Comments Add Comment

मदन भण्डारी फाउण्डेसनमा भारतको साटो चीनको लगानी !

Yogesh-And-Usha-kiran

२१ माघ, काठमाडौं । नेकपा एमालेभित्र मदन भण्डारीका नाममा दुई वटा संगठन छन्: एउटा-पार्टी सचिव योगेश भट्टराईले नेतृत्व गरेको मदन भण्डारी अध्ययन केन्द्र र दोस्रो-राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले नेतृत्व गरेको ‘मदन भण्डारी फाउण्डेसन’ ।

विद्यादेवी भण्डारी राष्ट्रपति बन्नु अघिसम्म मदन भण्डारी फाउण्डेसनको अध्यक्ष पदमा उनी आफैं थिइन् । विद्या राष्ट्रपति बनेपछि यो पद उनले आफ्नी जेठी छोरीलाई हस्तान्तरण गरेकी छिन् ।

एमालेभित्र ओली पक्षले मदन भण्डारी फाउण्डेसनका नाममा विदेशबाट पैसा ल्याएर भ्रष्टाचार गर्नुका साथै गुटबन्दीसमेत गर्दै आएको आरोप माधव नेपाल पक्षका नेताहरुले लगाएका छन् । यही कारणले गर्दा नेपाल पक्षका नेताहरुले मदन भण्डारी फाउण्डेसनलाई काउण्टर गर्न बेग्लै ‘मदन भण्डारी अध्ययन केन्द्र’ खडा गरेका हुन् ।

र, योगेशको नेतृत्वमा रहेको यही अध्ययन केन्द्रले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेर केपी ओलीको सार्वजनिक आलोचना गरेको हो, जुन कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालका साथै घनश्याम भुसाल, योगेश भट्टराई, लालबाबु पण्डित लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा ओली पक्षका कोही पनि नेता सहभागी थिएनन् ।

एमाले स्रोतका अनुसार विद्यादेवी भण्डारी अध्यक्ष भएकै बेला मदन भण्डारी फाउण्डेसनले विभिन्न कार्यक्रम गर्न भन्दै भारतबाट ठूलो धनराशी भित्र्याएको थियो । सो रकमको हिसाब पार्टीभित्र पारदर्शी नगरी ओली पक्षले एकलौटी परिचालन गरेको माधव नेपाल पक्षका नेताहरुले आरोप लगाउने गरेका छन् ।

‘पहिले चुनाव ताका भारतबाट मदन भण्डारी फाउण्डेसनका नाममा ठूलो रकम भित्र्याइयो,’ एमालेका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने- ‘अहिले चीनबाट ६० करोड रुपैयाँ भित्र्याइएको चर्चा छ, तर पार्टीमा यसको कुनै हिसाब-किताब देखाइँदैन ।

सुरुमा विद्या भण्डारी र अहिले उनकी छोरी उषाकिरण प्रमुख रहेको मदन भण्डारी फाउण्डेसनले भारत र चीनबाट मात्रै होइन, नेपाल सरकारबाट पनि रकम लिएर भ्रष्टाचार गरेको आरोप नेपाल पक्षका नेताहरुको छ ।

समानान्तर पार्टी चलाएको आरोप

केपी ओली पक्षले मदन भण्डारी फाउण्डेसनका नाममा जिल्ला जिल्लामा कमिटीहरु गठन गरेको छ । यसलाई नेपाल पक्षले समानान्तर कमिटी चलाएको र गुटबन्दी गरेको भन्दै विरोध जनाएको छ ।

जिल्लामा आयोजना हुने मदन भण्डारी फाउण्डेसनका कार्यक्रमहरु माधव नेपाल पक्षका नेताले बहिस्कार गर्दै आएका छन् । पार्टीका जननेता मदन भण्डारीलाई ओली पक्षले आउट सोर्सिङ गरेर एनजीओ चलाएको र भ्रष्टाचार एवं गुटबन्दीमा भण्डारीको नाम दुरुपयोग गरेको माधव नेपाल पक्षका एक नेताले बताए ।

ती नेताले अनलाइनखबरसँगको अनौपचारिक कुराकानीमा भने-‘ पहिले मदन भण्डारीकी श्रीमतीलाई अघि सारेर यस्तो कार्य गरियो, अहिले विद्या राष्ट्रपति बनेपछि बंशाणुगतजस्तै गरी छोरीलाई नेतृत्वमा ल्याइएको छ ।’

मदन भण्डारी पार्टीका साझा नेता भएकाले उनका विचारलाई विदेशीको पैसा ल्याउने र एनजीओ चलाउने कार्यमा दुरुपयोग गरिन नहुने योगेश भट्टराई पक्षका नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment