Comments Add Comment

हास्य कलाकारको निरस वर्षः धुर्मुस-सुन्तलीले हाने मौकामा चौका

२९ चैत, काठमाडौं । नेपाली हास्यकलाकारका लागि निराशाजनक रह्यो २०७२ साल । भुकम्प र नाकाबन्दीले सारा जनतालाई रुवाएको वर्ष हाँस्यकलाकारले पनि पीडैपीडामा बिताए ।

टेलिभिजनमा लामो समयदेखि प्रशारण हुँदै आएका केही कमेडी सिरियल यस वर्ष बन्द भए । चलिरहेका सिरियलहरु पनि संकटग्रस्त अवस्थामै छन् । प्रायोजक संस्थाबाट पारिश्रमिक नपाएको गुनासो एकातर्फ हास्यकलाकारको छ भने अर्कोतर्फ विज्ञापनको बजार डामाडोल भएकाले हास्य श्रृंखलाहरु टिकाउन गाह्रो परेको गूनासो आयोजक संस्थाको छ ।

आउनुस, चल्तिका हास्यकलाकारले २०७२ साल कसरी बिताए भन्ने छोटकरीमा चर्चा गरौं:

धुर्मुस-सुन्तली

Sitaram Kattel (6)

यो वर्षभरी सर्वाधिक चर्चित र लोकप्रिय रह्यो सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जोडी । भूकम्प लगत्तै पुनर्निमाण र राहतमा उनीहरुले गरेको योगदानलाई देशले लामो समय सम्झिइरहने छ ।

नयाँ वर्ष नलाग्दै अमेरिका पुगेका धुर्मुस-सुन्तली केही महिना अमेरिकाकै विभिन्न शहर घुम्ने योजनामा थिए । उनीहरु अमेरिकामा रहेका नेपाली दर्शकलाई हँसाउन व्यस्त रहेका बेला नेपाललाई भुकम्पले बेस्सरी हल्लायो । भुकम्पको खबर सुन्नासाथ धुर्मुसले कार्यक्रम विचमै छोडेर नेपाल फर्किने निर्णय लिए । अमेरिकामा कार्यक्रम देखाएर संकलन भएको रकम समेत भुकम्प पिडितका निम्ति खर्च गर्ने उनीहरुले घोषणा  गरे ।

भूकम्प पीडितका लागि शौचालय निर्माण हुँदै नमुना बस्ती बनाएका धुर्मुस-सुन्तली निकै वाहवाही बटुलेका छन् । यसबाट सामाजिक कार्यमा लाग्न उनीहरु थप उत्साहित बने । सरकारले उनीहरुलाई सरसफाई दूत बनाएको थियो । सो जिम्मेवारीमा पनि उनीहरुले कुनै कसर बाँकी छोडेनन् ।

सामाजिक कार्यको व्यस्ताका बाबजुद धुर्मुस-सुन्तली आफ्नो कलाकारीतालाई तिलाञ्जली दिएका छैनन् । यद्यपि देशको परिस्थितिले गर्दा उनीहरुको लोकप्रीय टेलिश्रृङ्खला ‘मेरी बास्सै’ केही समय बन्द रहयो । अहिले फेरि मेरी बास्सैको पुनरागमन भएको छ । यसबाहेक स्वतन्त्र रुपमा फुटकर हास्य-व्यंग्य कार्यक्रम निर्माण गरेर यूट्यूवमा अपलोड गरिरहेका छन् धुर्मुस ।

दीपकराज गिरि-दीपाश्री निरौला

हास्य टेलिश्रृङ्खला तीतो सत्यबाट स्थापित जोडी हो दीपकराज गिरि र दिपाश्री निरौला । उनीहरुलाई चर्चाको शिखरमा पुर्‍याउने सिरियल अहिले बन्द छ । यसकारण यो वर्ष उनीहरुलाई दुखेको वर्ष हो ।

dipak-and-dpia

दीपकराज भन्छन्, ‘तीतो सत्य दर्शकले मन पराउदा पराउदै बन्द भयो ।’ झूर हुन नपाई सिरियल बन्द भएको भनेर उनले खुशी समेत व्यक्त गरेका छन् ।

सिरियल बन्द भए पनि उनीहरुकै टिमले बनाएको फिचर फिल्म ‘वडा नम्बर छ’ यसै वर्ष रिलिज भयो र गज्जब चल्यो पनि । यसले यो जोडीको घाउमा मल्हमपट्टीको काम गरेको छ । उनीहरु अहिले नयाँ फिल्म ‘छक्का पञ्जा’ को काममा व्यस्त छन् । दिपाश्री यसै फिल्ममार्फत पहिलोपटक निर्देशकका रुपमा उदाउदैछिन । विभिन्न स्टेज कार्यक्रममा पनि दिपक र दीपाको उपस्थिति राम्रै रह्यो ।

जितु नेपाल-शिबहरि पौडेल

Jitu-Nepal-and-Shibahari

जितु र शिबहरिको जोडी टेलिश्रृङ्खला ‘जीरे खुर्सानी’ बाट स्थापित बनेको हो । तर, टेलिश्रृङ्खला यसै वर्ष बन्द भयो र उनीहरुको जोडी पनि टुट्यो ।

जिरे खुर्सानीको प्रशारण बन्द भएसँगै जितु र शिबहरि आआफ्नो बाटोमा लागेका छन् । अहिले जितु एकलरुपमा विभिन्न स्टेज कार्यक्रममा ब्यस्त छन् भने शिबहरिले अर्का कलाकार किरण केसीसँग मिलेर ‘ब्रेकफेल’ नामको हाँस्य सिरियल निर्देशन सुरु गरेका छन् ।

तर, जितुले स्वदेश एवं विदेशका स्टेज कार्यक्रममा राम्रै बाजी मारे । यहि वर्ष जितुले पहिलोपटक अमेरिकाका विभिन्न शहरमा कार्यक्रम प्रस्तुत गरे । स्वदेशमा पनि उनको उपस्थिती कमजोर छैन ।

केदार घिमिरे-विल्सन विक्रम राई

takme-and-magne-budaमेरी बास्सैबाट केही समयअघि अलग भएका केदार घिमिरे (माग्ने बुढा) ले विल्सन विक्रम राई (तक्मे बुढा) सँग नयाँ जोडी बाँधेका छन् । यो जोडी स्टेज कार्यक्रममा सँगै देखिन थालेको छ ।

स्वदेश एवं विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा राम्रै प्रभाव पारेको जोडी वर्षको अन्त्यतिर आई पुग्दा नयाँ सिरियलका साथ देखा परेको छ । ‘खासखुस’ नामको हाँस्य श्रृङ्खला निर्माण गरेको जोडी मध्येका राई फिचर फिल्ममा  पनि ब्यस्त भए  । घिमिरेले चाहिँ केही म्युजिक भिडियोमा अभिनय गरे । घिमिरेले अभिनय गरेको चोर बिरालो बोलको भिडियोले राम्रै चर्चा पाएको थियो ।

मनोज गजुरेल

Manoj Gajurel_1

स्टेज कार्यक्रममा गज्जब प्रभाव पार्ने क्षमता राख्ने मनोज गजुरेलको पनि यो वर्ष औसत रह्यो । भूकम्प गएलगत्तै भूकम्प प्रभावित विभिन्न जिल्लामा पुगेका गजुरेलले केही समय भूकम्प पीडित वालवालिकालाई कार्यक्रम मार्फत परामर्श दिने काम गरे ।

स्टेजमा मनोजको प्रभाव यसपाली पनि जोडदार नै रह्यो । गाइजात्रामा पूर्वमन्त्री लालुबाबु पण्डितको क्यारीकेचर गरेर अत्याधिक चर्चामा आए उनी ।

अन्य कलाकार

कान्तिपुर टिभीबाट प्रशारण हुँदै आएको ‘हर्के हल्दार’ मा अभिनय गरेका विष्णु सापकोटा (हर्के हल्दार) र किशोर भण्डारी (फूलमान साहु) ले पुरानै गेटअपमा आफुलाई प्रस्तुत गर्ने काममा सिमित गरे । किशोर अहिले नयाँ सिरियल डिट्ठासाबको निर्देशनमा ब्यस्त छन् । कान्तिपुरकै फ्लप शो चलाउने सन्दिप क्षेत्री सो कार्यक्रमभन्दा बाहिर निस्कन सकेनन् ।

Rabi Dangol (4)

‘तीतो सत्य’वाटै चर्चामा आएका गोललाई भूकम्पले सिर्जना गर्न छेक्यो । भूकम्पपछि केही महिना टहरामा बसेका रबि अब केही गर्ने योजनामा छन् । निर्मल शर्मा गैंडा फिल्म निर्देशनमा उत्रिए । उनले निर्देशकन गरेको फिल्म चकलेटले बक्स अफिसमा कमाल गर्न भने सकेन ।

सुरबीर पण्डित, दमन रुपाखेती, पल्पशा डंगोल, सन्दीप सापकोटा लगायतका कलाकारले औसत काम गरेरै वर्ष बिताए ।

सागर लम्साल (बले), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), कुमार कट्टेल (जिग्री ब्रो), हरि निरौला (कक्रोच), अर्जुन घिमिरे पाँडेले पनि पुरानै गतिविधीलाई निरन्तरता दिए । स्वदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा उनीहरुको उपस्थिति राम्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment