको पक्षपोषण गर्दा ती सबै पहिचानको समष्टिगत पहिचान वा नेपालका अत्यधिक जातिहरुलाई एक सुत्रमा राख्ने महाजातिको विपक्षमा देखिनु अनौठो बिषय बनेको छ । नेपालका अत्यधिक व्यष्टिगत पहिचानहरुको महाजातीय पहिचान हिन्दु हो ।

आफ्नो उमेरको नेटो ६० काटेपछि र कम्युनिष्ट आन्दोलनमा चार दशकभन्दा बढी काम गरेपछि गैरकम्युनिष्ट पार्टी खोल्नलाई अगाडि बढ्नु भएको छ । जीवनको यो अध्यायमा आएर गैरकम्युनिष्ट हुनु थियो भने आजसम्म वहाँले कम्युनिष्ट भएर गरेका काम कार्यवाही प्रति आत्मालोचना गर्नुपर्छ कि पर्दैन ?

यो नेपाली राष्ट्रियताको सांस्कृतिक मूल आधार हो । यो आधारलाई अस्वीकार गर्ने अनि जातीय क्षेत्रीय पहिचानहरुलाई मात्र बढवा दिने हो भने जसरी सोभियत संघ विभाजन भयो, त्यसरी नै नेपाल पनि कालान्तरमा विभाजन नहोला भन्न सकिन्न । सोभियत संघको कम्युनिष्ट सत्ताले जातीय राज्यहरुलाई राख्ने र ती राज्यहरुको योजक सूत्र इसाई साँस्कृतिक राष्ट्रियतालाई निषेध गर्नाले नै विभाजन भोग्नु पर्‍थ्यो ।

पश्चिमाहरुले बाबुरामजीलाई नेपालको यल्त्सीनका रुपमा उपयोग त गरिरहेका छैनन् ? यस प्रश्नको चित्तबुझ्दो जवाफ वहाँहरुबाट आउनैपर्छ । पश्चिमाहरु नेपालको विभाजन किन चाहान्छन् भन्ने बारेमा यथेष्ठ लेखिसकेको छु ।
नयाँ शक्ति सामुहिक प्रयत्न र नेतृत्वको शक्ति हुनेछ भन्ने कुरा डा. बाबुराम भट्टराईले भन्नुभए पनि यो नेपथ्यका सुत्राधारको पटकथाबमोजिम डा. साहेब नयाँ शक्तिको बीजशेचक मात्र हुुनुहुन्छ भन्ने ठहर छ राजनीतिक बजारको ।

परिदृश्यमा बाबुराम भट्टराई एकल पर्याय हुन् । यसर्थ उनको राजनीतिक नैतिकताले नयाँ शक्तिको ओजलाई पूरा प्रभावित गर्ने छ । आफ्नो उमेरको नेटो ६० काटेपछि र कम्युनिष्ट आन्दोलनमा चार दशकभन्दा बढी काम गरेपछि गैरकम्युनिष्ट पार्टी खोल्नलाई अगाडि बढ्नु भएको छ । जीवनको यो अध्यायमा आएर गैरकम्युनिष्ट हुनु थियो भने आजसम्म वहाँले कम्युनिष्ट भएर गरेका काम कार्यवाही प्रति आत्मालोचना गर्नुपर्छ कि पर्दैन ?

वहाँको राजनीतिक जीवनको त्यो अध्याय गलत थियो कि थिएन ? यो प्रश्नको उत्तर पनि वहाँले नैतिकताका आधारमा दिनै पर्ने देखिन्छ ।

नयाँ शक्तिका लागि सैद्धान्तिक स्पेस

नेपाली काँग्रेस लामो समय देखी राजनीतिको एउटा मुलधार हो । त्यस्तै बहुदलबादी कम्युनिष्टका रुपमा एमाले अर्को मूलधारका रुपमा स्थापित भैसकेको छ । यस अवस्थामा ‘मोडरेट कन्जरभेटिभ ‘ धारको स्पेस खाली देखिन्छ । यो धारमा आउने सम्भावना रहेका कमल थापाको राजनीतिक पतन भएबाट यस धारको सम्भावना अझ बढेको छ ।

नेपालको सह-सांस्कृतिक राष्ट्रियता रहेको भारतमा उदय भएको साँस्कृतिक राष्ट्रवादी शक्तिसँग सैद्धान्तिक सामीप्यता राख्ने शक्तिको सम्भावना राम्रो देखिन्छ । तर, यो स्पेसमा आउन सक्ने सम्भावना बाबुरामजीको अतीत र वर्तमानलाई विश्लेषण गर्दा देखिन्न । खाली स्पेसमा नआउने र स्थापित शक्तिहरुलाई विस्थापित गर्ने स्थिति पनि नरहेबाट बाबुरामजीको नयाँ शक्तिबाट निर्मित दल पनि अन्ततः सत्ताको छयांकनका लागि संसदमा जाने एउटा समुह मात्र नहोला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment