Advertisement skip this
Comments Add Comment

बुद्धिसागरको ‘फिरफिरे’देखि सरुभक्तको ‘तरुनी खेती’सम्म

दिल निसानि मगर

बाहिर बढी चर्चा हुने पुस्तकको भित्र खासै गुदी हुँदैन । अस्ति साँझ फोनमा अनौठो आवाज आयो । अक्सर आवाज त उही हो, जसले ध्वनिलाई शब्दहरूको माध्यममा ढालिदिन्छन् ।

तर, तिनको ध्वनि यस्तो थियो कि, मुखमा करोडको भन्दामुनि त कुरै झुन्डिएको थिएन । मजस्तो तरकारी, पुरी वा समोसा खाँदाको रकम हिसाब गर्दा निराश हुने, अलमलिने अनि भावुक हुने मनुष्यलाई करोडको होइन, कम्तिमा २० रुपैयाँको कुरा काफी थियो ।

Dil-Nisani-Magarवार्तालाप हुँदै जाँदा मैले आफूलाई यस्तो महसुस गरे, मानौँ कि म यो मुलुकको कालो व्यापारी हुँ । र मैले डिपोमा इन्धन सप्लाई गर्न बैंकमा रकम डिपोजिट गर्नु छ । तर, दुःखको कुरा मैले पश्चिम पहाडबाट आफ्नै सिरक, डसना मगाएर काठमाडौंको भित्री गल्लीको डेरामा जिजीविषाबारे गम खाँदै पल्टिरहेको थिए ।

फोन आएको थियो, यो मुलुकको नामी पुस्तक प्रकाशकको । उनको चल्तीको ‘पुस्तक प्रकाशन गृह’ छ । सबैभन्दा ठूलो चिज उनीसँग ‘फूर्तिफार्ती’ छ । ठूलै साहित्यिक पुरस्कार उनको पकडमा छ ।

खल्तीबाट ल्वात्त थुत्यो, पुरस्कार बाँड्यो । जेहोस्, यो सहरमा उनको सान छ ।

‘दिलजी तपाईंको लेखनी राम्रो छ । हामी मिलेर पुस्तक निकालौँ अब । सुरुमा २ लाख रुपैयाँ क्यास बुझ्नुस्, बाँकी व्यापारअनुसार पछि मिलाउँला । गज्जब हुन्छ । बजारमा निकै हल्लाखल्ला गर्नुपर्छ, त्यसका लागि सबै सेटिङ हामी नै मिलाउँछौँ । एक खेप बजारमा ‘स्वाट्ट’ पुस्तक बिकेपछि, सक्की गो नि । त्यसपछि त पाठकहरूले पुस्तक नराम्रो रहेछ भनेर टिप्पणी गरे पनि केही नाप्दैनन् ।

दुई लाख रुपैयाँ अगि्रम बुझाउँछु भन्ने प्रकाशकको ध्वनि तरंगले म तरंगित हुन पुगे । एकबारको जुनीमा आफूलाई पहिलोपटक ठूलै मनुष्य भएँछु कि भन्ने महसुस गरेँ । र, जुरुक्क उठेर ऐना हेरेँ । यो कुरा रियल्ली हो त यार ? मैले ‘मलाई’ नै सोधेँ । पाखुरा चिमोटेँ । मेरो कोखिला र घाँटीमा चटचटी पसीना आयो ।

‘हुन्छ, पुस्तक लेखौँला । केही समस्या छैन । मेरा केही गम्भीर संस्मरण छन् । तिनै संकलन गर्छु म र तपाईंलाई पठाउँछु,’ मैले भनेँ ।
‘हुन्न, हुन्न, हुन्न । कहाँ त्यस्तो हुन्छ ? हुँदै हुन्न,’ ती नामी प्रकाशक महासय चिच्याउन थाले ।

उनको चिच्चाहटमा मप्रति कुनै सम्मान भाव झल्केकै थिएन । जिन्दगीमा सबै कुरा नजाने पनि कसले के भन्यो भने आफू अपमानित भइन्छ भन्ने हेक्का छ । उनको आवाज यस्तो खतरा सुनिएको थियो, मानौँ कि कुनै व्यापारी टाट पल्टिएका कारण धितो उकास्न कृषि विकास बैंकको आँगनमा एकनास बर्बराइरहेछ ।

तपाईंले अलि सेक्सी किसिमको उपन्यास (माओवादीहरूको यौनकाण्डबारे) लेख्नुस् क्या ! अनि पो चल्छ । कमाइ पनि हुन्छ ।’ अब त नामी प्रकाशक यसरी प्रस्तुत हुन थाले

‘बजारमा के चल्छ थाहा छैन ? गम्भीर होस् कि जेसुकै होस्, तपाईंको संस्मरण कसले पढ्छ ? प्रचारका लागि हामीले खर्च गरेको लगानी डुब्यो भने त्यो रकम तपाईंले तिर्नुहुन्छ, भन्नुस् त ?’ तपाईंले अलि सेक्सी किसिमको उपन्यास (माओवादीहरूको यौनकाण्डबारे) लेख्नुस् क्या ! अनि पो चल्छ । कमाइ पनि हुन्छ ।’

अब त नामी प्रकाशक यसरी प्रस्तुत हुन थाले, मानौँ कि उनी पुस्तक प्रकाशक होइनन् । नीलो चलचित्रका निर्माता तथा निर्देशक हुन् ।
‘हैन यी त खत्तम लाउके, पातकी मनुष्य पो रहेछन्,’ मैले मनमनै गम खाएँ ।

‘हैन हौ महासय, पुस्तक तपाईंले लेख्ने हो कि मैले ? यदि प्रकाशन गर्न मन छ भने मैले जे लेख्छु, त्यो गर्नुस् न, बाँकी अरु कुरा त पाठकको हातमा छ,’ यहाँभन्दा बढी आवेशमा आउन सकिनँ म । खिच्चिएँ ।

‘कसले भन्यो पाठकको हातमा छ ? लेखकको भविष्य ‘प्रचारक’ को हातमा छ । प्रचारबिनाका पुस्तकहरू कसले किन्छ, यो जमानामा ? फलाना -केही मिडियाको नाम लिँदै) सबैलाई पैसा खुवाउनुपर्छ, प्रचारका लागि । अनि पो लेखकको हाइहाई हुन्छ । हाम्रो लगानी उठ्छ, नत्र त प्रकाशक पनि बर्बाद हुन्छ, डुबिन्छ,’ उनी झन् चिच्याउन थाले ।

मैले फोन काटिदिएँ ।

‘यी त कस्तो झल्लु प्रकाशक रहेछन् यार । मान्छे हेर्दा त यस्तो कुरा गर्लान्जस्तो लाग्दैन । लेखकलाई प्रकाशकले पुस्तक लेख्न सिकाउने ? यस्तो, उस्तो लेख भन्ने ? लेखकको भविष्य पाठकहरू होइन, प्रचारकको हातमा छ भन्ने ? यिनीजस्ता व्यापारीकै कारण पछिल्लो समय नेपालमा निस्केका पुस्तकको जति बाहिर चर्चा हुन्छ, त्यति भित्र गुदी हुन्न । ती मनगणन्ते हुन्छन्, फगत बकम्फुसे हुन्छन्, ती कुनै गम्भीर विषयमा खास खोज भएका हुँदैनन्,’

मुखमा करोडको कुरा झुन्डिएका प्रकाशकबारे आफ्नो धारणा बनाउँदै म भित्ताहरूसँग झगडा गरेँ ।

नेपाली पुस्तक बजारको मुख्य धार यस्तै अराजक बनेको छ अचेल । कुनै नाम चलेको एक प्रकाशन गृहले छापेका पुस्तकहरूको महिमा स्वतः माथि चढ्छ । प्रचार गरिएको आधारमा पाठकले पुस्तक किन्छन् । माहोल यस्तो हुन्छ कि विमोचन समारोहमा नै प्रकाशकको लगानी उठ्छ । तर जब गम्भीर पाठकले पुस्तकका पाना पल्ट्याउन थाल्छन्, तब पुस्तक भित्र खासै सन्दर्भ समेटिएका हुन्नन्, जसरी प्रचार गरिएका हुन्छन् ।

सबै पाठकको स्तर उस्तै हुन्न । तर, प्रकाशकलाई लगानीको चिन्ता हुन्छ । उनीहरूको यस्तो चिन्ताका कारण नेपालमा खास पाठक को हुन् र तिनका लेखक को हुन् भन्ने कुराको ठूलो बहस हुन जरुरी देखिन्छ, किनभने यहाँ जबरजस्ती रुपमा ‘लेखकीय सिन्डिकेट’ थुपारिएको छ । शोषित समाजका विम्बहरू कोर्ने लेखकलाई गुमनाम पारिन्छ, अल्लारे सतही लेखकका तिल जत्रा कुरालाई पहाड बनाइन्छ ।

लेखकको प्रचार, समीक्षा वा तिनको सन्दर्भलाई पाठक सामु राखिदिने कुरालाई विभेद गरिदिनु हुन्न । यसो भन्दै गर्दा मोफसल र मूलधारको प्रश्न जोडिन्छ । के हो यो मूलधार भनेको ? लेखकको धार कि प्रगतिवादी हुन्छ वा हुन्छ -भक्तगानवादी । काठमाडौंमा बस्दैमा कुनै पनि ‘कलमजीवी मूलधारे’ हुन सक्दैन । आवश्यकभन्दा बढी प्रचारले आवश्यकभन्दा बढी लेखक जन्माउँछ ।

प्रेत लेखकको पिरामिड
काठमाडौंमा बसोबास गर्ने दुई-चारजना चाकडीबाजबाहेक गम्भीर खोज बटुलेका स्रष्टाको यो मुलुकमा कुनै पहिचान छैन । जो स्थापित, बिकाउ र मूलधारे भनिएका छन्, उनीहरूको पहिचान स्थापित भएको उनीहरूले गम्भीर खोज गरेका कारण होइन । सांस्कृतिक क्रान्तिको पक्षमा शब्दहरू खर्चेका कारण पनि होइन । हो, प्रेतको पिरामिड खडा गरेर ।

रिल लाइफमा कम्मर हल्लाएको कुनै चर्चित सेलिब्रेटी अभिनय गरेकै झल्को दिने गरी आफ्नो मुख चलाउन थाल्छ । ती वाणी होसियारीसाथ टिपोट गर्न सम्मुखको चिसो भुइँमा टुसुक्क बसेको हुन्छ, एउटा श्रमजीवी प्रेत लेखक । उसको कलम, उसको हुँदैन । उसको विवेक, उसको हुँदैन । उसको हिज्जे, उसको हुँदैन । उसको औँला, उसको हुँदैन । उसको केवल रोजीरोटीका लागि एक खल्ती पैसा हुन्छ ।

एकजना रिटायर्ड जंगी साबले ‘छापामारको छोरा’ शीर्षकको पुस्तक लेखेका थिए । पुस्तकको ज्यादै नै चर्चा भयो । किनभने, जंगी लेखकलाई साथ दिने सुकिलो-मुकिलो मिडिया थियो । मिडियामा नोकरी गर्ने उनका हजारौँ मित्र थिए । उनको पुस्तकउपर बडे-बडे समीक्षकले समीक्षा गरे ।

एउटा छापामारले जिन्दगीको कठिन मोडको फेहरिस्त बटुलेर संस्मरण लेख्यो, तर उसको पुस्तकबारे छापाखानामा काम गर्ने कामदारबाहेक अरुलाई जानकारी हुन सकेन । किनभने, मिडियाका मित्रका लागि ऊ जंगली थियो ।

त्यसैले यहाँ थुप्रै प्रिय कवि छन्, जो प्रिय कविको एउटै कविता यादमा रहन्न । मलाई त यस्तो लाग्छ कि भुपि शेरचनजतिका सशक्त कविहरू अझै जन्मेका छैनन् । जन्मेको भए खै एउटा कविता ? जो हल्लाहरूको सहरलाई वाण हान्न तयार छ । जो जन्मेका छन्, उनीहरूको मुहारमा मिडियाका आफ्ना पि्रय मित्रको साथ, शुभेच्छाद्वारा वैजनी रंग पोतिएको छ ।

हिटलरले दुलाभित्र लुकेका निर्दोष बालबालिकाको टाउकोमा गोली प्रहार गर्दै आफ्नो जन्म दिन मनाएको प्रसंग उनको बायोग्राफीमा समेटिनु मानवीयता अध्ययनको दृष्टिले गम्भीर खोज हो

हाते पत्रिकाको कुनै एक कोलमका निम्ति कवि बन्नु त्यो त ‘मुतको न्यानो’ हुन्छ । कविताप्रेमीका निम्ति कवि बन्नु ‘मुटुको न्यानो’ हुन्छ । एक लेखक, एक आख्यानकार, एक कथाकार वा एक उपन्यासकार मुतको न्यानो बन्ने कि मुटुको न्यानो बन्ने भन्ने कुराले स्टन्टबाजको भरमा बिकेकाको चेतलाई खासै प्रभाव पार्दैन ।

हिटलरले दुलाभित्र लुकेका निर्दोष बालबालिकाको टाउकोमा गोली प्रहार गर्दै आफ्नो जन्म दिन मनाएको प्रसंग उनको बायोग्राफीमा समेटिनु मानवीयता अध्ययनको दृष्टिले गम्भीर खोज हो । इराकमाथि धावा बोल्दै बम बर्साउने जर्ज बुसका लोकतन्त्र, शान्ति र मानव अधिकारबारे निस्केका कैयौँ पुस्तक पनि खोज नै हुन् ।

तर, हामीकहाँ कस्तो पठनीय धार स्थापित भयो भने तरुनी प्रेम, मिलन र बिछोड, बाल्यकालको सम्झना, झुटहरूको दस्तावेज, प्रेत आत्मकथा पुस्तक भयो । पर्यटन, कृषि, उत्पीडन र विभेदका कुरा पुस्तक हुन सकेनन् ।

अहिले सामाजिक सञ्जाल र इन्टरनेटको पहुँचका कारण सबैले संसार देखेका छन् । धेरथोर पढेका छन्, बुझेका छन् र चासो राखेका छन् । त्यसैले झुक्काउँदैमा कोही झुक्किने र स्वघोषित विद्वानहरूको पाउमा प्रणाम गर्न जाने नीच परम्परा अब बाँकी रहेन । लेखकले प्रकाशकको लगौँटी उचालेर, प्रचारका विभिन्न हत्याकाण्ड प्रयोग गरेर हातमुख जोर्ने बाटो खोज्नुभन्दा पहिले यो मुलुकमा सबै पाठक एउटै स्तरका छैनन् भन्ने बुझ्नुपर्छ ।

लेखकहरूको भविष्य पाठक होइन, प्रचारकको हातमा

फलानो पुस्तक पढ्दैछु भनेर सामाजिक सञ्जाल र अखबारी अन्तर्वार्तामा जानकारी गराउने प्रचलन फेसनजस्तै भएको छ । मानौँ कि बजारमा ‘बेस्ट सेलर’को दज्र्यानी चिह्न प्राप्त गरेर बिकिरहेका पुस्तकमध्ये कुनै एक पुस्तक वा लेखकको शुभ नाम कण्ठ भएन भने अति अध्ययनशील मानिसको जमातमा भुइँ मान्छेको बदनाम हुन्छ ।

बदनाम हुनबाट जोगिन ऊ दौडिँदै दोकानमा जान्छ, अनि आँखा चिम्लेर चल्तीको एक प्रति पुस्तक किन्छ । पढेको प्रमाण पेस गर्नका लागि पुस्तकलाई छातीमा सजाउँदै सेल्फी खिच्छ र दुनियाँलाई देखाउँछ ।

अर्को जमात पनि छ । अक्सर तिनीहरू दशैँ-तिहार बिदामा पढ्नुपर्ने पुस्तकको लामो सूची बोकेर लोकवासीलाई सूचना प्रवाह गर्छन् । मानौँ कि भदौको भेलमा पुस्तक पढ्यो भने पाठकलाई गाई खाए समानको महापाप लाग्छ र यो पापबाट मोक्ष प्राप्त गराउन तिनीहरू हमेसा प्रयत्नशील हुन्छन् । तिनीहरूले सिफारिस गरेकै पुस्तक पढ्यो भने मेहनती पाठक भइन्छ ।

आन्टोनियो ग्राम्सी, जर्ज लुकाज र नोम चोम्कीहरूका गम्भीर खोज, विचार पढ्यो भने पाठक भइन्न ।

तरुनी खेतीका ‘सरुभक्त’ यो मुलुकका ठूला लेखक, साहित्यकार हुन् । उनको चर्चाको कमी छैन । तर यिनले शोषित, पीडित जनताको पक्षमा कहाँनेर के कुरा लेखे ?

बजारमा कुन पुस्तकको चर्चा छ भन्ने सन्दर्भले त्यो पुस्तक पढ्नैपर्छ भन्ने पक्षलाई प्रतिनिधित्व गर्दैन । पुस्तक व्यापार भएको छ । लेखकहरू साधनजस्ता भएका छन् । प्रकाशक व्यापारी भएका छन् । र, छन् यिनका कैयौँ प्रचारक सेटिङहरू जसले सधैँ सत्य लुकाउँछन् । एकथरी मनुष्यले आफूलाई पुस्तक समीक्षकको पगरी गुथेका छन् । प्रिय मित्रलाई खुसी तुल्याउन उनीहरूले समीक्षामा फूलबुट्टा भरिदिन्छन् ।

अर्को कुरा लेखन धार । जसले जनताको पक्षमा लेख्यो, ती जीवित रहुन्जेल आलोचनाको सिकार मात्र बन्दैनन्, भौतिक रुपमै ती माथि हमला हुने गर्छ, जस्तो कि कृष्णसेन इच्छुक । तरुनी खेतीका ‘सरुभक्त’ यो मुलुकका ठूला लेखक, साहित्यकार हुन् । उनको चर्चाको कमी छैन । तर यिनले शोषित, पीडित जनताको पक्षमा कहाँनेर के कुरा लेखे ? थाहा छैन । किनभने, यस्तो ‘थाहा’लाई प्रचारको फूलबुट्टाले लुकाइदिएको छ ।

हाल निकै चर्चामा रहेको एउटा पुस्तकको नाम लिन्छु- फिरफिरे । अखबारी लेखनमा गम्भीर दृष्टिकोण भरेका बुद्धिसागर फिरफिरेको सर्जक हुन् । मैले पुस्तक किनेँ, पढेँ । तर, पुस्तकमा कुनै दृष्टिकोण पाइनँ । फगत अनेकौं पात्रको प्रयोग गरेर स्वयंको बाल्यकालका सम्झना, अलिकति भावुकता, दुःखसुख मिलन, बिछोडजस्ता युवाकालीन कमसल साहित्य फिरफिरेमा छ ।

मोटो पुस्तकमा शब्दहरूको थुप्रो हुन्छ, जहाँ जीवन्तता हुँदैन । बुद्धिसागरका शब्दहरूमा जीवन्तता छैनन् । आममानिसले आफ्नो बाल्यकालमा फिरफिरे उडाएको जस्ता प्रसंग गम्भीर खोज होइनन्, सामान्य आम साहित्य हुन् । आमालाई काँसो लागेको, धरोबाट पैसा चोरेको, सानोमा निकै दुःखकष्ट भोगेकोजस्ता कुरा आमनेपालीका दैनिक भोगाइ हुन्, उनीहरूको जीवन स्यवं पुस्तक हो ।

बुद्धिसागरले फिरफिरेमा कुनै आश्चर्यलाग्दो सन्दर्भ लेखेकै छैनन् । तर, बाहिर प्रचार हेर्दा किताब भर्खरै किनुँ-किनुँ लाग्छ । पानाहरू पल्टाउँदै जादाँ पट्यारलाग्दो ‘अल्छी’ लाग्छ । किनकि, उनको पुस्तकमा कुनै गाम्भीर्यता छैन, ठोस दर्शन र चिन्तनको प्रयोग छैन । छ, शब्दहरूको संयोजन । हरफहरूमा मिठास । भाषाशैलीमा परिपक्वता । मीठो विम्बहरूको प्रयोग । तर, यी कलाहरूको प्रयोग मात्रै पुस्तक होइन, पुस्तक हुनका लागि गुदी चाहिन्छ ।

साहित्यलाई समेत कालो बजारको धन्दा बनाउन मिल्दैन । फिरफिरे किन्दा खर्च भएको पैसाले मलाई एक हप्ता खाजा खान पुग्थ्यो

त्यो गुदी बुद्धिसागरको फिरफिरेमा हुनैपर्छ, किन भएन ? भन्ने तर्क तानाशाही हुन्छ । फिरफिरेजस्तो पनि हुन सक्छ । एउटा लेखकको आत्मसन्तुष्टिको कुरा हो । लेखकलाई पूर्ण अधिकार छ आफूलाई मन परेको विधामा कलम चलाउन । के लेख्ने, के नलेख्ने भन्ने चिज पाठकले सिकाउने कुरा पनि होइन, जसरी प्रकाशकले सिकाउन मिल्दैन । तर, प्रचारजस्तो पनि हुनुहुँदैन । गम्भीर पाठकको समेत इमोसनल भ्रष्टाचार गर्न पाइँदैन ।

नेपाली पाठकको स्तर माथि उकास्नका लागि पुस्तक माथि उकासिनुपर्छ, तर, दृष्टिकोणसहितको । हिज्जे मिलाएर शब्दहरूको पहाड थुपार्नु मात्र पुस्तकको खेती हुन सक्दैन । प्रकाशकले पनि पैसालाई आधार बनाएर प्रचार-प्रसार गर्दा ख्याल पुर्‍याउनुपर्ने कुरा के हो भने यो साहित्यलाई समेत कालो बजारको धन्दा बनाउन मिल्दैन । फिरफिरे किन्दा खर्च भएको पैसाले मलाई एक हप्ता खाजा खान पुग्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment