Comments Add Comment

धरानको बस पोखरा छिरेपछि कुटाकुट, ७ घाइते

राजमार्गको सिण्डिकेटले निम्त्यायो विकृति

Jhadap

६ वैशाख, पोखरा । सोमबार पोखराको जीरोकिलोमिटरमा एकाएक दोहोरो झडप भयो । दुईवटा बसका सिसा फुटाइए । केही व्यक्तिका टाउकासमेत फुटे ।

झडपको विषय अरु केही थिएन, धरान र काँकडभिट्टाबाट यात्रुबाहक बस पर्यटकीय नगरी पोखरामा भित्र्याएको विषयमा यस्तो कुटाकुट भएको हो । पूर्वाञ्चललाई केन्द्र बनाएर यातायात सञ्चालन गर्दै आएको उज्यालो यातायातले पोखराबाट पनि सेवा दिन थालेपछि झडप भएको हो ।

उज्यालो यातायातले सोमबार पत्रकार सम्मेलन गरी पोखराबाट काठमाडौं, काँकडभिट्टा, धरान, इटहरीलगायतका क्षेत्रमा सेवा दिने जानकारी दिएको हो । उज्यालोले यस्तो सेवा दिने जानकारी दिइरहँदा लामो समयदेखि यातायात सेवामा एकछत्र काम गर्दै आएको पृथ्वी राजमार्ग बस सञ्चालक समिति त्यसको विरोधमा उत्रियो ।

यातायात सञ्चालनकै विषयमा दुई यातायात व्यवसायीबीच झडप हुँदा ७ जना घाइते भए । उज्यालो यातायात कार्यालय अगाडि जिरो किलोमिटरमा झडप हुँदा पृथ्वी राजमार्गका बस व्यवसायी समितिका ५ जना र  उज्यालो यातायातका २ जना घाइते भए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईका अनुसार झडपमा परी समितिका श्यामलाल श्रेष्ठ, रुऽबहादुर थापा मगर, प्रकाश सिग्देल, पशुपति पौडेल र झलक कुँवर घाइते भएका छन् । त्यस्तै उज्यालो यातायातका विष्णु नेपाली र नवीन लामा घाइते भएको उज्यालो यातायातले जनाएको छ । झडपका क्रममा उज्यालो यातायातका २ वटा बसका सिसासमेत फुटेका छन् ।

 घाइतेमध्ये गम्भीर चोट लागेका श्यामलालको मनिपालमा उपचार गरिएको छ भने प्रकाश र पशुपतिको मेट्रोसिटीमा उपचार भइरहेको छ । अन्य घाइतेहरु सामान्य उपचारपछि घर फर्केका छन् ।  पृथ्वीराजमार्ग बस व्यवसायी समितिले एकाधिकार लादेर आफूहरुलाई यातायात सेवा सञ्चालन गर्न नदिने षड्यन्त्र गरी गाडी तोडफोड गर्नुका साथै आक्रमण गरेको उज्यालो यातायात व्यवसायी संघ कास्कीका अध्यक्ष नलबहादुर गुरुङले बताए ।

संस्थागत एकाधिकार र सिन्डिकेट लाद्दै आएका पुराना यातायात व्यवसायीले एकलौटी एवं मनोमानी गरी अन्य यातायात व्यवसायीलाई बस सञ्चालन गर्न नदिएको उज्यालो यातायात व्यवसायी संघका केन्द्रीय महासचिव केवलराम राईले बताए  । ‘स्वस्थ प्रतिस्पर्धा नै कुण्ठित भएको छ,’ राईले भने, ‘बाटो कसैको व्यक्तिगत होइन, सबैले काम गरेर खान पाउनुपर्छ ।’

उज्यालोले वैशाख ९ गतेदेखि बस सेवा सञ्चालन गर्ने जनाएको छ । कानुनी प्रक्रिया पूरा गरेर आए पनि पृथ्वीराजमार्ग व्यवसायी समितिले अवरोध गरेकोमा दुःख लागेको राईले बताए । सार्वजनिक सडकमा आफ्नो सवारी साधन सञ्चालन गर्न पाउनु आफूहरुको अधिकार भएको राईले बताए ।

सिडियोले साथ नदिँदा अदालतको शरणमा

पूर्वदेखि पोखरासम्म उज्यालो यातायात सञ्चालनका लागि अनुमति लिन ०७२ चैत १ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दर्ता भएको थियो । तर, जिल्ला प्रशासनबाट यातयात सञ्चालनको अनुमति प्राप्त भएन ।

जिल्ला प्रशासनबाट अनुमति नपाएपछि उज्यालोका व्यवसायीहरुले सर्वोच्च अदालतमा गरेको रिट निवेदन दिए । सो रिटमा चैत २३ गते न्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलासले उज्यालो यातायातको पक्षमा आदेश गरेको राईले जानकारी दिए ।

सरकारले तोकेको भाडा भन्दा ५ प्रतिशत छुटमा आफूहरुले सेवा दिने राईले बताए । ‘उज्यालो यातायातले गर्दा पृथ्वी राजमार्ग  व्यवसायी समिति विस्थापित हुन्छ भने हामीले हेर्छौं,’ राईले थपे, ‘हामीले समयानुकुल यात्रुहरुलाई सहुलियत प्रदान गर्न सक्नुपर्छ भन्ने मान्यता स्थापित गर्न लागेका हौं ।’

बस चलाउने भए हामीमा आवद्ध हुनुपर्छः शाही

उता उज्यालो यातायातको सञ्चालनको विरोध गर्दै आएका पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीले अहिले भइरहेको संरचनामा खलबल गर्न नपाइने जिकिर गरे ।

व्यवसाय नै चौपट पार्ने गरी यातायात सञ्चालन गर्न नपाइने बताउँदै शाहीले भने, ‘बस चलाउने भए सहकार्यमा हामीसँगै आवद्ध भए हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment