Comments Add Comment

हजारौंले भरे ‘बान्नीकी चैतली’ मेला

Banni-ki-Chaitali-Mela-at-Bajhang
बान्नीकी चैतली मेला भर्न आएकाहरु । तस्वीर: शैलेन्द्र रोकाया

१० वैशाख, बझाङ । सुदूरपश्चिमको प्रसिद्ध तथा ऐतिहासिक मेला बान्नीकी चैतली मेलामा हजारौं श्रद्धालु तथा दर्शनार्थीहरु सहभागी भएका छन् । बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गर्न यस वर्ष १० हजारभन्दा बढी चैतली मेलामा आएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भै महिसासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको स्थानीय बताउँछन् ।
होली पूणिर्माको दिनबाट सुरु हुने यो मेला चैत शुक्ल पूणिर्मासम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी देविराज पन्डितले बताए ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको वध गरेको प्रतिकका रुपमा चैत औंसीका दिन काटेको कांकर (लिंगो)लाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा डुलाउने गरिन्छ । झण्डै २५ मिटर लामो कांकरलाई मानिसहरुले समातेर ३ सय मिटर जति डुलाउने गर्छन् ।  त्यसपछि उक्त कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको प्रतिक भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरु बीच भकुन्डो खेल्ने प्रचलन छ ।

Banni-ki-Chaitali-Mela-at-Bajhang-1

यसरी काकंर हिँडाएको र भकुन्डो खेलेको हेर्न बझाङ जिल्ला लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु कडेल गाविसको बान्नी चौरमा आउने गर्दछन् । राक्षसलाई मारीसकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औंलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ ।

चैतली मेला हेर्नकै लागि भनेर पाल्पा जिल्लाबाट बझाङ आएका विजय रेग्मीले आफूले कहिल्यै नदेखेको दृष्य चैतलीमा देखेको बताए । उनले भने, ‘त्यति ठूलो रुखलाई मान्छेले समातेर हिँडाएको आजसम्म देखेको थिएन । हेर्दा असाध्यै रमाइलो पनि लाग्यो । डर पनि लाग्यो ।’

Banni-ki-Chaitali-Mela-at-Bajhang-3

मेला हेर्न र प्रवर्द्धन गर्नका लागि यसपटक नेपाल पर्यटन बोर्डको एक टोली पनि बझाङ आएको छ । बोर्डका बरिष्ठ अधिकृत खड्कविक्रम शाहको नेतृत्वमा सुन्दर सुदूरपश्चिम पर्यटन विकास अभियानका अभियन्ता किसोर खड्का, पर्यटन व्यवसायीको छाता संगठन सोट्टो नेपालका अध्यक्ष यम खड्का र पत्रकारहरुको टोली चैतली पुगेको थियो ।

चैतली मेलामा बोर्डको सहभागीताले यहाँको सँस्कृति प्रवद्धन हुने र पर्यटकहरुको आगमन बढ्ने आफूहरुले आशा राखेको चैतली मेला व्यवस्थापन समितिका सदस्य मनोेज पण्डितले बताए । यस वर्ष झण्डै १० हजार भन्दा बढी दर्शनार्थीले चैतली मेला हेरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment