Comments Add Comment

युवासंघ अध्यक्षको प्रश्नः आफ्नै देशभित्र शान्तिपूर्ण सभा गर्न पाइदैन ?

राजीव पहारी

संविधानका विषयमा मधेसी जनतामा रहेको भ्रम निवारण गर्ने उद्देश्यले युवासंघ नेपालले गत मंसिर २८ देखि मधेस संवाद तथा जागरण अभियान सुरु गरेको थियो । अहिलेसम्म हामीले मधेसका १९ वटा जिल्लामा निर्वाधरुपमा अभियान सम्पन्न गरिसकेका छौं । तर, मोरङको रंगेलीमा हामीले कल्पना नगरेको दुःखद घटना भयो । युवासंघले आयोजना गरेको शान्तिपूर्ण आमसभालाई अवरोध गर्ने नाममा मधेसी मोर्चाले जून ताण्डव नृत्य देखायो त्यसको हामी घोर भर्त्सना गर्छौं ।

Rajib Pahari, yuba sang
राजीव पहारी । फाइल तस्वीर

मोरङको रंगेलीमा आमसभा गर्ने कार्यक्रम हिजो-अस्ति होइन, १५ दिन अगाडि तय भएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले आमसभालाई सम्वोधन गर्ने भनेर हामीले व्यापक प्रचारप्रसार नै गर्दै आएका थियौं । तर, एक्कासी मधेसकेन्दि्रत दलको नाममा हाम्रो शान्तिपूर्ण सभालाई विथोल्ने ढंगले आपराधिक क्रियाकलाप भयो ।

अघिल्लो दिन मात्रै रंगेलीमा आमसभा गरिए गौरको जस्तै नृशंस हत्याकाण्ड मच्चाउनेछौं भनेर प्रचारवाजी गरे । कोही मान्छे जिउँदै फर्किन दिदैनौं भन्नेसम्मको धम्की दिइयो । तर, उनीहरुको यस्तो धम्कीबाट न हामी आत्तियौं, न आवेशमा आयौं । १५ दिन अगाडि घोषित सभा कसैको धाकधम्कीका भरमा रद्ध गर्नु उपयुक्त हुन्थेन । हामी कसैसित लडाईं लड्न जान लागेका थिएनौं ।

प्रधानमन्त्री जाने कार्यक्रम रद्ध भएपछि पार्टीका महासचिवलाई लिएर १२ बजे हामी बिराटनगरबाट रंगेलीतर्फ प्रस्थान गर्‍यौं । त्यतिबेलासम्म उहाँहरुले कतै पनि बन्द वा चक्काजामको घोषणा गर्नुभएको थिएन । तर, कटहरीबाट डायनीया भन्ने ठाउँसम्म एकाएक सडक अवरुद्ध गर्नुभयो । टायर बाल्ने र तोडफोड गर्ने क्रम सुरु भयो । हामीले एकदमै धेरै संयम अपनायौं ।

बिराटनगरबाट जाँदा सबैभन्दा अगाडि प्रहरीको स्कर्टिङ गाडी थियो । त्यसपछि मन्त्री सत्यनारायण मण्डल, महासचिव इश्वर पोखरेल, र अन्य नेताका गाडीहरु पछिपछि थिए । गाडीहरु पछाडि मोटरसाइल र बसहरु थिए । पूर्वबाट आएका गाडीहरु उहाँहरुले बीचैमा रोक्ने काम गर्नुभयो ।

मधेसी आन्दोलनकारीको भिडबाट एक्कासी चार राउण्ड गोली प्रहार भयो । त्यसपछि प्रतिरक्षाका लागि प्रहरीले पनि गोली चलायो

हामी कार्यक्रमस्थलमा पुग्नुअघि नै रंगेली नगर कमिटीका पार्टी अध्यक्ष दिनेशकुमार ठाकुर र उहाँकी श्रीमती अनेमसंघ नगर अध्यक्ष उषा ठाकुरलाई अपहरण गरेर मार्ने प्रयत्न भयो । प्रहरीले उहाँहरुलाई कब्जाबाट मुक्त गर्‍यो । त्यसपछि उहाँहरुले युवासंघका कार्यकर्ता सन्तोष साहको घर जलाउनुभयो ।

कार्यक्रमस्थलमा पुग्दा मधेसी मोर्चाका दुई-तीन सय कार्यकर्ताहरुले हुलहुज्जत गरिरहेका थिए । कार्यक्रमस्थललाई प्रहरीले घेरामा राखेकाले उहाँहरु छिर्न सक्नुभएको थिएन । हामीले पूर्वनिर्धारित कार्यक्रम अनुसारै कार्यक्रम सुरु गर्‍यौं । पहिलो वक्ता म थिएँ । म उठेर बोल्न लाग्दा कार्यक्रमस्थलबाट आधा किलोमिटर दुरीमा नाराजुलुस भइरहेको थियो ।

यत्तिकैमा मधेसी आन्दोलनकारीको भिडबाट एक्कासी चार राउण्ड गोली प्रहार भयो । त्यसपछि प्रतिरक्षाका लागि प्रहरीले पनि गोली चलायो । यसक्रममा गोली लागेर तीन जनाको मृत्यु भएको खबर आएको छ । यसबाट हामी दुःखी छौं । आन्दोलनकारीका तर्फबाट गोली चलाइएको कुरा प्रहरी र जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकाले र पुष्टी गरिसकेको छ । कटुवा बन्दुक पनि फेला परिसकेको छ । तर, यता मिडियामा भने प्रहरीले मात्रै गोली चलाएको भनेर एकतर्फी समाचारहरु छापिएका छन् । यो घटनाको विषयमा सरकारले पनि छानविन गरिरहेको छ । सत्य तथ्य के हो थाहा भइहाल्छ ।

हाम्रो आमसभामा पाँच हजारभन्दा बढीको मास थियो । हामी उत्तेजनामा आएका भए उनीहरुतर्फ ठूलो क्षति हुन सक्थ्यो । तर हामीले संयम अपनायौं । कार्यक्रम जारी राख्यौं ।

कार्यक्रम सकेर फर्किने क्रममा बाटैभरी अवरोध भए । डायनिया भन्ने ठाउँमा हाम्रा कार्यकर्ता प्रकाश ढकाललाई अपहरण गरेर मरणासन्न हुनेगरी कुटपिट गरिएको छ । अर्का कार्यकर्ता मनोज राईलाई ईंटाले हानेर घाइते बनाइएको छ । हामी चढेको गाडीमाथि ढुंगा र ईंटा प्रहार भए । तर, हाम्रो तर्फबाट कतै कुनै खालको प्रतिकार भएको छैन ।

हामी मुठभेड गर्नका लागि त्यहाँ गएका थिएनौं । हामी त मधेससित संवाद गर्न चाहन्छौं । आमसभामा नागरिक समाजदेखि मधेसी नेताहरुसमेतको सहभागीता गराउन खोजेका थियौं । स्थानीय मधेसी नेताहरुलाई निम्तो गरिएको थियो र उहाँहरुका लागि कुर्सीको समेत व्यवस्था गरिएको थियो । तर, उहाँहरुले अर्कै षडयन्त्र रच्नुभएको रहेछ ।

कथित मधेस अधिकारका लडिरहेका छौं भन्नेहरुलाई म आज प्रश्न गर्न चाहन्छु, के लोकतन्त्रमा आफ्नै देशभित्र शान्तिपूर्ण सभा-सम्मेलन गर्न पाइदैन ? के एउटा नेपाली नागरिकले नेपालको भूमिमा निर्वाध हिँडडुल गर्न पाउँदैन ? के मधेसमा तपाईंहरुको मात्रै हक लाग्छ ?

मधेसमा गएर राजमार्गहरुमा कार्यक्रम गर्दा ‘भित्री मधेसमा पस्न नसक्नेले राजमार्गमा घुमेर के हुन्छ ?’ भनिन्छ । जब हामी भित्र मधेसमा पस्यौं, तब भनिन्छ कि मुठभेड निम्त्याउन किन गएको ?

मधेसवादी दलका नेताहरुले कार्यक्रम गर्दा हामीले त कतै अवरोध गरेका छैनौं । उल्टै हामीलाई पो साम्प्रदायिकता भड्काउन खोजेको, अराजकता मच्चाउन खोजेको जस्ता आरोप लगाइन्छ । यदि हामीले त्यस्तो गर्न खोजेको भए सात हजारको समूहले के गर्न सक्थ्यो, कल्पना गर्नुस् । हामीले त शतप्रतिशत संयम अपनाएका छौं ।

हामीले बकाइदा जिल्ला प्रशासनसित अनुमति लिएर सभा आयोजना गरेका हौं । सर्वदलीय बैठकबाट हामीले पूर्वघोषित कार्यक्रमस्थल अर्को ठाउँमा सारेका पनि हौं । अहिले हाम्रो विषयमा मिडियामा विभिन्नखाले भ्रमपूर्ण कुराहरु आएका छन् । सर्वदलीय बैठकले कार्यक्रम नगर्न सुझाव दिएको र माइकिङसमेत गरेको थियो भनिएको छ । यस्ता झूट कुराहरु प्रचार गरेर भ्रम फैलाउन काम नगर्न म आग्रह गर्छु ।

सचेत युवाहरुको संगठन भएका नाताले संविधानका विषयमा मधेसमा रहेका भ्रम निवारण गर्नु हाम्रो दायित्व हो । हामी चुपचाप बसेको भए, मधेसमा आगो बल्दा टुलुटुलु हेरेर बस्ने भनिन्छ । हामीले मधेसमा गएर राजमार्गहरुमा कार्यक्रम गर्दा ‘भित्री मधेसमा पस्न नसक्नेले राजमार्गमा घुमेर के हुन्छ ?’ भनिन्छ । जब हामी भित्र मधेसमा पस्यौं, तब भनिन्छ कि मुठभेड निम्त्याउन किन गएको ? हामी त न उठीबस न बसिउठ भनेजस्तो बनाइएको छ ।

म फेरि प्रश्न गर्न चाहन्छु, के मधेस नेपाल होइन ? यदि हो, भने त्यहाँ गएर शान्तिपूर्ण कार्यक्रम गर्न किन नपाउने ? जनतासित संवाद गर्न किन नपाउने ? हिजोको घटनाबाट हामी आत्तिएका छैनौं । हामीलाई कसैसित मुठभेड वा प्रतिकार गर्नु छैन । तर, आफ्नो अभियान जारी राख्नेछौं ।

(युवा संघ अध्यक्ष पहारीले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राखेको मन्तव्यमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment