Comments Add Comment

अपाङ्गता भएकाका लागि १० वर्षे कार्ययोजना तयार हुँदै

८ माघ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ ।

Disable-man-at-Purano-Baspaनेपालको संविधानअन्तर्गत सामाजिक न्यायको हक, राष्ट्रिय स्वास्थ्य नीति २०७१, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६, एसिया प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिका लागि क्षेत्रीय रणनीति २०१३–२०२२ ले तय गरेको लक्ष्यलाई ध्यानमा राखी मन्त्रालयले कार्ययोजना मस्यौदा तयार पारेको छ ।

हाल मन्त्रालय अन्तर्गतका अस्पतालमा अपाङ्गता भएका व्यक्तिका लागि सामान्य उपचार तथा स्वास्थ्य परीक्षण निःशुल्क रुपमा उपलब्ध गराइँदै आइएको छ ।

मन्त्रालयले तयार पारेको मस्यौदालाई अन्तिम रुप दिन शुक्रबार  काठमाडौंमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै स्वास्थ्य सेवा र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन नभएको, त्यस्ता कार्यक्रम अपाङ्गता मैत्री नभएको तथा उनीहरुको सहज पहुँच पनि नभएका जानकारी दिइयो ।

पछिल्लो जनगणनाअनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या पाँच लाख १३ हजार ३२२ रहेको छ । तर विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकले यो सङ्ख्या बढी हुने जनाएका छन् । गत वैशाख महिनाको भूकम्पले कति जना अपाङ्गता भए भन्ने यकिन विवरण अहिलेसम्म आएको छैन ।

मन्त्रालयले तयार पारेको मस्यौदामा स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रमलाई अपाङ्गता समावेशी बनाइने, मन्त्रालय अन्तर्गतका सबै स्वास्थ्य प्रदायक संस्थामा उनीहरुका लागि आवश्यक सेवा, शल्यक्रिया र औषधि निःशुल्क गरिने, स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा अपाङ्गताको प्रारम्भिक पहिचान, व्यवस्थापन सेवा उपलब्ध गराइने, स्वास्थ्यसम्बन्धी सूचना तथा सूचना प्रवाहलाई अपाङ्गता मैत्री बनाइने, बालस्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रममा अपाङ्गता भएका बालबालिकलाई विशेष प्राथमिकता दिइने रहेको छ ।

यसैगरी, जन्मजात हुने अपाङ्गता, चोटपटकबाट हुने अपाङ्गता, मानसिक अपाङ्गता, सर्ने तथा नसर्ने रोगबाट हुने अपाङ्गतालाई रोकथाम गर्न कार्यक्रम सञ्चालन गरिने, अपाङ्गता भएका महिलाका लागि प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने तथा निजी क्षेत्रलाई अपाङ्गता भएकालाई उचित सेवा दिन प्रोत्साहन गर्ने सो प्रारम्भिक मस्यौदामा रहेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सामाजिक सुरक्षालाई सबलीकरण गर्ने नीति मन्त्रालयको रहेको जानकारी दिँदै स्वास्थ्य सेवालाई अपाङ्गता मैत्री बनाउन सुरु भइसकेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. पुष्पा चौधरीले स्वास्थ्य सेवालाई थप अपाङ्गता मैत्री बनाउन कार्ययोजनामै स्पष्ट खाका हुनुपर्ने बताइन् ।

कुष्ठरोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भूकम्पले कतिजनालाई अपाङ्गता बनायो भन्ने यकिन तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै उनीहरुका लागि विशेष कार्यक्रम ल्याइने जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन घिमिरेले कार्ययोजनासँगसँगै कार्यान्वयनका लागि पर्याप्त बजेट व्यवस्था हुनुपर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment