+
+
Shares

नयाँ शक्तिभित्रै रूपान्तरणको प्रश्न

माओवादीमा सिकेको प्रवृत्ति अझै बाँकी छ

सन्दीप अधिकारी सन्दीप अधिकारी
२०७३ वैशाख ५ गते १४:०६

फरक अस्तित्व निर्माण गर्ने गरी आज जताततै सकारात्मक या नकारात्कक रूपमा नयाँ शक्तिले जबर्जस्ती ठाउँ लिएको छ । आग्रह या पूर्वाग्रह जस्तोसुकै दृष्टिकोण राख्ने भए पनि सबैलाई एकपटक सोच्नुपर्ने स्थिति सिर्जना गराएको छ ।

नयाँ शक्ति अब नेपाली राजनीतिमा निर्विकल्प रहँदारहँदै अथाह सम्भावनासँगै अनेकौ चुनौतीका पहाडहरू यो सामु छन् । त्यसलाई सन्तुलित भई फोर्न जरुरी हुन्छ । जुनसुकै पार्टीका समर्थक शुभचिन्तकहरू मुख्यतः युवा वर्ग यो वा त्यो रूपमा वर्तमान राजनीतिक संस्कारबाट असन्तुष्ट छ । त्यसलाई साथ लिन नाराले मात्रै होइन, युवा लक्षित कार्यक्रम, दीर्घकालीन आर्थिक विकासका साथै नयाँ शैलीको साङ्गठनिक योजनासहित कार्यकर्ता व्यवस्थापनको खाका प्रस्ट हुन जरुरी छ ।

नयाँ शक्ति सम्पूर्ण पुराना शक्तिहरूको प्रतिपक्षजस्तो देखिने भएकाले पुराना शक्तिहरूले परम्परागत गलत राजनीतिक संस्कारबाट जनतालाई भ्रमित बनाउन सक्ने खतरालाई सन्तुलित ढङ्गबाट जवाफ दिन जरुरी छ । नयाँ शक्ति नामले मात्रै नयाँ बन्ने कदापि होइन, फरक मान्छेले वा नयाँ अनुहारले मात्र पनि नयाँ बन्ने होइन ।

स्थापनाकालदेखि नै यसका सबै क्रियाकलाप र गतिविधि राम्रा अनि नयाँ नै हुन्छन् भन्नु पनि गलत हुन्छ । तर, जनपि्रय हुनका निम्ति नयाँ शैलीको प्रयोगमा कति प्रयासरत रहन्छ भन्ने कुरा प्रमुख हो ।

नयाँ शक्ति नयाँ र पुराना दुबैखाले राजनीतिक अनुहारको मेल हो, जुन खिचडी बन्यो भने मीठै हुन्छ भन्ने छैन । जनतामा मीठो स्वाद पस्कन विचार र कार्यशैलीमा मेल हुन जरुरी छ ।

baburam ko naya shakti (5)

नयाँहरूमा साङगठनिक शैलीगत अभाव, चरम महत्वाकांक्षा अनि मपाइत्व तीव्र देखिन्छ । पुरानाहरु एउटा फरक राजनीतिक विरासतबाट हुर्केका छन् उनीहरूमा पुराना राजनीतिक संस्कार र सङ्कुचन बाँकी नै छ । विधि विधान र पार्टी गठन नहुँदै हरेक तह र तप्काका नेतृत्वहरूमा फराकिलो मन होइन, कृपावाद र गुटवाद अनि निषेधको प्रवृत्ति देखा पर्ने गरेको छ । इमान्दारिता र कमरेडी भावना जसरी जाग्नुपर्ने हो, त्यो देखिँदैन । ज्यू हजुर नगर्नेलाई निषेध गर्ने परम्परा बाँकी नै छन् । मूल नेतृत्वले एकाध नेता र घेराबन्दीको रिपोर्टिङमा विश्वस्त हुने हो भने सुरुदेखि नै असन्तोष पैदा हुन सक्ने देखिन्छ ।

मूल नेतृत्वको सोच र साधनाअनुरूप अरू नेतृत्वहरू छन् कि छैनन् ? तल्लो तहका अभियन्ताहरूका मनमा के परेको छ भन्ने कुरा बुझ्ने माध्यम मूल नेतृत्वले अपनाउनु पर्छ । तीनखुट्टे समावेशी सिद्धान्तले सामुदायिक भावनालाई समेट्न सक्ने त देखिन्छ, तर त्यहाँभित्रका वर्गीय धरातललाई कसरी संश्लेषण गर्ने, समावेशीमा परेकाहरूको क्षमता अभिवृद्धिको माध्यम के हुने ? नेता कार्यकर्ताभित्रको वर्ग विविधतालाई कसरी सन्तुलन गर्ने, यस्ता प्रश्नहरूले ठूलो अन्तर्विरोधको सिर्जना गर्ने छन् ।

के सबै समुदायले नयाँ शक्तिमा आफ्नो अपनत्व महसुस गर्न सक्लान् ? यो मुख्य चुनौतीको विषय हो । कार्यकर्ताको व्यवहारिक कठिनाइ र त्यसको सही व्यवस्थापनको अभावले मुठ्ठीभरका मानिसहरूको वर्गउत्थान हुँदै आर्थिकरूपमा सबलहरूमात्र राजनीतिमा टाठाबाठा बन्ने संस्कार पुरानो विकृत संस्कार हो । विगतको राजनीतिक इतिहासले सिकाएको दरिलो पाठ हो यो ।

दशौँ वर्षदेखि बाबुराम विचार समूहमा समाहित हुँदै विचारलाई संस्थागत गर्न सङ्घर्षरत इमान्दार कार्यकर्ताहरूको उचित व्यवस्थापन कसरी गर्ने ? पार्टी सञ्चालन स्वयंसेवी वा आंशिक राजनीतिक कार्यकर्ता वा शुभचिन्तकबाट मात्रै सम्भव छ वा केही पूर्णकालीन आवश्यक छ । पूर्णकालीन रहने हो भने कति अनि तिनको व्यवस्थापन कसरी गर्ने हो ? योजना जरुरी छ ।

प्रत्यक्ष निर्वाचनको पद्धति आन्तरिक पार्टी जीवनमा सुरु गर्ने भन्ने कुराले मात्रै सबै विषय हल हुँदैन । के नयाँ शक्तिमा पुराना संसदवादी पार्टीहरूले अपनाउने दलाली निर्वाचन पद्धति अपनाउने हो भने त्यसले नयाँपन कदापि दिन सक्दैन ।

निर्वाचनको हल्लाले पार्टी निकाय अनि जनवर्गीय सङ्गठनमा सुरु भएको गुटउपगुट बनाउने, आलोचना गर्नेलाई निषेध गर्ने खेलले नयाँ बन्ने र बनाउने बाटोलाई अवरोध गर्नेछ ।

तत्कालीन माओवादीमा रहँदा सिकेको स्वघोषित नेता बन्ने प्रवृत्ति अहिले पनि बाँकी नै छ । जो अरूको विचार र धारणालाई स्वीकार्न तयार हुँदैन । जनतासँग टाढै बस्न रुचाउने, साक्षात्कार नगर्ने र जनताको आलोचना सहँदै सकारात्मक सन्देश प्रवाह गर्न किन हिच्किचाउने ? यी प्रश्नहरु बाँकी नै छन् । नेताहरू आफै जनताको घर-घरमा नपुगी जनताले अब कुनै पनि विचार र राजनीतिलाई सजिलै आत्मसाथ गर्ने अवस्था छैन । जनताको विश्वास जित्नलाई गफ होइन जीवन व्यवहारको शिक्षा, र काम कारवाहीको योजना बोकेर घरदैलोमा पुग्नुपर्दछ ।

पार्टीलाई जीवन्त बनाइराख्न मूल नेतृत्व सबैभन्दा सचेत र जीवन व्यवहारलाई बुझ्ने हुनुपर्दछ । आफू स्वयं एकाध सङ्कुचनमा फसिरहने र निश्चित स्वार्थका घेराबन्दीबाट उम्कन नसक्ने अनि सामूहिक निर्णयभन्दा स्वनिर्णयलाई महत्व दिन हो भने नयाँशक्ति नयाँ बोतलको पुरानै पानी बन्ने खतरा रहन्छ ।

नयाँ शक्ति नयाँ बोतलको नयाँ स्वच्छ पानी बन्न सक्नुपर्छ । त्यसको लागि हरेक तह र तप्काका नेताहरू आफूलाई आर्थिक सांस्कृतिक, सामाजिक अनि साङ्गठनिक सबै रूपमा पारदर्शी बन्न सक्नुपर्दछ ।

नयाँ शक्ति नेपालको अभियान जनताले नियालिरहेका छन् । यसको केन्द्रीय परिषद निर्माणको मापन गोलमोटल अनि मनगणन्ते देखिन्छ ।

वर्गीय, जातीय, भौगोलिक अनि राजनीतिक-सामाजिक योगदानका हिसावले यो सही छ कि छैन ? छनोटको मानक जनताले थाहा पाउनुपर्छ । साङ्गठानिक, राजनीतिक अनि आर्थिक गतिविधि पारदर्शी रहनु आफैंमा जनउत्तदारी हुनु हो । तर, यो मात्रै सबैथोक होइन ।

जनतामा अहिले आˆनो चुलो बल्ने कि नबल्ने भन्ने मात्र चिन्ता छ । विकास र आर्थिक समृद्धि अनि राष्ट्र निर्माणको चिन्ता छ । त्यसैले नारा र दृष्टिकोण मात्र होइन, अब हरेक युवाहरूलाई काम दिने योजना प्रस्तुत गर्नुपर्छ ।

विदेशमा रहेका पचासौँ लाख युवालाई स्वदेश फर्काउने ओठे प्रतिवद्धता होइन, स्पष्ट नमूना प्रस्तुत गर्नु पर्छ । नमूना गाउँ, नमूना जिल्ला हुँदै नमूना देश बनाउने कार्यक्रमिक योजना जनतामा दिनु पर्दछ । अनिमात्र यो साँच्चैको नयाँ शक्ति बन्नेछ ।

(लेखक नयाँ शक्तिका विद्यार्थी अभियन्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?