Comments Add Comment

कमल थापालाई चुनाव लाग्यो, ‘हिन्दुराष्ट्र’ बारे दुई लाइन

Kamal Thapa 650

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग भारत भ्रमण सकेर फर्केको भोलिपल्टै फागुन १३ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले धनगढीमा ‘हिन्दुत्व जागरण अभियान’ लाई सम्बोधन गरे । त्यसको दुई दिनपछि शनिबार सुनसरीको इटहरीमा अर्को ‘हिन्दुत्व जागरण सभा’को आयोजना गरियो, जहाँ स्थानीय विकासमन्त्री थापाले चुनावको समेत चर्चा गर्न भ्याए ।

‘हामी चुनाव लड्न लागेका छौं, देशव्यापी रुपमा हिन्दुत्व जागरण अभियान सञ्चालन गरिराखेका छौं’ उपप्रधानमन्त्री थापाले इटहरीमा आयोजित सभाबाट चुनावको तयारीबारे स्पष्ट सन्देश दिँदै भने- ‘यो हिन्दुराष्ट्रको जनमत तयार पार्ने अभियान हो, अब दुई वर्षपछि चुनाव हुन्छ, हामी चुनावसँग डराउँदैनौं, एउटा चुनाव हार्दैमा हरेस खानेवाला छैनौं ।’

मुलुकको चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपालले देशव्यापीरुपमा हिन्दु धर्मका नाममा जनमत बटुल्ने र चुनावमा भोट बटुल्ने अभियान सुरु गरेको छ । धनगढी र इटहरीपछि अब वीरगञ्ज, जनकपुरलगायत तराईका विभिन्न शहरमा हिन्दुत्व जगाउने राप्रपा नेपालले बताएको छ, जुन पूरै चुनाबतर्फ लक्षित देखिन्छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिन्दु राष्ट्र हुनुपर्छ भन्ने आग्रह गरेको अपुष्ट चर्चा चलिरहेकै बेला राप्रपा नेपालले ‘हिन्दुराष्ट्र’ माग्दै देशव्यापी अभियान छेडेको हो ।

आफैं सरकारमा सहभागी भएको राप्रपा नेपालले संविधानमा धर्म निरपेक्षता लेखिएकोप्रति आपत्ति जनाएको छ । यसबारे इटहरीको सभामा थापाले स्पष्टीकरण दिँदै भने- ‘संविधान र कानून मान्दिँन भन्न पाइँदैन, तर संविधानमा असहमति राख्न पाइन्छ ।’

हिन्दुराष्ट्रबारे दुई लाइनको संघर्ष

नेपालमा हिन्दु राष्ट्र हुनुपर्छ भनेर माग गर्दै आएका शक्तिहरु दुईखाले छन् । एउटा राजनीतिक दल राप्रपा नेपाल हो भने दोस्रोमा विभिन्न धर्मगुरुहरुले पनि सभा समारोह गरेर हिन्दुराष्ट्र माग्दै आएका छन् ।

संविधान बन्नुअघि पनि धर्मगुरुहरुले काठमाडौं लगायत विभिन्न जिल्लामा हिन्दु राष्ट्र माग्दै प्रदर्शन गरेका थिए । तर, उनीहरुले कमल थापालाई बाइपास गर्दै खुमबहादुर खड्कालाई साथ लिन खोजेका थिए । भारतबाट आएका बीजेपीका केही नेताले खुमबहादुरलाई साथ दिएका थिए ।
शनिबार इटहरीमा आयोजित राप्रपा नेपालको कार्यक्रममा बोलेका हिन्दु धर्म गुरु श्रीनवास आचार्यले पनि राप्रपा नेपाल र जोगीहरुको भिन्नता उजागर गर्ने प्रयास गरे । उनले कमल थापाकै अगाडि उभिएर राप्रपा नेपालले धर्म निरपेक्ष संविधानलाई मानेर आफ्नो पूर्वअडान छाडेको हो कि भन्ने सांकेतिक प्रश्न उठाउने प्रयास गरे ।

कमल थापामाथि श्रीनिवासको प्रश्न अर्को पनि थियो, अहिल्यै संविधान संशोधन गरेर हिन्दु राष्ट्र स्थापना गर्ने कि राप्रपा नेपालले बहुमत ल्याएपछि केही वर्षपछि मात्रै हिन्दुराष्ट्र स्थापना गर्ने ? आचार्यको थप गुनासो थियो, ‘संविधान संशोधन हुँदा पनि हिन्दुराष्ट्र स्थापना नहुनु दुखद विषय हो ।’

र, आचार्यको आग्रह के थियो भने अहिल्यै संविधान संशोधन गरेर नेपाललाई हिन्दुराष्ट्र कायम गरियोस् ।

तर, कमल थापाले हिन्दुराष्ट्र स्थापनाको अर्कै लाइन प्रस्तुत गरे, इटहरीको सभामा । भाषण गरेर वा थपडी बजाएर मात्रै हिन्दुराष्ट्र स्थापना नहुने भन्दै उनले हिन्दु राष्ट्र स्थापनाका लागि गाईलाई भोट हाल्नुपर्ने र बहुमत ल्याएर संविधान संशोधन गर्नुपर्ने थापाले आफ्नो लाइन अघि सारे । तत्कालै हिन्दुराष्ट्र चाहियो भन्नेहरुलाई थापाको जवाफ थियो- ‘थपडीमात्रै बजाउने हो भने भाषणमात्रै हुन्छ, जसरी हिन्दुराष्ट्रको कुरामा थपडी बजाइयो, त्यसैगरी गाईलाई भोट हालिदिएको भए यस्तो अवस्था हुन्थेन ।’

भारतबाट परिचालित हुने कि आफ्नै पहलकदमी ?

हिन्दुत्व जागरण अभियानमा राप्रपा नेपाल र जोगीहरुको मतभेदको अर्को पक्ष पनि छ, त्यो के हो भने ‘हिन्दुत्व जागरण अभियान’लाई राप्रपा नेपालले राष्ट्रियतासँग जोड्न खोजेको छ भने जोगीहरुले चाँहि सीधै भारतसँग सहायता माग्ने गरेका छन् ।

केही महिनाअघि इटहरीमै भएको प्रदर्शनमा श्रीनिवास आचार्यका कार्यकर्ताबाट प्रहरीले केही भारु जफत गरेको थियो । उनीहरुलाई साथ दिन भारतीय रअका एजेण्ड बिराटनगरको होटलमा आएर बसेको प्रहरीले पत्तो लगाएको थियो । यस्तो रहस्य थाहा पाएपछि राप्रपा नेपालका कार्यकर्ताहरु संयुक्त संघर्षबाट पछि हटेका थिए । भारतीयहरुको बुई चढेर आन्दोलन गर्नुहुँदैन भन्ने राप्रपा नेपालका नेताहरुले बताउँदै आएका छन् ।

शनिबार इटहरीमा कमल थापासँग एउटै मञ्चमा बसेका धर्मगुरुले आफूले बीजेपीका नेतासँग भेट गरेको र उनले नेपालमा हिन्दु राष्ट्र निर्माण अभियानमा सहायता गर्ने बचन दिएको सभामै सुनाए । तर, कमल थापाले आफ्नो भारत भ्रमणको प्रशंगसम्म कोट्याएनन् । बरु उनले नेपालका सनातन धर्महरु किरात, वौद्ध, हिन्दु आदिलाई संरक्षण गर्नुपर्ने र ‘विदेशी धर्म’ एवं धर्म परिवर्तनलाई निरुत्साहित गर्नुर्पर्ने बताएर राष्ट्रवादको वकालत गरे ।

धर्मगुरुहरुले भारतको आड लिएर हार गुहार गर्नु र कमल थापाले ‘विदेशी धर्म’को निन्दा गर्नुले राप्रपा नेपाल र धर्मगुरुहरुको भिन्नता प्रष्टै देखिन्थ्यो ।

तर, पनि राप्रपा नेपालले आफ्नो धर्म जागरण अभियानमा धर्म गुरुहरुलाई सहभागी गराउने नीति लिएको छ । यसो गर्दा सभामा धर्म गुरुहरुले हिन्दुबाहेक अन्य समुदायप्रति असहिष्णु अभिव्यक्ति दिने गरेका छन् भने कमल थापाले चाँहि जातीय छुवाछुत र अन्धविश्वासको विरोध समेत गरेका छन् । रुढीवादको संरक्षण गर्ने कि विरोध गर्ने भन्ने विषयमा पनि राप्रपा नेपाल र धर्म गुरुहरुवीच फरक बुझाइ देखिएको छ ।

एमाओवादीलाई जित्ने राप्रपा नेपालको दाऊ

व्यवस्थापिका संसदमा चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपालले आगामी चुनावमा तेस्रो दल एमाओवादीलाई जित्ने अभियान थालेको छ । चुनावलाई लक्षित गरेर थालिएको अहिलेको अभियानलाई सोही रुपमा बुझ्न सकिन्छ ।

एमाओवादीले भने आगामी चुनावलाई लक्षित गरेर कुनै एजेण्डा अपिघ सारेको छैन । एमालेले जस्तै एमाओवादीले पनि संविधानको प्रशंसा गरिरहेको छ, तर कमल थापाले आफ्नो असहमतिका बुँदाहरुलाई लिएर धनगढी र इटहरी तताइसकेका छन् । आफ्नो एजेण्डालाई धर्मका नाममा घोलघाल गरेर जानतामा जान कमल थापा प्रचण्डभन्दा निकै माहिर देखिएका छन् ।

उता एमाओवादीका नेताहरुचाँहि आफ्नो एजेण्ड लिएर चुनावको पूर्वतयारीमा लाग्नुको साटो एक्लै पार्टी छाडेका बाबुराम भट्टराईको विरोधमा मात्रै केन्दि्रत हुन थालेका छन्, जसले यो दललाई कमल थापाको भन्दा पछि छाड्ने संकेत देखिएको छ ।

चुनाव सम्झाउने दन्तबझान

यसैवीच कमल थापाले भाषण गरिरहेका बेला शनिबार इटहरीमै पुगेका डा. बाबुराम भट्टराईले पत्रकार भेटघाटमा प्रचण्ड र कमल थापा दुबैलाई जवाफ दिने प्रयास गरे ।

प्रचण्डले तपाईलाई ‘भारत परस्त’ नेता भनिरहेका छन् नि भन्ने सुनसरीका पत्रकारको प्रश्नमा डा. भट्टराईले भने-‘कसैले हामीलाई झटारो हान्छ भने उसलाई पनि झटारो हान्दै हिँड्ने हामीलाई र्फसद छैन ।’

त्यसैगरी हिन्दुराष्ट्र फर्काउने कमल थापाको अभियानलाई उनले भने- ‘बगेको खोलो फर्किँदैन । हिन्दु धर्मलाई हामीले सम्मान गर्नुपर्छ, तर धर्मका नाममा राजनीति गर्नु जनताको भावनामाथि खेल्नु हो ।

उता राप्रपा नेपालका अध्यक्ष कमल थापाको जवाफ पनि कम छैन । उनले कांग्रेस, एमाले र एमाओवादीलाई चुनौती दिँदै भने-‘संविधानबाट हिन्दुराष्ट्र हटाउनुभयो, सक्नुहुन्छ भने जनताको मनबाट हटाएर देखाउनोस् । संविधानबाट हटे पनि जनताको मनबाट हिन्दुराष्ट्र हटेको छैन ।’
नेताहरुको यस्तो सवाल-जवाफबाट के स्पष्ट हुन्छ भने कमल थापालाई अब चुनाव लागिसकेको छ र उनी जनताको मनमा भएको हिन्दुत्वको भावनालाई चुनावमा प्रयोग गर्न चाहन्छन् । तर, कांग्रेस, एमाले र एमाओवादीले चाँहि चुनावको मनोवैज्ञानिक र राजनीतिक तयारी कहिले गर्लान् ? हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment