Comments Add Comment

प्रचण्डले मधेससँग लभ परेको छ भन्नुभो, तर, बिहे ओलीसँग गर्नुभोः बाबुराम

Baburam-Bhattrai

८ वैशाख, रौतहट । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डमाथि मधेसलाई धोका दिएको आरोप लगाएका छन् ।

नयाँ शक्ति नेपालको मधेस जागरण अभियान अन्तर्गत गौरमा आयोजित कार्यक्रममा एमाओवादीका पूर्व नेता समेत रहेका भट्टराईले भने, ‘प्रचण्डजीले मधेससँग मेरो लभ परेको छ त भन्नु भो । तर, विवाह भने ओलीजी सँग नै गर्नु भो ।’

प्रचण्डसँग आफूले ४० वर्ष काम गर्दा पनि उनको व्यवहार स्वार्थी भएकोले छोडेर बाहिरिनु परेको उनले बताए । प्रचण्डको भनाइ र व्यवहारमा निकै फरक रहेको भन्दै नेता भट्टराईले भने, ‘प्रचण्डले स्वार्थपूर्तिका लागि कांग्रेस एमालेसँग गठवन्धन गर्ने सोच बनाएका कारण पनि सँगै बस्न सकिएन ।’

मधेसका पक्षमा आवाज उठाउँदा धेरैले आफूलाई भारतीयको ईशारामा चलेको आरोप लगाउने गरेको समेत उनले बताए । संविधान जारी हुँदा नै आफूले संविधान आधा भरिएको र आधा खाली गिलास जस्तो भएकोस्मरण गर्दै डा. भट्टराईले भने, ‘७५ वर्ष पछि लडेर ल्याएको सँविधान पनि सबैको साझा हुन सकेन ।’

नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले मधेसवादी दलहरुले अब आन्दोलन गर्दा सिंहदरवारमा नाकाबन्दी गर्नुपर्ने बताए । तराई मधेसमा पाँच महिना बढी आन्दोलन हुँदा सरकारले कुनै वास्ता नगरेका भन्दै उनले अबको आन्दोलन जनतालाई भन्दा सरकारलाई अनुभव हुने गरी गर्नु पर्ने बताए ।

उनले अब आन्दोलनको माग अनुसार संविधान संशाधन गर्न सरकारलाई बाध्य पार्न जरुरी रहेको बताए । उनले भने, ‘अबको आन्दोलन मधेसवादीले मात्रै होइन, थारु आदीवासी जनजाति समेत मिलेर गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment