१ फागुन, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले नवौं दिन एक रजत र एक काश्य पदक जितेको छ । सिलोङमा शुरु भएको तेक्वान्दो स्पर्धामा नेपालले २ पदक जितेको हो ।
नेपालकी रेजिना कार्कीले नेपालका लागि रजत दिलाइन् । तेक्वान्दोको ४६ केजी तौल समूहमा फाइनलमा पुगेकी उनले पाकिस्तानकी अस्मिन खानसँग पराजित हुँदै रजतमा चित्त बुझाइन् । निर्धारित समयमा ८/८ अंक भएर थपिएको अतिरिक्त समयमा उनी एक अंकले पछि पर्दै पराजित भइन् ।
त्यस्तै नेपालका रामहरी महतले तेक्वान्दोको ८७ केजी तौल समूहमा काश्य पदक जिते । फाइनल प्रवेशका लागि भएको प्रतिष्पर्धामा भारतका मुसरफ परवेजसँग १४/० को फराकिलो अन्तरले पराजित भए ।
सेमिफाइनलमा पराजित हुने दुबैलाई काश्य पदक दिइन्छ ।