Comments Add Comment

प्रधानमन्त्रीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

Pokhara-International-airport Foundation

नविन अर्याल/सुदर्शन रञ्जित

१ वैशाख, पोखरा । चिनियाँ सहयोगमा निर्माण हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

कास्कीको पोखरा  उपमहानगरपालिकास्थित छिनेडाँडामा बन्न लागेको बिमानस्थलको बुधबार दिउँसो प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास निर्माण कार्यमा सबैको सहभागिता हुनुपर्ने भन्दै आफूसँग रहेका प्रमुख दलका शीर्ष नेताहरुलाई इँटा थप्न आग्रह गरेका थिए ।

त्यसपछि कार्यक्रममा सहभागी एमाओवादी अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र कांग्रेस महामन्त्री शशांक कोइरालाले शिलान्यासका क्रममा इँटा थपेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अब पोखराको रुप फेरिने बताए ।

विकासको नेतृत्व पोखरेलीले गर्ने: प्रचण्ड

शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणमा पनि राष्ट्रिय एकता आवश्यक रहेकोमा जोड दिए ।

फरक राजनीतिक सिद्धान्त र बिचार भएका दलहरुको एकताबाट नयाँ संविधान जारी भएको चर्चा गर्दै प्रचण्डले त्यस्तै एकता विकास निर्माणका लागि पनि आवश्यक रहेको बताए । उनले भने, ‘हामी सबै एक भएर मात्रै विकासलाई गति दिन सकिन्छ ।’

उनले अब विकासको नेतृत्व पोखरेलीले गर्ने बताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणसँग सँगै चीन सरकारको सहयोगमा रेलवे लाइन बिछ्याउने काम पनि सुरु हुने विश्वास व्यक्त गरे ।

चीन सरकारले रेलवे लाइनको निःशुल्क सर्भे गर्ने सूचना आफूलाई प्राप्त भएको प्रचण्डले जानकारी गराए ।

प्रचण्डले भने, ‘अब ल्हासाबाट केरुङ, पोखरा हुँदै रेल लुम्बिनी जानेवाला छ । यो विमानस्थल बन्दै गर्दा रेल लाइन बिछ्याउने प्रक्रिया पनि सुरु होस् ।’

५ बर्षमा कायापलट संभव: शशांक

यसैगरी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विकास निर्माणको काममा सबैको सहकार्य अत्यावश्यक रहेको धारणा राखे । संविधान बनेर कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब मुलुक विकास निर्माणको चरणमा लाग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘विकास निर्माणबाट ५ बर्षमा मुलुकको कायापलट संभव छ, तर त्यसका लागि शान्ति र स्थिरता हुनुपर्छ । बिखण्डनकारी शक्तिहरु हिंसा फैलाउन लागिपरेका छन् । त्यसलाई हामी मिलेर परास्त गर्नुपर्छ ।’

महामन्त्री कोइरालाले नेपाली कांग्रेस बिकास बिराेधी नरहेकाे पनि प्रष्ट पारे

त्यस्तै सभालार्इ सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले मधेसमा एक प्रदेश कुनै हालतमा सम्भव नरहेको दोहोर्‍याएका छन् ।  उनले नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको तथ्य बुझ्न आग्रह गर्दै नेपालबाट तराई बिखण्डन हुनै नसक्ने बताए ।

सरकारी लगानीमै बन्नुपर्छ: खनाल

कार्यक्रममा नेकपा एमालेका नेता झलनाथ खनालले विमानस्थल बनेपछि पोखराको मुहार बदलिने बताए । चार बर्षमा विमानस्थलको निर्माण पूरा भएपछि पोखरामा पर्यटकको आगमन १० गुणाले बढ्ने ठोकुवा खनालले गरे ।

उनले संविधान न्यायप्रेमी, प्रगतिशील र बिकासप्रेमी बनेको बताउँदै नेता खनालले अवको समय राजनीति मात्रै नभएर रचनात्मक बिकास, निर्माण र आर्थिक क्रान्तिको दिशामा अघि बढ्नुपर्ने बताए ।

नेता खनालले निजगढ बिमानस्थल सरकारी लगानीमै बन्नुपर्नेमा जोड दिए । त्यस्तै काठमाडौं – निजगढ फाष्ट ट्रयाकको काम पनि तीव्र हुनुपर्ने उनले बताए । यसका लागि सरकारले हिम्मत गरेर काम सुरु गर्नुपर्ने उनको धारणा छ ।

नयाँ युगको आरम्भ: थापा

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले शीर्ष नेताहरुबाट महत्वपूर्ण बिकास निर्माणको कामको सुरुवात भएको भन्दै सबैखाले बिकासमा राजनीतिक शक्तिहरुको एकता आवश्यक रहेको औल्याए । उनले बिकासको नयाँ युगको आरम्भ भएको धारणा राखे ।

कार्यक्रममा पर्यटनमन्त्री आनन्दराज पोखरेलले पोखरा विमानस्थलको शिलान्यासपछि अव गणतन्त्र दिवसका दिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने गरी काम सुरु गर्ने बताए । यसका लागि उनले भौतिक योजना तथा निर्माण मन्त्री बिजयकुमार गच्छदारको साथ आवश्यक रहेको बताए ।

निजगढ विमानस्थलको लागि सिंगल रन वे बनाउँदा १ खर्व ८० अर्वमात्र बजेट आवश्यक पर्ने भएकाले यसको निर्माणमा ठूलो चुनौती नरहेको बताए । हवाइमार्गबाट तराईलाई काठमाडौंसँग जोड्ने उत्तम बिकल्पको रुपमा निजगढ विमानस्थललाई लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment