Comments Add Comment

तीन महावाणिज्यदूत नियुक्त गर्ने सरकारको निर्णयलाई अख्तियारको चुनौती

१९ फागुन, काठमाडौं । भारत र चीनका तीनवटा स्थानमा सरकारले महावाणिज्य दूतहरु नियुक्त गरेको केही घण्टा नबित्दै बुधबार प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर स्पष्टीकरण सोधेको छ ।

अख्तियार प्रमुख लोकमान कार्की
अख्तियार प्रमुख लोकमान कार्की

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भारतको कोलकातामा एकनारायण अर्याल, चीनको हङकङमा कमल भट्टराई र ल्हासाका लागि गोविन्द कार्कीलाई महावाणिज्य दूत नियुक्त गरेको थियो ।

तर, मन्त्रिपरिषदले निर्णय गरेको केही घण्टामै अख्तियारले प्रधानममन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर के मापदण्ड र प्रक्रियाका आधारमा महावाणिज्यदूतहरु नियुक्त गरियो भन्दै प्रश्न सोधेको छ ।

सामान्यतः मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारले प्रश्न उठाउन पाउँदैन । तर, अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरसँग भने- ‘मन्त्रिपरिषदको नीतिगत निर्णयमा मात्रै अख्तियारले बोल्न नपाउने हो, यस्ता नियुक्तिलगायतका विषयमा मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले बकाइदा प्रश्न उठाउन र कारवाही अगाडि बढाउन पाउँछ ।’

यसअघि नै अख्तियारले सरकारलाई राजदूतहरु नियुक्त गर्दा निश्चित मापदण्ड बनाएरमात्रै गर्न निर्देशन दिइसकेको पुस्करले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment