Comments Add Comment

सीमांकनमा थारुलाई केही अन्याय भयो: प्रचण्ड

'संविधान कागजको खोस्टो होइन'

prachanda११ वैशाख, दाङ ।  एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधान कागजको खोस्टो नभई नेपाली जनताको अधिकारको दस्तावेज भएको बताएका छन् । उनले संविधान निर्माणमा बेला थारुहरुलाई केही अन्याय भएको स्वीकार गरेका छन् ।

दाङको तुलसीपुरमा आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने-संविधानमा लेख्दैमा अधिकार पाइयो भनेर हिँडियो भने केही हुन्न, व्यवहारमा कार्यान्वयन भएन भने त्यो कागजको खोस्टो हुन्छ । ‘

उनले भने- ‘प्राप्त उपलब्धिलाई नलिइकन थप उपलब्धि गर्छु भन्नु मूर्खता हो, प्राप्त उपलब्धिको संस्थागत गर्दै थप अधिकारका लागि लड्नु नै वुुद्धिमानी हुने देखेर मैले संविधान निर्माणमा अग्रसरता लिएको हुँ।’

संघीयताको सीमांकन निर्धारण गर्दा थारु समुदायहरुको केही अन्यायमा परेको बताउँदै प्रचण्डले सीमांकनको विषयमा हेरफेर हुने जानकारी दिए ।

‘हिजो अघिल्लो संविधानसभामा माओवादी प्रमुख भूमिकामा रहेका बेला सबैको भावना समेट्ने गरी तयार पारिएको सीमांकनको खाकाको विरोध गर्ने साथीहरु अहिले आन्दोलनमा उग्ररुपमा अघि सर्नुभएको छ’-प्रचण्डले भने ‘नोकरशाह, दलाल र पश्चगामी शक्तिहरुले जनताको भावनामाथि खेलवाड गरेर चलखेल गर्न खोजेका छन्, यसको भण्डाफोर गर्न जरुरी छ ।’

तर, संविधान नबनेको भए मुलुुक गम्भीर खतरामा भासिने संकेत पाएपछि आफू जसरी भएपनि संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा उभिएको प्रचण्डले बताए । उनले असन्तुुष्टहरुको माग सम्वोधन गर्न छिट्टै संविधानको तेस्रो संशोधन गरिने बताए ।

‘संविधानको संशोधन मार्फत धेरै मागहरुको उचित संवोधन गरिएको छ, अब पनि संविधान संशोधन गरेर बाँकी माग पूरा गरिन्छ’-प्रचण्डले भने ‘राष्ट्रियता, भौगोलिक अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्ता बाहेक सबै विषयलाई संविधानले परिवर्तनीयरुपमा स्वीकारिसकेकाले आगामी दिनमा संविधान थप परिस्कृत हुँदै जान्छ ।’

मधेसी तथा थारुहरुको आन्दोलनमा केही शक्तिकेन्द्रहरुले नाजायज फाइदा लिन खोजेको उल्लेख गर्दै प्रचण्ड षडयन्त्रका विरुद्ध सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमलाई सम्वोधन गर्दै एमाओवादीका सचिव वर्षमान पुन ‘अनन्त’ ले संविधान जारीभएसँगै इतिहासले कोल्टे फेरेको बताए । उने अब जातीय र वर्गीयरुपमा पछि परेका समुदायको अधिकार प्राप्तिका लागि थप संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै एमाओवादीका स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ ले थारुहरुले अधिकार प्राप्तिका लागि ठूलो संघर्ष गरेको उल्लेख गर्दै अधिकार संस्थागत गर्न थप लडाई लड्नुपर्ने आवश्यकता औंल्याए ।

थारु मुक्ति मोर्चाका केन्द्रीय संयोजक सन्तकुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान संघ २००७ का महासचिव विष्णु चौधरी, मगर मुक्ति मोर्चाका भीमकुमारी बाठा मगर, मधेसी मुक्ति मोर्चाका  नन्दकिशोर यादव लगायतले बोलेका थिए ।

साउने थारुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रामकुुमारी चौधरीले गरेकी थिइन् ।

यसैवीच नेपाल वुद्धिजीवी संगठन दाङको जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारी शक्तिहरुबीच एकता आवश्यक भएको बताएका छन् । उनले एकताका लागि तत्काल केही माओवादी शक्तिहरुबीच एकीकरण हुने जानकारी दिए ।

केही नेताहरु पार्टीबाट बाहिरिँदा पार्टी कमजोर भएको जस्तो देखिएको उनले बताए । ‘बिरामी हुँदा उपचार गर्ने डाक्टर र वैद्य अहिले हाम्रो पार्टीभित्र हुनुहन्न, यसले मनोवैज्ञानिक रुपमा पार्टी कमजोर भएको प्रचार भएको छ’-प्रचण्डले भने-‘संगठनका हिसावले माओवादी कमजोर भए पनि नेतृत्व र एजेण्डाको आधारमा माओवादी एक नम्बरको पार्टी हो ।’

दुई वर्षभित्र संगठनको हिसाबले पनि पार्टीलाई एक नम्बरको बनाउने प्रचण्डले बताए ।

उद्योगपतिको गुनासो

यसैवीच तुलसीपुरस्थित उद्योग वाणिज्य संघका पदाधिकारीहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई जिल्लाको विकासका बारेमा  ६ बुँदे स्मरण पत्र पनि बुझाए छन् । उनीहरुले अध्यक्षलाई विकास प्रेमी नेताको संज्ञा दिँदै जिल्लाको विकासमा पहल गरिदिन आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment