Comments Add Comment

काठमाडौंको १२० किलोमिटर सडकमा सोलार बत्ती जडान गर्न प्रस्ताव

Kathmandu-Light-16
रवीन्द्र घिमिरे
९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका १ सय २० किलोमिटर सडकमा यसैवर्ष सौर्य सडक बत्ती जडान गर्न प्रस्ताव गरिएको छ ।

सरकारले अघि सारेको ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तरगत महानगरपालिकाले १ सय १५ देखि २० किलोमिटर सडकमा सौर्यबत्ति जडानको प्रस्ताव तयार गरेको हो । यो प्रस्ताव स्थानीय विकास मन्त्रालयमा पेश भइसकेको महानगरपालिका भौतिक निर्माण विभाग प्रमुख  उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

१ सय २० किलोमिटर सडकमा बत्ती जडानका लागि १ सय ३५ योजना बनाइएको छ र यसका लागि ६५ करोड लाग्नेछ । यसमा ६० प्रतिशत अनुदान सरकारले दिनेछ भने महानगरले आफ्नो स्रोतबाट २५ प्रतिशत लगानी गर्नेछ । बाँकी स्थानीय उपभोक्ताबाट उठाइनेछ ।

यसअनुसार ६५ करोड रुपैयाँको सडकबत्तिका लागि स्थानीय विकास मन्त्रालयले झण्डै ३९ करोड रुपैयाँ अनुदान दिनेछ । यो योजना अन्तरगत महानगरले करिब १६ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछ भने बत्ति जडानमा उपभोक्ताले करिब ९ करोड ७५ लाख रुपैयाँ खर्च गर्नेछन् ।

यो योजनामा भित्री सडकहरु प्राथमिकतामा परेका छन् । ‘काठमाडौंका मूल सडकका भन्दा भित्रि सडकका बासिन्दा आफ्नो रकम पनि खर्चिएर भएपनि सडकबत्ति बाल्न इच्छुक देखिए’ भौतिक निर्माण विभाग प्रमुख रेग्मीले भने-‘मूल सडकका सौर्य बत्ति जडान गर्न कसैलाई चासो भएको देखिएन ।’

‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’मा एउटा पोलमा सौर्य बिजुली जडान गर्न झण्डै एक लाख लाग्ने अनुमान छ । प्रत्येक पोलको दुरी ५० मिटरमा हुनेछ ।

सौर्य सडकबत्ती जडान भएपछि अहिले यसमा प्रयोग भइरहेको ६ मेगावाट प्रशारण लाइनको बिजुली बचत हुने सरकारको अनुमान छ । पहिलो चरणमा देशभरका नगर क्षेत्रमा यो योजना लागू हुनेछ ।

सरकार, स्थानीय निकाय र जनताको पनि लगानीमा सौर्यबत्ती जोडेर देशभर विद्युत लाइनमा आधारित सडक बत्तीलाई विस्थापन गर्ने मन्त्रालयको दाबी छ ।

शहरलाई उज्यालो, सुरक्षित, सुन्दर बनाउन र लोडसेडिङको समस्या घटाउने गरी बिजुली बचत गर्न यो योजना ल्याएको मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले बताए ।

यही योजनाअनुसार सौर्य सडक बत्ती जडानका लागि मन्त्रालयले प्रस्ताव आहृवान गरेको थियो । त्यसको समयसीमा आइतबार सकिएको छ । सरकारले दिने अनुदान लिन महानगरपालिकासहित उपमहानगरपालिका र नगरपालिकाले सयौं सडकबत्ती योजनाहरु प्रस्ताव गरेका छन् ।

मन्त्रालयले सौर्य सडक बत्तीका लागि सौर्यपाता कम्तीमा २० वर्ष टिक्ने हुनुपर्ने मापदण्ड बनाएको छ भने ब्याट्री ५ वर्ष र बत्ती २ वर्ष ग्यारेन्टी भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment