Comments Add Comment

‘जुत्ता बेचेर रेकर्ड गरेँ- लुकी-लुकी आँखा तिमी …’

Dhiraj-Rai-1

जब धीरजले यो गीत कलेजहरूमा गाउन थाले, तब हल्ला चल्न थाल्यो- एउटा केटो छ, जो नाच्दै गाउँछ । यो गीतको लय र तालले खासगरी युवा ढुकढुकीलाई तान्दै गयो ।

जमाना रेडियो नेपाल र नेपाल टेलिभिजनको थियो । प्रायः गायक रेडियो नेपालबाट उदाउँथे । जहाँ शास्त्रीय वा लोकभाकामा टेकेर गाउने मानक थियो । धीरजको गीत दुवै मानकमा पर्दैनथ्यो किनकी उनको त आफ्नै मानक थियो । शरीरको हाउभाउ र चालमा ओठ चलाउँथे । उनी सायद रेडियो नेपालका लागि बनेका थिएनन् ।

जब धीरज यो गीत रेकर्ड गर्न रेडियो नेपाल पुगे, उनलाई भनियो, ‘के गीत गाएको यस्तो ? यस्तो पनि गीत हुन्छ ?’

उनले सुझाव पनि पाए, ‘तिम्रो गीत अंग्रेजीजस्तो भयो, रेडियो नेपालकै संगीतकारहरूसँग मिलेर गीत गाउ, आधुनिक वा शास्त्रीय शैलीको । यस्तो उरन्ठेउलो गीत गाएर तिमीले गायकको पहिचान बनाउन सक्दैनौ ।’

उनी चुपचाप फर्किए । तर, कालान्तरमा यही गीतले नै उनलाई स्थापित बनायो ।

‘केही सीमित मानिसले बनाएको रेडियो नेपालको जुन मानक थियो, त्यो भत्कँदै गयो,’ धीरज भन्छन्, ‘मैले कुनै ठूलो क्रान्ति गरेको त होइन, जेहोस् अन्य नयाँ विचारले प्रश्रय पाउने वातावरण बन्यो ।’

सानैमा माइकल ज्याक्सनको छाप

एउटा तन्नेरी, गीत गाउँदै बिन्दाससँग नाचिरहेछ । उसको उत्साहपूर्ण आवाज, नचाउने ताल र ऊर्जाशील जादुमय चाल- धीरज हेरेको हेर्‍यै भए । यसरी उनको मन-मस्तिष्क लुट्ने गायन र नृत्य थियो- विश्वविख्यात गायक माइकल ज्याक्सनको ।

काठमाडौं भृकुटीमण्डपको रमाइलो मेलामा मानिसहरू तोकिएको शुल्क तिरेर विभिन्न खेल खेल्थे । खेलका लागि मानिसलाई आकषिर्त गर्न बीचबीचमा माइकल ज्याक्सनका गीतको भिडियो देखाइन्थ्यो । एक दिन कसोकसो धीरज रमाइलो मेला हेर्न पुगेका थिए, यो उनी ५-६ पढ्दाको कुरा हो ।

माइकलको गायनसहितको जादुमय नृत्यले कलिला धीरजलाई अधीर बनायो । उनलाई त्यो भिडियो हेरिरहुँ र त्यसरी नै नाच्दै गाऊँजस्तो लाग्न थाल्यो ।

तर, मेलाभित्र प्रवेश पाउन दुई रुपैयाँको टिकट चाहिन्थ्यो । धीरजसँग सधैँ दुई रुपैयाँ हुँदैनथ्यो । त्यसैले उनी बार नाघेर माइकलका भिडियो हेर्न जान्थे ।

नेसनल पानासोनिक टेप-रेकर्ड

टेप-रेकर्डको जमानामा धीरजलाई माइकल ज्याक्सनका गीत सुन्ने रहर बढ्दै गयो । एक दिन धीरजका लागि नै भनेर आमाले एउटा नेसनल पानासोनिक टेप-रेकर्ड किनेर ल्याइदिइन् । आमाले हरेक महिना धीरजलाई मन पर्ने एउटा क्यासेट किनिदिने पनि वाचा गरिन् । धीरजले पहिलोपटक किने- माइकल ज्याक्सनको एल्बम, अफ द वाल । यो उनी पाँच-सात कक्षामा पढ्दाको कुरा हो ।

उनले घरमा माइकलका गीत सुन्थे र भिडियो हेर्न भृकुटीमण्डप पुग्थे । उनले माइकलका गीत यति सुने कि अर्थ कम बुझे पनि शब्द कण्ठै हुन्थ्यो । अंग्रेजी माध्यममा पढेकाले पनि उनलाई गीत सम्झन कठिन भएन ।

गायक बन्न नृत्य सिक्दा

‘तिमीले किन डान्स सिक्दै छौ ?’

‘गायक बन्न,’ धीरजको जवाफले डान्स क्लासका साथीहरू हाँसे ।

धीरजको मन-मस्तिष्कमा परेको थियो, गाउँदै नाच्नुको मजा बेग्लै छ । त्यसैले उनी डान्स सिक्न गए, वसन्त श्रेष्ठकहाँ । त्यहाँ धेरैजसोले हिरो बन्ने इच्छाले डान्स सिक्दै थिए । साथीहरूले भने, ‘गायक बन्न नाच्नैपर्दैन, गायकले नाच्ने चलनै छैन ।’

हाँसोको पात्र बने पनि धीरजले मनमनै संकल्प गरे- नाच्ने र गाउने गायक बनेर देखाउँछु । उनले एसएलसीअघि एक वर्षजति र पछि दुई वर्ष नृत्य सिके ।

स्कुलमा संगीत

धीरज काठमाडौं वागबजारमा जन्मे-हुर्केका हुन् । उनको पुख्र्यौली थलो खोटाङ बुइपा हो । धीरजका हजुरबुवा साधारण किसान थिए । एसएलसी उत्तीर्णपछि धीरजका बुवा टंकबहादुर राई बुइपामै शिक्षक भए । त्यहीँ धीरजकी आमा शान्तिकुमारी विद्यार्थी थिइन् ।

बिहे गरेर धीरजका बुवाआमा काठमाडौं आए, ०२८/२९ तिर । अहिले दुवै वकिल छन् । उनकी आमा नयाँ संविधान आउनुअघिको अन्तरिम संविधानको मस्यौदाकार पनि हुन् । धीरज एक्लो सन्तान । धीरजले काठमाडौं पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलबाट एसएलसी उत्तीर्ण गरेँ, ०४९ मा, ७२ प्रतिशत अंकल्याएर । त्यसपछि पुल्चोक इन्जिनियरिङ कलेजबाट ओभरसियर गरे, ०५३ मा ।

Dhiraj-Rai

यतिबेलासम्म धीरज एल्बम निकालेर गायकको रुपमा चर्चा कमाइसकेका थिए । उनले अगाडि नपढ्ने सोचेका थिए । तर, घरमा बुवाआमा दुवै शिक्षित भएकाले उनले नपढी रहन सकेनन् र त्रि-चन्द्रबाट स्नातक र आरआर कलेजबाट अंग्रेजी साहित्यमा मास्टर्स गरे ।

सानैदेखि धीरजको गायनमा रुचि थियो । उनले स्कुलमा ५ कक्षादेखि संगीत पढे । उनका गुरु थिए, सिके रसाइली । एसएलसीपछि उनले गौतम तुलाधरसँग एक वर्ष गितार सिके ।

स्कुलमा उनले विभिन्न अवसरमा गीत गाउँथे, गायन प्रतियोगिताहरुमा भाग लिन्थे । त्यति बेला उनले स्कुलमा सिकाइएका नेपाली गीत र माइकल ज्याक्सनका गीत गाउँथे । रेडियो नेपालमा बज्ने गीतहरुमा भने उनी त्यति आकषिर्त भएनन् ।

धीरजले पहिलोपटक कतै सुनेर राम्रोसँग गुनगुनाएको गीत हो- कोही त भने जहाजमा हरर… हाम्रो नेपालमा । यो गीत कहाँ सुनेर कसरी सम्झने गरी मुखमा बस्यो भन्ने उनले बिर्से । सानोमा उनलाई बच्चु कैलाश, कुमार बस्नेत, सुकमित गुरुङ, ओमविक्रम विष्ट, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ लगायतका गीतले आकषिर्त गर्थे ।

रेडियोमा प्रायः पँधेरी, चौतारी, मेलापातमा साटेको माया-प्रीतिका गीत बज्थे । ‘सहरमा हुर्केकाले पनि होला, मैले यस्ता शब्द त्यति बुझ्दिनँथेँ,’ धीरज भन्छन् ।

‘यस्तो पनि गीत हुन्छ ?’

स्कुलको झ्यालबाट लुकी-लुकी हेर्ने केटीको कल्पनामा उनले गीत लेखे र गुनगुनाए- लुकीलुकी आँखा तिमी नजुधाउ त्यसरी… । यो नै उनको पहिलो संगीत र शब्द थियो ।

‘यो गीत अल्लारे बेलामै लेखेको, गुनगुनाएको हुँ,’ धीरज भन्छन्, ‘अचेल सम्झँदा लाग्छ, सानैदेखि ममा शब्द बुन्ने र संगीत भर्ने प्रतिभा रहेछ ।’

धीरजले सुनेका थिए, गायक बन्न रेडियो नेपालमा गीत गाउनुपर्छ । ०४०/४१ सालतिर उनी रेडियो नेपाल गए, बालगायक बन्न । स्कुलमा सिकाइएको गीत गाएर स्वर परीक्षा पास गरे ।

स्वर परीक्षा पास गरेपछि पालो कुरेर वर्षमा दुइटाजति गीत रेकर्ड गर्न पाइन्थ्यो । रेडियो नेपाल छिर्न बिहान ७-८ बजेतिर पास चाहिँदैनथ्यो, तर १० बजेपछि भने पास लाग्थ्यो । धीरज ७-८ बजेतिरै छिर्थे । रेकर्ड हुने आशामा उनले रेडियो नेपालका कर्मचारीलाई आफ्नो गीत गाएर सुनाए- लुकी-लुकी आँखा तिमी… । नतिजा के भयो, माथि नै आइसक्यो ।

जुत्ता बेचेर गीत रेकर्ड

रेडियो नेपालमा धीरजको गीत रेकर्ड हुने छाँट आएन । त्यसैले उनले बाहिर रेकर्ड गर्ने विचार गरे, यो धीरज एसएलसी दिएर बस्दाको कुरा हो । बाहिर स्टुडियोमा गीत रेकर्ड गर्न दुई हजार चाहिन्थ्यो । उनले घरमा आमासँग पैसा माग्ने हिम्मत गरेनन् ।

धीरज भन्छन्, ‘गीत रेकर्ड गरेर पैसा आउने होइन, खर्च मात्रै हुने हो । मलाई सोखका लागि गीत रेकर्ड गर्न पैसा दिने बुवाआमाको आर्थिक हैसियत थिएन ।’

त्यतिबेला पैसा तिरेर हिन्दीमा कमिक्स बुक पढ्ने चलन खुब थियो । एउटा कमिक्स बुक एक वा आधा घन्टामा पढेर एक रुपैयाँ वा ५० पैसा भाडा दिने गरिन्थ्यो । धीरजले साथीहरूसँग कमिक्स बुक बटुले र बागबजारको सडकछेउमा पसल राखे । केही पैसा जम्मा गरे ।

गीत रेकर्डका लागि ठूलीआमा, छिमेकी आन्टीहरूसँग पैसा मागे । उनीहरूलाई धीरजले गीत गाउँछ भन्ने थाहा थियो । सबै हिसाब गर्दा गीत रेकर्ड गर्न अझ केही पैसा पुगेन ।

त्यतिबेला एउटा जुत्ता फेसनमा आएको थियो । धीरजले जिद्धी गरेर आमालाई जुत्ता किन्न लगाएका थिए । जुत्ताको मोल उनकी आमाको तत्कालीन तलबको झन्डै आधा थियो, सात सय रुपैयाँजति । त्यतिबेला उनकी आमा साधारण जागिर गर्थिन् ।

त्यो जुत्ता लगाएर धीरज टोलमा ढल्केर हिँड्थे, उनको सान जुत्तामै थियो ।

गीत रेकर्ड गर्न धीरजले त्यो जुत्ता साथी ज्योति श्रेष्ठलाई बेचे, तीन सय रुपैयाँमा । र, ६० रुपैयाँमा अर्को जुत्ता किनेँ ।
यसरी रेकर्ड भयो- लुकीलुकी आँखा तिमी… ।

कहिले एमाले, कहिले राप्रपा

ओभरसियर पढ्दा धीरजले कलेजमा हुने कार्यक्रमहरूमा गाउँथे । अन्य कलेजका कार्यक्रममा धाउँदै गाउन थाले । कलेजमा उनले आफ्नै गीत र माइकल ज्याक्सनका गीत गाउँथे ।

धीरज भन्छन्, ‘त्यतिबेला कलेजहरूमा गाउन, जुन विद्यार्थी संगठनको कार्यक्रम हो, उसैको पार्टीको सदस्यता लिनुपथ्र्यो । कहिले एमाले भएँ, कहिले कांग्रेस त कहिले राप्रपा भएँ ।’

यसरी नै एक कान दुई कान हुँदै काठमाडौंमा उनको नाम सुनिन थाल्यो- एउटा केटो छ, जो नाच्दै गाउँछ ।

पहिलो म्युजिक भिडियो

नेपाल टेलिभिजनमा संगीत संगम कार्यक्रम चलाउँथे, रोशन प्रताप रानाले, ०५१ सालतिर । त्यसमा म्युजिक भिडियो देखाइन्थ्यो । त्यतिबेला पपगीतलाई पनि स्थान दिनुपर्छ भन्ने कुरा उठिसकेको थियो ।

धीरजले आफ्नो गीतको म्युजिक भिडियो बनाएर प्रसारण गर्नका लागि निवेदन दिए । संगीत संगम कार्यक्रमका लागि धीरजको गीतको पनि म्युजिक भिडियो बन्यो । स्टुडियोमा अलिअलि खुट्टा चलाएर धीरजले गाएको छायांकन गरियो । त्यसपछि उनको गीत नेपाल टेलिभिजनबाट प्रसारण हुन थाल्यो । उनी बिस्तारै चिनिन थाले ।

ओभरसियरको जागिर खाए, छाडे

ओभरसियर पढ्दापढ्दै धीरजले ड्राफ्ट म्यानको काम गर्न थालेका थिए । वागबजारमा उनको आफन्तको अफिस थियो, एड्भान्स इन्जिनियरिङ कन्सल्टेन्सी । त्यसपछि फुल ओभरसियर भएर काम गर्न थाले ।

यहीबीचमा धीरजले पहिलो एल्बम पि्रयसी निकाले, आफ्नै शब्द, संगीत र स्वरमा । एल्बम निस्केपछि सादा पोस्टर बनाएर राति आफैँ टाँस्दै पनि हिँडेँ ।

त्यतिबेला नाचघर, सभागृह, प्रज्ञा प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो । ती कार्यक्रममा धीरजले गाउन पाए । एउटा कार्यक्रममा गाएबापत तीन हजार रुपैयाँ पाउँथे ।

यसरी नै धीरज कार्यक्रम आयोजकका रोजाइमा पर्न थाले । क्रमशः स्टेजमा गाउने क्रम बढ्न थाल्यो र उनले ओभरसियरको जागिर छाडे ।पहिलो एल्बम पि्रयसी आइसकेपछि उनको माग बढ्न थाल्यो- धरान, पोखरा हुँदै हङकङ, जापानसम्म । पहिलोपटक उनी हङकङ गएका थिए, ४० हजार रुपैयाँ पारिश्रमिक लिएर । तत्कालीन अवस्थामा उनका लागि यो ठूलो रकम थियो ।

हातबाटै माइक खोसियो

Dhiraj-Raiधीरज भर्खरभर्खर उदाउँदै थिए । धरानमा धीरजलगायत कलाकारको सांगीतिक प्रस्तुति थियो । उनको प्रस्तुतिले दर्शक रोमाञ्चित हुँदै थिए, सँगसँगै गाएका थिए, नाचेका थिए । दर्शकले उनलाई ‘वान्स मोर’ भन्न थाले । उनी फेरि गाउन खोज्दै थिए, उनको हातबाट अपर्झट माइक खोसियो ।

‘पछि थाहा पाएँ, मेरो माइक खोस्न लगाइएको रहेछ । एकजना मभन्दा सिनियर गायक हुनुहुन्थ्यो, मेरोपछि उहाँको गाउने पालो थियो । मैले दर्शकबाट ‘वान्समोर’ पाएको मन परेन छ,’ धीरज भन्छन्, ‘तर, मेरो हातबाट माइक खोसिएको दर्शकले देखे, तत्कालै दर्शकले हल्लाखल्ला गरिहाले । मञ्चमा बियरको बोतलसमेत प्रहार भयो ।’

भोलिपल्ट धरानको ब्लास्ट पत्रिकाले लेख्यो, ‘धीरज राईलाई गाउन नदिँदा दर्शक आक्रोशित भए’ भन्ने शैलीमा ।

काठमाडौं आएपछि धीरजलाई भनियो, तिम्रो कारणले कार्यक्रम बिथोलियो । धीरज भन्छन्, ‘पाँच-सातजनाको समूह थियो । तीमध्ये दुई-तीनजना गुन्डा थिए । उनीहरूले मलाई भने, तिम्रा कारण धरानमा कार्यक्रम बिथोलियो, लिखित रुपमा माफ माग । र, ब्लास्ट पत्रिकामा आएको समाचार खण्डन गर । उनीहरूले धम्कीपूर्ण शैलीमा भनेका थिए । तर म डराइनँ, मानिनँ ।’

धीरजले यो कुरा ब्लास्ट पत्रिकालाई लेखिपठाए, ब्लास्टले छाप्यो । र, धीरजमाथि अन्याय भएको कुरा चर्चामा आयो । ‘त्यसपछि संगीतकार प्रकाश गुरुङ, मिलन मोक्तान, गायक शम्भु राईलगायत बस्यौँ, छलफल भयो, धरानमा माइक खोस्ने पक्षकै गल्ती देखियो,’ धीरज भन्छन्, ‘उहाँहरूले लिखित रुपमै मसँग माफी माग्नुभयो ।’

घरको तला थप्न थाले

एउटा क्यासेटबाट उनलाई चार रुपैयाँ रोयल्टी आउँथ्यो । ‘पहिलो एल्बम त्यस्तै ७० हजार बिक्री भयो,’ धीरज भन्छन्, ‘त्यसपछिका एल्बममा रोयल्टी १२ रुपैयाँसम्म पुग्यो । एक-एक वर्षको अन्तरमा एल्बम निकाल्दै गएँ ।’

पि्रयसी भाग- ३ सम्म निस्कियो । त्यसपछि तिम्रा नयन, मिस्टेरियस गर्ल, गर्लफ्रेन्डलगायत आठ एल्बम निस्के ।

विदेशको स्टेज प्रोग्राम, एल्बम बिक्री, उनको कमाइ यति हुन थाल्यो- उनकी आमा नै डराउन थालिन्, कतै छोराले गलत काम गरेको त छैन !
उनले ०५३/५४ तिर जापानबाट तीन लाख रुपैयाँ ल्याएर आमालाई दिए । त्यो पारिश्रमिक र क्यासेट-सिडी बिक्री भएको पैसा थियो । धीरज भन्छन्, ‘त्यति बेला कलाकारको सम्मान उच्च थियो । मानिसले कलाकारको सम्मानमा सिडी किनिदिन्थे, मूल्यको परवाह थिएन, जति मन लाग्यो त्यति दिन्थे ।’

०५३ देखि ०६५ सालसम्म उनले राम्रो कमाइ गरे । उनकी आमाले काठमाडौं घट्टेकुलोमा जग्गा किनेकी थिइन्, धीरजकै कमाइले त्यहाँ चारतले घर ठडियो ।

कलेज पढाउँदै कन्सल्टेन्सी

अहिले उनले जनज्योति एकेडेमी ताहाचल कलेजमा पढाउँछन् । अंग्रेजी पढाउन उनले एसएलसीदेखि नै सुरु गरेका हुन् । एसएलसीपछि नै इंग्लिस ल्यांग्वेज पढाउँथे ।

कलेज पढाउन थालेसँगै उनले ओभरसियरसम्बन्धी न्युसन्स कन्सल्टेन्सी खोले । जसमा पाँचजना स्टाफ छन् । बिहान कलेज पढाएपछि उनी आफ्नो अफिसमै व्यस्त हुन्छन् ।

धीरजले अहिलेसम्म अमेरिका, क्यानडा, युरोपलगायत ३२ देशमा रहेका नेपालीमाझ सांगीतिक प्रस्तुति दिएका छन् । आफ्नै शब्द, संगीतमा एक सयजति गीत रेकर्ड गरेका छन् ।

‘नाम, दाम कमाउन गीतको संख्या धेरै चाहिँदैन,’ धीरज भन्छन्, ‘श्रोता, दर्शकले मन पराइदिए, आफूले राम्रो गर्न सके, सय गीत नै काफी रहेछन् । गीत गाएरै मैले घर, गाडी, केही सम्पत्ति जोडेको छु । अब व्यावसायिक गायनमा सफलता नमिले पनि जीवन सुखले धान्न सक्छु ।’

अंग्रेजी भाषाको एल्बम

धीरज अहिले अन्तर्राष्ट्रिय बजारमा जाने अन्तिम तयारीमा छन् । अंग्रेजी भाषामा उनको एल्बम तयार भइसकेको छ, बुद्ध वाज बर्न इन् नेपाललगायत सात गीत रेकर्ड भइसकेका छन् ।

‘बीभीबीए ओमन रेकर्ड बेल्जियमले मेरो अंग्रेजी भाषाको एल्बम रेकर्ड गरिसकेको छ । जसमा कमर्सियल मायाप्रीतिका ब्लुज, रक, गीत छन् । नेपाली पूर्वेली बिटको गीत पनि छ, एउटा सेन्टिमेन्टल पपगीत छ,’ धीरज भन्छन्, ‘अब रिलिज गर्दै छु, अन्तर्राष्ट्रिय बजारमा जाँदै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment