Comments Add Comment

नवलपरासीमा पत्ता लाग्यो सेनवंशीय फलाम खानी ! (तस्वीरसहित)

उद्योगमन्त्रीसँग स्थानीयको माग- आँखै अगाडि उत्खनन होस्

Falam Khani (4)६ वैशाख, नवलपरासी । नेपालीका लागि खुशीको खबर ! नवलपरासीको धौवादीमा १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको छ । यो खानीबाट सेन बंशका पालामा फलाम उत्खनन गरेर पाल्पासम्म पठाउने गरिएको स्थानीयको तर्क छ ।

सरकारका तर्फबाट खानीको पहिलो चरणको अध्ययन सकिएको छ । फलाम खानी रहेको प्रारम्भिक अनुमानका आधारमा ४० दिनका लागि अध्ययन गर्न खटिएको टोली आफ्नो अध्ययन सकेर सोमबार राजधानी फर्केको छ । फलाम खानी हेर्न उद्योगमन्त्री सोमप्रसाद पाण्डे आफैं नवलपरासी आएका थिए ।

टोलीले पहिलो चरणमा दुई किलोमिटरमा अध्ययन सम्पन्न गरेको छ । दुई किलो मिटर क्षेत्रमा गरिएको नमूना संकलन र अध्ययनमा यहाँ दुई करोड टन फलाम खानी रहेको भेटिएको भुगर्भविद् नारायण बास्कोटाले बताए ।

गत फागुन २७ गतेदेखि पाँचजनाको टोलीले फलामको अध्ययन गरेको हो । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी भेटिएको विज्ञहरुले बताएका छन् ।

वि.सं. ०६८ सालामा कोइलाखानीका लागि आएको खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्तो लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसमा ध्यान दियो ।

नमूना संकलनका क्रममा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको टोली प्रमुख नरेश महर्जनले बताए । फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि
मध्यमखालको मानिन्छ । ‘यहाँ मध्यम पनि धेरै राम्रोखालको छ,’ उनले भने- ‘यहाँ च्यानल ग्याप छैन, भित्रैसम्म छ ।’

टोलीले धौवादी ३ पोखरीको क्षेत्रलाई केन्द्रविन्दु बनाएर अध्ययन थालेको छ । उक्त क्षेत्र पूर्व-पश्चिम लोकमार्गको कावासोती नगरपालिका-१६, डण्डा र मध्यविन्दु नगरपालिका चोरमाराबाट १३ किलोमिटर उत्तरतर्फ पर्छ ।

Falam Khani (5)

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नै फलाम खानीको उत्खनन हुनुपर्छ भनेर चासो दिएपछि टोली अध्ययनका लागि आएको महर्जनले  बताए ।

टोलीले ६ वटा ब्लकमा २ सयवटा सेक्सन विभाजन गरेर अध्ययन गरेको छ । टोलीले दुई सय वटै सेक्सनबाट नमूना संकलन गरेर परीक्षणका लागि पठाएको छ ।

 विस्तृत अध्ययन टोलीले च्यानल सेम्पलिङ, टोवोजियोलोजिकल सर्वे, नमूना संकलन लगायतको काम गरेको छ ।

अध्ययनका लागि अर्काेपटक आउँदा फलाम खानी कति गहिराइसम्म छ भनेर थाहा पाउनका लागि डि्रलिङ गर्ने र मेटल टेष्टका लागि भारत र चीन अथवा तेस्रो मुलुकमा पठाइने सरकारी अधिकारीहरुले बताएका छन् ।

हाल दुई किलोमिटर क्षेत्रमा मात्रै अध्ययन गरिए पनि बाँकी ८ किलोमिटर क्षेत्रमा भने अध्ययन हुन बाँकी छ । दु्रग गतिमा अध्ययन हुन सके र बजेट सोहीअनुसार विनियोजन भए एकदेखि डेढ वर्षमा अध्ययन, नमूना संकलन, मेटल टेष्ट, डि्रलिङ लगायतका काम सकिने महर्जनले बताए ।

टोलीले अध्ययनको काम सकेर टोली सोमबार करिब २ टन स्याम्पल लिएर काठमाण्डौं जाने तयारी गरेको भूगर्भविद बास्कोटाले बताए ।

फलाम खानीबारे यस्तो छ पुरानो कथा

यहाँ परापूर्वकालमा परम्परागत शैलीमा फलाम खानीको उत्खनन गरेका ३ वटा सुरुङहरु रहेका छन् । स्थानीय बासिन्दा नरबहादुर मगरले आफ्ना जिजुबाजेहरुको भनाइलाई उद्धृत गर्दै भने अनुसार यहाँ परापूर्वकालमा सुरुङ बनाएर फलामको उत्खनन भएको थियो ।

पाल्पाका सेनवंशीय राजाहरुको शासन हुँंदा यस क्षेत्रमा आरानसम्बन्धी ज्ञान भएका विश्वकर्माहरुको गाउँं नै थियो । उनीहरुले फलामखानीबाट फलाम निकाल्ने, त्यसलाई गाल्ने र घरेलु हातहतियार बनाएर पाल्पा पठाउने गर्दथे ।

Falam Khani (3)

सुरुङभित्र गएर फलाम निकाल्ने क्रममा सुरुङ भत्किएर ५ जना पुरिएपछि उनीहरुको उद्धार हुन सकेन । उद्धारको पर्खाइमा सात दिनसम्म सुरुङभित्रै मुरली अर्थात बाँसुरी बजाउँदै मानिस बसेका थिए भन्ने पनि कहावत स्थानीयहरुको छ । ती ५ जना सुरुङभित्रै पुरिएर मरेपछि उत्खनन कार्य रोकिएको बताइन्छ ।

विश्वकर्मा समुदायको वस्ती भएको गाउँ अहिले जंगलमा परिणत भइसकेको छ ।

उत्खनन छिट्टै शुरु हुन्छः उद्योगमन्त्री पाण्डे

यसैवीच नवलपरासीको धौवादी-३ पोखरीस्थित फलामखानीको उत्खनन छिट्टै हुने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताएका छन् ।

फलाम खानीको अध्ययन भइरहेको क्षेत्रको निरीक्षण गर्न पुगेका उद्योग मन्त्री पाण्डेले यस कार्यलाई रोख्न नहुने भन्दै तत्काल उत्खनन शुरु गरिने बताए ।

उनले सञ्चारकर्मीहरुसँग कुरागर्दै भने-‘बजेटका लागि चिन्ता लिनुपर्दैन, नयाँ आर्थिक वर्ष कुर्नु पनि पर्दैन । अध्ययनको काम सकिनासाथ उत्खनन शुरु हुन्छ ।’

Falam Khani (2)

सरकार आफैंले उत्खनन गर्ने उद्योग मन्त्री पाण्डेले बताए । उनले- मन्त्रालयले सम्भावना भएका खानी र पेट्रोलियम पदार्थको अन्वेषण गरिरहेको छ, अब विकासको गति अघि बढ्छ ।

मन्त्री पाण्डेले अध्ययन भएको फलामखानीको तल्लो भागमै पुगेर निरीक्षण गरेका थिए । खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल, उप-महानिर्देशक सोमनाथ सापकोटा, सिनियर इन्जिनियर रुपक खड्का, भूगर्भविद् जनकबहादुर चन्द लगायतका सरकारी अधिकारीहरु मन्त्री पाण्डेसँगै फिल्डमा आएका थिए ।

स्थानीयको मागः आँखै अगाडि उत्खनन होस्

खानी तथा भूगर्भ विभागको टोलीसहित खानी क्षेत्र पुगेका मन्त्री पाण्डेसमक्ष स्थानीयले यस क्षेत्रको उत्खनन आफूहरुको आँंखा अगाडि हुनुपर्ने र यसलाई ढीलो गर्न नहुने माग गरेका छन् । साथै स्थानीय बासिन्दाले उत्खननका क्रममा आफ्नो घरबास, खेतबारी सबै जान सक्ने भएकाले उत्खननअघि नै वैकल्पिक व्यवस्थाको मागसमेत गरेका थिए ।

Falam Khani (1)

हाल ३३ घरधुरी रहेको पोखरी र यस आसपासका क्षेत्रका बासिन्दाले उत्खखन हुनु राम्रो कार्य भए पनि आफूहरुलाई बिल्लीबाठ पार्न नहुने भन्दैमन्त्रीसँग आफ्नो गुनासो राखेका छन् ।

स्थानीयको मागलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकार आफैले फलाम खानीको उत्खनन गर्ने र कुनै निजी संस्थालाई उत्खनन गर्न नदिने दोहोर्‍याए । यसक्रममा गाउँलेलाई असर गर्ने भए सोही अनुसारको व्यवस्था गरिदिने आश्वासन समेत मन्त्री पाण्डेले दिए । उनले गाउँलेहरुलाई ढुक्क भएर काममा सहयोग आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment