Comments Add Comment

मेरा काममा प्रश्न उठाउने ठाउँ दिन्नँ: प्रधानमन्त्री ओली

KP oli, press chautari Nepal

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाउन नमिल्ने गरी काम गरेर देखाउने बताएका छन् । अर्थतन्त्रलाई आत्मनिर्भरको दिशामा अघि बढेको भन्दै ओलीले नयाँ ढाँचामा तीब्र गतिमा देशमा अर्थतन्त्रको विकास हुने दाबी गरे ।

प्रेस चौतारी नेपालको १८ औं वार्षिक उत्सवको अवसरमा शुक्रबार तिनकुनेको एक पार्टी प्यालेसमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सँधै सिंहरदरबार र बालुवाटार बसिँदैन, एकदिन त छाड्नैपर्छ । यो मेरो च्यालेन्ज हो, त्यहाँबाट निस्किने बेला तपाइँ प्रधानमन्त्री बनेर देशमा के भयो भनेर प्रश्न गर्ने ठाउँ नै हुँदैन । मेरो उद्देश्य काम गर्ने हो ।’

आफूले छिट्टै भारत र चीनको भ्रमण गर्ने उनले जानकारी गराए । दुबै भ्रमणहरु अर्थपूर्ण र महत्वपूर्ण रहने उनले बताए ।

ओलीले भने, ‘मुग्लीनतिरको पहरोमा जस्तै बाटो बनिसक्यो । म अहिले त्यहि बाटोमा हिँडिरहेको छु । अब छिट्टै इन्डिया पनि र चाइना पनि भिजिटमा जाँदैछु । ति भिजिटहरु केहि अर्थमा नयाँ छन् ।’

उनले आफूले बोलेका कुराहरुलाई हावा र उखान टुक्काको संज्ञा दिइएकोप्रति उनले असन्तुष्टि जनाए । आफूले बोलेका आर्थिक विकासका कुराहरुलाई उखानटुक्काको रुपमा पुष्टि गर्न उनले चुनौति दिए । १०-२० बर्षपछि र अघि पनि आफूले बोलेका कुराहरुमा आफू उत्तिकै जवाफदेही रहेको उनले बताए ।

‘मैले बोलेका कुराहरुमा कतै उखान टुक्का छ भने भन्नुस् त कहाँ छ उखान टुक्का ?’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘नोटमा राष्ट्र बैंकले रुपैयाँ भुक्तानी माग्न आएमा तुरुन्त पाइने छ भनेर लेखेजस्तै मैले १०-२० बर्ष र पछि अघि बोलेका कुराको जिम्मेवारी लिन तयार छु ।’

सँधै ठट्यौली पारामा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पनि ठट्यौली पारामै प्रस्तुत भए ।

ओलीले भने, ‘नेपालमा बिजुली निस्किेको १०५ बर्ष भयो । १०५ बर्षमा बर्षायाममा ७ सय मेगावाट बिजुली निस्कियो । सुख्खायाममा त मुस्किलले ३ सय मेगावाट हुन्छ । मैले एक बर्षमा लोडसेडिङ हटाउँछु, काठमाठौंमा मेट्रो ट्रेन चलाउँछु । हावाबाट बिजुली निकाल्छु भन्दा हावा गफ गर्‍यो भनेर उडाए । किनभने यसअघि कसैले पनि यस्तो कुरा गर्दैनथे । देशमा तिव्र आर्थिक विकास गर्नुपर्छ भन्दा कतिले बुझे, कतिले बुझपचाए, कति भ्रममा परे ।’

प्रेस चौतारी पुरस्कारको घोषणा

कार्यक्रममा प्रेस चौतारी नेपालले हरेक बर्ष प्रदान गर्दै आएको बिभिन्न पुरस्कार पाउनेहरुको नामावली पनि सार्बजनिक गरिएको थियो । हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई प्रदान गरिने छ ।

यसैगरी अग्निशिखा स्मृति पुरस्कार प्रेस चौतारी मकवानपुरका पूर्वउपाध्यक्ष देवराज रिमाललाई, वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार सिरहाका दिलीपकुमार सिंहलाई तथा डेकेन्द्र थापा स्मृति पुरस्कार दैलेखकका यज्ञराज थापा र अछामकी विद्युतमा आउजीलाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको थियो ।

यस्तै पूर्वाञ्चलको सुनसरी, मध्यमाञ्चलको दोलखा, पश्चिमाञ्चलको नवलपरासी, मध्यपश्चिमाञ्चलको बाँके र सुदूरपश्चिमाञ्चलको डडेलधुरा उत्कृष्ट जिल्ला कार्यसमितिमा छनौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment