Comments Add Comment

कांग्रेसमा सभापतिका पाँचजना आकांक्षी निस्किए

congress

अरुण बराल

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका लागि अहिलेसम्म ५ आकांक्षी देखापरेका छन् । सभापतिका ५ दाबेदारमा सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सुजाता कोइराला उभिएका छन् ।

रामचन्द्रको रणनीति

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बुधबार रिपोर्टस क्लबको कार्यक्रममा भनेका छन्- ‘मलाई पार्टी सभापति हुनबाट कुनै शक्तिले रोक्दैन ।’

हालै भारत भ्रमणबाट फर्केका पौडेलको यस्तो भनाइले उनी यसपटक पार्टी सभापतिमा लडेरै छाड्ने प्रष्ट संकेत गरेको छ । पार्टीको उपसभापति चलाएका नेता पौडेलले सभापतिका लागि दाबी गर्नु उनको राजनीतिक ‘करिअर’का लागि स्वाभाविकै हो । तर, कांग्रेसभित्र पौडेलको गुटगत उपस्थिति निकै कमजोर छ ।

Ram-chandra-Paudel

अहिलेसम्म सुशील कोइराला पक्षधर नेताका रुपमा परिचित पौडेलले सभापतिमा जित्नका लागि उनलाई सुशील कोइरालाले सहयोग गर्नुपर्ने हुन्छ । यद्यपि कोइराला आफैं सभापतिमा लडे भने रामचन्द्र र सुशीलवीच भोट बाँडिन्छ र त्यसको फाइदा शेरबहादुर देउवाले लिने सम्भावना छ ।

अहिलेसम्म सुशील कोइरालाले आफैं उम्मेद्वार बन्ने बताइरहेका छन् । पौडेलचाहिँ कोइरालाले अन्तिम घडीमा आफूलाई साथ दिने आशमा छन् ।

पौडेल कांग्रेसभित्रका वैचारिक एवं तुलनात्मक रुपमा देउवाभन्दा सादगी नेताका रुपमा चिनिन्छन् । भौतिक रुपमा पनि उनी खट्न सक्ने नेता हुन् । कृषि विकासका साथै वीपीको समाजवादमा पौडेलको विषेश लगाव छ । यस अर्थमा भावी आर्थिक क्रान्तिका लागि आफू देउवाभन्दा अब्बल रहेको पौडेलको दाबी छ ।

पार्टीभित्र प्रशिक्षण विभाग हेर्ने भएकाले पौडेल देशभरिको प्रशिक्षणमा डुलेका छन्, जसले गर्दा उनी कार्यकर्ताहरुले आफूलाई भोट दिने आशमा छन् ।

पछिल्लो समयमा उपसभापति पौडेललाई दक्षिणको शक्तिले समेत सघाउने विश्वासमा उनी रहेका छन् । भर्खरै दिल्लीको निम्तो मानेर फर्केको अवस्था छ र सुशील कोइरालालाई सभापतिमा हराएर देउवालाई जिताउन यसपटक बाहिरी शक्तिकेन्द्रले रामचन्द्र पौडेललाई उचालेको तर्क पनि कांग्रेसभित्र सुनिन थालेको छ ।

पछिल्लो समयमा उपसभापति पौडेल मधेसी मोर्चाप्रति नरम देखिन थालेका छन् । साथै केपी ओली नेतृत्वको सरकारमा जान नहुने र कांग्रेसले प्रतिपक्षमै बस्नुपर्ने पौडेलको लाइन छ, जुन ओली सरकारको हितमा देखिँदैन । प्रधानमन्त्री केपी ओलीचाँहि महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आओस् भन्ने चाहन्छन् ।

सुजाता भन्छिन्- अब पुराना अनुहारको काम छैन

sujata koirala

यसैवीच रामचन्द्र पौडेलजस्तै सुशील कोइराला क्याम्पकै नेतृ सुजाता कोइरालाले पनि आफू सभापतिमा उठेर मात्रै होइन, जितेरै छाड्ने दाबी गरेकी छिन् ।

‘म यसपालि सभापतिमा उठ्दैछु र मेरो जीत निश्चित छ,’ सुजाताले अनलाइनखबरसँग भनिन्- ‘पुरानो लुगा लगाएको मान्छेलाई भन्दा नयाँ लुगा लगाउनेलाई सबैले हेर्छन्, नेपाली कांगेसमा उही पुरानै अनुहारको अब काम छैन, युवाहरुलाई अघि बढाउनुपर्छ र म युवालाई साथ लिएर नेपाली कांग्रेसलाई अगाडि बढाउँछु ।’

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातासँग रामचन्द्र पौडेलको जस्तो बेग्लै गुट छैन । उनले पनि सुशील कोइरालाको साथ चाहेकी छिन् । उनी भन्छिन्- ‘मैले सुशील’दालाई भनिसकेकी छु, यसपालि म सभापतिमा उठ्दैछु, तपाईले मलाई सघाउनुपर्छ ।’

सुजाता कोइराला र रामचन्द्र पौडेल एउटै गुटका नेता भए पनि सुजाता नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुनुपर्छ भन्ने लाइनकी नेतृ हुन् । आफू सभापति बनेर नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने र आगामी चुनावहरुमा कांग्रेसलाई प्रतिस्पर्धामा पहिलो बनाउने उनको लाइन छ ।

विगतमा सुशील कोइरालाले प्रधानमन्त्रीमा केपी ओलीसँग उठेर गल्ती गरेको र यसले गर्दा कांग्रेसले राष्ट्रपति गुमाउनुपरेको सुजाताको विश्लेषण छ । तर, रामचन्द्र पौडेलचाँहि कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने बताउँदै आएका छन् । त्यसो त सत्तापक्षका नेताहरुले भारतको बहकावमा लागेर कांग्रेस प्रतिपक्षमा बसेको आरोप लगाउँदै आएको अवस्था छ ।

सरकारमा सहभागी हुनुपर्ने सुजाताको लाइनले ओली सरकारलाई मद्दत पुर्‍याउन सक्छ भने दक्षिणको छिमेकीलाई बेखुस तुल्याउन सक्छ । त्यसो त दक्षिणी छिमेकीहरुले गिरिजाप्रसाद कोइरालाकै पालादेखि कोइराला खेमालाई एउटा दुरीमा राख्दै आएको छ । र, बीजेपी सरकारमा आएपछि झनै कांग्रेसको संस्थापन पक्षसँग भारतीय संस्थापन पक्षको राम्रो सम्बन्ध छैन । पछिल्लो दिनमा भारतले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई ‘प्रोजेक्ट’ गर्न खोजेको देखिन्छ । यसले सुजातालाई सभापति बन्न नदिन ठूलै शक्ति लाग्ने अनुमान गर्न सकिन्छ ।

चीन र अन्य मुलुकहरुसँग रामचन्द्रको भन्दा राम्रो पहुँच बनाएकी सुजाताले आफूलाई ठूलो शक्तिले रोक्न खोजेको अनुभूति गर्नु र रामचन्द्रले चाँहि सभापति बन्न कुनै शक्तिले रोक्दैन भन्नुको अर्थ कांग्रेसभित्र विदेशीको माइक्रो म्यानेजमेन्ट सुरु भएको अर्थमा बुझ्न थालिएको छ ।

सुजाता कोइराला महिला भएकाले उनको पक्षमा लैङ्गकि सहानुभूति पनि आउन सक्छ । राष्ट्रपति, सभामुख सबै महिला भएका बेला ठूलो पार्टीको सभापति पनि महिला हुन सक्ने महत्वाकांक्षा सुजातामा देखिन्छ । साथै लामो समय जेल बसेको इतिहास भँजाएर नहुने भन्दै सुजाताले अब आफूले मात्रै कांग्रेसलाई हाँक्न सक्ने दाबी गरेकी छिन् ।

तर, रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको सुनिश्चिता खोजेजस्तै सुजाताले पनि उपसभापतिको सुनिश्चितता भए सभापतिमा उम्मेद्वारी नदिने धेरैको दाबी छ । उनले अहिले सभापतिमा बार्गेनिङ गर्ने र पछि उपसभापतिमा चित्त बुझाउने सम्भावना रहेको सूत्रहरु बताउँछन् ।

तर, सुजाता यो स्वीकार्न तयार छैनन् । ‘म अगाडि बढिसकें, जिल्ला जिल्लामा घमेर आफ्नो उमेद्वारी घोषणा गरिसकें,’ उनी भन्छिन्, म पछि हट्दिँन र जित्छु पनि ।’

कृष्ण सिटौला अर्का दाबेदार

Krishna sitaula 650

कांग्रेसका मनोनित महामन्त्री कृष्णप्रसाद सिटौलाले सार्वजनिकरुपमा आफू सभापतिमा उठ्ने नबताए पनि निकटस्थहरुसँग सभापतिमा उमेद्वारी दिने बताउँदै आएका छन् । ‘अब कांग्रेसलाई जोगाउनुपर्छ र यसका लागि तीन ठूला नेताबाट पार लाग्दैन’ सिटौलाले आफ्ना निकटस्थहरुसँग भन्ने गरेका छन् ।

विगतमा सुशील कोइराला खेमाबाट महामन्त्रीसम्म बनेका सिटौला यतिबेला निकै ठूलो सकसमा छन् । राजनीतिक सुरक्षा र बढुवाको हिसाबले सिटौला यसपटक उपसभापति बन्नुपर्ने हो । एउटा पदमा एकपटकमात्रै बसेको सिटौलाको विगत छ ।

तर, सिटौलालाई यसपालि कोइराला खेमाले उपसभापति बनाउने कम सम्भावना छ । रामचन्द्र पौडेलको प्यानलमा लाग्दा उपसभापतिको उमेद्वार त बनिएला तर जित्ने सम्भावना कमै हुन्छ । देउवा पक्षले पनि आफू निकटस्थलाई पछि पारेर सिटौलालाई उपसभापति बनाउने सम्भावना कमै रहेको बताइन्छ ।

यो अवस्थामा सिटौलाले सभापतिमै ‘फाइट’ गर्ने सोचेर भोट माग्न थालेको धेरैको अनुमान छ । देउवा पक्ष वा कोइराला पक्षले उपसभापति दिने प्रतिवद्धता गरेको अवस्थामा सिटौला सभापतिमा नलड्ने सूत्रहरुको दाबी छ । सिटौलाले पनि सुजातालेजस्तै उपसभापतिको सुनिश्चितता खोजेका छन् । तर, सुजाता सुशील पक्षबाट उपसभापति बन्न चाहन्छिन् भने सिटौला चाँहि रामचन्द्र वा देउवाको खेमाबाट । कोइराला पक्षले उनलाई फकाउने अर्को पनि विकल्प हुन सक्छ ।

सुशील कोइरालाको सकस

Susil-Koirala

यसपटकको महाधिवेशनमा सुशील कोइराला सबैभन्दा ठूलो सकसमा छन् । आफ्नै खेमाबाट सुजाता, रामचन्द्र र सिटौला तीनै जनाले सभापतिमा दाबी गरेपछि सुशील अप्ठ्यारोमा छन् । आफूसहित ४ प्रमुख नेताहरुको व्यवस्थापन सुशीलका लागि निकै ठूलो चुनौती हो ।

आफू सभापतिमा नउठेर अरुलाई छाड्दा पनि सुशीलले धेरैको चित्त बुझाउनुपर्ने हुन्छ । रामचन्द्रलाई सभापतिमा छाडिदिएर सिटौला र सुजातालाई उपसभापति दिनका लागि पनि विधानमा दुई उपाध्यक्षको प्रावधान अहिलेसम्म बनिसकेको छैन । सम्भवतः यही भएर सुजाताले पदाधिकारीमा महिलाको आरक्षित कोटा थपिनुपर्ने मागसमेत गरिरहेकी छिन् ।

सुशीलले आफ्नो गुटका चार आकांक्षीहरुलाई व्यवस्थापन गर्न सकेनन् भने सभापति पदबाट कोइराला खेमाले हात धुनुपर्ने स्थिति आउन सक्छ ।

देउवालाई चन्द्रमा दाहिना

Sher-Bahadur-Dauba

यसपालिको महाधिवेशनमा जसरी पनि पार्टी सभापति कब्जा गर्ने देउवाको रणनीति छ । हुन पनि अवस्था यस्तो छ कि देउवा अहिले नभए कहिल्यै सभापति नबन्न सक्छन् । कोइराला खेमाका फुट आएको र सुशील कोइरालाको राजनीतिक साख कमजोर भएको मौकामा देउवाको भाग्य निकै दह्रो देखिएको छ ।

कृष्ण सिटौला कोइराला खेमाबाट टाढिनु, रामचन्द्र पौडेल र सुशीलवीच टक्कर पर्नु अनि सुजाता कोइरालाले समेत सभापतिमा दाबी गर्नुजस्ता त्रिकोणात्मक अन्तरविरोधका कारण कोइराला गुटमा अन्तरविरोध तीव्र बनेको छ । यसरी कोइराला खेमाबाट दुई भन्दा बढी उम्मेद्वार खडा भए पनि त्यसको सोझो फाइदा देउवालाई जाने छ ।

देउवा पछिल्लो समयमा पश्चिमी देशहरुको भन्दा भारतको नजिक बनेको विश्लेषण कांग्रेसभित्र गर्न थालिएको छ । तर, दोहोरो नीति लिने छिमेकीले रामचन्द्र पौडेल र शेरबहादुर देउवा दुबैलाई दिल्लीमा निम्त्याएर हौसला दिइरहेको छ ।

यसका पछाडि दुईवटा उद्देश्य हुन सक्छन्: सुशील र रामचन्द्रलाई मिल्न नदिएर देउवालाई जिताउनु वा रामचन्द्र र देउवा जसले जिते पनि हामीले सघाएका थियौं नि भनेर पछिलाई बाटो बनाउनु ।

राष्ट्रिय राजनीतितर्फ विचार गर्दा देउवाप्रति थारु र मधेसी नेताहरु त्यति सकारात्मक छैनन्, जति सुशीलप्रति छन् । मधेसीसँग सहमति हुन नदिएको र थारुलाई अधिकार दिन नचाहेको आरोप देउवामाथि लाग्दै आएको छ, महाधिवशेनमा यो विषय देउवाबा लागि चुनौती बन्न सक्छ ।

यता एमाले लगायतका दलहरुले फागुनपछि कांग्रेसको नेतृत्व देउवाका हातमा गएको अवस्थामा कांग्रेस सरकारमा सहभागी हुने आश गरेको देखिन्छ । तर, देउवालाई बाहिरी शक्तिले प्रोजेक्सन गरेकै हो भने उनी नेतृत्वमा आएपछि ओली सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने खेल सुरु नहोला भन्न सक्ने अवस्था छैन ।

सुजाताले सम्भवतः ठीकै भनेकी हुन्- ‘केपी ओलीविरुद्ध प्रधानमन्त्रीमा उम्मेदवारी दिएर अरुको इशारामा राष्ट्रपति गुमाउने गल्ती सुशील कोइरालाले एक्लै गरेका होइनन्, यसमा शेरबहादुर र रामचन्द्र पनि उत्तिकै दोषी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment