Comments Add Comment

२५ करोड लगानीमा खुल्यो गौशालामा अमादब्लम होटल

Hotel Amadablam Goushala

१८ माघ, काठमाडौं । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनले मुलुकको पर्यटन व्यवसाय सुस्ताइरहेका बेला राजधानीमा तीनतारे स्तरको पर्यटकीय होटल सञ्चालनमा आएको छ ।

गौशलास्थित पशुपति भिजनको भवनमा २५ करोड लगानीमा अमादब्लम होटल सञ्चालनमा आएको हो । सोमबार पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक कार्यक्रमबीच होटल उद्घाटन गरे ।

यसअघि यहाँ इन्द्रेणी हिमालय होटल रहेको थियो । भूकम्पले पर्यटक आगमन स्वात्तै घटेपछि उक्त होटल बन्द भएको हो । होटलमा हाम्रो इन्भेष्टमेन्ट कम्पनी, नारायणभक्त उप्रेती, बालकृष्ण शिवाकोटीसहित पाँच जनाको लगानी रहेको छ ।

होटल उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको बेलामा तारे होटल खोल्नु सह्रानिय भएको बताए । उनले हिन्दू र बौद्ध धर्मालम्बी पर्यटक भित्राएर सुस्ताएको पर्यटन पुनर्जिवित गराउने प्रतिवद्धता जनाए ।

यसका लागि छिमेकी मुलुक भारत र चीन उपयुक्त रहेको उनको ठम्माई छ । ‘पशुपतिमा धेरै भारतीय हिन्दू पर्यटक भित्राउन सकिन्छ, लुम्विनीमा र स्वयम्भूमा चिनियाँ पर्यटक भित्राउन सकिन्छ’ मन्त्री पोखरेलले भने- ‘मैले धेरै ठाउँ आँखा डुलाएको छैन, भारत र चीनबाटै पर्यटक भित्राउन पहल गछौं ।’

आमादब्लम होटल पशुपति नजिक रहेको हुँदा यस होटलका मुख्य ग्राहक भारतीय हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिव एक किलोमटिरको दुरीमा रहेको हुँदा हवाई यात्रुहरुका लागि पनि यो होटल उपयुक्त रहेको छ ।

नौ तले भवनको माथिल्लो चार तलामा रहेको यो होटलमा ६२ वटा रुमहरु रहेका छन् । मध्यम खालका पर्यटकलाई लक्षित गरिएको होटलमा एउटा रुमको ४ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तोकिएको छ । होटलका सबै रुमहरु वातानुकुलित रहेका छन् ।

होटलमा एउटा प्रेसिडेन्सियल सुइट, चारवटा सुइट डिलक्स रुम रहेका छन् । होटल परिसरमा कफी सप, रेष्टुरेन्ट, बैंक्वेट हल लगायत फिटनेस सेन्टर र स्पाको समेत सुविधा रहेको छ ।

सेन्ट्रल एयर कन्डिसन सिष्टम रहेको होटलको सुइटमा लिभिङ रुम र मास्टर बेडरुम एवं स्टडी टेवल, मिनीबार, तातो चिसो शावर, टव सहितको बाथरुम सुविधा रहेको छ ।

दुई तला बेसमेन्ट पार्किङ भएको हुँदा पार्किङको समस्या नहुने होटलका बरिष्ठ बजार तथा बिक्री प्रबन्धक कमल क्षेत्रीले बताए । होटलको कौशीबाट पशुपतिनाथ मन्दिर र काठमाडौं शहरको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक रहेको हुँदा फ्लाइट डिले तथा लेओभरको कारण बास बस्नुपर्ने यात्रीहरुलाई पनि सुविधा दिइने क्षेत्रीको भनाई छ ।

‘यो पहिला नै राम्रो मार्केट लिइसकेको होटल हो’ क्षेत्रीले भने- ‘पहिलाको मार्केटलाई क्याच गर्दै नयाँ मार्केटिङ गरेर होटल सञ्चालन गरिने छ ।’

होटल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले नदी र हिमालका कारण नेपाल र चीनबीच नजिकको सम्बन्ध रहेको बताए ।

यतिबेला नेपालको पर्यटन क्षेत्र सुस्ताएको उल्लेख गर्दै राजदूत चुन्ताईले यसलाई रिभाई गर्नका लागि ठूलो मेहनत गर्नुपर्ने बताए । उनले नजिक आएको स्पि्रङ सिजनमा नेपाली पर्यटन क्षेत्रले गति लिने विश्वास व्यक्त गरे ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अमादब्लम होटल विमानस्थल र पशुपति नजिक रहेको हुँदा पर्यटकको राम्रो मायाँ पाउने बताए । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान र पर्यटकको संख्या विस्तारै बढ्न थालेको उल्लेख गर्दै छिट्टै पर्यटन रिभाइभ हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment