Comments Add Comment

आन्दोलनरत निजामति कर्मचारी भन्छन्- आजको आन्दोलन निर्णायक

Trade-Union-Karmachari-aandolan

२८ चैत, काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट कर्मचारीहरुले अब ‘अन्तिम लडाईं’ लड्ने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाको कार्यालय अगाडि आइतबार धर्ना र प्रदर्शन जारी राखेका कर्मचारीहरुले आजको आन्दोलन निर्णायक हुने दाबी गरे ।

आफूहरुसँग सल्लाह नै नगरी विधि र प्रक्रियाविपरीत ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेसी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

आउँदो वैशाख १० गते हुने निर्वाचन कार्यक्रमको तालिकाअनुसार सोमबार मनोनयन दर्ता हुँदैछ । तर, आइतबार कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालय परिसरमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

Trade-Union-Karmachari-aandolan-

एमाओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावलले निर्वाचन अधिकृतसँग शान्तिपूर्ण तरिकाले छलफल गर्न आफूहरु भेला भएको बताए ।

एउटै प्रक्रियाबाट दर्ता भएका ट्रेड युनियनका कर्मचारीहरुलाई भेदभाव गरिएको उनले आरोप लगाए ।
‘तीनवटा ट्रेड युनियनहरुलाई बोलाएर छलफल गर्नुभएको छ, हामीलाई चाहिँ हुलाकबाट पत्र पठाइएको छ,’ रावलले भने, ‘कसैलाई काखा कसैलाई पाखा गर्ने हिसाबबाट उहाँहरु अगाडि बढ्नुभएको छ । त्यसैले हामी कानुन मान्नुपर्छ भनेर कानुनको पालना गराउन धर्ना, घेराउ कार्यक्रम गरेका छौं ।’

आन्दोलनरत कर्मचारीहरु उल्लेख्य संख्यामा सामान्य प्रशासन मन्त्रालय परिसरमा भेला भएका छन् । प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ । तर, हातमा लाठी लिएर ढोकैमा उँभिएका प्रहरीहरुले कार्यालयभित्र कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

संयुक्त संघर्ष समितिका प्रवक्ता एवम् राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रभासप्रसाद साहले शान्तिपूर्ण धर्ना र आन्दोलनमा रहेकालाई बल प्रयोग गर्न खोजिएको आरोप लगाए ।

‘हामी सरकारसँग होइन, प्रमुख निर्वाचन अधिकृतसँग लडाइँ लडिरहेका छौं,’ प्रवक्ता साहले भने, ‘आज यदि बल प्रयोग भयो भने हाम्रा मागका लागि जे गर्न पनि तयार छौं । हामी अन्तिम चरणको लडाईंमा छौं ।’

साहले विनियमावलीमै सबै ट्रेड युनियनहरुसँग सहमति गर्नुपर्ने बाध्यात्मक वाक्यांश भए पनि अहिलेका प्रमुख निर्वाचन अधिकृत गिताप्रसाद तिमिल्सिनाले एकलौटी गरेको आरोप लगाए ।

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ), एमाले निकट निजामती कर्मचारी संगठन र श्रेणीविहीन कर्मचारी रहेको राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रलाई कार्यालयमा बोलाएर निर्वाचनबारे पटक-पटक छलफल गरेको तर आफूहरुलाई हुलाकमार्फत् पत्र पठाएको जानकारी पाएको उनले बताए ।

‘हामी दिनहुँ प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा छौं तर, हामीलाई हुलाकबाट चिठ्ठी पठाइयो रे,’ साहले भने, ‘योजतिको निकृष्ट व्यवहार अरु के हुन सक्छ ?’

विनियमावलीमा चारवटा मात्र ट्रेड युनियनको परिकल्पना गरिएको छ । तर, राजनीतिक परिवर्तनपछि मान्यताप्राप्त ट्रेड युनियन सातवटा छन् । सबैलाई प्रक्रियामा सहभागी गराउनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनरत कर्मचारीहरुले आधिकारिक टे्रड युनियन निर्वाचनमा तोकिएको २० प्रतिशतको थ्रेस होल्ड हटाउनुपर्ने, समानुपातिक र समावेशी चरित्रको निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने, ज्यालादारी, करार र अस्थायी कर्मचारीहरुलाई प्रक्रिया पुर्‍याई स्थायी गर्नुपर्नेलगायतका माग राखेका छन् ।

यसअघि निर्वाचन अधिकृत तोकिएका राजीव गौतमले कर्मचारीहरुकै दबावका कारण पदबाट राजीनामा दिएपछि हाल गीताप्रसाद तिमल्सिना निर्वाचन अधिकृत तोकिएका छन् । तिमिल्सिनाको कार्यकक्षमा यसअघि कर्मचारीहरुले लगाइदिएको ताला प्रहरीले खोलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment