Comments Add Comment

पोखरामा विमानस्थल त बन्ने भयो, बसपार्कचाँहि कहिले ?

राजनीतिक खिचातानीले रोकिए दर्जनौं विकास योजना

pokhara-buspark2
७ वैशाख, पोखरा । चार दशकअघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बसपार्क बनाउन सर्वसाधरणको जग्गा अधिग्रहण गरियो । ढिलै भए पनि विमानस्थल बन्ने निश्चित भएको छ । तर, विमानस्थलसँगै विस्तार गरिनुपर्ने बसपार्क चाँहि बन्ने- नबन्ने अझै अनिश्चित छ ।

बसपार्क बनाउने विषयमा राजनीतिक दलहरुबीच खिचातानी भइरहँदा स्थानीय गौरवको आयोजनाले मूर्त रुप लिन सकेको छैन ।

बसपार्क बनाउने जिम्मेवारी बोकेको पोखरा उपत्यका नगर विकास समितिमा राजनीतिक नियुक्ति हुने गरेको छ । एउटा दलको नेतृत्वलाई अरु दलहरुले असहयोग गर्ने परिपाटीले बसपार्क बन्न नसकेको स्थानीयको गुनासो छ ।

बसपार्क त एउटा सानो उदाहरण मात्र हो । राजनीतिक खिचातानीकै कारण पोखरामा दर्जनाैं आयोजनाहरु बन्न सकेका छैनन् । प्राकृतिक सुन्दरताको वरदान पाएको पोखरामा अहिलेसम्म कुनै ठूलो परियोजना बन्न सकेको छैन । बल्लतल्ल ४० वर्षको सपनाका रुपमा रहेको विमानस्थल बन्ने सुनिश्चित भएको छ ।

‘पोखरामा पूर्वाधारको विकास शुन्यसरह छ, प्राकृतिक सम्पदामा यहाँको पर्यटन अडिएको छ’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अनलाइनखबरसँग भने- ‘कुनै आयोजना बनाउने भन्नेवित्तिकै सर्वदलीय सहमति खोजिन्छ, विकास निर्माणको काममा सर्वदलीय सहमति खोज्नै मुस्किल रहेछ ।’

अब अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनासाथ पोखरा अन्तर्राष्ट्रिय शहरमा परिणत हुनेछ । तर, अन्तर्राष्ट्रिय शहर हुनका लागि आवश्यक कुनै पनि पूर्वाधारहरु पोखरामा बनेका छैनन् । अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय बसपार्क, सडक, ढल, सरसफाई, रिक्रियसन सेन्टरहरु, सभासम्मेलन तथा प्रर्दशनी केन्द्र पोखरामा तत्कालै आवश्यक छ ।

पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ । पर्यटकको संख्या बढेपनि उनीहरुको बसाई लम्बाउनका लागि कुनै पूर्वाधारको विकास गर्न सकिएको छैन । अहिलेको सम्पदा र पूर्वाधारले एउटा पर्यटकलाई दुई दिनभन्दा बढी राख्न सकिने अवस्था छैन् ।

पोखरामा पर्यटकको बसाई लम्बाउनका लागि मानवनिर्मित संरचना निर्माण आवश्यक छ । पोखराका नेताहरु विकास निर्माणको इनिसेसन अफुहरु मात्र लिन खोज्छन् । अरु दलको नेतृत्वमा विकास निर्माणका कामहरु भएमा आफुहरुको राजनीतिक करियर संकटमा पर्ने डरले उनीहरु यस्ता कामहरु रोक्न खोज्छन् ।

pokhara-busparkबसपार्क बनाउनका लागि २०३२/०३३ सालतिर १८७ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर, अहिले ८१ रोपनी जग्गामात्र नगर विकासको स्वामित्वमा छ । मोहोडातिरको ४० रोपनी जग्गा जग्गाधनीले लिएका छन्, भने बाँकी अन्य व्यक्तिलाई बेचिएको छ ।

‘सर्वदलीय बैठकमा बसपार्क बनाउन आफुहरु सहमत भएको बताउने, तर बाहिर निस्किएपछि त्यहाँका सुकम्बासी र स्थानियलाई उचालेर भड्काउने गरेको भेटियो’ पोखराका एक जिम्मेवार व्यक्तिले अनलाइनखबरसँग भने- ‘यही कारण यहाँको बसपार्क बनाउने काम झन-झन जटिल बन्दै गइरहेको छ ।’

हालैमात्र नगर विकास समितिका अध्यक्ष प्रकाश खानकाले नेतृत्वमा सर्वदलीय बैठक बसेको थियो । बैठकले १८७ रोपनी जग्गामै बसपार्क बनाउने रायसुझाव दिएको उनले सुनाए । आवश्यक कानुनी प्रकृया पुरा गरी त्यहाँका बासिन्दासँग सहयोग मागेर जग्गा पुनः अधिग्रहण गरिने उनको भनाई छ ।

‘जुनसुकै मुल्य चुकाएर भएपनि पोखराकै गौरवको आयोजना बसपार्क सबै दलका नेतृत्वबाट शिलान्यास गराएर भएपनि निर्माण सुरु गराउँछु’ उनले भने- ‘अहिले फोहोर देखिएको बसपार्क निर्माण भएपछि पोखराको मुहार फेरिने छ, यहाँ बस पार्किङ सहित सपिङ कम्पलेक्स, गार्डेन, रिक्रियसन सेन्टरहरु बनाइने छ ।’

यी हुन् १७ गौरवका आयोजना
सञ्चार सचिव दिनेश कुमार थपलिया पोखराको क्षेत्रीय प्रशासक हुँदा विभिन्न १७ गौरवका परियोजना पहिचान गरेर समिति बनाई काम अगाडि बढाएका थिए । स्थानिय नेताहरुको सल्लाहबीना पञ्चायती शैलीमा काम अगाडि बढाएको भनेर विरोध भएपछि धेरै परियोजनाको काम रोकिएको छ ।

विकास निर्माणलाई राजनीतिक पृष्ठभूमिबाट हेर्ने गलत संस्कारका कारण पोखराको विकास रोकिएको स्थानियको भनाई छ । फलानो परियोजनाको समितिमा फलानो दलको नेता छ, हामीले किन सहयोग गर्ने ? भन्ने मानसिकता पोखरेली नेताहरुमा देखिएको छ ।

राजनीतिक खिचातानी र अक्षम प्रशासन र विकासको लिडरको अभावका कारण अहिलेसम्म पोखराको विकास निर्माणका लागि मास्टर प्लान बनाउन नसकेको एक सरकारी अधिकारीले बताए । नेतृत्वदायी निकाय, व्याक्ति र संस्थाहरु नहुँदासम्म विकास निर्माणले गति लिन नसक्ने उनको ठम्याई छ । त्यसो त पोखरेली नेताहरुको केन्द्रमा कम पहुँच हुँदा पनि पोखरा हेपिएको बताइन्छ ।

पोखराको विकास हेर्ने भनेको नगर विकास समितिले हो । पोखराको विकासको गुरुयोजना बनाउने पनि यही समितिले हो । तर, समितिको नेतृत्वहरु क्मजोर, भ्रष्ट, बढी राजनीतिमुखी र योग्यता नभएको व्यक्ति आइदिँदा विकासको नेतृत् वगर्न नसकेको आरोप छ । तर, हालसालै नियुक्ती पाएका समितिका अध्यक्ष प्रकाश खनालले मास्टर प्लानको खाका बनाउन लागेको अनलाइनखबरसँग दाबी गरेका छन् ।

समितिले काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरेर क्षेत्रीय प्रशासकलाई नै विकासको नेतृत्व दिने निर्णय गरेको थियो । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन । समितिमा नियुक्ती पाएर आउने व्यक्तिले दोहोरो चरित्र देखाउँदै पदको दुरुपयोग गरिरहेको स्थानियहरुको आरोप छ ।

तत्कालिन क्षेत्रीय प्रशासक थपलियाले १७ वटा समिति बनाई १७ वटा गौरवका आयोजना अगाडि सारेका थिए । त्यतिबेला काम राम्रो भएपनि आफुहरुलाई नसोधी अगाडि बढेको भन्दै स्थानिय नेताहरुले विवाद गरेका थिए । राजनीतिक दलहरुलाई सहभागी नबनाई थपलियाले राष्ट्रिय गौरवका आयोजना अगाडि बढाएको आरोप लागेको थियो ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको बसपार्क, क्रिकेट स्टडियम, रिङरोड, पुस्तकालय, शान्ति बनवाटिकामा बोटानिकल गार्डेन, अन्तर्राष्ट्रिय सभाहल, कोशेली घर, पोखरा टावर, काहुँ डाँडामा सिद्धार्थ एशोधरा पार्क, ११७ रोपनी जग्गामा कला तथा साहित्य पार्क, बेगनासको पचभैयाको जंगलमा चिडियाखाना, हाल स्काउट भएको ठाउँमा थियटर, फेवातालमा म्युजिकल फाउन्टेन, फेवाताल र रत्नमन्दिरलाई समेटेर जैविक विविधता पार्क बनाउने योजना थपलियाले अगाडि सारेका थिए ।

काहुँ डाँडामा बनाउने भनिएको सिद्धार्थ एशोधरा पार्कका लागि १ अर्ब रिसोर्स आउन लागेको बताइएको छ । त्यस्तै, कला साहित्य पार्कको काम पनि अगाडि बढेको छ । चिडियाखानाको काम पनि सुरु भएको छ । तर, बाँकी कामहरु अगाडि बढ्न सकेका छैनन् ।

माथिका परियोजना निर्माण गर्न सकेको खण्डमा पर्यटक बढाउन सकिने विश्वास थपलियाले लिएका थिए । धेरै काममा आफुले नेतृत्व गर्न नपाएका कारण रोकिएका छन् । नेतृत्वमा बस्न खोज्ने, तर काम केही नगर्ने परिपाटी स्थानिय नेताहरुमा देखिएको बताइन्छ ।

पोखरामा बसाई सराई हृवात्तै बढेका कारण साँघुरो र फोहोर बन्दै गइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपश्चात पोखरा झनै साँघुरो हुने देखिन्छ । यसका लागि अहिले देखि नै योजना बनाएर सुधारका कामहरु गर्न नसकेमा काठमाडौंकै अवस्था सृजना हुने मुल्मी बताउँछन् ।

अहिले पृथ्वीचोकमा बनाउन लागिएको बसपार्कमा लामो दूरीका बसहरु सञ्चालन गर्न नहुने नगर विकास समितिका अध्यक्ष खनाल बताउँछन् । ‘अहिलेको बसपार्कलाई सुविधासम्पन्न बनाएर सिटी बसपार्क बनाउनुपर्छ’ उनले भने- ‘लामो दुरीका बसहरु पार्किङ गर्नका लागि लेखनाथ १३ नम्बर वडामा रहेको लामेआलमा बसपार्क बनाउने योजना बनाइएको छ ।’

लामो दुरीका बसहरुलाई शहरभित्र प्रवेश गर्न दिन नहुने खनालको भनाई छ । पोखरा साँघुरिँदै गइरहेको हुँदा रिङरोड बनाउने प्रस्ताव गरिएको छ । ४२ किलोमिटर लामो रिङरोड बनाउने कामको आफुले नेतृत्व लिन नपाउँदा विवादित बनेको बताइएको छ ।

उद्योगी मुल्मी सबै पूर्वाधार शहरभित्र बनाउन नहुने बताउँछन् । ‘पोखरा यसै पनि साँघुरो र फोहोर भइसकेको छ, बसपार्क, सभासम्मेलन केन्द्र, पर्दशनी केन्द्र लगायतका पूर्वाधार सहरबाहिर बनाउनुपर्छ’ उनले भने- ‘यसो गर्न सकेमा गाउँका मानिसले पनि विकासको स्वाद चाख्न पाउँछन् ।’

पोखराको विकासका सरकारी निकायको पनि समन्वय छैन । फेवाताल बन, सिँचाई, नगरपालिका, जिल्ला विकास समिति, नगर विकास समिति लगायतले आफ्नो क्षेत्रमा पर्ने दाबी गर्छन् । तर, फेवातालको गुरुयोजना बनाएर संरक्षण र सुधार गर्न कोही अगाडि सर्दैनन् ।

फेवातालमा वाटर फाउन्टेन, फुट तथा साइकल ट्रेल बनाउने र आधुनीक खेलकुद भित्राउन सकेमा पर्यटकलाई आकषिर्त गर्न सकिन्छ । अहिले पोखरामा पर्यटक भुल्नका लागि विश्व शान्ती स्तुपा, फेवाताल, डेभिड फल्स, जीप फ्लाई, बञ्ज जम्प र प्याराग्लाइडिङ मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment