Comments Add Comment

प्रचण्डलाई राष्ट्रकविको आग्रह: साझा प्रकाशन बन्द हुनबाट जोगाउनुस्

Prachanda,-Sahityakar

  • प्रचण्डलाई भेट्दै साहित्यकारहरु । तस्बिर: प्रचण्डको निजी सचिवालय

२५ माघ, काठमाडौं । सरकारी स्वामित्वको साझा प्रकाशनलाई बन्द हुनबाट जोगाउन साहित्यकारहरुले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेसहितका वरिष्ठ साहित्यकारहरुको टोलीले सोमबार प्रचण्डलाई भेटेर आर्थिक रुपमा धरासायी बन्दै गएको साझा प्रकाशनलाई बचाउन माग गरेका हुन् ।

साहित्यकारहरुको टोलीले एमाओवादीको मुख्यालय पुगेर नेपाली भाषा र साहित्यको विकासमा साझा प्रकाशनको निकै ठूलो योगदान रहेको भन्दै बन्द हुन नदिन आग्रह गरे । राष्ट्रकवि माधवप्रसाद घिमिरे र वरिष्ठ साहित्यकार वैरागी काईंलाले साझा प्रकाशन बन्द हुँदा साहित्यकारहरु टुहुरो हुने भन्दै साझालाई आर्थिक रुपमा मजबुत बनाउने विषयमा गम्भिर हुन एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

साहित्यकारहरुको टोलीसँगै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य पनि एमाओवादीको मुख्यालय पुगेका थिए । माओवादी अध्यक्ष वैद्यले वरिष्ठ साहित्यकारहरुको अनुरोधलाई सामान्य रुपमा नलिन एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले साझा प्रकाशन आर्थिक रुपमा टाट पल्टिन साहित्यकारहरुका लागि मात्र नभइ मुलुकै लागि दुर्भाग्य भएको भन्दै यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने आश्वासन दिएका थिए ।

१ सय ९४ जना स्थायी कर्मचारी रहेको साझा प्रकाशनले आर्थिक अवस्था नाजुक भएका कारण ६ महिनादेखि कर्मचारीलाई तलब खुवाउन सकेको छैन । साझा प्रकाशनको दायित्व ४० करोड रुपैयाँभन्दा बढी छ ।

साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझालाई बचाउन ४० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण माग गरेपनि सरकारले ऋणका लागि चासो देखाएको छैन । चरम आर्थिक संकट झेलिरहेको साझाले विद्यालय तहको पाठ्यपुस्तक बिक्री वितरण गरेर केही मुनाफा आर्जन गर्दै आएकामा शिक्षा मन्त्रालयले पाठ्यपुस्तक बिक्री वितरणको जिम्मेवारी निजी क्षेत्रलाई समेत सुम्पिएको छ । आर्थिक अभावमा साझा अहिले पुस्तक समेत प्रकाशन गर्न नसक्ने अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment