Comments Add Comment

साउदी अरबदेखि केन्यासम्म यसरी पुग्दैछ वाइवाई

binod chaudhary

नविन अर्याल

२१ माघ, काठमाडौं । तीन दशकअघि नेपालमा चाउचाउको बजार बुझ्न थाइल्याण्डबाट आएका थिए थाई फुडका प्रवन्ध निर्देशक किटी पोङ श्री । अनुसन्धानपछि उनले निस्कर्ष निकाले, ‘उत्पादनका लागि आवश्यक बजार छैन ।’

उद्योगी विनोद चौधरी थाई फुडसँग सहकार्य गरेर नेपालमा वाइवाई चाउचाउ उत्पादन गर्न चाहन्थे । उनकै प्रस्तावमा पोङश्री नेपाल आएका थिए । ‘एउटा प्लान्टले आठ घन्टामा कम्तिमा ३० हजार प्याकेट चाउचाउ उत्पादन गर्छ,’ पोङश्रीले चौधरीलाई सुनाए, ‘यो कहाँ लगेर बिक्री गर्नुहुन्छ ?’

चौधरीले बजारको जोखिम मोल्न तयार भए । उनले ‘कन्भिन्स’ गरेपछि थाई फुडको सहयोगमा ललितपुरको भैंसेपाटीमा वाइवाईको पहिलो प्लान्ट स्थापना भयो ।

यसरी सुरु भएको वाइवाइको उत्पादन अहिले नेपाल र भारतका १२ वटा प्लान्टमा विस्तार भएको छ । नवलपरासीमा रहेको सिजी इन्डस्टि्रयल पार्कमा (सिजीआईपी) चारवटा प्लान्ट छन् । वर्दियामा बनिरहेको वाइवाईको नयाँ प्लान्ट निकट भविष्यमै सञ्चालनमा आउने समूहका महाप्रवन्धक मधुसुदन पौडेलको भनाइ छ । चौधरी समूहले पूर्वी नेपालको सुनसरीमा प्लान्ट विस्तार गर्ने योजना बनाएको छ । यसको अलवा काठमाडौं उपत्यकामा पनि वाइवाई उत्पादन क्षमता बढाउने योजना छ ।

दुई दशकको यात्रामा वाइवाईले नेपालमा मात्र होइन, भारतमा समेत सानोतिनो साम्राज्य खडा गरिसकेको छ । अहिले चौधरी गु्रपले उत्पादन गरेको वाइवाई वार्षिक दुई अर्ब ३० करोड प्याकेट उत्पादन भएर विश्वका ३२ वटा मुलुकमा पुगिसकेको छ । चाउचाउको कुल खपतमध्ये वाइवाईले नेपालमा ६० प्रतिशतभन्दा बढि, भारतमा २० प्रतिशत र विश्वभर २ प्रतिशत हिस्सा ओगटेको चौधरी गु्रपको दावी छ ।

आक्रामक रणनीतिमा चौधरी

चौधरी अहिले विश्वभर वाइवाईको आक्रमक बजार विस्तारमा लागेका छन् । उनको लक्ष्य छ, चौधरी ग्रुपलाई विलियन डलर कम्पनी बनाउने । नेपाल र भारतमा वाइवाइको प्लान्ट थपिँदै छ भने मध्यपूर्व, अफ्रिका, युरोप र अमेरिकामा प्लान्ट खोलेर प्रान्तीय विस्तारमा लाग्ने उनको योजना छ ।

WAI WAI Factory (2)
नवलपरासिमा रहेको चौधरी इन्डष्ट्रियल पार्कमा रहेको वाइवाइ उद्योग ।

अहिले नेपालमा वाइवाईका ५ वटा प्लान्ट सञ्चालनमा रहेका छन् । अझै दुईवटा प्लान्ट थपिँदैछन् । चौधरी समूहले भारतमा सिजी फुड्स (इन्डिया) प्रालि मार्फत २०६२ देखि वाइवाइ उत्पादन गरेर अन्तर्राष्ट्रिय विस्तार सुरु गरेको हो । अहिले भारतमा वाइवाईका ७ वटा प्लान्ट सञ्चालनमा रहेका छन् ।

चौधरी समूहले वाइवाईको अन्तर्राष्ट्रिय विस्तार अर्गानिक र इनअर्गानिक गरी दुई रणनीतिबाट गर्ने भएको छ ।अहिलेसम्म एकपछि अर्को थप्दै जाने वा पहिलेकै ठाउँमा क्षमता बढाउने काम भइरहेको छ, त्यो अर्गानिक वृद्धि हो ।

इनअर्गानिकको वृद्धिअनुसार नयाँ ठाउँमा नयाँ कम्पनी खोल्ने होइन, भइरहेको स्थापित कम्पनी खरिद गरेर उत्पादन सुरु हुनेछ । यसले कम समयमै विस्तारको गति अझ तीव्र हुने चौधरीको विश्वास छ ।

भारतमा साढे तीन अर्ब थपिँदै

भारतीय समाचारपत्र द हिन्दूलाई अन्तर्वार्ता दिदै चौधरीले भारतमा वाइवाईको उत्पादन दोब्बर बनाउने घोषणा गरेका छन् । यसका लागि करिव साढे तीन अर्ब रुपैयाँ लगानी गर्ने तयारी भइरहेको छ ।

भारतका विभिन्न ठाउँमा थप चारवटा वाइवाई प्लान्ट लगाएर तीन वर्षभित्र वाइवाइको बजार हिस्सा हालको तुलनमा दोब्बर बनाउने चौधरीको योजना छ ।

भारतमा अखाद्य पदार्थ मिसावट प्रकरणले म्यागीको बजार खस्किएका बेलामा चौधरी समूह वाइवाई प्रवर्द्धन गर्न लागेको हो । अहिले पनि नेपालको तुलनामा भारतमा वाइवाईको खपत दुई गुणा बढी रहेको समूहको भनाई छ ।

वाइवाई २०४७ सालदेखि नै भारतमा निर्यात हुन थालेको भएपनि २०६२ चैतमा सिक्किममा प्लान्ट स्थापना गरि उत्पादन सुरु भएको हो । चौधरीले सिक्किममा वाषिर्क १२ करोड प्याकेट क्षमताको पहिलो प्लान्ट लगाएका थिए । सिक्किममै २०६८ सालमा १५ करोड प्याकेट क्षमताको प्लान्ट विस्तार गरियो ।

cg
वाइवाइ निर्यात भइरहेका मुलुक र वाइवाइ प्लान्ट खोल्ने तयारी गरिएका मुलुकहरू ।

हाल एउटा प्लान्ट चलिरहेको भारतको उत्तराखण्डाको रुद्रपुरमा नयाँ प्लान्ट विस्तार गरिदैछ । यो सँगै राजस्थानको अजमेयरमा खोल्न लागेको ‘मेगा फुडपार्क’ मा पनि वाइवाई प्लान्ट राखिने छ । मेगा फुडपार्कमा वाइवाइको अलवा अन्य विभिन्न फुड म्यानुफ्याक्चरिङ युनिट रहने बताइएको छ । मध्यप्रदेशमा पनि वाइवाईको प्लान्ट विस्तार गर्ने काम भइरहेको छ ।

भारतमा पहिलो स्थानमा रहेको म्यागीलाई जित्ने र विश्व बजारमा १० प्रतिशत हिस्सा पुर्‍याउने चौधरीको लक्ष्य छ । अहिले वाइवाईको विश्वव्यापी वृद्धिदर ३० प्रतिशतको हाराहारीमा रहेको छ ।

वाइवाइको उत्तराखण्डको रुद्रपुरमा १२ करोड क्षमताको प्लान्ट चलिरहेको छ भने आसामको छायाँगाउँमा १२ करोड क्षमताको प्लान्ट सञ्चालनमा छ । आसामकै सिल्चरमा अर्को १५ करोड क्षमताको प्लान्ट छ ।

दक्षिणी भारतको बजार ओगट्न आन्ध्रप्रदेशको चित्तौरमा वाषिर्क ९ हजार टन क्षमताको वाइवाई प्लान्ट सञ्चालनमा भने विहारको पुणिर्यामा पनि वाइवाइको प्लान्ट छ ।

अफ्रिकादेखि यूरोपसम्म

नेपाल र भारतमा पाएको सफलतासँगै तेस्रो मुलुकमा पनि प्लान्ट खोलेर वाइवाईको बजार विस्तार गर्ने चौधरीको योजना छ । अहिले निर्यात भइरहेका ३२ देशहरुमा वाइवाई अत्याधिक रुचाइएको भन्दै चौधरी समूहले प्लान्ट स्थापना गर्ने योजना बनाएको हो ।

चौधरी समूह मध्यपूर्व, अफ्रिका  र युरोपमा वाइवाई प्लान्ट सञ्चालन गरेरै प्रान्तीय बजार विस्तारमा लाग्ने भएको छ । यसो भएमा स्थानीय बजारमा कम मूल्यमै वाइवाई उपलब्ध गराउन सकिन्छ ।

cg_nepal
नेपाल र भारतमा रहेका वाइवाइका प्लान्टहरू ।

समूहले वाइवाईको तेस्रो मुलुक प्रवेशको पहिलो खुड्किलो मध्यपूर्वी क्षेत्रको साउदी अरेवियाबाट टेक्ने बताएको छ । यसैगरी अफ्रिकाको केन्या र नाइजेरियामा प्लान्ट खोलेर त्यस क्षेत्रमा वाइवाईको बजार विस्तार गरिने भएको छ । युरोपको बजार विस्तारका लागि सर्वियामा प्लान्ट खोल्ने समूहको योजना छ ।

नेपालीको ठूलो समूह बसोबास गर्ने अमेरिकी मुलुकमा वाइवाई पुर्‍याउन दक्षिण अमेरिकी मुलुक पेरुमा प्लान्ट खोल्ने बताइएको छ । त्यस्तै, सार्क मुलुकमा विस्तार अन्तर्गत बंगलादेशमा पनि वाइवाई प्लान्ट खोल्ने तयारी भइरहेको छ ।

जहाँ नेपाली त्यहाँ वाइवाई

व्यवसायको सिलसिलामा दुबई जाँदा त्यहाँको विमानस्थलमा नेपाली युवाहरुले वाइवाइ चाउचाउ बोकेर गएको देखेपछि चौधरीले वाइवाईलाई संसारभरी पुर्‍याउने अठोट गरेका थिए । ‘कम्तीमा जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ वाइवाई पुर्‍याउँछु, ताकि, विदेश जाने नेपालीले आफूसँगै ओसार्नु नपरोस्, सकिएला कि भनेर प्याकेट गन्दै खानु नपरोस्’ चौधरीले आत्मकथामा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment