Comments Add Comment

भक्तपुरमा माछा मार्ने जात्रा मनाइयो

fish

  • फाइल तस्वीर

२६ माघ, भक्तपुर । प्रख्यात मल्लकालीन नवर्दुगा नाच अर्थात माछा मार्ने जात्रा जिल्लाको विभिन्न ठाउँमा मनाइएको छ ।

आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने उक्त नाच गत माघ १ गतेदेखि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भएर साँघु र चाँगुनारायणमा प्रदर्शन भएछि फेरि भक्तपुर नगरमै सञ्चालन हुने जात्रा सञ्चालन समितिका सचिव रत्नमान वनमालाले बताए ।

नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा यो प्रदर्शन गरिने सो जात्रा सूर्यमढीबाट सरु भएको थियो । त्यसपछि दत्तात्रय, क्वाठण्डौ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा प्रर्दशन गरिएको छ । तौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेमा प्रदर्शन गर्ने परम्परा छ ।

नवदुर्गा नाचलाई साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीकष्ठपुर, खर्पुमा प्रदर्शन गरिएपछि पुनः भक्तपुरको त्रिपुरासुन्दरी, याछेँमा प्रदर्शन गरेपछि काभ्रेको बनेपा र पनौतीमासमेत प्रर्दशन गर्ने परम्परा छ । जेठ मसान्तमा जिल्लाको ईछु गल्लिबाट पुनः सुरु हुने यो जात्रा साउनमा भलभल अष्टमीदेखि सम्पन्न हुने परम्परा रहेको बनमालाले बताए ।

जात्रामा देवगणले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्ने र यसै क्रममा आर्थिक रकम सङ्कलन गर्नुपर्ने बाध्यता रहेको छ । आर्थिक अभावका कारण नाच बन्द हुने अवस्थामा पुगे पनि परम्परा धान्न चन्दा सहयोगबाट नाच सञ्चालन गर्दै आएको बनमालाको भनाइ छ । मुलुककै प्रतिष्ठा बनेको यो नाच सञ्चालनका लागि सरकार, भक्तपुर नगरपालिका र अन्य स्थानीय निकायलगायत कतैबाट पनि सहयोग नभएपछि भक्तजनले चढाएको दक्षिणामा भर पर्नुपरेको हो ।

नाच सञ्चालनकै लागि देवगणले सडकमा गुडेका सवारी साधनदेखि पैदल हिँड्नेहरु, व्यापारिक पसललगायतका निकायसँग भेटिका रुपमा आर्थिक सङ्कलन गर्ने गरेका छन् । मुकुण्डो लगाएर १९ जना देवगण रहने यो नाचमा १३ वटा मकुण्डो रहने र मकुण्डो लगाएर १२ जनाले नाच्ने चलन छ । माछा मार्ने जात्रामा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हायणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्छन् ।

यो जात्रामा खे बजा, त बाजा र काया बाजा बजाउने तीनजना, महालक्ष्मी अर्थात सिफोद्यो बोक्न तीनजना रहने गर्छन् । जात्रामा दर्शकले सिठ्ठी बजाएर आ आ आ गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्छन् । लखेट्दा देवगणले समाउन सके भेटिदिनु पर्ने परम्परा छ । बालकदेखि किशोर, युवा र पाको उमेरका व्यक्तिसमेत देवता बन्नुपर्दा कतिपयको पढाइ छुट्ने र स्वास्थ्यमा समस्या आउने तथा रोजगारी समेत नपाउने भएपछि देवगणका परिवारलाई रोजगारीको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था र जात्रा सञ्चालन गर्न सरकारले बजेट छुट्याइदिन देवगणले माग गरेका छन् ।

देवता बन्न आफ्नै पैसा खर्चेर सबैलाई भोज खुवाउनुपर्ने, भोकै बसेर बिहानदेखि बेलुकासम्म गह्रौं मुकुण्डो लगाएर नाच्नुपर्ने हुँदा छाती दुख्ने, पेट पोल्ने र खुट्टा दुख्ने समस्या आउने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment