फेसबुक आधुनिक समयको अति सशक्त सामाजिक सञ्जाल हो । जब यसको आधिकारिक शुरुवात फेब्रुअरी ४, २००४ मा मार्क जुकर्वगले कलेजमा पढ्ने सहपाठी साथीहरुसँग आपसमा मिलेर गरे, तबदेखि आजका दिनसम्म आइपुग्दा विश्वका अधिकांश देशमा यसका प्रयोगककर्ता उल्लेखनीय रहेका छन् ।
पछिल्लो समय आएर नेपालमा इन्टरनेटको पहुँचको विस्तारसँगै यसका प्रयोगकर्ता ह्रवात्तै बढेका छन् । यसको प्रयोगमा युवादेखि पाका व्यक्तिहरु पनि संलग्न छन् ।
आजकल युवाहरुलाई खान बरु समयमै नपाए पनि फेसबुक चलाउन नपाए केही नपुग भएको महसुस हुन्छ । फेसबुकको प्रयोगले आपसमा सुचनाहरु आदान-प्रदान गरेर केही सकारात्मक सन्देशहरुको आदान-प्रदान हुन सके त राम्रो नै हुन्छ, तर यसको दुरुपयोगले भने नराम्रो सामाजिक विकृति फैलिन सक्छ ।
पछिल्लो समयमा फेसबुककै कारणले कतिपय नारीहरुको अस्मिता लुटिने र अनाहकमा ज्यानसमेत जाने गरेको घटना पनि बढ्दै गएको छ । यसले गर्दा फेसबुकको प्रयोगप्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको देखिन्छ ।
वास्तवमा कुनै पनि साधन आफैमा राम्रो र खराव हुँदैन त्यो त यसको प्रयोग र प्रयोजनमा भर पर्छ । जस्तो कि आगोको सही सदुपयोग हुन सके मानिसका विभिन्न कामहरु हुन सक्छन् र दुरुपयोग भएमा छिन् भरमा धनजनको ठूलो क्षतिदेखि विकराल स्थिति पैदा हुन सक्छ। त्यस्तै फेसबुकको सम्बन्धमा पनि हुने गर्छ ।
फेसबुकको प्रयोग सबैले समान किसिमका उपयोगिताका लागि नभई फरक-फरक रूपमा गरेका छन् । कसैका लागि फेसबुक मनोरञ्जनात्मक साधनहरु हेर्न र त्यस्तै जानकारी एवं दृश्ययुक्त फोटो र भिडियो पोस्ट गर्नका लागि हुने गरेको छ । कसैका लागि फेसबुक साहित्यिक सृजनाहरु पोस्ट गर्न त कसैका लागि खोजमूलक समाचार, जानकारी वा सन्देशहरु पोस्ट र सेयर गर्न प्रयोग हुने गरेको छ ।
कतिपयका लागि विभिन्न अखवार र अनलाइन पोर्टलहरुमा आएका खबरहरु हेर्नका लागि त कसैका लागि आफ्ना भावना, विचार, अनुभव सेयर गर्न फेसबुक उपयुक्त माध्यम बन्ने गरेको छ । साथै कतिपयले आफ्नो पेशा र व्यवसायिक वस्तु तथा सेवाको प्रचार -प्रसार गर्नका लागि समेत फेसबुकलार्इ उपयोग गरेका छन् ।
कतिपय कलाकार, साहित्यकार, सामाजिक अभियन्ता र विभिन्न पेशामा आवद्ध हुनेहरुले आफ्नै व्यक्तिगत पेज नै खोलेर समेत त्यसै पेशा र कार्यरत क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरू सेयर गर्ने गरेको देखिन्छ ।
सबैजसो छापा पत्रपत्रिका र अनलाइन पत्रिकाहरुमा प्रकाशित न्युज, आलेख, सुचनाहरु, आर्थिक, सामाजिक, राजनैतिक, समसामयिक विषयवस्तुहरु, मनोरंजनात्मक, खेलकुद, साहित्य, स्वास्थ्य आदि सम्वन्धी सामाग्रीहरु समेतलाई निश्चित पेज खोलेर सो पेजमा समेत पोस्ट वा सेयर गर्ने चलन नै चलेको छ ।
विश्वका चर्चित नेताहरुले समेत फेसबुकबाट नै आफ्ना गतिविधि र विचारहरु प्रस्तुत गर्ने र विभिन्न सामाजिक क्याम्पियन समेत संचालन गरेका हुन्छन् ।
चाहे मनोरंजन क्षेत्रमा लाग्ने हुन्, चाहे अध्ययन-अध्यापन, त्यस्तै चाहे खेलकुद, पत्रकारिता, डाक्टरी, वकालत, इन्जिनियरिङ, व्यवसायिक र विभिन्न पेशामा नै किन नहोस् सबै -सबैले फेसबुक एकान्ट खोलेर आफ्नो अनुकुल र चाहना अनुसार फेसबुक साथी बनाएर फुर्सद, ईच्छा र उपलब्धता अनुसार समय व्यतित गर्ने गरेका छन् ।
अरुले पोस्ट र सेयर गरेका सामाग्रीहरु हेर्ने, पढ्ने र आवश्यक ठाने लाइक, सेयर, कमेन्ट गर्ने गर्छन् । र, आफुले पनि सोही प्रकृतिका कामहरु आवश्यकता र ईच्छाअनुसार गर्दछन् । विशेष अवसर र कार्यक्रमका फोटो र भिडियोहरु सेयर गर्दै आवस्यक संदेश एवं विचारहरु पनि पोस्ट र सेयर गरिएको पनि पाइन्छ ।
कतै घुम्न गएका वेला, साथीहरुको जम्काभेटमा पोस्ट गरिएका फोटो र जानकारीमूलक सामाग्रीहरुले आपसमा झनै आत्मियता र संझनाहरु सदा ताजकी बनाउन मद्दत गर्न सक्छ ।
यसरी समग्ररुपमा हेर्दा फेसबुकमा गरिएको पोस्टले विभिन्न महत्व र अर्थ राख्न सक्छ भने अर्कोतर्फ भ्रामक सामग्री र अश्लील सामाग्रीहरुको पोष्ट र सेयरले समाजमा नकारात्मक संदेश एवं व्यक्तिहरुको नैतिकतामा दाग र प्रतिष्ठामा समेत प्रतिकूल प्रभाव पार्न सक्छ ।
हामी सबैले जे जस्तो विषयवस्तु र सामाग्रीहरुमा आफ्नो रुची र चाहना राखेर सामाग्री पोस्ट गर्ने, सेयर गर्ने र अरुले राखेको सामाग्री पुन पोस्ट वा सेयर गर्दा एउटा कुरालाई पक्कै याद गर्नुपर्छ कि त्यस्ता सामाग्रीहरु फेसबुकमा राख्दा अरुलाई प्रतिकूल प्रभाव पार्ने र कसैलाई मानसिक आघात पार्ने एवं समाजमा एक किसिमको विखण्डन र आपसमा सम्बन्ध भाँड्ने खालको हुनुहुँदैन ।
स्टाटसको रुपमा राखिएका र कहीँ कतैबाट सेयर गरिएका सामाग्रीहरु सकभर सबैलाई सकारात्मक प्रभाव पार्ने, पूर्ण जानकारी र संदेश दिने हुनु पर्छ । अपूर्ण , दोहोरो अर्थ लाग्ने, अश्लिल शव्द प्रयोग गरिएको, कुनै व्यक्तीको प्रतिष्ठामा दाग र धक्का लाग्ने, सामाजिक वितृष्णा फैलाउनेखालका, धार्मिक र जातीय दंगा फैलाउने खालका सामाग्रीहरू भुल गरेर पनि पोस्ट वा सेयर गर्नै हुँदैन ।
फेसबुक सामाजिक सञ्जाल भएकाले यसको प्रयोग निश्चित व्यक्तिलाई लक्षित गरेर भन्दा पनि जनसमूदायमा रहेर सबैलाई लक्षित गरेर सबैलाई हित र उपयोगी हुने सामाग्री राख्नुपर्छ । व्यक्तिगत सुचना र संदेश आदान -प्रदान गर्नका लागि त फेसबुककै मेसेन्जर वा मेसेज ईन बक्सको प्रयोग गर्न सकिन्छ ।
कुनै विशेष फोटोहरु, भिडियोहरु पोस्ट गर्दा भने साथीहरुलाई विशेष अवसर, क्षण, उत्सवबारे जानकारी, भावना र कौतुहलता मेट्ने हुँदा उपयोगी नै हुन्छ । त,र अनावस्यक रुपमा अपाच्य पोजहरु प्रस्तुत हुने फोटो र भिडियोहरुले पनि खासै सकारात्मक संदेशहरुको सञ्चार हुन सक्दैन भन्नेतर्फ पनि सोच्नुपर्छ ।
अनावश्यक, देखावटी र अरुलाई भ्रममा पार्ने सामाग्री नराख्दा नै राम्रो । किनकि तपाई आफुले फेसबुकमा व्यक्त गर्ने भावना, विचार र समावेश गर्ने सामाग्रीले स्वयं तपाईको आचरण, सोचाईको दायरा, व्यक्तित्व र ज्ञानको लेबललाई प्रस्तुत गरिरहेको हुन्छ । यसैले जे जति सामाग्रीहरु फेसबुकमा राख्नु हुन्छ, औचित्य र केही न केही सन्देश दिनेखालको राख्दा उत्तम हुन्छ ।
फेसबुक प्रयोगकर्ताकै कारण समाजमा सबैको मन तोड्ने हैन कि आपसमा जोड्ने हुनुपर्छ ।
आजकल सर्वत्र फेसबुकमा ग्रुप च्याट चल्ने गरेको छ । र कतिपयहरुको गुनासो पनि सुनिन्छ कि विना जानकारी कसले, किन, कुन प्रयोजनका लागि ग्रुपमा संलग्न बनायो, पत्तै भएन, टाउको दुखाइ भयो भन्नेहरू पनि छन् । तर, ग्रुपच्याट आफैमा खराव हो भनेर भन्नै सकिँदैन ।
किनिक निश्चित लक्ष्य र मिसनसहित आपसमा छलफल गरेर केही व्यवसायिक, सामाजिक, राजनैतिक वा अन्य काम गरौं भन्ने हो भने यो अति उपयोगी हुन पनि सक्छ ।
सञ्चारको आधुनिक साधन वा सञ्जाल अन्तर्गत लोकप्रिय हुँदै गएको फेसबुकको सही सदुपयोगबाट सामाजिक क्षेत्रमा धेरै रचनात्मक कामहरु हुन सक्ने देखिन्छ
त्यसैले निर्धारित लक्ष्य वा अभियानका लागि सूचनाको आदान-प्रदान गर्न र योजना बनाएर अघि बढ्न फुर्सदको समयलाई घर-घरमै बसेर सहजै छलफल गर्न सकिने यस्तो माध्यमलाई खराव भन्न सकिँदैन । तर, यसका लागि ग्रुप च्याटमा आवद्ध गर्ने व्यक्तिहरुलाई पूर्वसूचना दिएर अर्थात् विभिन्न व्यक्तिगत सम्पर्क माध्यमबाट जानकारी गराएर स्वीकृति लिएमा अवश्य राम्रो हुनेछ ।
आजकल स्वदेश तथा विदेशहरुमा रहेका व्यक्तिहरुले केही सामाजिक काम गर्नका लागि फेसबुकको माध्यमबाट छलफल अगाडि बढाउने गरेका छन् ।
कतिपय ठाउँका व्यक्तिहरुले विदेशमा रहेकाहरूलाई आपसमा समेटेर ग्रुप च्याटबाटै आर्थिक संकलन गरी आफ्नो गाउँ-ठाउँमा विद्यालय बनाउन, एम्बुलेन्स किन्न लगायतका विकास निर्माणका काममा सहयोग गर्ने गरेका समाचार आउन थालेका छन् ।
सञ्चारको आधुनिक साधन वा सञ्जाल अन्तर्गत लोकप्रिय हुँदै गएको फेसबुकको सही सदुपयोगबाट सामाजिक क्षेत्रमा धेरै रचनात्मक कामहरु हुन सक्ने देखिन्छ ।
अझै पछिल्लो समयमा कहि कतै कसैलाई विघ्न-बाधा पर्दा, आर्थिक अवस्था कमजोरको कारण अति खर्चिलो रोगको उपचार गर्न समस्यामा पर्दा, दैवी-प्रकोपबाट धनजनको क्षति हुँदा, अशहाय र शारीरिक अशक्ततताको कारण दु:ख पाएर सहयोगको आशा गरिरहँदा फेसबुकको माध्यमबाट राहत पाएको देखिएको छ ।
गत सालको महाभुकम्पमा फेसबुकको प्रयोगबाट धेरै आर्थिक र राहतका सामाग्रीहरु संकलन हुन सकेको कुरा सबै सामु छर्लंगै छ ।
यसरी हेर्दा सही सदुपयोग हुन सके यो फेसबुक आजको आधुनिक युगमा निकै ठुलो वरदान हुन सक्छ र दुरुपयोग गरे अभिशाप समेत हुन सक्छ । तसर्थ यसको उपयोगिता र औचित्यको ख्याल गरी यसको प्रयोग गर्नु नै अति उत्तम हुन सक्छ ।
बाल्टिमोर, अमेरिका
प्रतिक्रिया 4