Comments Add Comment

एमाले युवा संघका नाममा युएईमा मानव तस्करी

human-trafficking

३ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन प्रवासी युवा संघका नेताहरु नेपाली युवतीलाई युएई पठाउने अवैधानिक धन्दामा सक्रिय रहेको एक प्रतिवेदनबाट खुलासा भएको छ ।

त्यसरी दुबई पुर्‍याइएका युवतीले नेपाली दूतावासमा जागिर माग्दै बायोडाटा बुझाएपछि युवा संघका नाममा मानव तस्करीको धन्दा सार्वजनिक भएको हो ।

एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगत वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले हालै तयार पारेको एक प्रतिवेदनले एमालेको भातृ संगठनका नेताहरु नेपाली युवतीलाई झुक्याएर दुबई पठाउने कार्यमा संलग्न रहेको देखाइएको छ ।

त्यसरी दुबई पुर्‍याइएका चेलीहरुबाट लिइएको पैसा फिर्ता गरेर पीडितलाई न्याय गरिनुपर्ने कल्याण समितिका संयोजक धरम केसीको प्रतिवेदनमा उल्लेख छ ।

कसरी मुछिए युवा संघका नेता ?

हालै युएईमा एमालेको भातृ संस्था प्रवासी नेपाली मञ्च मातहतको युवा संघको आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा एमाले कार्यकर्ताले कलाकार बनाएर केही युवतीहरु लगेका थिए, जसले कुनै पनि सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएनन् र उनीहरु उतै बसेर जागिरको खोजीमा भौंतारिन थाले ।

दुबई पुर्‍याइएका १० युवतीमध्ये ४ जनामात्रै कलाकार रहेको र एकजना आयोजककै परिवारको सदस्य रहेको दूतावासले जनाएको छ । लाखौं रुपैयाँ असुलेर जागिर लगाइदिने बाहनामा ५ युवतीलाई युएई पुर्‍याएर अलपत्र छाडिएपछि उनीहरुले दूतावासमा निवेदन दिएको दूतावासले बताएको छ ।

ती नेपाली चेलीहरु एमालेका युवा नेतालाई डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म तिरेर युएई पुर्‍याइएको जनाइएको छ । हाल उनीहरुले नेपाली दूतावासमा दलालहरुविरुद्ध उजुरी दिएका छन् र दूतावासले उनीहरुलाई न्याय गर्ने बचन दिएको केसीको प्रतिवेदनमा उल्लेख छ ।

राजदूतलाई ‘हिन्दू’ भन्दै धम्की

यसैवीच सांस्कृतिक कार्यक्रम भन्दै युएईमा कलाकार लैजाने कामको आयोजना गरेका एमाले कार्यकर्ता समिम खानले नेपाली राजदूत धनञ्जय झालाई ‘तपाई हिन्दू भएकाले मुश्लिमलाई हेपेको’ भन्दै धम्की दिएका छन् ।

खानले युवा संघको ब्यानरमा नक्कली कार्यक्रम बनाएर दुबई पुर्‍याएका नेपाली चेलीहरुले दूतावासमा उजुरी गरेपछि राजदूतले खानलाई यसबारे सोधेका थिए । तर, उनले ‘हिन्दू राजदूत’ भन्दै झालाई थर्काएका थिए ।

त्यसपछि राजदूत झाले पनि एमाले कार्यकर्ता खानलाई ‘तपाईले गल्ती स्वीकार नगरी यस्ता कुरा गर्ने हो भने म पनि तपाईलाई मुस्लिम आतंकवादी मान्दै डिपोर्ट गर्न सक्छु भन्ने जवाफ दिएका थिए ।

दूतावासका अधिकारीहरु के भन्छन् ?

युवा संघका नाममा भएको मानव तस्करीबारे राजदूत झाले केसीको समितिलाई दिएको प्रतिक्रियामा भनेका छन्- ‘यसपटक दुईजना युवतीले दूतावासमै आएर निवेदन लिएका छन् ।उनीहरुले तिरेको रकम फिर्ता मागेका छन् । यिनीहरुले वास्तवमै १० जनामध्ये ४ जना मात्र कलाकार, एक जना परिवार र ५ जनालाई विशुद्ध रोजगार दिलाइदिने प्रलोभनमै रकम असुलेर युएई ल्याएका रहेछन् ।’

यो प्रकरणमा भेटिएका विस्तृत कुराहरु लेखेर परराष्ट्र मन्त्रालयमा पठाइएको राजदूत झालाई उधृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी श्रम सहचरी हिरा यादवको प्रतिक्रिया छ- ‘कलाकारको भिसामा आएकी युवतीले जागिर खोजिदिनुपर्‍यो भन्दै मलाइ पनि बायोडाटा पठाएकी छिन् । विभिन्न स्वरुपमा मानव तस्करी बढ्दो छ युएईमा । हिजोमात्रै प्रेम पाण्डेयले एसएलसी पनि पास नगरेका ५०/६० जनालाई २५ सय दिराम तलब दिलाउँछु भनी ल्याएर आखिर कसैलाई पनि काम दिलाउन नसकी अलपत्र पारेका छन् । एनआरएनले ती एजेण्टलाई खोजेर दूतावासमा ल्याइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।’

त्यस्तै नेपाली दूताबासका लेबर कन्सुलर भेषबहादुर कार्कीको भनाइ छ- ‘१० हजार रुपैयाँभन्दा बढी तिरेर विदेश काम गर्न आउने सबै अवैध हुन् र ठगिएका हुन् ।’

को हुन् समिम खान ?

पाँच जना नेपाली चेलीलाई कलाकारका रुपमा लाखौं रकम असुलेर युएई पुर्‍याउने धन्दामा मुछिएका समिम खान एमालेका प्रवासी कार्यकर्ता हुन् ।

क्रियटिभ युथ ग्रुप तथा अल कुज युवा संघका संयोजक रहेका खानले अध्ययन समितिलाई दिएको वयानमा भनेका छन् – ‘कार्यक्रमको आयोजक क्रियटिभ ग्रुप नै हो, तर भिसा माग्दा क्रियटिभलाई चिन्दैनौं भनिएपछि युवा संघको सहयोग मागेका हौं, प्ररायु संघ यस कार्यक्रमको सपोर्टरका रुपमा रहेकै हो, प्ररायु संघको लोगो हामीले कार्यक्रमको ब्यानरमा प्रयोग गरेकै हौं । महेश गिरी युवा संघको ईञ्चार्ज हुनुहुन्थ्यो, उहाँले नै हामीलाई कलाकारहरुको भिसा निकाल्न सहयोग गर्नुभएको हो ।’

प्रतिवेदनमा जनाइए अनुसार खानले युएईमा आफूले यस्तो कार्यक्रम तीनपटक गरिसकेको बताएका छन् ।

एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च युएईका उपाध्यक्ष महेश गिरीले घटनाबारे समितिलाई दिएको जवाफमा भनेका छन्- ‘म दुईवर्ष यता दूतावासमा स्वयंसेवकका रुपमा काम गर्दै आएको व्यक्ति हुँ । म त्यो कार्यक्रमको आयोजक होइन, क्रियटिभ गु्रपका संयोजक समिम खान युवा संघमा पनि रहेकाले मैले सिफारिससम्म गरिदिएको हुँ ।’

घटनाबारे अध्ययन गर्न बनेको धरम केसीको समितिले यो प्रकरणबारे पाँचबुदे सिफारिस गरेको छ, जुन यस्तो छः

१) असुलेको रकम फिर्ता गर्नु गराउनुपर्दछ । जसरी म्यानपावरहरूले कामदारहरूबाट लाख\लाख असुलेर सो को रसिद दिएका हुँदैनन्, दिए पनि रू. १० हजारको मात्र दिन्छन, ठीक त्यही ढंग र शैलीमा यसमा पनि रकमको लेनदेन भएको तर रसिद भने नदिएको बुझिन्छ । नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाले यसको जाँचबुझ र आवश्यक कार्बाही गरोस । नेपाली दूतावास युएर्इ र अन्य सम्बन्धित सरकारी निकायहरूले यसमा आवश्यक सहयोग र समन्वय गरून् ।

२) यस प्रकरणका लगभग सबै पहलुहरू सुस्पष्ट खुलिसकेको वर्तमान परिप्रेक्षमा को कति दोषी या कस कसबाट के कस्ता गल्ती या कमजोरी रहे भनी धेरैले ठहर गरिसकेको हुंदा इमान्दारितापूर्वक सार्वजनिकरूपमै आत्मालोचित हुंदा नै बहुसंख्यक जनसमुदायको नजरमा उचित मानिनेछ । आरोप प्रत्यारोप तथा आग्रह पूर्वाग्रह राख्नु ब्यर्थ छ । घटनाको अनावश्यक राजनीतिकरण गर्नु या धाकधम्की दिनु त झनै गलत हो ।

३) अब त एउटा मापदण्ड नबनार्इ हुँदैन । भिषा या कार्यक्रम नै रोक्ने होइन, उत्पन्न विकृति र अनियमितता चैं रोक्न सक्नुपर्दछ । दूतावासले नेपाली समुदायका प्रतिनिधिहरूको एउटा साझा संयन्त्र नै बनाउन सक्छ, जसले कार्यक्रम गर्नुअघि नै कार्यक्रमका उद्येश्यहरू, कलाकारहरू र आयोजना तथा अर्थ ब्यवस्थापनसँग जोडिएका सबै पक्षहरूको शुक्ष्म अध्ययन गरी एउटा सहमति र अनुमोदन दिन सकोस् ।

४) दूतावासले सिफारिस दिँदा प्राथमिकतामा एनआरएनए लगायतका विशुद्ध सामाजिक संस्था नै हुनुपर्दछ, जसले कार्यक्रमबाट समाज कल्याण तथा परोपकारका लागि पनि केही योगदान दिन सक्ने सुनिश्चितता (भरपर्दो प्रतिवद्धता) दिन सकून् ।

५) यस प्रकरणबाट युएर्इको नेपाली समाजका केही हिस्सामा उत्पन्न केही कटुता आपसमा बसेरै मिलाउनुपर्दछ, आवश्यक परे दूतावासले त्यसको संयोजन र समन्वय गर्नुपर्दछ ।

प्रवासको ‘नेक्सस’ काठमाडौंसम्म

कलाकार भन्दै मानव तस्करीको धन्दा सञ्चालनमा एमालेका प्रवासी कार्यकर्तामात्रै नभई काठमाडौंमा रहेका युवा संघका नेताको समेत संलग्नता रहेको सूत्रहरुको दाबी छ ।

त्यस्ता नक्कली कलाकारलाई भिसा लगाइदिने दबाव बालुवाटारबाटै आउने गरेको गुनासो परराष्ट्रका अधिकारीहरुले गरेका छन् । पराराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार मानिसलाई यसरी विदेश पठाउने धन्दामा एमाले युवा संघको एउटा गिरोह नै लागेको छ र उनीहरुले सरकारमा रहेको फाइदा उठाउँदै दूतावासका कर्मचारीलाई अनुचित दबाव दिएर आफ्नो धन्दा चलाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment