Comments Add Comment

काठमाडौंका फुटसलः २४ घण्टा बन्द, फेरि खुल्ला !

Footsal opening at Budhhanagar by paras Khadka (1)

रमेश धमला
१ माघ, काठमाडौं । केही महिनाअघि राष्ट्रिय टिमका खेलाडीहरु म्याच फिक्सिङको आरोपमा पक्राउ परेपछि नेपालको फुटबलले प्रगति गर्न नसक्नुको कारण उदांगो भएको थियो । विहीबार राजधानीमा अर्को लफडा शुरु भएको छ, फुटसलको ।

प्रहरीले विहीबार काठमाडौंका सबै फुटसलहरु बन्द गराएपछि फुटसल व्यवसायी मात्रै तनाबमा परेनन्, त्यसका खेलाडीसमेत आक्रोशित भए, जुन आक्रोश शुक्रबारको समहमतिपछि मथ्थर भएको छ ।

विश्वमा वर्षौं पुरानो भैसकेको फुटसल नेपालमा भने करिब ४ वर्ष अगाडिमात्रै भित्रिएको हो । तर, यसमाथि नेपाल प्रहरीले एक दिनका लागि प्रतिवन्ध लगाउने प्रयास गर्‍यो ।

फुटबलको गतिलो विकास हुन नसकिरहेका बेला पछिल्लो समय राजधानीमा फुटबलजस्तै शैलीको, सानो मैदानमा खेलिने फुटसल खेल टोल-टोलमा घुसेको छ । चार वर्ष नपुग्दै काठमाडौंमा मात्र करिब ५१ वटा फटसलहरु खुलेका छन् । फुटबलजस्तै खेल भएकाले सुरुका दिन फुटबल प्रेमीहरुका लागि आकर्षकको केन्द्र बनिरहेको फुटसलमा पछिल्लो समय विकृति भित्रिएको बन्दै बिहीबार प्रहरीले काठमाडौंका फुटसलहरु बन्द गराएको हो । तर, शुक्रबार फेरि फुटसल सञ्चालन गर्न दिने गरी फुकुवा गरिएको छ ।

सिडियो कार्यालयमा ‘फुटसल भेला’

शुक्रबार काठमाडौं प्रहरी र जिल्ला प्रशासन कार्यालयले काठमाडौंका सबै फुटसल व्यवसायीहरुलाई बोलाएर छलफल गरेको थियो । व्यवसायीहरुले फुटसल बन्द गरेर प्रहरीले आफ्नो व्यवसाय नै धरापमा पार्न खोजेको आरोप त्यहाँ लगाए ।

तर, प्रहरी र जिल्ला प्रशासनले भने व्यवसायका नाममा हुने विकृति रोक्न प्रशासनले कदन चालेकाले नियम बनाएर नियमको दायरामा ल्याउन खोजिएको भन्दै व्यवसायीहरुको प्रतिवाद गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले खेल र शारीरिक तन्दुरुस्तीका लागि फुटसल खोलेको हो भने त्यसको सामान्य माप्दण्ड पूरा गर्नुपर्ने बताए । उनले भने-यदि फुटसलमा खेलिरहेको खेलाडीलाई केही भयो, कुनै दुर्घटना भयो भने कसले उपचार गर्छ र त्यसको जिम्मेवारी कसले लिन्छ भन्दै सबैलाई खेल र व्यवसाय मर्यादित बनाउन आग्रह गरे ।

प्रहरीले किन बन्द गरायो फुटसल ?

फुटसल बन्द गर्नुपर्ने कारणबारे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाको भने बेग्लै तर्क छ ।
काठमाडौंका फुटसलहरु बन्द गर्ने प्रहरीको चाहना नभएको एसएसपी थापाले शुक्रबार स्पष्ट पारेका छन् । एसएसपी थापा भन्छन्- ‘काठमाडौंका कतिपय फुटसलहरुले खेलाडीभन्दा विकृति उत्पादन गरिरहेको गुनासो बढ्न थालेपछि नियमन गराउन खोजेको हो, प्रहरीले बन्द नै गर्न खोजेको होइन ।’

एसएसपी थापाले भने- ‘कलेज तथा स्कुल हिँडेको विद्यार्थी फुटसल खेल्ने ठाउँमा पुगेको गुनासो आउन थाल्यो, कलेजमा तिर्न पठाएको पैसा फुटसलमा सिध्याएको गुनासो अविभावकले गरे ।’

फुटसलका कारण मध्यरातसम्म होहल्ला भएर छेउछाऊका मानिसले सुत्न नपाएको गुनासो आएको एसएसपी थापाले बताए । कतिपय फुटसलहरुमा मादक पदार्थ, गाँजादेखि लिएर चक्कुसमेत भेटिएपछि यसलाई नियम गर्नुपर्ने देखिएको उनले बताए । फुटसललाई सधैंका लागि नभएर केही दिनका मात्रै लागि बन्द गरिएको एसएसपी थापाले स्पष्ट पारे ।

के भन्छन् व्यवसायी ?

राष्ट्रिय फुटबल टिमका पूर्वक्याप्टेनसमेत रहेका हरी खडकाले काठमाडौंको सामाखुशीमा फुटसल व्यवसाय चलाएका छन् । कुनै दिन नेपाल प्रहरीकै खेलाडी तथा प्रशिक्षक बनेका खड्काले चलाएको फुटसल पनि बिहीबार प्रहरीले नै बन्द गरायो ।

खड्का पनि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सहभागी थिए । उनले देशमा एउटा गतिलो फुटबल मैदानसमेत नभएको अवस्थामा फुटसलहरु खोलेर निजी क्षेत्रले फुटसलमा राम्रो योगदान दिएको बताए ।

फुटसलमा हुने अभ्यास पनि फुटबल खेलाडीहरुका लागि फलदायी हुने भएकाले बन्द गर्न नहुने तर, त्यसभित्रको विकृति रोक्नुपर्ने खड्काको तर्क थियो ।

व्यवसायीहरुका अनुसार एउटा फुटसल खोल्न कम्तिमा एक करोड लगानी गर्नुपर्छ । अलि व्यवस्थित गराउनेहरुले योभन्दा बढी पनि लगानी गरेका छन् ।

त्यो हिसाबले काठमाडौंमा खुलेका फुटसलहरुमा १ अर्ब २० करोड लगानी भएको व्यवसायी बताउँछन् ।

यति ठूलो लगानी भएको व्यवसाय कुनै जानकारीविना बन्द गराउनु गलत भएको भन्दै सिडियो र प्रहरीसँग व्यवसायीले शुक्रबार गुनासो गरे । फुटसलमा कतिपय खेलाडीहरु नै आउने र कतिपय विद्यालयहरुले नै विद्यार्थीहरु ल्याउने गरेको भन्दै यसलाई विकृति नमान्न व्यवसायीले आग्रह गरे ।

उनीहरुले पनि यदि कुनै फुटसलभित्र गलत गतिविधि हुन्छ भने त्यसलाई नियमन गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न आफूहरु पनि तयार रहेको बताए ।

के हो फुटसल ?

इनडोरमा खेल्न बनाइएको फुटवल मैदान नै फुटसल हो । वरिपरि जालीले घेरेर भुइँमा दुबो राखेर बनाइएको मैदानमा निश्चित शुल्क तिरेर आफुलाई मन लागेको समयमा खेल्न सकिन्छ ।

फुटसलको एउटा टिममा ५ जना खोलाडी हुन्छन् । एक गेमको १२ सय देखि २२ सम्म लिइने भएकाले फुटसल गतिलो कमाऊ धन्दा बनेको छ राजधानीमा ।

फुटसल किन खुलाउने ?

काठमाडौंका प्रहरी परिसरका एसपी विश्वराज पोख्रेलले फुटसलको अन्तराष्ट्रिय मापदण्ड के हो भन्ने प्रश्न गरे । यदि खेलाडी उत्पादनका लागि खोलिएको हो भने सिकाउने प्रशिक्षक राख्नुपर्ने उनले बताए ।

एसपी पोखरेललेे भने- अहिले अविभावक र नागरिकको गुनासो आएरै कदम चालेको हो, यदि फुटसललाई खेल र व्यायामको केन्द्र बनाउने हो भने त्यसलाई नियमन गर्न जरुरी छ ।

यो पनि पढ्नुस्

फुटसलमा लागेको प्रतिवन्ध एकदिनमै हट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment