Comments Add Comment

सिटौलाको भूमिकाः अब देउवालाई सघाउने कि पौडेललाई ?

Krishna-Sitaula

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । वरिष्ठ नेता शेरबहादुर देउवा मात्र ११ भोटले सभापति निर्वाचित हुनबाट चुके । कार्यवाहक सभापति रामचन्द्र पौडेल दोस्रो भए भने अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला ३ सय २४ भोट मात्रै ल्याएर तेस्रो भए ।

के थियो सिटौलाको रणनीति ?

निवर्तमान महामन्त्रीसमेत रहेका सिटौला संस्थापन समूहमा नअटाएपछि दोस्रो हुने लक्ष्यका साथ चुनावमा होमिएका थिए । तर,  परिणाम सोचेजस्तो भएन । उनी तेस्रो भए, जुन कुरा मतदानको दिनसम्म आइपुग्दा स्वयंम सिटौला र उनको टीमले पूर्वअनुमान लगाइसकेको थियो ।

यो चुनावमा सिटौलाको सफलता भनेको आफू तेस्रो भएर पनि सभापतिको चुनावलाई दोस्रो चरणमा पुर्‍याउनु हो

महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको टीम बनाएर चुनाव लड्दै गर्दा सिटौलालाई करिव ८ सय मत ल्याउँछु भन्ने लागेको थियो । उनको माहोल पनि बन्दै गएको थियो । तर, संस्थापन समूहका ठूला नेताहरुको साथ नपाएपछि सिटौला एक्लिँदै गए । सुरुमा उनलाई साथ दिनेहरु नै खुलेर लाग्न सकेनन् ।अन्ततः तेस्रो हुँदै गर्दा सभापतिका उम्मेदवार सिटौलाले अनुमान गरिए भन्दा निकै कम मत ल्याए ।

जे होस्, यो चुनावमा सिटौलाको सफलता भनेको आफू तेस्रो भएर पनि सभापतिको चुनावलाई दोस्रो चरणमा पुर्‍याउनु हो । यसले पार्टीमा नयाँ शक्ति केन्द्र बन्ने प्रयासमा एक हदसम्म उनलाई बल पुगेको छ ।

‘किङ मेकर’ बन्लान् त ?

सभापतिको चुनाव अब दोस्रो चरणमा पुग्यो । अब शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको चुनाव आजै हुनेछ ।

Krishna-Sitaula--gagan-team

अब धेरैलाई चासो छ कि दोस्रो चरणमा सिटौलाले कसलाई समर्थन गर्लान् ? पहिलो चरणमा सभापतिमा उम्मेदवारी दिँदै गर्दा सिटौलाले रामचन्द्र र अाफूमध्ये जाे तेस्रो हुन्छ, उसले संस्थापन समूहको उम्मेदवारलाई इमान्दारितापूर्वक समर्थन गर्नुपर्ने बताउने गरेका थिए । अब उनी यसमा कत्तिको अडिन्छन् हेर्न बाँकी छ । उनी याे पूर्वअडानमा रहे भने सिटौलाको अबकाे समर्थन रामचन्द्रलार्इ हुनेछ ।

तर, सिटौलालाई कुनै पनि निर्णय लिन सहज छैन । सभापतिका उम्मेदवार देउवालाई केवल ११ मत पुगेको छैन । यदि सिटौलाले समर्थन गर्नेर् हो भने चुनावअघि नै देउवालाई विजयी घोषणा गर्दा फरक गर्दैन । र, देउवालाई यसरी सहजै समर्थन गर्ने निर्णयमा पुगे भने सिटौला कांग्रेसमा ‘किङ मेकर’ हुनेछन् । यसमा देउवाले सिटौलालाई संसदीय दलको नेता वा अरु कुनै आकर्षक पुरस्कार पनि दिन सक्नेछन् सिटौलालाई ।

अहिलेकै गणितलाई आधार मान्ने हो भने दोस्रो चरणमा सिटौलाले नसघाए पनि देउवाले जित्ने सम्भावना छ । तर, सिटौलाको मत थपिएर मात्रै पौडेलको जित सुनिश्चित हुँदैन, उनले देउवा पक्षको समेत  मत तान्नुपर्ने हुन्छ

 सिटौलाले संस्थापन पक्षमै मतदान गर्ने निर्णय गरे भने सिटौला ‘किङ मेकर’ हुने सम्भावना अलि कमै छ । किनभने सिटौलाले चाहेर पनि उनको मतले मात्रै पौडेललाई सभापति बनाउने सम्भावना निकै कम छ । किनकि पौडेल र सिटौलाले पाएको मत जोड्दा पनि देउवालाई भेट्ने छैन । र, देउवालाई अपुग भएको ११ मत मात्रै हो ।

अहिलेकै गणितलाई आधार मान्ने हो भने अब दोस्रो चरणमा सिटौलाले नसघाए पनि देउवाले जित्ने सम्भावना छ । तर, सिटौलाको मत थपिएर मात्रै पौडेलको जित सुनिश्चित हुँदैन, उनले देउवा पक्षको समेत केही मत तान्नुपर्ने हुन्छ ।

तर, देउवाको हकमा भने उनले कुनै एउटा निर्वाचन क्षेत्रको मतमात्रै थप्न सक्ने हो भने जित्ने सम्भावना ९९ प्रतिशत हुनेछ । किनकि दोस्रो चरणमा देउवाको आफ्नो मत कायमै रहन्छ भन्ने अनुमान गरिएको छ ।

पौडेलको भोट किन अपेक्षाकृत कम ?

Ramchandra-Paudel-Voting

१२ औं महाधिवेशनमा सभापति निर्वाचित भएका सुशील कोइरालाले १६५२ मत ल्याएका थिए । तीन उम्मेदवार रहेको उक्त महाधिवेशनमा दोस्रो भएका देउवाले १३१७ मत पाएका थिए । भीमबहादुर तामाङले ७८ मत ल्याएका थिए । यस आधारमा  विश्लेषण गर्दा संस्थापन पक्षको भोट घटेको छ भने देउवा बढेको छ ।

यसपटक संस्थापन पक्षका सिटौलाजस्तै अघिल्लो चुनावमा सुशीलविरुद्ध संस्थापन पक्षकै तामाङले उम्मेदवारी दिएका थिए । तर, भीमबहादुर भन्दा सिटौला निकै शक्तिशाली उम्मेदवार परे । भीमबहादुरले सुशीलको जितलाई पहिलो चरणमै रोक्न सकेका थिएनन्, तर सिटौलाले रोके ।

पौडेल र सिटौलावीच दोस्रो हुनका लागि प्रतिस्पर्धा भएको थियो । दुबैले प्रथम चरणमा पहिलो हुने प्रयास नै गरेनन् । संस्थापन समूहका रामचन्द्र पौडेलले आफ्नो सबै समय सिटौलाको भोट घटाउनमै खर्चिए । परिणामतः सिटौलाको केही भोट त घट्यो तर, शेरबहादुर समूहका मान्छे तान्ने वा जान लागेका संस्थापनका मतदातालाई रोक्ने काम गर्न सकेनन् । र, अब सिटौलालाई जोड्दा पनि देउवालाई हराउन नसक्ने अवस्थामा आइपुगेका छन् पौडेल ।

Deuba Team (4)

तर, यसको अर्थ दोस्रो चरणको चुनावमा पौडेलको जित्ने सम्भावना पूरै सकिइसक्यो भन्ने पनि होइन । सिटौलातर्फको मत र देउवा पक्षमा परेको अस्थिर मतलाई आकर्षित गरे भने पौडेलको अन्तिम प्रयासले देउवाको जितलाई केही असहज बनाइदिने झिनो सम्भावनालाई पनि अहिल्यै अस्वीकार गरिहाल्नु हतारो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment