Comments Add Comment

मधेसी मोर्चाद्वारा प्रधानमन्त्रीको वार्ता आह्वान अस्वीकार

upendra yadav

१ वैशाख, काठमाडौं । मधेसी मोर्चाले वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आह्वान अस्वीकार गरेको छ । अब आन्दोलन घोषणा गर्ने मोर्चाको तयारी छ ।

मधेसी मोर्चाले आफ्नो माग सम्बोधन गर्न सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटमको अघिल्लो दिन मंगलबार साँझ प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै मधेसी मोर्चालाई वार्तामा आउन आह्वान गरे ।

तर, मधेसी मोर्चाका शीर्ष नेताहरुले भने प्रधानमन्त्रीको आह्वानको कुनै औचित्य नभएको बताएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीको बोलीको ठेगान नै हुँदैन । यो आह्वानको के अर्थ छ र ?

आफूहरुसँग ३५ पटकभन्दा बढी वार्ता भएपनि कुनै सहमति नभएकाले अब आन्दोलन घोषणा हुने उनले बताए ।

सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठक बिहीबार बोलाइएको छ । यो बैठकले आन्दोलनका कार्यक्रमहरु बनाउने छ भने वैशाख ६ गते हुने अन्तरक्रियामार्फत घोषणा हुनेछ ।

उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधनमा कुनै नयाँ कुरा छैन । प्रधानमन्त्रीलाई मधेस आन्दोलन के भनेर आजसम्म थाहा रहेनछ । जनताको समयको नाश मात्र हो ।’

नेताहरुका अनुसार मधेसी मोर्चाले वैशाखभर दबावमुलक आन्दोलनका कार्यक्रमहरु गर्ने तयारी छ । जेठबाट भने सिंहदरबार घेराउसहितका काठमाडौं केन्द्रीय आन्दोलन गर्नेछ ।

संविधान निर्माण प्रक्रिया अघि बढेसँगै रुष्ट बनेको मधेसी मोर्चाले ६ महिना आन्दोलन गरेको थियो । मधेसी मोर्चाले सीमा नाकामा धर्ना दिएपछि भारतले अघोषित नाकाबन्दीसमेत लगायो ।

माग सम्बोधनका क्रममा संविधान संशोधन भयो । तर, सीमांकनबारे मधेसी मोर्चाको असन्तुष्टि कायमै छ । सीमांकन विवाद सुल्झाउन सरकारले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा ११ सदस्यीय राजनीतिक समिति गठन गर्ने निर्णय गरेको छ । तर, थापा बाहेक अरु सदस्य तय भएको छैन भने मधेसी मोर्चाले पनि संयन्त्रलाई अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment