Comments Add Comment

गृहमन्त्री भन्छन्- आन्दोलनको सामना गर्न सरकार तयार छ

'कसैले चाहँदैमा यो सरकार ढल्दैन'

Shakti-Basnet-new
६ वैैशाख, काठमाडौं । मधेसी मोर्चाले आन्दोलनको तयारी गरिरहेका बेला गृहमन्त्री शक्तिबहादुर बस्नेतले कसैले चाहँदैमा मुलुकमा फेरि आन्दोलन नहुने दाबी गरेका छन ।

सोमबार  रिपोर्टस क्लबमा बोल्दै गृहमन्त्री बस्नेतले भने- ‘जनताले अहिले कुनै पनि आन्दोलनको औचित्य महसुस गरेको छैन, धेरै विषय संविधानले सम्वोधन गरिसकेको जनताले बुझेका छन ।’

मन्त्री बस्नेतले सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए । उनले केही व्यक्तिले चाहँदैमा सरकार ढल्ने र बन्ने कार्य नहुने दाबी गर्दै अहिलेको सरकार ढाल्नुपर्ने कुनै आवश्यकता नरहेको तर्क गरे ।

मन्त्री बस्नेतले भने-‘मधेसीले उठाएको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको माग पूरा भइसकेको छ, केही बाँकी भए छलफल र संवादबाटै समाधान गर्न सकिन्छ र म त्यसका लागि आह्वान गर्छु ।’

मधेसी मोर्चाले उठाएजस्तो सीमांकन पुरै देशको नभई केही क्षेत्रको समस्या मात्रै भएको भन्दै यसमा जनताको एक हिस्साले एउटा र अर्को हिस्साले अर्कै कुरा गर्ने गरेकोले यो छलफलबाट मात्रै समाधान गर्न सकिने मन्त्री बस्नेतले बताए ।

उनले भने, ‘सीमांकनको विषयमा सम्बन्धित क्षेत्रका जनतामा अन्र्तविरोध छ, त्यसैले यो विषय छलफलबाटै समाधान गर्नुपर्छ, यसका लागि सरकारले उच्चस्तरीय राजनीतिक समिति गठन गरेको छ । त्यसमै बसेर छलफल गर्नु पर्छ ।’

सुरक्षा रणनीति बन्दैछ
मन्त्री बस्नेतले संविधानको भावनाअनुसार मुलुकको आन्तरिक सुरक्षा रणनीति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । अब नयाँ रणनीतिका आधारमा आवश्यक कानून निर्माण प्रक्रिया अघि बढाइने उनले बताए ।

गृह प्रशासनलाई संघीय संरचना अनुसार पुर्नसंरचना गर्न गठित कार्यदलले पनि काम अन्तिम चरणमा पुर्‍याएको उनले बताए । मन्त्री बस्नेतले भने- ‘आन्तरिक सुरक्षा योजना मुलुकको बदलिएको प्राथमिकता पूरा गर्ने खालको हुनेछ ।’

‘पुनर्निर्माणमा ढिलाइ हुनु सरकारको दोष होइन’
भूकम्पपछिको पुनःनिर्माणमा भएको ढिलाइमा अहिलेको सरकार दोषी नभएको मन्त्री बस्नेतले दाबी गरे ।

पुनःनिर्माणको कामले केही बर्ष लिने भएकाले भूकम्पलगत्तै भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गर्ने निर्णय गर्न नसक्नु कमजोरी भएको उनले स्वीकार गरे ।

‘पुनःनिर्माणको काममा ढिलाइ भएको हो, तर यो सरकारको कारणले होइन, मन्त्री बस्नेतले भने,- भूकम्प गएको ६ महिनापछि गठन भएको यो सरकारले पुनःनिर्माण ऐन र पुनःनिर्माण प्राधिकरण गठन गरेर क्षतिको विवरण संकलन गर्‍यो । अब बैशाख १२ गतेबाट पुनःनिर्माणको महाअभियान सुरु गर्ने तयारीमा छौं ।’

मन्त्री बस्नेतले पुनःनिर्माणका लागि दुई-तीन वर्ष लाग्ने बताए । साथै भूकम्पपीडितलाई अस्थायी सेल्टरको व्यवस्था गर्ने काम सरकारले अघि बढाइसकेको उनले बताए ।

गृहमन्त्री बस्नेतले ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुधारको दिशामा रहेको भन्दै अबको केही दिनभित्रै सुधार कार्यले पूर्णता पाउने र लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment