+
+
Shares

पुण्य कमाउन ग्राण्डी अस्पतालमा लगानी गरेको हुँ- रुप ज्योति

२१ चैत, काठमाडौं । अमेरिकामा अर्थशास्त्रको अध्ययन गरेर स्वदेशमै उद्यम गरिरहेका ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योति नेपालका चर्चित उद्योगपति हुन् । व्यवस्थापिका संसदको सदस्यका साथै मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका डा. ज्योति निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोणसँग भने त्यति सन्तुष्ट छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २१ गते १३:५९

dr. rup joty

 

२१ चैत, काठमाडौं । अमेरिकामा अर्थशास्त्रको अध्ययन गरेर स्वदेशमै उद्यम गरिरहेका ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योति नेपालका चर्चित उद्योगपति हुन् । व्यवस्थापिका संसदको सदस्यका साथै मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका डा. ज्योति निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोणसँग भने त्यति सन्तुष्ट छैनन् ।

पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा आक्रामक रुपमा लगानी गरिरहेका डा. ज्योति यसलाई अर्को जीवनका लागि तयारीका रुपमा ब्याख्या गर्छन् । ग्राण्डी अस्पताल र ग्राण्डी सिटी अस्पतालमा गरी करिव डेढ अर्ब रुपैयाँ लगानी गरेका ज्योति स्वास्थ्य क्षेत्रमा निरन्तर घाटा खाँदा पनि अझै लगानी गर्न उत्साहित देखिन्छन् । उनी नाफाका लागि नभई पुण्य कमाउनका लागि स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताउँछन् ।

स्वास्थ्य क्षेत्रमा लगानीको सम्भावना, यसका जोखिम तथा ज्योति ग्रुपको लगानी विविधिकरण योजनाबारे अनलाइनखबरकर्मी पुष्प दुलालले डा. ज्योतिसँग गरेको कुराकानीः

नेपालका उद्योगपतिहरु उद्योगधन्दामा भन्दा व्यापारतर्फ केन्द्रित भइरहेका छन् । ज्योति समूह पनि उत्पादनमूलक उद्योगबाट व्यापार हुँदै सेवा क्षेत्रमा प्रवेश गरेको देखिन्छ, यसको कारण के होला ?

हाम्रा बुबा (मणिहर्ष ज्योति) ले ५२ वर्षअगाडि व्यवसाय सुरु गर्दा उत्पादनमूलक र सेवा दुबै क्षेत्रमा हात हाल्नुभएको थियो । राणाकालमा बुबाले लामो समय भारतको कोलकातामा बसेर व्यवसाय गर्नुभयो । कोलकातामा धेरै नेपालीहरु उहाँसँगै बस्थे । त्यहीबेला बुबाको सम्बन्ध बीपी कोइरालासँग पनि भयो । नेपालमा प्रजातन्त्र आएपछि बीपीले बुबालाई नेपालमा फर्किएर लगानी गर्न आग्रह गर्नुभयो । त्यसपछि उहाँ नेपाल फर्किनुभयो । भारतमा बसेरै उहाँले तिब्बतसँग व्यापार गर्नुहुन्थ्यो । स्यामुखापु भन्दाखेरि तिब्बतमा अहिलेसम्म पनि बुढापाकाहरु चिन्दछन् । भारतमा बस्दाखेरि त्यहाँको ठूलो भिला स्टिल प्लान्टको कन्ट्रयाक्टर पनि उहाँ नै हुनुहुन्थ्यो ।

होटलमा लगानी गर्न विभिन्न प्रस्तावहरु पनि आएका थिए, मैले सोधें-रक्सी नबेच्ने होटल हुन्छ कि हुन्न ?

नेपाल आउनेक्रममा बुबाले आफ्नो व्यापारलाई यथावत राख्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भनेर फलामको ‘रोलिङ मिल’ स्थापना गर्नुभयो । मिलसँगै नेपाल सुहाउँदो कृषिको विकासमा सहयोग पुग्ने उद्देश्यले ट्रयाक्टर र अक्सिजनको व्यापार सुरु गर्नुभयो ।

सन् १९६५ मा जापानबाट सेकेन्ड हेन्ड रोलिङ मिलको मेसिन ल्याउनुभयो । रोलिङ मिल जोड्न आउने एकजना जापानिज इन्जिनियरले मेरो आफ्न्त होण्डामा काम गर्छन्, तपाई होण्डाको व्यापार पनि सुरु गर्नुहोस भनेर सुझाब दिए । त्यसपछि होन्डाको व्यापार पनि सुरु गर्‍यौं । भन्नुको मतलव के भने हामी सुरुदेखि नै उद्योग र ब्यापार दुवैमा थियौं ।

उद्योगमा लगानी गर्दाका अनुभव कस्ता छन् ?

हामीले उद्योगमा लगानी गर्ने धेरै प्रयास गर्‍यौं । तर, उद्योग स्थापना गर्न र सञ्चालन गर्न यहाँ निकै कठिनाइ छ । सुरुसुरुमा त उद्योगको लाइसेन्स लिँदाखेरि नै ठूलो उपलब्धि हासिल गरेझैं लाग्थ्यो । ज्योति समूहले आधारभूत उद्योगमा लाग्नुपर्छ भन्ने बुबाको सोच थियो ।

फलामपछि बुबाले हिमाल सिमेन्ट उद्योग स्थापना गर्नुभयो । तर, एउटै परिवारले सिमेन्ट र स्टील उद्योग सञ्चालन गर्न दिनुहुँदैन भनेर सरकारले सिमेन्ट उद्योग राष्ट्रियकरण गर्यो । मलाई के लाग्छ भने, व्यापारका रुपमा उद्योग सञ्चालन गरिएको छ भने त्यो टिक्न सक्ने अवस्था छ, नत्र त गाह्रो छ । व्यापारमा छिटो प्रतिफल पाइने र जोखिम पनि अत्यन्तै कम हुनाले उद्योगमा भन्दा व्यापारमा आकर्षण बढेको हो ।

dr. rup joty2नेपालमा उद्योग टिक्न ग्राहो छ भन्नुभयो । नीतिगत वा व्यवहारिक अप्ठेरोले हो कि, यहाँको भूराजनीतिकै कारण त्यस्तो भएको हो ?

हामीले धेरै प्रयास गरेर ‘स्पिनिङ मिल’ राखेका हौं । उद्योगको लाइसेन्स लिन जाँदाखेरि नै सरकारले अब यिनीहरुले ठूलो लाभ लिन लागे भन्यो । अनि अनेकौं शर्तहरु ल्याइयो । ४० प्रतिशत सुती धागो बनाउनुपर्छ भनेर सर्त राखे । त्यसपछि ज्योति ग्रुपले त्यसमा ४९ प्रतिशतभन्दा बढी सेयर लिनुहुँदैन भन्ने अर्को सर्त राखियो । त्यही सरकारी शर्तका कारण उद्योग धरासायी बन्यो ।

हामीले स्पिनिङ मिल राखेको २ वर्षपछि सरकारले भारतबाट डलरमा धागो आयात गर्न पाउने व्यवस्था गर्‍यो । भारतमा निकै सस्तोमा धागो पाइन्थ्यो । अर्कातर्फ यतिसम्म कि भारतमै पनि डलरमा धागो आयात गर्दा त्यहाँका उद्योगहरु टिक्न सक्ने अवस्था थिएन । सरकारी नीतिकै कारण हामी उद्योगमा टिक्न सक्ने अबस्था रहेन ।

ज्योति समूहसँग उत्पादनमूलक, व्यापारिक र सेवामूलक तीनवटै क्षेत्रको अनुभव छ । तुलनात्मक लाभको कुरा गर्दा कुन क्षेत्रमा बढी लाभ छ ?

व्यापारमा बढी लाभ छ भन्ने कुरामा कुनै शंकै छैन । हामीले व्यापारमा पनि हात नहालेको भए उत्पादनमूलक उद्योग टिकाउन सक्ने थिएनौं । व्यापारमा कमाएको पैसाले जसोतसो उद्योग टिकाइरहेका हौं ।

अहिलेको अवस्थामा यही लगानीकर्ता र यही व्यवस्थापनबाट अस्पताल चल्न सक्दैन । व्यवस्थापनमा हस्तक्षेप गर्नसक्ने अर्को ठूलो लगानीकर्ता भित्र्याउन आवश्यक छ

नेपालको निजी क्षेत्रसँग जोखिम लिन सक्ने क्षमता कम छ । जोखिम लिनलाई हामीले बैंकसँग साधारण परियोजनाका लागि ऋण लिनुपर्छ । बैंकले हामीलाई भन्छ कि तिम्रो ‘इक्वीटी’को ६० प्रतिशत बैंकले लगानी गर्छ । हामीले नियमित व्याज तिर्छौं । तर, उद्योग घाटामा गयो भने बैंकको लगानीको भार पनि उद्योगीकै टाउकोमा पर्छ ।

हाम्रो धागो उद्योग सुरु भएको हप्तादिनसम्म तीन सिफ्ट चलेको थियो । उद्योग चलाउन भारतबाट २ सय कामदार ल्याएका थियौं । वर्षको १३ दिनमात्रै बन्द गरेर चलाउँदा पनि धान्न सक्ने अवस्था भएन । लोडसेडिङ थपियो । अन्य अवरोधहरु आए । र, पछि उद्योग बन्द गर्नुपर्यो । जब उद्योग बन्द भयो, तब कामदारहरुले नै उद्योग चलाउन आग्रह गरे । त्यसपछि थोरै कामदार राखेर उनीहरुकै लागि मात्रै भए पनि उद्योग चलायौं ।

बीपीले तपार्इको बुबालाई नेपाल फर्काउनुभएको रहेछ । राजाको प्रत्यक्ष शासनकालमा तपाई अर्थराज्यमन्त्री भएर राजनीतिको स्वाद चाखिसक्नुभएको छ । कहिलेकाँहि उद्योग/व्यापार छाडेर राजनीतिमै लागौंजस्तो लाग्दैन ?

म बुबाको सोचबाट एकदमै प्रभावित हुँ । उहाँले हामीलाई उद्योग र व्यापार गर्नमात्रै सिकाउनुभयो । उहाँको सोच व्यापार र राजनीतिले मेल खाँदैन भन्ने थियो । सिनेमा हल, होटल र उद्योगमा लगानी नगर्ने बुबाको सोच थियो ।

त्यसो त बुबालाई बीपीले महासभामा मनोनितसमेत गर्नुभएको थियो । मलाई पनि राजाले तपाईजस्तो पढेको र जानेबुझेको मान्छे आउनुपर्छ भनेर मन्त्री बनाउनुभयो । म त पहिला संसदमा जाने हिसाबले मात्रै गएको थिएँ । पछि मन्त्री नै बनाइयो । संसदमा हुँदा मैले धेरै विधेयकहरुमा केही न केही टिप्पणी गरेको छु । मन्त्री हुँदा भने मैले केही राजनीति बुझेँ ।

के रहेछ त राजनीति ?

त्यो अर्कै संसार र अर्कै जीवनजस्तो लाग्यो । त्यो पद मजस्तोलाई होइनजस्तो लाग्यो ।

dr rup jotyअब तपाईले लगानी गर्नुभएको ग्राण्डी अस्पतालको कुरा गरौं । स्वास्थ्य क्षेत्रमा ‘बेञ्चमार्क सेट’ गर्ने भन्दै तपाईले ग्राण्डी अस्पतालमा ठूलो लगानी गर्नुभयो । तर, चार वर्षको अवधिमा सफलताका अपेक्षित संकेतहरु नदेखिँदै तपाईहरुको समूहमै मनमुटाव र फुट देखियो । अस्पताल ठूलो घाटामा चलिरहेको सुनिन्छ । अब ग्राण्डीको भविष्य के होला ?

म बिरामी भएर स्वास्थ्य परीक्षण गर्न जाँदा डा. चक्रराज पाण्डेले एउटा अस्पताल खोल्न लागेको जानकारी दिँदै त्यसमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले न्यूनतम ५० लाख र अधिकतम ५ करोड रुपैयाँ लगानी गर्न पाइने सुनाउनुभयो । मैले ५ करोड रुपैयाँ लगानी गरेँ । किनभने सेवा क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने मेरो सोच थियो ।

मलाई सञ्चालक समितिमा आउनुपर्‍यो भनियो । मैले आफूसँग अस्पतालको सञ्चालक भएर काम गर्ने समय र रहर दुबै नभएको बताएँ । उहाँले ५/६ महिनामा एउटा बैठक बस्छ, त्यसमा उपस्थित भएर तपाईले कुराहरु राखिदिनुभयो भने मात्रै पनि हामीलाई ठूलो सहयोग हुन्छ भन्नुभयो । अनि मैले सञ्चालक पद स्वीकार गरेँ ।

बोर्डको बैठकमा कुरा सुनेपछि मलाई अध्यक्ष नै बस्न अनुरोध गरियो । म अस्पतालमा बिरामी भएरमात्रै गएको थिएँ, अस्पताल कसरी चल्छ भन्ने ज्ञान थिएन । तर, अस्पतालमा लगानी गर्नु भनेको पुण्य कमाउनु हो भन्ने मेरो मनमा थियो । त्यसपछि मैले नेपालमा भएको व्यवस्थापनबाट अस्पताल चलाउन सकिँदैन, अन्तराष्ट्रिय व्यवस्थापन ल्याएर अन्तराष्ट्रिय स्तरको अस्पताल चलाउने हो भने अध्यक्ष बन्छु भनेँ ।

अन्तराष्ट्रिय साझेदार खोज्ने जिम्मा मलाई नै दिइयो । त्यसपछि मैले थाइल्याण्डको नम्बर १ अस्पताल समितिभेेज (जुन अस्पतालमा पूर्वयुवराज पारस शाहको उपचार गराइएको थियो) अस्पतालसँग कुरा गरेँ । डेढ/दुई महिनापछि उनीहरु हेर्नका लागि नेपाल आए । समितिभेजको टोलीले नै अस्पतालको डिजाइन गर्यो ।
सुरुमा ८०/९० करोडको लागतमा अस्पताल निर्माण गर्ने योजना थियो । तर, समितिभेजको सुझाबअनुसार अस्पतालको लागत निकै बढ्यो । सो टोलीले सम्पूर्ण विश्लेषण पनि गर्यो । ऋण लिएर पनि अस्पताल चलाउन सम्भाव्यता देखियो । समितिभेजले भनेपछि मैले पनि विश्वास गरेँ ।

त्यसपछि लगानी कसरी जुट्यो ?

म आफैं ऋण माग्दै बैंकमा गएँ । बैंकहरुले हामी अस्पतालमा लगानी गर्दैनौं । तर, तपाईलाई लगानी गर्छौं भने । बैंकले तपाईहरु १ अर्ब इक्वीटी राख्नुहोस्, हामी १ अर्ब ६० करोड लगानी गर्न तयार छौं भनेर सुझाए । त्यसबेला इक्वीटी २५/३० करोडमात्रै थियो । त्यसपछि मैले बैंकबाट ऋण लिनका लागि पटक-पटक अस्पतालमा लगानी थपेँ ।

जब मेरो लगानी २५/३० करोड पुग्यो, तब बैंकले राष्ट्र बैंकको नियमका कारण तपाईलाई थप लगानी गर्न मिल्दैन भन्यो । बैंकले ग्राण्डी अस्पताल ज्योति ग्रुपकोजस्तै भयो भन्यो । हामीले तपाई अस्पतालमा भएका कारण अस्पताललाई ऋण दिएका हौं तर, अस्पतालमा तपाईको ठूलो ऋण गएपछि हामीले ज्योति समूहसँग भएको ऋणको कारोबार बन्द गर्नुपर्ने अवस्था आयोसम्म भन्यो बैंकले ।

त्यसो भए के गर्ने त ? बैंकले भन्यो, ग्राण्डीमा तपाईको २५ प्रतिशतभन्दा बढी हिस्सा सेयर हुनुभएन, सञ्चालक समितिको अध्यक्ष हुनुभएन र ७ जना सञ्चालक समितिमा एकजना मात्रै तपाईको सञ्चालक हुनुपर्यो ।

मेरो उद्देश्य अस्पताललाई अन्तराष्ट्रियस्तरको बनाउनु थियो । जसकारण म अध्यक्षबाट हटिदिएँ । सेयर पनि २५ प्रतिशतमा मात्रै सीमित राखेँ । बोर्डमा पनि म एक्लै । तर, फेरि बैंकले चाहिँ बारबार अस्पतालमा भएको लगानी डुब्यो भने त तपाईसँग असुल्छु नि भन्छ ।

हेर्दै जाँदा प्रोजेक्ट रिपोर्टमा धेरै कमी कमजोरी देखिए । मेकानिकल इलेक्ट्रोनिक प्लम्बिङमा ४० करोड घाटा भएको रहेछ । फेरि मैले पैसा थपेँ । त्यसपछि २८ करोडको करको रकम नै छुटेछ । फेरि पैसा थपेँ । अस्पतालका लागि मेरो ८० करोड ऋण पुग्यो । अस्पताल चल्ने बेलामा आएपछि सीइओ बिजयराज भण्डारीले ‘म त भ्याउँदिन’ भने । उनले डा. पाण्डेले तपाई सीइओ बन्नुहोस्, अस्पताल म चलाउँछु भनेकोले मात्र सीइओ पद स्वीकारेको सुनाए । अस्पताल चल्न थालिसक्यो, तर सीइओ नै छैन । त्यसपछि मैले व्यवस्थापनको जिम्मा दिने सम्झौता गरेर समितिवेजलाई गुहारेर ल्याएँ ।

समितिभेजले डा. जिरासदलाई सीइओका रुपमा पठायो । एक हप्ता पछि उहाँ थाइल्याण्ड फर्किनुभयो र म त नेपाल जान्न भनेर भन्नुभयो । मैले सुनेअनुसार उहाँलाई अस्पतालको व्यवस्थापनले पटक्कै सहयोग गरेन । त्यसपछि उहाँ वाक्क भएर फर्किनुभएछ ।  अब आपत पर्यो । अनि म हप्तामा एक दिन अस्पतालमा जान थालेँ । तर, त्यतिले पुगेन । अनि हप्तामा तीन दिन, हेरक दिन आधा-आधा दिनसम्म जान थालेँ । त्यसले पनि पुगेन । अनि हरेक दिन जान थालेँ ।

तर, म सञ्चालक मात्रै भएकाले मलाई धेरै अधिकार थिएन । त्यसपछि सञ्चालक समितिले व्यवस्थापन समिति बनायो र मलाई अध्यक्ष बनायो । त्यसपछि मैले एउटा निर्णय गर्ने, डा. पाण्डेले अर्कै निर्णय गर्ने हुन थाल्यो । उहाँले मलाई डाक्टरलाई भेट्नै पाउँदैनस् भन्नुभयो । सञ्चालक समितिको बैठकमा निकै खटपट भयो । उहाँले मलाई ‘तपाई फर्किनुहोस’ भन्नुभयो । अनि म फर्किएँ । तर, मेरो लगानी फिर्ता भएन । मेरो मनमा अस्पताल चल्नुपर्यो भन्नेमात्रै थियो, त्यसैले उहाँहरुले आउनु भन्दा गएँ, फर्किनुस् भन्दा फर्किएँ ।

तपाइले ग्राण्डीमा सेयर लगानी २५ प्रतिशतमात्रै छ भन्नुभयो, फेरि ८० करोडसम्म ऋण लगानी गरेको पनि भन्नुभयो । अलि प्रष्ट पारिदिनुस् न, तपाईको ठ्याक्कै लगानी कति हो ?

अस्पतालको चुक्ता पुँजी ९२ करोड रुपैयाँको हो, जसमा मेरो २२/२३ करोड रुपैयाँ लगानी छ । त्यसबाहेक बैंकको ऋण र लगानी गरी मेरो तर्फबाट ८० करोड रुपैयाँ लगानी छ । त्यसबाहेक ३ वर्षको २० करोड रुपैयाँ ब्याज थपिएको छ । सबै गर्दा मेरो १ अर्ब २३ करोड रुपैयाँ दायित्व छ ।

dr. rup joty2तपाई निस्किएपछि अस्पताल कसरी चलिरहेको छ ?

मलाई निकालेपछि अस्पतालमा डा. उपेन्द्र महतोलाई भित्र्याइयो । महतोले पनि आउने बेलामा मलाई सोध्नुभयो । मैले पनि उहाँलाई जान सल्लाह दिएको हुँ । तर, उहाँ आएपछि पनि अस्प्तालले राम्रो गर्न सकेन, फेरि २ वर्षपछि मलाई नै बोलाइयो ।

अस्पतालको अवस्था हेर्दा एकदमै खराब भइसकेको थियो । अस्पताल स्थापना भयो, सुचारु पनि भयो तर वित्तीय अवस्था खराब भयो । बिरामीहरुका लागि अस्पताल उत्कृष्ट भयो, काम गर्ने डाक्टरहरुलाई पनि राम्रो भयो । पहिले वर्षमा १२ लाख कमाउने डाक्टहरुले अहिले ७०/८० लाख कमाउन थाले । तर, लगानीकर्ताका लागि भने अस्पताल राम्रो भएन ।

बैंकलाई व्याज तिर्न पैसा छैन । सुरुमा मैले बैंकको व्याज तिरेँ । पछि डा. महतोले आफ्नो खल्तीबाट बैंकको व्याज तिर्नुभयो । वित्तीय हिसावले त ग्राण्डी ठूलै जोखिममा परिसक्यो । ९२ करोड रूपैयाँ चुक्ता पुँजी भएको हस्पिटल १ अर्ब बढी नोक्सानीमा छ ।

यसको अर्थ, नेपालमा निजी क्षेत्रबाट ठूलो स्केलमा स्वास्थ्य क्षेत्रमा लगानी सफल हुन सक्दैन भन्ने हो ? वा राम्रो ब्यबस्थापन भयो भने अझै यो प्रोजेक्ट सफल हुन सक्छ भन्ने लाग्छ ?

ग्राण्डी सफल नहुनुको मुख्य कारण नै व्यवस्थापकीय कमजोरी हो । डाक्टरलाई के कति पैसा दिनुपर्छ, अस्पताल कसरी चलाउनुपर्छ भनेर बुझेको व्यवस्थापन नभएका कारणले नै अस्पतालको वित्तीय अवस्था धरासायी बनेको हो । मलाई त कसरी डाक्टरसँग डिल गर्ने, कस्तो सम्झौता गर्ने भन्ने नै थाहा छैन । डा. पाण्डेले जे-जे भन्नुभयो त्यही गरियो । अन्तिममा परिणाम त नकरात्मक आयो ।

समितिभेजलाई व्यवस्थापनको जिम्मा दिइएको भए त अस्पतालको अवस्था यस्तो हुने नै थिएन । अहिलेको अवस्थामा यही लगानीकर्ता र यही व्यवस्थापनबाट अस्पताल चल्न सक्दैन । व्यवस्थापनमा हस्तक्षेप गर्नसक्ने अर्को ठूलो लगानीकर्ता भित्र्याउन आवश्यक छ । हामी त अस्पतालमा लगानी थप्न सक्ने अवस्थामा छैनौं ।

भनेपछि ग्राण्डीबाट निकालिएपछि तपाईले ग्राण्डी सिटी अस्पताल खोल्नुभएको हो ?

यसको पनि आफ्नै संयोग छ । ग्राण्डी अस्पताल धापासीमा थियो । त्यो अलि टाढा भएकाले धेरैलाई त्यहाँ अस्पताल छ भनेर थाहा नहुन पनि सक्छ, त्यसैले शहरमा पनि चाहिन्छ भनेर ग्राण्डीकै नाम लिएर कान्तिपथस्थित ज्योति समूहको कार्यालयमै ग्राण्डी सिटी क्लिनिक स्थापना गरेको हुँ ।

मसँग यहाँ जमीन पनि खाली थियो । सिभिल कन्स्ट्रक्सन्स म गरिदिन्छु, अरु सामान ग्राण्डीकै ल्याएर क्लिनिक चलाउँ भनेर स्थापना गरेको हुँ । डाक्टरसँग परामर्श र सामान्य चेकअप लगायतका जाँचहरु पायक पर्ने कान्तिपथमै गर्ने र थप उपचारका लागि ग्राण्डी पठाउने उद्देश्य थियो । तर, डा. पाण्डेसँग खटपट भएपछि उहाँले तपाईको जग्गामा राखेको क्लिनिक तपाईले नै चलाउनुहोस भन्नुभयो ।

मैले त आफैं चलाउने सोचले स्थापना गरेको थिइँन । त्यहीबेलामा एकजना एमबीए गरेको डाक्टर भेटेँ । उहाँलाई नै ब्यबस्थापन जिम्मा दिएँ । ग्राण्डीसँग सम्बन्ध राख्ने हो भने त ठीकै छ, हामी एक्लै चल्ने हो भने बेड चाहियो, उपकरण चाहियो भन्नुभयो, त्यसपछि मैले यसलाई अस्पतालको स्वरुप दिन र लगानी थप्न थालेको हुँ । अहिले २४ बेड छन् ।

बाहिरबाट हेर्दा सानो ठाउँजस्तो देखिए पनि यहाँ भित्र प्रवेश गरिसकेपछि अन्तराष्ट्रियस्तरको छ । कतिपय सेवाहरुमा त हामीले ग्राण्डीभन्दा पनि राम्रो दिइरहेका छौं, किनकी यसको डिजाइन र सेटअप समितिभेजकै गाइडलाइनअनुसार गरिएको हो ।

ग्राण्डी सिटीमा कति लगानी भयो ?

अस्पतालका उपकरण किन्नमा नै ४०/५० करोड रुपैयाँ खर्च भइसकेको छ । जग्गा र भवन आफ्नै भएकाले त्यसको मूल्य जोडिएको छैन ।
ग्राण्डी सिटीमा ओडी लाइट अल्ट्रासाउन्ड छ, जुन नेपालका अरु अस्पतालमा छैन । डिजिटल एक्सरे पनि ग्राण्डी र ग्राण्डी सिटीमा मात्रै छ । कतिपय त यस्ता उपकरण छन् जुन भारतका अस्पतालमा समेत छैनन् ।

महंगा उपकरण किनेर अस्पताल सञ्चालन गर्नुभएको रहेछ, सेवाग्राहीले सेवा लिएवापत महंगै रकम तिर्नुपर्छ होला नि ?

हामीले सेवालाई महंगो बनाएका छैनौं । हाम्रो ६ करोडको लिट्रटि्रप्टर भए पनि हामीले त्यसबाट चेकजाँच गर्दा ३५ हजार रुपैयाँमात्रै लिँदै आएका छौं । ३०/३५ लाखको लिट्रोटि्रप्टर राख्नेले पनि ३५ हजार नै लिँदै आएका छन् । म स्वास्थ्य क्षेत्रमा नाफा कमाउन नभई पुण्य कमाउन लागेको हुँ । अस्पतालबाट म ‘सस्टेन’ भएमात्रै पुग्छ ।

मतलव यसबाट तपाईले नाफा खोज्नुभएको छैन्, पुण्यको उदेश्यले मात्र लगानी खनाइरहनुभएको छ ?

जीवनको यो चरणमा आएपछि पैसा कमाउनेमात्रै सोच हुँदोरहेनछ । अर्को जीवनका लागि पुण्य कमाउनु पनि त छ नि, होइन र ? त्यसमाथि मेरो काम गर्ने उमेर अव धेरै बर्ष पनि छैन ।

अब ग्राण्डी सिटीको विकास र विस्तार कसरी हुन्छ ?

आफैंले ठूलो स्केलको लगानी गरेर अस्पताल चलाउनेभन्दा पनि विदेशी साझेदारहरुसँग संयुक्त लगानीमा अन्तराष्ट्रियस्तरको सेवा दिने अस्पताल चलाउनुपर्छ कि भन्ने सोंच छ । खासगरी भारतका केही उत्कृष्ट अस्पतालका व्यवस्थापकहरुसँग कुरा भइरहेको छ । विदेशीहरु यहाँ आएर हेरेपछि अस्पतालमा तपाईको ‘प्यासन’ रहेछ भने । म एक्लैचाहिँ अस्पतालमा ठूलो लगानी गर्ने सोंचमा छैन । किनभने ग्राण्डीमा मेरो ठूलो लगानी फसेको छ । त्यो फिर्ता हुने टुंगो पनि छैन ।

यहाँले स्वास्थ्य क्षेत्रमा आफ्नो ‘प्यासन’ रहेको भन्नुभयो । पुण्य कमाउन लगानी गर्छु पनि भन्नुहुन्छ । तर, ग्राण्डीमा झण्डै सवा अर्ब फसेको छ र आउने टुंगो पनि छैन, अर्को आधा अर्ब ग्राण्डी सिटीमा लगाइसक्नुभयो । यति ठूलो जोखिमका वीच तपाई दुबै डुंगामा खुट्टा राखेर कहिलेसम्म लगानी गरिरहनुहुन्छ ?

ग्राण्डीमा जाने नजाने वा निस्कने वा बस्ने भन्ने मेरो बसमा छैन । म त ग्राण्डी चलोस् भन्ने चाहन्छु । त्यस्तो संस्था चलेन भने नेपालीहरुलाई नै घाटा पर्छ नि । यता ग्राण्डी सिटीलाई भने आफ्नै सुरमा विस्तार गरिरहनेछु ।

काठमाडौंमा एकाध अस्पतालबाहेक धेरैमा समस्या छ । अबौर्ं लगानी गरिएका अस्पतालहरु ठूलो घाटामा चलिरहेका छन् । तपाईले कसरी यो आकारको लगानीमा अस्पताल चल्ने आधार देख्नुभयो ?

अस्पतालमात्रै ‘सस्टेन’ हुन सक्ने अवस्था नदेखेर त व्यापारमा पनि लगानी बढाउनु परेको हो । व्यापारमा कमाएको पैसाले अस्पताललाई सहयोग गर्छ । अस्पताल चलाउन पर्याप्त अनुभव भएका व्यक्तिहरु आउने हो भने चल्न सकिन्छ । तर, नेपालमा त्यस्ता अनुभवी समूहचाहिँ मेरो नजरमा परेका छैनन् ।
मैले समितिभेजजस्तो अस्पताललाई साझेदार बनाउँछु । उनीहरु इच्छुक पनि छन् । नेपालबाट क्यान्सरका बिरामीहरु भारतमा जानु परिरहेको छ, त्यहाँ जाँदा महंगो पर्छ । महिनौं दिनसम्म उपचारका लागि भारतमै बस्नुपर्ने हुन्छ, जसले मेरो मन छोएको छ । त्यहाँ केही गर्न सकिन्छ कि भन्ने मलाई लागिरहेको छ । मैले अघि नै भनेँ कि अस्पतालबाट ठूलो नाफा कमाउन सकिँदैन । तर, मेहेनत गरेर घाटा नहुने गरी चलाउन सकियो भने पक्कै पनि पैसाभन्दा पुण्य धेरै कमाउन सकिन्छ ।

ज्योति समूहले औषधि उद्योगमा पनि लगानी गर्दैछ भन्ने चर्चा छ नि ?

औषधिको बिक्री वितरण गर्ने कम्पनीमा पहिलेदेखि नै हाम्रो लगानी थियो । जसकारण हामीले आफैंले औषधि उद्योग राख्ने सोच पनि बनाएका थियौं । तर, मुलुकमा लगानीमैत्री वातावरण नबनेकाले प्रक्रिया अघि नबढाएका हौं ।

हामी पर्ख र हेरको अवस्थामा छौं । बढ्दो लोडसेडिङ, राजनीतिक अस्थिरता, सरकारी नीति, मजदुर संगठनको समस्याले नेपालमा लगानीको वातावरण बनिसकेको छैन । यही अवस्थामा त औषधि उद्योग सुरु गर्न सकिँदैन होला ।

ज्योति समूह नेपालका ठूला समूहमध्ये पर्छ । तपाईको क्यास फ्लो निकै राम्रो छ । तर, लगानीका क्षेत्रहरुको विस्तारमा त्यति धेरै आक्रामक हुनुहुन्न । नेपालको कर्पोरेट जगतको प्रश्न छ कि, ज्योति समूह के गरिरहेको छ ?

हामी लगानी विस्तार गर्नेतर्फ भन्दा पनि भएका उद्योग व्यापारलाई टिकाउनमै केन्दि्रत छौं । लगानीकै कुरा गर्ने हो भने स्वास्थ्य क्षेत्रमा हामीले राम्रो अवसर देखेका छौं, त्यसमा अगाडि बढ्छौं । हाम्रो समूहले बुटवल पावर कम्पनीमार्फत जलविद्युत आयोजनाहरुमा पनि उल्लेख्य लगानी गरिरहेको छ । तत्कालै अरु क्षेत्रमा जानेबारे सोचिसकेका छैनौं ।

हामीले क्यास फ्लोबारे किन प्रश्न उठाएका हौं भने तपाईहरुले हरेक वर्ष ट्रेडिङबाटै राम्रो मुनाफा गर्नुहुन्छ । यो पैसा यतिकै थन्क्याएर त पक्कै राख्नुभएको छैन्, लगानीचाहिँ कहाँ भइरहेको छ ? भन्न मिल्छ कि ?

हामीले जमीनमै लगाएका छौं धेरै पैसा । भोलि नयाँ-नयाँ क्षेत्रमा काम गर्नुपर्ने स्थिति आयो भने हामीले जमीन दिएर साझेदारी गर्न सक्छौं । अब ज्योति समूहले के-के नयाँ क्षेत्रमा लगानी गर्ने, कता लैजाने भन्ने कुरा नयाँ पुस्ताले सोच्ने हो । छोरा भतिजाहरुले योजना बनाउँदै होलान् । अहिले त उनीहरु पुरानै बिजनेसमा रमाइरहेका छन् ।

dr. rup joty3नेपालका ब्यापारिक घरानाले धमाधम पर्यटन क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् । पर्यटनमा ठूलो अवसर हुँदाहुँदै पनि यसमा तपाईहरुको अग्रसरता देखिन्न । किन होला ?

होटलमा लगानी नगर्ने भन्ने त हाम्रो नीति नै हो । किनकि त्यहाँ रक्सी बेच्नुपर्छ ।होटलमा लगानी गर्न विभिन्न प्रस्तावहरु पनि आएका थिए, मैले सोधें-रक्सी नबेच्ने होटल हुन्छ कि हुन्न ? मलाई थाहा छ, त्यसो हुन सक्दैन । त्यसैले पनि हामी पर्यटन क्षेत्रमा जाँदैनौं होला ।

नेपालका उद्योगीहरुसँग जोखिम वहन गर्न सक्ने क्षमता अत्यन्तै कम छ भन्नुभयो । यो क्षमतालाई बढाउन के गर्नुपर्ला ?

उद्योगमा बैंकहरुले लगानी गरिसकेपछि त्यहाँको जोखिम त बैंकले पनि लिनुपर्छ नि । तर, हाम्रा बैंकहरुले त्यसो गर्दैनन् । यहाँ हरेक उद्योगीहरुले उद्योगमा होइन, व्यक्तिगत जमानीमा बैंकबाट ऋण लिनुपर्छ । बैंकलाई राष्ट्र बैंकले संरक्षण गरिरहेको छ । कुनै पनि परियोजना आफ्नै कारणले नोक्सानीमा गयो भने त्यसको भार बैंकले पनि बोक्नु पर्‍यो नि, हैन र ?

हाम्रो ऐनमा ‘लिमिटेड लायबिलिटी’ को अवधारणा छ, जसअनुसार मैले ६० करोड रुपैयाँ लगानी गरेर केही काम सुरु गरेँ र त्यसमा बैंकको १ अर्ब लगानी छ भने ६० करोड मेरो र १ अर्ब बैंकको जोखिम हुनुपर्छ । तर, यहाँ त मैले बैंकबाट ऋण लिएको छु भने मेरोमात्रै होइन कि मेरो सात पुस्तालाई समात्छ । कम्पनीमा बसेर बदमासी गरेको छ भने पो असूल गर्नुपर्छ त ।

व्यवसायीहरुको जोखिम बहन गर्नसक्ने क्षमता नबढाएसम्म व्यवसायीहरु उद्योग भन्दा व्यापारतिर आकषिर्त हुन्छन्, अहिले नेपालमा भइरहेको पनि यही हो । कुनै उद्योग डुब्दा बैंकले सीधै व्यवसायीहरु समात्न आउँछन्, ब्ल्याक लिस्टमा राख्छु भनेर थ्रेट गर्छन् त्यो ब्ल्याक लिस्ट होइन, ब्ल्याक मेलिङ हो ।

तपाई सांसद र अर्थमन्त्री पनि हुनुभयो, त्यसबेला यो नीति संसोधनका लागि के गर्नुभयो त ?

सांसद हुँदा धेरै आर्थिक विधेयकहरुमा मैले आफ्ना कुराहरु प्रष्टसँग राखेको छु । मेरो हातमा आइपुगेका विधेयकहरु सबैमा संसोधन प्रस्ताब पनि हालेको थिएँ । एक्लैले सबै कुरा गर्न त सकिँदैन नि । अर्थमन्त्री हुँदा यही विषयमा आइएमएफसँग खुबै प्रतिवाद गरेँ । आफ्नो देशमा चाहिँ लिमिटेड लाइबलिटी लागू गर्ने तर हामीकहाँ चाहिँ त्यस्तो लागू हुन नदिने ? भनेपछि उहाँहरु चुपचाप फर्किनुभयो । आइएमफ र विश्व बैंकको दबाबमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले नीति परिवर्तन गर्छन् । उनीहरुको दबाबमा सम्पत्ति शुद्धीकरण लागू गरियो ।

सम्पत्ति सुद्धीकरण अमेरिकाका लागि ठीक होला, तर नेपालका लागि उपयुक्त होइन । किनभने यहाँ हरेक सामानको बिल पाइँदैन, तलव बुझेको प्रमाण हुँदैन । त्यसैले यहाँ कसैले पनि आफ्नो सम्पत्तिको सबै स्रोत देखाउन सक्ने अवस्था छैन ।

एउटा उद्योगीको नजरमा नेपालमा लगानी गर्नका लागि अवरोधहरु के-कस्ता छन् ?

व्यापार गर्नका लागि त खासै बाधा अवरोध छैनन् । तर, उद्योगमा लगानी गर्नका लागि सबैभन्दा ठूलो अवरोध भनेको निजी क्षेत्रप्रतिको सरकारको धारणा हो । सरकारमा बस्ने अधिकारीहरुले निजी क्षेत्र भनेको नाफाखोर हो भनेर मात्रै हेर्छ । त्यसैले उद्योग स्थापना गर्नुअघि आफूले के पाउँछु भनेर हेर्छन् ।

तपाई विपश्यना ध्यान पनि गर्नुहुन्छ । पैसाको नशा लागेको व्यवसायीलाई ध्यानले कसरी आकर्षण गर्यो ?

म विपश्यनामा लागेर व्यवसायी भएको नभई व्यवसायी हुँदाहुँदै विपश्यनामा लागेको हुँ । विपश्यनामा गएपछि मलाई के लाग्छ भने राम्रो काम मात्रै गर्नुपर्छ, राम्रो कामको परिणाम अहिले नआए पनि भविष्यमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?