३ फागुन, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालको वैदेशिक व्यापार २९ प्रतिशतले खुम्चिएको छ । प्रभुख भन्सार नाकाहरुमा उत्पन्न असहज परिस्थितीले निकासी पैठारीमा उल्लेख्य ह्रास आएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब ३ अर्ब ८३ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । यस अवधिमा ३१ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तुहर निर्यात भएको भने दुई खर्ब ७२ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात गरिएको छ ।
नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार निर्यात २८.६ प्रतिशतले घटेको छ भने आयात २८.९ प्रतिशतले घटेको छ । कुल व्यापार घटेपछि व्यापार घाटा पनि २८.९ प्रतिशतले घटेर दुई खर्ब ४० अर्ब ९५ करोड रुपैयाँमा सिमित हुन पुगेको छ ।
नेपालको वैदेशिक व्यापारमा करीव दुई तिहाई व्यापारमा साझेदार रहँदै आएको भारततर्फको निर्यातमा ३६.६ प्रतिशत र आयातमा ३६.२ प्रतिशतले गिरावट आएपछि समग्र व्यापारमा ह्रास आएको तथ्यांकले देखाउँछ ।
यस अवधिमा पेट्रोलियम पदार्थ लगायत औद्योगिक कच्चापदार्थ, मशिनरी, यातायातका साधनहरु तथा खाद्यान्नको आयातमा भारी गिरावट आएको केन्द्रले बताएको छ । साथै, भूकम्पका कारणले चीनतर्फको प्रमुख भन्सारमा दुवै तर्फको सडक यातायातमा अवरोध सिर्जना भई नेपालको चीनतर्फ हुने निर्यात तथा आयात व्यापारमा पनि ह्रास आउँदा नेपालको चीनसँगको व्यापार पनि प्रभावित भएको छ ।
नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी प्रमुख रहेका छन् ।
समीक्षा अवधिमा गलैंचाको निर्यातमा ११.८ प्रतिशतले वृद्धि भईर् ३ अर्ब ९६ करोड, तयारी पोशाकको निर्यातमा १.७ प्रतिशतले वृद्धि भई २ अर्ब ९० करोड पुगेको छ । फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५८.६ प्रतिशतले ह्रास आई २ अर्ब ५२ करोड, पोलिष्टर तथा अन्य धागोमा २९.४ प्रतिशतले ह्रास आई २ अर्ब २५ करोड, मुसुरोको दालमा ५१.६ प्रतिशतले ह्रास आई ४० करोड पुगेको छ ।
यस अवधिमा ३२ करोडको छाला, २ अर्ब ३९ करोडको अलैंची, १ अर्ब २९ करोडको चिया, २४ करोडको अदुवा, २० करोडको चाऊचाऊ, २४ करोड जडिवुटी, २४ करोडको टुथपेष्ट, १ खर्ब ४६ करोडको टेक्सटाइल, १ अर्ब ५४ करोडको पश्मिना सल, ४४ करोडको हस्तकलाका सामानहरु, ३४ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ ।
आयाततर्फ फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ३६.२ प्रतिशतले ह्रास आई २५ अर्ब ८६ करोड, पेट्रोलियम पदार्थमा ६४ प्रतिशतले ह्रास आई २१ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा २८.२ प्रतिशतले ह्रास आई १७ अर्ब २३ करोड, इलेक्टि्रक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २५.७ प्रतिशतलेे ह्रास आईर् १२ अर्ब ४३ करोड रुपैयाँमा झरेको छ ।
यसैगरी औषधीको आयातमा ४४.८ प्रतिशतलेे वृद्धि भई १३ अर्ब ८७ करोड, मशिनरी तथा पार्ट्समा ३३.१ प्रतिशतले ह्रास आईर् १६ अर्ब ९१ करोड, पोलिथिन ग्रेन्युल्समा १३.७ प्रतिशतले ह्रास आई ६ अर्ब ७० करोड, कच्चा पाम आयलमा ५३.६ प्रतिशतले ह्रास आई १ अर्ब २३ करोड, दुरसञ्चारका सामाग्रीहरुमा २.८ प्रतिशतलेे वृद्धि भई १० अर्ब ४५ करोड, रसायनमा १६.५ प्रतिशतले ह्रास आई ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा ८ अर्बकोसुन, ३ अर्ब ९२ करोडको चाँदी, ६ अर्ब २४ करोडको रासायनिक मल, २ अर्ब ७२ करोडको हवाईजहाज तथा पार्ट्सहरु आयात गरिएको छ ।

प्रतिक्रिया 4