Comments Add Comment

बेलायती राजकुमारका गोर्खाली अंगरक्षकः सँगै हिँडेको साथीलाई बमले उडायो

 

Dabre-Gurung-810

देब्रे गुरुङलाई चिन्नुहुन्छ ? पक्कै चिन्नुहुन्न । बेलायतका युवराज चार्ल्सलाई त पक्कै चिन्नुहुन्छ । उनै चार्ल्सका नेपाली अंगरक्षक हुन् देब्रे ।

खास नाम हो चन्द्रबहादुर गुरुङ । देब्रे हात धेरै चल्ने भएकाले उनलाई साथीभाईले ‘देब्रे’ भनेर बोलाउन थाले । उनलाई किन-किन यही नाम मन पर्नगयो । अहिले आफू पनि देब्रे नै लेख्छन् । नपत्याए उनको फेसबुक-ट्वीटर हेर्नुभए हुन्छ ।

ठमेलको एउटा होटलको कौशीको देब्रे भागमा बसेर हामी देब्रेसँग गफगाफ गर्दैछौं । उनको देब्रे हातमा चुरोटको ठुटो छ । कालो सुट र कालै चश्मामा ठाँटिएका देब्रे कुनै हलिउड स्टारभन्दा कम देखिएका थिए भन्दा उनको अवमूल्यन हुनेछ ।

प्रिन्स ह्यारी नेपाल आउनुभन्दा दुई दिनअघि आएका उनी ह्यारी फर्केको दुई दिनपछि फर्किए । ह्यारीको भ्रमण लगातार समाचारको विषय भयो तर, देब्रे आएको र गएको कसैले थाहा पाएन ।

हाम्रो कुराकानी उनी र्फकने अघिल्लो दिन भएको हो । अन्तरवार्ताका लागि आग्रह गर्दा सुरुमा उनी निकैबेर अन्कनाएका थिए ।
‘बोल्दा तल-माथि होला, अप्ठेरो पर्ने हो कि ?’ उनी यसरी भुट्भुटिँदै थिए ।

केहीबेर सोचेर आफैंले आफूलाई कन्भिन्स गरे र अन्तरवार्ता दिन तयार भए । उनले ब्रिटिश सेनामा आफ्नो प्रवेश, अफगानिस्तानमा लडाइँ लड्दाको क्षण र बेलायतको राजपरिवारसँगका अनुभुतिहरु यसरी व्यक्त गरेः

सानैदेखिको लाहुरे सपना

पोखरामा सन् १९८२ मा मेरो जन्म भयो । मेरा बुवा र हजुरबुवा दुवै जना ब्रिटिस आर्मी हुनुहुन्थ्यो । मेरो हजुरबुबाले १९४२ मा मलेसियाको बोनीको लडाइँमा भाग लिनुभएको थियो ।

अलि बुझ्ने भएदेखि मैले उहाँको मुखबाट लडाईंका कथाहरु सुन्न थालेँ । ती कथाहरुले मलाई भित्रैदेखि रोमाञ्चित बनाउँथे । ठूलो भएपछि ब्रिटिश आर्मी नै बन्ने हो भन्ने खालको भावना सानैदेखि विकास भयो ।

बुबा १९९२ मा रिटायर्ड हुनुभयो । बुबाले अवकाश पाउँदा म १० बर्षको थिएँ । मैले पोखराको न्यू मोडल बोर्डिङ स्कुलबाट एसएलसी पास गरेँ ।  पढाइमा खासै ध्यान थिएन । एसएलसी दिएलगत्तै मलाई ब्रिटिस आर्मी बन्ने हतारो भइसकेको थियो । बुबाले मलाई आधारभूत कुराहरु घरमै सिकाउनुभएको थियो ।

म २००१ मा १८ वर्षको उमेरमा बि्रटिस आर्मीका लागि आवेदन दिएँ र छनोट पनि भएँ । मेरो ब्याचमा २ सय ३० जना थिए ।

प्रारम्भिक तालिममा ३/४ वटा हतियारमात्र खेलाउन पाइन्छ । तर, ब्रिटिस सेनाले आफ्नो करिअरमा २० देखि २५ वटासम्म हतियारहरु चलाउन सिक्नुपर्छ

बन्दूक चलाउन अप्ठेरो

बेलायतको उत्तरी क्षेत्रमा पर्ने आइटीसी क्याट्रिकमा मैले ९ महिना कठोर तालिम लिएँ । यही तालिमले एउटा सामान्य व्यक्तिलाई सैनिकमा परिणत गर्दछ । त्यसैले यो सजिलो तालिम पक्कै हुँदैन ।

म लेफ्टी हुँ । जे गर्दा पनि बायाँ हात अगाडि चल्छ । तालिममा बन्दुक बोक्दा नै मलाई असजिलो हुन्थ्यो । बन्दुक चलाउन सिक्दा पनि सामान्यभन्दा बढी समय लाग्यो । आर्मीमा बन्दुक दाहिनेपट्ट नै बोक्नुपर्छ र दाया हातले नै चलाउनुपर्छ । मलाई अपायक परेजस्तो लाग्थ्यो ।

प्रारम्भिक तालिममा ३/४ वटा हतियारमात्र खेलाउन पाइन्छ । तर, ब्रिटिस सेनाले आफ्नो करिअरमा २० देखि २५ वटासम्म हतियारहरु चलाउन सिक्नुपर्छ । सिक्ने प्रक्रिया लामो समय चलिरहन्छ ।

लडाईको अग्रपक्ति रोजेँ

तालिम सकिएपछि पल्टन रोज्न लगाइन्छ । बेलायती सेनाको कुन बिभागमा काम गर्ने भनेर सोधिन्छ । मैले आफ्नो सेनाको इन्फेन्ट्री विभाग रोजेँ । कुनै पनि लडाइँको अग्रपंतिमा रहने सैनिक दस्तालाई इन्फेन्ट्री भनिन्छ । यो सबैभन्दा चुनौतिपूर्ण जिम्मेवारी हो ।

तर, एउटा सैनिकले लडाईंलाई मैले आफ्नो जीवनको अपरिहार्य हिस्सा सम्झेको हुन्छ । लडाईबिनाको सैनिक जीवन अपूर्ण ठानिन्छ । त्यसैले इन्फेन्ट्री रोज्न मलाई कुनै हिच्किचाहट भएन । मेरो बुवा-हजुरबुवाले पनि इन्फेन्ट्री नै हुनुहुन्थ्यो ।

तालिम पूरा गरेपछि मेरो पल्टन ब्रुनाइ आयो । पल्टनमा करिव ८०० जना सिपाही थियौं । त्यहाँ म ३ वर्ष बसेँ । यो बसाइमा धेरै समय तालिममै बित्यो । बीचमा केही अपरेसनहरुमा पनि सामेल भयौं ।

तीन वर्षपछि पुनः बेलायत फर्कियौं । खासै व्यस्त भएनौं । सामान्यतयाः तालिममै  दिन बितिरहेको थियो । त्यति नै बेला अफगानिस्तानमा तालिवानी युद्ध शुरु भयो । बेलायती सेनालाई पनि अफगानिस्तानमा खटाइयो । त्यसपछि हामीलाई ठूला र कठीन तालिमहरु दिन थालियो ।

मैले अफगानिस्तानमा ३ वटा मिसनमा रहेर युद्ध लडेको छु । पहिलोपटक सन् २००७ मा पुगेको थिएँ । त्यसपछि २०१० र २०१२ मा । एउटा मिसन ६ महिनाको हुन्छ ।

मैले आफ्नो मिल्ने गोर्खाली साथी गुमाउनुपर्‍यो । म्याग्दीको फुलकुमार पुनलाई आफ्नै आँखाअगाडि बमले उडाएको घटना कहिल्यै भुल्न सक्दिँन

तीनमध्ये पहिलो मिसनमा हामी आक्रामक थियौं । आफ्नै योजनाअनुसार आक्रमणमा सहभागी हुन्थ्यौं । तर दोस्रो र तेस्रो मिसनमा हामीले त्यहीँका सेना र प्रहरीसँग मिलेर योजना बनाउथ्यौं । लडाईमा उनीहरु नै जान्थे,  हामीले ब्याक सपोर्ट दिन्थ्यौं । यस क्रममा कयौंपटक दोहोरो फायरिङ हुन्थ्यो । मेरो टाउको माथिबाट, कान छेउबाट गोली गएका घटना धेरै छन् । भाग्यवस मलाई कुनै गोली लागेन । हामीले अफगानिस्तानको द्वन्द्वग्रस्त हेल्मन प्रान्तमा रहेर अपरेसन गरेका थियौं ।

सँगै हिँडेको साथी गुमाएँ 

सन् २०१० मा दोस्रो पटकको मिसनमा जाँदा भने पीडादायी घटना भयो । मैले आफ्नो मिल्ने गोर्खाली साथी गुमाउनुपर्‍यो । म्याग्दीको फुलकुमार पुनलाई आफ्नै आँखाअगाडि बमले उडाएको घटना कहिल्यै भुल्न सक्दिँन ।

त्यस दिन हामी गस्तीमा थियौं । गर्मी निक्कै चढेको थियो, सायद ४५ डिग्री सेल्सियसजति थियो होला । फूलकुमार र मैले एउटै चुरोट पालैपालो तानिरहेका थियौं । अन्तिमपटक मलाई चुरोटको ठूटो दिएर ऊ अलिकति अगाडि बढ्यो । मभन्दा करिव २० मिटरको दुरीमा थियो फुलकुमार ।

यत्तिकैमा ठूलो आवाजसहित बम विष्फोट भयो । अघि सँगै हिडेको फुलकुमार विष्फोटभित्र हरायो । उसले दिएको चुरोटको ठूटो मेरो हातमै थियो । पलभरमै त्यहाँको वातावरण कोलाहलपूर्ण बन्यो । विष्फोटमा परेकाहरुको लास टुक्राटुक्रा भएर उछिट्टएिका थिए । धुवाँ र धुलो उडिरहेको थियो । मानिसहरु चिच्याउँदै भागाभाग गर्न थाले ।

तर, हामी त सैनिकलाई  ज्यान बचाएर भाग्ने सुविधा थिएन । त्यसमाथि मेरो आफ्नै साथी घटनामा परेको थियो । साथीको मृत्यूमा शोक मनाएर बस्ने अवस्था पनि थिएन ।

त्यहाँ कुनै तालिबानीले आत्मघाती विष्फोट गराएको रहेछ । हामी सबैलाई टार्गेट गरेको थियो होला । तर, हामी प्रायः समुहमा झुरुप्प भएर हिँड्दैनथ्यौं । अलिकति दुरीमा हिँड्थ्यौं । त्यसैले म बाचेँ ।

शहरको बीचमा गराइएको विष्फोटमा धेरै सर्वसाधारणको ज्यान गयो । विष्फोट यति भयानक थियो कि करिव २ मिनेटसम्म मैले केही देखिनँ । वरिपरि धुलो र धुवाँ मात्र थियो । हाम्रा कमाण्डरले रेडियो सेटबाट सबैको जानकारी लिन खोजे । तर, दुई जना सम्पर्कविहीन बने । यसमा एक बेलायती साथी पनि परेछन् ।

कोलाहललाई चिर्दै हामी विष्फोट भएको ठाउँमा पुग्यौं । साथीहरुको शव पहिचान गर्‍यौं । हाम्रो सहयोगका लागि स्थल र हवाई टोली थपियो । त्यसपछि हामी जतिसक्दो छिटो शव लिएर त्यहाँबाट पल्टनमा फर्कियौं ।

आधार शिविरमा पुगेर आराम गर्दा पो म झसंग भएँ ।  अघिसम्म सँगै हिँडेको साथी गुमाएको पीडा बल्ल महसुस हुन थाल्यो । धेरै दिनसम्म उसको अनुहार झल्झली आँखाअगाडि आइरहेको थियो ।

मेरो लडाईको सबैभन्दा कठीन क्षण र अनुभव अफगानिस्तानमै हो । लडाईमा जाँदा यता परिवारमा चिन्ता बढ्थ्यो । फुर्सद हुनासाथ फोन गर्थेँ । तर, कहिलेकाहीँ लामो समयसम्म पनि फोन गर्न पाइन्नथ्यो ।

अफगानिस्तानका तीनवटा मिसन सकेर लण्डन फर्किएँ । र त्यसलगत्तै एउटा तालिमको लागि क्यानडा गएँ । क्यानडामा लाइभ फाइरिङको कोर्ष गरेको थिएँ । त्यसपछि फेरि लण्डन आएँ ।

Debbre1

यसरी युवराजको अंगरक्षक छानिएँ

सन् २०१५ को प्रारम्भमै मेरो सैनिक जीवनमा नयाँ र सुखद मोड आयो । म बेलायती युवराज चार्ल्स अंगरक्षकमा छानिएँ । वास्तवमा बेलायतको राजपरिवार विश्वभर सम्मानित छ ।

राजपरिवारका सदस्यलाई बेलायतभित्र ठूलो श्रद्धा गरिन्छ । यस्तो राजपरिवारसँग काम गर्न पाउनु मेरा लागि सपनाभन्दा ठूलो थियो । युवराज चार्ल्स गोर्खा सैनिकलाई असाध्यै माया गर्नुहुन्छ ।

गोर्खाली सेनाको सबैभन्दा उच्च अहोदा ‘कर्नेल इन चिफ’ पनि हुनुहुन्छ उहाँ । पहिलेदेखि नै उहाँले एकजना गोर्खा सैनिकलाई आफ्नो सुरक्षाका लागि राख्ने गर्नुभएको छ । म क्यानाडाबाट बेलायत फर्किएका बेलामा चाल्र्सको सुरक्षामा खटिएका गोर्खा सैनिक प्रेम राई रिटायर्ड हुनुभयो । त्यसपछि मैले मौका पाएको हुँ ।

सैनिकमा भर्ती भएदेखि मेरो सबै रेकर्ड राम्रो थियो । कतै खोट लगाउने ठाउँ थिएन । सैन्य शिक्षा पनि धेरै लिइसकेको थिएँ भने अंग्रेजी पनि खरर बोल्थेँ । मैले तीनवटा अन्तरवार्ता दिएँ । सबै अन्तरवार्ता राम्रो भयो ।

सबै चरण पार गरिसकेर म युवराज चार्ल्सको अंगरक्षक नियुक्त भएँ । मेरो कार्यकाल अब दुई वर्ष बाँकी छ । त्यसपछि पनि उहाँले चाहनुभयो भने थप्न सक्नुहुन्छ । म त जति लामो समय बस्न पाएँ, त्यति खुशी हुन्छु ।

यो एउटा ‘हाई प्रोफाइल जब’ हो । एकातर्फ युवराज जस्तो व्यक्तिको सुरक्षा दायित्व काँधमा हुन्छ भने अर्को सिंगो गोर्खा सैनिकको इज्जत मसँग जोडिएको हुन्छ । म आफ्नो जिम्मेवारीमा चुकेँ भने गोर्खा सैनिक मात्रै नभएर देशकै प्रतिष्ठामा असर पर्छ । त्यसैले यो जिम्मेवारी जति आकर्षक छ, त्यति चुनौतिले भरिएको पनि छ ।

राजपरिवारसँग निकटता

बेलायतको राजपरिवार दैनिक कार्यतालिका अनुसार चल्छ । धेरै कुरा मैले सार्वजनिक गर्न मिल्दैन । युवराज चार्ल्ससँग त मेरो व्यक्तिगत निकटता हुने नै भयो । राजपरिवारका अन्य सदस्यहरुसँग पनि मेरो राम्रै छ ।

युवराज विदेश भ्रमणमा जाँदा बाहेक म उहाँकै साथमा हुन्छु । बेलायतभित्र जुनसुकै स्थानमा जाँदा पनि उहाँसँगै जानुपर्छ । कहिलेकाहीँ एउटै गाडीमा पनि हुन्छु । प्राइभेट जेटमा पनि सँगै यात्रा गरेको छु ।

यद्यपि, म दरबारभित्र बस्दिनँ । सेन्ट्रल लण्डनको केनिङटनस्थित दरवारकै स्वामित्वमा रहेको भवनमा मेरो परिवारलाई बस्ने व्यवस्था मिलाइएको छ । हरेक दिन म बिहान आठ बजे दरबार पुग्छु र बेलुका फर्किन्छु ।

त्यसो त मेरो ड्यूटी युवराज चार्ल्ससित मात्रै सम्वन्धित छ । यद्यपि युवराज्ञी क्यामिलालाई पनि विभिन्न काममा सघाइरहेको हुन्छु । सप्ताहान्तमा राजपरिवारको जमघट हुुन्छ । त्यसक्रममा महारानी भिक्टोरिया, राजकुमारहरु विलियम, हृयारी, राजकुमारी केट लगायतसँग भेटघाट भइराख्छ ।

मैले बेलायती राजपरिवारका सदस्यहरुमा राजनीतिप्रति खासै चासो पाइनँ । देशभित्रकै  दैनिक राजनीतिमा पनि उहाँहरुले त्यति ध्यान दिनुहुन्न । तर समाजसेवामा उहाँहरु सबैको गहिरो अभिरुची छ ।

debbre
युवराज चार्ल्ससँग चन्द्र, (हरियो कोट लगाउने)

यस्ता छन् चार्ल्स

मैले भनिहालेँ, युवराज चार्ल्सको गोर्खालीप्रति निकै ठूलो सद्भाव छ । उहाँको व्यक्तिगत स्वभाव पनि मलाई गोर्खाली पाराको लाग्छ । उहाँ आफ्नो चलनचल्तिको व्यवहारबाट कहिल्यै दायाँ-बायाँ जान रुचाउनुहुन्न । एउटै ढर्राको जीवनशैलीमा बस्न रुचाउनुहुन्छ ।

भारतीय नाकाबन्दीको विषयमा भने खासै कसैले सोध्नुभएन । राजनीतिसँग जोडिएको विषय भएकाले पनि हुनसक्छ उहाँहरुले ध्यान नदिनुभएको ।

पुराना लुगा लामो समयसम्म लगाएको पनि देख्छु । पुराना-पुराना सामानहरु जम्मा गर्न सौखिन हुनुहुन्छ । धेरै पुरातन कुराहरुमा विश्वास राख्नुहुन्छ ।

युवराज चार्ल्स समयलाई निकै महत्व दिनुहुन्छ । आफ्नो सेड्यूलभन्दा एक मिनेट पनि तलमाथि भएको उहाँलाई मन पर्दैन । खानपिनमा त्यति सौखिन हुनुहुन्न । दिउसो चिया धेरै पिउनुहुन्छ । उहाँको लागि बिशेष चिया उपलब्ध हुन्छ । साँझ अल्कोहलमा रमाउनुहुन्छ । मार्टिनी, जिनटोनिक लगायत उहाँका मनपर्ने ब्राण्ड हुन् ।

उहाँ ख्यालठट्टा गर्न पोख्त हुनुहुन्छ । मसँग कुरा गर्दा हरेकपटक एक-दुई शब्द ख्यालठट्टा गरेको पाउँछु । मलाई अहिलेसम्म गाली गर्नुभएको थाहा छैन । कुनै काम नबिगारेकाले होला । कसैले कुनै काम बिगर्दा एकदमै रिसाएको देखेको छु ।

नेपालमा गत बैशाख १२ गते भूकम्प जानेबित्तिकै बिहानै युवराज चार्ल्सले मलाई बोलाउनुभयो । सञ्चारमाध्यहरुले नेपाल पूरै तहसनहस भएको जस्तो समाचार संप्रेषण गरिरहेका थिए । उहाँ निक्कै चिन्तित देखिनुभयो ।

उहाँले मेरो परिवारको हालखबर सोध्नुभयो । मैले आफ्नो परिवारसँग सम्पर्क भएको र सबैजना सकुशल रहेको बताए । त्यसपछि उहाँले नेपालको अवस्थाबारे जिज्ञासा राख्नुभयो । मैले थाहा पाएसम्म ब्रिफिङ गरेँ ।

राजपरिवारका अन्य सदस्यले पनि मलाई भुकम्पको विषयमा बारम्बार सोधिरहनुहुन्थ्यो । त्यसैले पनि म अपडेट भएर बस्नुपर्थ्यो ।

भारतीय नाकाबन्दीको विषयमा भने खासै कसैले सोध्नुभएन । राजनीतिसँग जोडिएको विषय भएकाले पनि हुनसक्छ उहाँहरुले ध्यान नदिनुभएको ।

यस्ता छन् ह्यारी

हृयारी बेलायली राजकुमार मात्र नभएर ब्रिरटिस आर्मी पनि हो । उहाँले अफगानिस्तान युद्धमा गोर्खालीहरुलाई साथ दिनुभएको छ ।

अन्य राजपरिवारभन्दा ह्यारीको स्वभाव अलि फरक छ । उहाँ धेरै औपचारिकतामा विश्वास गर्नुहुन्न । स्वतन्त्रतापूर्वक हिँड्न रुचाउनुहुन्छ । औपचारिक कार्यक्रमहरुमा उहाँको त्यति लगाव देखिदैन । जबकि उहाँका दाई विलियम्सको स्वभाव भने ठ्याक्कै बाबु चार्ल्सजस्तै छ । विलियम्समा राजामा हुने गुण छ ।

Debbre2
बिबिसीमा अन्तर्वार्ता दिँदै चन्द्र

ह्यारीले मलाई साथीको जस्तो व्यवहार गर्नुहुन्छ । उहाँ मेरो देश जान लागेको खबर सुन्दा म गदगद भएँ । म नेपाल नआएको तीन वर्ष भएको थियो । उहाँसँगै आउन मन लाग्यो । मैले युवराजमार्फत प्रस्ताव राखेँ । उहाँ पनि खुशी हुनुभयो । ह्यारीभन्दा अगाडि नै पुगेर चाँजोपाँजो मिलाउन निर्देशन पनि दिनुभयो ।

हृयारीभन्दा २ दिन अगाडि नै म नेपाल आएँ । अफिसियल भेटघाटहरुमा मेरो कुनै भूमिका भएन । अनौपचारिक भ्रमणका क्रममा गोर्खाहरुसँग भेटघाट लगायतका कार्यक्रम मैले र मेजर प्रकाश गुरुङले मिलेर बनाएका हौं ।

एउटा कुरा चाहिँ मैले  चाहेर पनि उहाँको तालिकामा राख्न सकिन । पोखरामा  ब्रिटिस लाहुरेको छनौट गर्दा  भारी बोकेर डाँडामा हिँडाएको देखाउन मन थियो । तर, त्यत्तिकै भयो ।

औपचारिक भ्रमणपछि ह्यारी फर्किनुभयो । म थप केही दिन घरबिदामा बसेको छु । फर्केपछि युवराज चार्ल्सलाई नेपालको हालखबर सुनाउनुपर्छ । विशेषगरी भुकम्पपछिको पुनर्निमाणका विषयमा उहाँले चासो राख्नुहुनेछ । यस विषयमा म पनि बुझ्दैछु ।

भविश्यको योजना

मैले बेलायती सेनामा जागिर खाएको १५ बर्ष पुग्यो । यसबीचमा राम्रै कमाई पनि भयो । खर्च पनि गरियो । सम्पत्ति खासै जोडेको छैन । पोखरामा एक टुक्रा जग्गा किनेको छु । बाबुबाजेले बनाएको घर छँदैछ । बरु लण्डनमा एउटा घर खोजीरहेको छु किन्नलाई ।

मेरो बाँकी जीवन सायद बेलायतमै बित्नेछ । यद्यपि, नेपालमा केही सामाजिक काम गर्ने इच्छा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment