Comments Add Comment

सहानुभूति नदेखाउन राजकुमार ह्यारीलाई गेसोको आग्रह

Padam-Bahadur-Gurung

सन्देश श्रेष्ठ

७ चैत, पोखरा । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का केन्द्रीय अध्यक्ष पदमबहादुर गुरुङले नेपालप्रति सहानुभूतिको नाटक नदेखाउन बेलायती राजकुमार हृयारीलाई चेतावनी दिएका छन् ।

गेसोले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले साठी हजार गोर्खा सैनिक मारिँदासम्म त्यसको खोजिसमेत नगर्ने र क्षतिपूर्ति पनि नदिने बेलायतका राजकुमारले अहिले नेपालप्रति सहानुभूति देखाउन खोज्नु नौटंकी मात्रै भएको बताए ।

बेलायती राजकुमार हृयारीले भूकम्प पीडित जनतालाई भेट्ने र गोर्खा सैनिकमा गएकाहरुको गाउँबस्ती अवलोकन भ्रमण गर्ने खबर सुनेपछि आक्रोशित भएका उनले यसलाई नाटकको संज्ञा दिएका हुन् ।

नेपाल-बेलायत सम्बन्धको दुई सयौं वर्षगाँठ मनाउनुको कुनै औचित्य नभएको भन्दै उनले नेपाल र बेलायतबीच कहिल्यै मित्रता नरहेको जिकिर समेत गरे ।

उनले भने, ‘नेपाल र बेलायतबीच कहाँ छ मित्रता ? साठी हजार गोर्खा सैनिक मारिँदासम्म यसको खोजिनीति छैन, क्षतिपूर्ति पनि दिएको छैन, यस्तो अमानवीय व्यवहार गर्ने देशसँग कसरी हुन्छ मित्रता ? नो मित्रता ।’

उनले नेपालको सार्वभौमसत्ता हस्तक्षेप गर्ने बेलायतले मित्रताको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे ।

गेसो अध्यक्ष गुरुङले बेलायती राजकुमार ह्यारीले गोर्खा भर्ति गर्नुपूर्व गाउँबस्ती र संस्कृति जस्तो थियो त्यस्तै बनाउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने पनि औंल्याए ।

उनले भने, ‘छाती नापी-नापी युवा जति सबै लगे, जसले गर्दा गाउँबस्ती उजाड भए, संस्कृति लोप भयो, अब बेलायतले त्यो गाउँबस्ती र संस्कृति जस्ताको तस्तै बनाउन लगानी गर्नुपर्छ । त्यसको प्रतिबद्धता बेलायती राजकुमारले यहि भ्रमणमा गर्नुपर्छ । अन्यथा गोर्खा सैनिकलाई धन्यवाद मात्रै दिएर फर्किए भने त्यसको कुनै औचित्य हुँदैन, त्यो सब नौटंकी मात्र हुनेछ ।’

नेपालले बेलायतसँगको मित्रताबाट दासता, अन्याय, धोकादायी, शोषण, मानव तस्करी, मानव बेचबिखन मात्रै भइरहेको भन्दै यसलाई बर्बादीको दुई सय वर्षको संज्ञा दिए ।

अध्यक्ष गुरुङले मारिएका गोर्खा सैनिकको संख्या कति हो ? र उनीहरु वैध थिए वा अवैध त्यसको जवाफ पनि बेलायतले दिनुपर्ने माग गरे । उनले गेसोले उठाएका मागहरु समेटिएको ज्ञापनपत्र बेलायती राजदूतावासमा चैत ५ गते शुक्रबार बुझाएको पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै गेसोका सल्लाहकार तथा बुद्धिजिवी श्यामल अधिकारीले बेलायती राजकुमार आउँदा नेपाल सरकारले महत्व दिएर स्वागत गरेको छ तर बेलायती युद्धमा मारिएका ६० हजार गोर्खा सैनिकलाई सरकारले कुनै महत्व नदिनु चित्त दुखाइको प्रमुख कारण रहेको बताए ।

उनले बेलायती चाहनामा नेपाली युवाहरुलाई पढ्नै नदिई, खेतमा काम गर्न र उच्च पदमा पुग्नै नदिई छाती नापेर सैनिकमा भर्ति गर्दा देशको सार्वभौम सत्ता पनि खोसिएकाले त्यसको विरोध गोर्खा सैनिकले मात्रै नभई सम्पूर्ण नेपालीले गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment