Comments Add Comment

मन्त्रिपरिषद बैठकः स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन संशोधनको प्रक्रिया सुरू

Pmo-Office

१९ चैत, काठमाडौं । सरकारले स्थानीय निकायको निर्वाचनको तयारीका लागि कानून संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन ०४८ लाई संशोधन गर्नका बनेको विधेयकलाई संसदमा प्रस्तुत गर्नको निम्ति सम्बन्धित समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।

त्यस्तै नयाँ संविधानमा उल्लेख भएका संबैधानिक आयोगहरु गठनसम्बन्धी विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको राईले बताए ।

भारत र इयुको वक्तव्यप्रति आपत्ति

सरकारले युरोपेली युनियन र भारतबीच बिहीबार जारी भएको संयुक्त वक्तव्यप्रति कडा शब्दमा आपत्ती जनाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्ने गरी भारत र युरोपेली युनियनले गरेको हर्कतको भत्र्सना गरिएको छ ।

नेपालको संविधान जारी भएर कार्यान्वयनको चरणमा रहेकाले संविधान अपूर्ण रहेको भन्ने भारत र इयुको भनाइप्रति मन्त्रिपरिषद बैठकबाट औपचारिकरुपमा बिरोध गरिएको हो ।

‘नेपाल सार्वभौमसत्ता सम्पन्न एक स्वतन्त्र राष्ट्र हो । नेपालमा कुनै असंवैधानिक अशान्तिको अवस्था नरहेको र संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा रहेको बेला त्यस्तो वक्तव्य आउनु सर्बदा अनुचित रहेको ठहरसमेत आजको बैठकबाट गरिएको छ,’ मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राईले भने ।

बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको निश्कर्षसमेत निकालेको छ । ‘प्रधानमन्त्री ज्यूको चीन भ्रमण ऐतिहासिक, उपलब्धीमुलक र युगान्तकारी रहेको बैठकले ठहर गरेको छ,’ सञ्चारमन्त्री राईले भने, ‘पारवहन, यातायात, इन्धन अन्वेषण, जलविद्युत, ट्रान्समिसन लाइन लगायतका विषयहरुमा जुन सम्झौता भएको छ यो ऐतिहासिक महत्वको रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment