Comments Add Comment

भुईंचालो पीडित वस्तीमा नयाँ वर्ष

Ramechap Magitar story (9)

मुगीटार, रामेछाप । मन्थली नगरपालिकाका अरु वडामा जस्तै माझीहरुको यो सानो वस्ती, नगरपालिकाको वडा नम्वर १३ मा नयाँ वर्षको पहिलो सूर्य किरणको प्रवेश भैसकेपछि हामी पुगेका थियौं । प्रकृतिले मानव जातिसँग कुनै भेदभाव गरेको अहिलेसम्म सुनिएको छैन ।

अघिल्लो वर्ष वैशाख १२, १३ र २९ गतेको भुईंचालोले विनाकुनै भेदभाव तामाकोशी किनाराको यो अनकण्टार वस्तीलाई समान रुपले ध्वस्त पारिदियो । यो नयाँ वर्षको विहानले पनि यसमा कुनै विभेद गरेन । साविक झैं समयमा नै सूर्य उदायो । मन्थली नगरपालिकाको मुख्य बजार क्षेत्र भुईंचालोबाट सुरक्षित रह्यो । नगर क्षेत्रमा जोडिएका अरु वस्तीहरु ध्वस्त भए । नगर क्षेत्रको यो दुर्गम वडा मुगीटारका एउटै घर पनि सावूत रहेनन् ।

kishor nepal
पत्रकार किशोर नेपाल

किनारामा पारिएका माझी र अरु जातिको पनि वस्ती मुगीटार गैर सरकारी संस्थाहरुको नजरमा चढेको वस्ती हो । यो वस्तीमा आएर धेरैले कार्यक्रम चलाएका छन् । सावुन-पानीले हात धुन सिकाएका छन् । किन र कसरी वस्तीलाई खुला दिशा मुक्त क्षेत्र बनाउने ? बताएका छन् । गैससका हिसावले यो महत्वपूर्ण नमूना वस्ती बनिसकेको छ ।

गएको असारसम्म वस्तीमा सवारी आवागमनको सुविधा थिएन । त्यहाँ पुग्न तामाकोशीको एक लर्कन बगर हिँडेर झोलुंगे पुल तर्नुपर्दथ्यो । अहिले त तामाकोशीमा पुल बनेको छ । आवागमन सजिलो भएको छ । एक दुईवटा बस, टिप्पर र ट्रयाक्टर चल्न थालेका छन् । तर, वस्तीका मानिसको जीवन स्थीर छ । त्यसमा कुनै गति देखिएको छैन ।

गाउँमा नयाँ वर्षको कुनै चहल-पहल छैन । गाउँ प्रवेश गर्ने विन्दूमा रहेको चौतारीको चिया पसलमा केही मानिसहरु बसेका छन्, शिथिल । उनीहरुका आँखामा कुनै चमक छैन । शरीरमा जाँगर पनि देखिँदैन । उत्तर-दक्षिण लमतन्न तानिएको बगरको टुप्पादेखि नै जस्ताले बनेका छाप्राहरु देखिन्छन् । छाप्राका अगाडि रुल्लटुल्ल बसेका प्राणीहरु छन् । देखेर हृदय द्रवित हुन्छ ।

Ramechap Magitar story (8)

“ओहो, तपाईं त फेरि आउनुभएछ” चिया पसलमा बसेका निर्माण माझीले स्वागतका शब्दहरु बोले । आउनुभयो बडो राम्रो भो । नौ महिना अघि तपाईंले जस्तो देख्नुभएको थियो, त्यस्तै छ गाउँ । केही फरक छैन । गएको वर्षात जेनतेन बित्यो । अब अर्को वषर्ात कसरी बित्ने हो ? थाहा छैन ।”

रमाइलो कुरा, अंग्रेजी पढेका केटाकेटीहरुले छाप्रालाई कटेज भन्ने गरेका छन् । कटेज शब्द जहाँसुकैका भुईंचालो पीडित जनताको जिब्रामा चढेको छ ।

Ramechap Magitar story (7)

भुईंचालोले बस्तीका सबै घर ध्वस्त भएपछि मुगीटारका बासिन्दाहरु बस्ती छेउको खहरेको बगरमा कटेज बनाएर बसेका छन् । राहतमा पाएको त्रिपाल र जस्ताले अहिलेसम्म कटेजको इज्जत धानेको छ । जस्ताले बनेको “कटेज”मा गुजारा गर्नु कठिन छ । वर्षातमा खहरेमा बाढी आयो भने सबै छाप्रा बगाउँछ । चारैतिर खहरेले बगाएर ल्याएका ठूला ढुंगाहरु थुपि्रएका छन् । भाग्ने ठाउँसमेत छैन । गुजारा जेनतेन चलेको छ । जो भएको अन्नपात थन्क्याउने ठाउँ छैन ।

Nirman-majhi
निर्माण माझी

निर्माण माझी वस्तीका चेतनशील व्यक्तिका रुपमा चिनिन्छन् । तर, उनैले भुईंचालो पीडितले पाउने राहत पाएनन् । “माथि नगर पालिकामा नै केही गडबड भयो” उनी बताउँछन, “भुईंचालो पीडितको नामावली त्यहाँ पुग्दा कसैले टिपेक्स लगाएर मेरो नाम मेटिदियो । लालपूर्जा बाको नाममा थियो । राहतका लागि ९५ वर्षका अशक्त बाबुलाई बोकेर कता लैजानु ?”

नेपाली कांग्रेसका कार्यकर्ता भनेर चिनिएका निर्माणले राहत नपाउनु आफैंमा अनौठो कुरा थियो । यसमा उनकै पार्टी वा अरु पार्टीको स्थानीय राजनीति कति जिम्मेवार थियो भन्न सकिन्न ।

तर, राहतमा राम्रै राजनीति भएकोे छ भन्न कुनै द्विविधा मान्नुपर्दैन । पकरवासका पुष्कर कार्की भन्छन्, “बोल्नेको पीठो बिक्छ भन्थे, हो रहेछ । मेरो पनि नाम लेखाउन छुट भएको थियो । झगडा गरेर बल्ल-बल्ल एउटा कम्बल राहतमा पाएँ । छुटेको नाम लेखियो होला ।”

“घर कहिले बनाउने त अब ?” जुनुमायाँ वादीका लागि यो प्रश्न निकै पीडादायक बन्यो । उनका आँखामा आँशु टलपलाए ।

मुगीटारमा राहत नपाउने निर्माणमात्र होइनन् । सन्तबहादुर माझी र नरबहादुुर खडकाले पनि राहत पाएनन् । नागरिकता नभएकाले जनक सार्कीले पनि राहत पाएनन् । जनकले बताए, “बाबु मरेपछि आमा पोइला गइन् । काका अध्र्दपागल छन् । नागरिकतामा सनाखत गर्न परिवारका अरु कोही भएनन् । बस्ने घर छैन । काम नगरी खान पाउँदिन । मेरो हाल यही हो यी” उनका आँखामा आँशु टलपलाउँछन् ।

मुगीटारका विपन्न र किनारामा धकेलिएका माझीहरुको वीचमा भरत प्रसाईं सम्पन्न मानिन्छन् । बस्तीमा उनको प्रतिष्ठा छ । उनी पनि समुदायसँग मिलेर बसेका छन् । उनी भन्छन्, “आवश्यकता हुने पीडितले राहत पाएनन् । आवश्यकता नहुनेले तीन पटकसम्म राहत लिए । राहत वितरणमा भेदभाव र अन्याय भएको छ । तीन-तीन पटक पीडितहरुको नामावली संकलन गरेर पनि खास पीडितको पहिचान गरिएको छैन । छुटेका पीडितहरुको नाम संकलन गर्ने प्रवन्ध पनि मिलाइएको छैन ।”

Junimaya Majhi

“घर कहिले बनाउने त अब ?” जुनुमायाँ वादीका लागि यो प्रश्न निकै पीडादायक बन्यो । उनका आँखामा आँशु टलपलाए । उनी भत्किएको घरको ढुंगामाटो खोसि्रँदै थिइन् । एक आना जग्गामा बनेको उनको घर भत्किए पनि दुई-चार बोट खुर्सानी फल्ने आशाले उनी करेसावारी बनाउँदै थिइन् ।

आँशु पुछदै जुनुले बोलिन्, “खोइ, सरकारले घर बनाउन दुई लाख रुपैयाँ सहायता दिन्छ भन्ने सुनेकी हूँ । प्राविधिकहरु आएर कस्तो घर बनाउने भन्ने सिकाएर पनि गएका छन् । सरकारले दिएको त्यति पैसाले घर बन्दैन । यत्रो महंगी छ । सिमेन्ट, फलामका छड, काठ, ज्याला, दुई लाखले के होला र ? माघको अन्तिमतिर “न्यानो अभिवादन” भनेर १० हजार दिएका थिए । अब त्यो दुई लाख कहिले दिने हुन् ? कसरी दिने हुन् ? के भरोसा भयो र त्यसको ?”

मुगीटारका भत्किएका घरहरु धराप थापेजस्ता छन् । कुुनबेला कुन घर लड्छ र को घाइते हुन्छ भन्न सकिने अवस्था छैन । तर, सरकारले घर भत्काउन दिएको छैन । बिजुली माझी भन्छन, “हामीलाई घर भत्काउन पनि नदिने, घर बनाउन पैसा पनि नदिने । खै सरकारको के चाला हो यो ?”

मुगीटारकै ८१ वर्षीय खडगबहादुर माझीले राहतमा पाएको पैसा छाप्रो बनाउन खर्च गरे । उनी भन्छन, “भुईंचालो पीडितको उध्दारका लागि सरकारले जनशक्ति परिचालन गर्न सकेन । शक्ति जनतासँग हुन्छ भन्ने नै बुझेन सरकारले । खाली आफ्नो स्वार्थ पूरा गर्ने पार्टीका कार्यकर्ता परिचालित भए । ती पनि यतातिर आएको थाहा पाइएन । खोइ, घर कसरी बन्ला र ?”

Ramechap Magitar story (4)

निर्माण माझीको विचारमा, “मुगीटार वस्तीका वासिन्दालाई अन्यत्र बसाईं सार्नुपर्छ । यहाँ खेती किसानी गर्न पर्याप्त जग्गा-जमीन छैन । सबै एक आना, दुई आना जग्गा हुनेहरु नै छन् यहाँ । भत्केका घरहरु पुननिर्माण गरेर मात्र वस्ती गुलजार हुने पनि होइन । वरु, वस्ती नै सारेर अलिकति काम गर्ने वातावरण वन्यो भने मात्रै हाम्रो उन्नति होला । तामाकोशीको किनारमा माछा मारेर मात्रै त के विकास होला ?”

भुईंचालोले मुगीटारको भविष्य खोसेको छ । यहाँको वस्ती अन्यत्र सार्नु त्यति सहज देखिँदैन । न त, यहाँको वस्तीलाई पुनर्जीवन दिन सरकारले चासो राख्ने कुनै निकट सम्भावनाको कल्पना नै गर्न सकिन्छ ।

निर्माणको कुरा कसैले नकाटे पनि बस्ती नै उठेर जाने कल्पना कोही गर्न चाहँदैन । आफ्नो थातथलो छाडेर जानु नपरोस् भन्ने सबैको मनमा छ । नयाँ ठाउँमा गएर निर्वाहको बाटो खोज्नुभन्दा यही पूर्खाको थातथलोमा जीवन बिताउनु राम्रो हो भन्ने लागेको छ धेरैलाई । “घर बनाउन सकिएन भने गुजारा गर्ने त यही छाप्रोमा हो । खोइ छाडेर कता जानु र ?” जुनमाया भन्छिन् ।

अल्पसंख्यक र पछाडि परेको समुदायको वस्ती मुगीटारको वातावरण उराठलाग्दो छ । मानिसहरु पल पलमा भ्रमित हुन्छन् । सँधै हल्लाएजस्तो लाग्ने, अलिकति जोडले हावा चल्दा पनि तर्सिने र अलिकति धूलो उड्दा पनि निसास्सिने । यहाँका वासिन्दाको जीवन अशान्त बनेको छ । भुईंचालोले मुगीटारको भविष्य खोसेको छ । यहाँको वस्ती अन्यत्र सार्नु त्यति सहज देखिँदैन । न त, यहाँको वस्तीलाई पुनर्जीवन दिन सरकारले चासो राख्ने कुनै निकट सम्भावनाको कल्पना नै गर्न सकिन्छ ।

(झण्डै चार दशकदेखि नेपाली गाउँघरका समाचार लेख्दै आएका बरिष्ठ पत्रकार किशोर नेपालले ग्रामीण पत्रकारितामा विशिष्टता हासिल गरेका छन् । सशस्त्र द्वन्द्वका समयमा सामान्य जनताका आवाजलाई शक्तिको शीर्षस्थानमा स्थापित गर्ने उनको गाउँ केन्द्रित टेलिभिजन कार्यक्रम ‘मत-अभिमत’ नेपाली समाजमा अत्यधिक लोकप्रिय थियो। भुइँचालो पीडित क्षेत्रबाट  पत्रकार किशोर नेपालको ताजा रिपोर्टको यो पहिलो श्रृंखला हो ।)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment