+
+
Shares

छुट्टीमा घर आएका साधुरामलाई पाइला-पाइलामा हण्डर

ट्याक्सीदेखि फोटो स्टुडियोसम्मले यसरी ठग्छन् युवालाई

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७३ वैशाख १३ गते २०:१०

Thakeko(1)

१३ वैशाख काठमाडौं । लामो समयदेखि साउदी अरबमा श्रम गरिरहेका पाँचथरका साधुराम श्रेष्ठ तीन महिने छुट्टीमा नेपाल आएका छन् ।

तर, उनले काठमाडौं बसाईमा पाइला-पाइलामा ठगीको शिकार हुनुपरेको छ । सोल्टीमोडको एक खाजा पसलमा भेटिएका श्रेष्ठले भने, ‘लुट भन्ने फिल्ममा काठमाडौं गिद्धै गिद्धको शहर भन्छ नि, मलाई साँच्चै हो जस्तो लाग्यो ।’

गौशालाको एक गेष्ट हाउसमा बसेका उनलाई बेलुका ‘५ सय रुपैयाँ तिर्नुपर्छ’ भनेका थिए होटलवालाले । तर, बिहान होटल छाड्दा तीनै होटलबालाले १ हजार रुपैयाँ असुलेको उनले बताए । त्यहाँबाट श्रमको रि-इन्ट्रीका लागि उनी ताहाचल हिँडे ।

होटलबाट निस्किएर ट्याक्सी चढ्न खोजे । तर, कुनै ट्याक्सीवाला पनि मिटरमा चल्नै नमान्ने । ‘बल्ल-तल्ल बार्गेनिङ गरेर ७ सय रुपैयाँ तिरेर आएँ,’ श्रेष्ठले भने । अफिस टाइममा जाम हुने र चढ्ने मान्छेको पनि खाँचो नपर्ने भन्दै ट्याक्सी ड्राइभरले अप्ठेरो पारेपछि उनी भनेजति पैसा तिर्न वाध्य भएका थिए ।

‘बस चढेर किन जानुभएन ?’ भन्ने प्रश्नमा उनले भने- ‘सरकारी काम गर्न जान लागेको मान्छे, दुई मिनेट ढिला हुँदा काम भएन भने फँसिएन ?’

ट्याक्सीलाई अचाक्ली भाडा तिर्नुपरेकोमा खिन्न हुँदै उनी वैदेशिक रोजगार विभागमा पुगे । विभागको भवनमा नपुग्दै गेटैमा दलालहरुले उनलाई च्यापचुप समातेर ‘फारम भनुपर्छ’ भने ।

सुरुमा ‘म आफैं गर्छु’ भनेर टार्न खोजे पनि उनीहरुले पिछा छाडेनन् । श्रेष्ठले लामो लाइन र कर्मचारीको ढिलासुस्ती छल्न दलालहरुको सहारा लिने निर्णय गरे । ‘एकैछिनमा काम हुन्छ भनेर उनीहरुलाई १ हजार रुपैयाँ पनि दिएँ’ उनले भने-‘तर केको हुन्थ्यो । सबै ठाउँमा आफैं नगइ काम बन्दै बनेन ।’

बीमामा पनि दलाल

उनको ठगिने सिलसिला वैदेशिक रोजगार बीमाका नाममा पनि उनलाई लुटिएछ । ३५ सय रुपैयाँमा बीमा हुने भए पनि उनले दलालको विश्वासमा परेर ८ हजार रुपैयाँ बुझाएछन् ।

वैशाख १ गतेदेखि बीमाको प्रिमियम रकम बढेको उनले रेडियोमा सुनेका थिए । तर, कति बढेको भन्ने पत्तो थिएन ।

आफूबाट ४५ सयभन्दा बढी रकम बीमाकै नाममा ठगिएको कुरा उनले पछि रसिद हेरेर मात्रै थाहा पाए । त्यतिञ्जेलसम्म दलाल फरार भइसकेका थिए । ‘एकैपटक ४५ सय रुपैयाँ झ्वाम पारेपछि दलाल टाप ठोक्यो’ उनले भने, ‘बीमा गर्ने कर्मचारीकहाँ जाँदा उनले २१ सय मात्र लिएको कागज देखाए ।’

उनले अघि भने, ‘म त्यति लाटो पनि होइन । दुई पटक साउदी आउने-जाने गरिसकेँ । दशा लागेको हो कि काठमाडौंका ठग चिन्न नसकेको हो आफैंले बुझ्न सकेको छैन ।’

एकै दिनमा साढे ६ हजार रुपैयाँ ठगहरुलाई त्यतिकै बुझाएकोमा दिक्क मान्दै उनले भने, ‘अब पशुपतिलाई भेटी चढाएँ भन्ने सम्झिन्छु ।’

ठगका अनेक रुप

साधुराम एक प्रतिनिधि पात्र मात्र हुन् । बिदा सकेर फेरि विदेश फर्किने बेलामा श्रमको ‘रि-इन्ट्री’ गर्न आउँदा उनी जस्ता धेरै युवा काठमाडौं खाल्डोमा ठगिन्छन् ।

पहिलोपटक विदेश जानेले त झन् कति सास्ती भोग्नुपर्छ, लेखाजोखा नै छैन । पाइलैपिच्छे गाउँका सोझा युवाहरुलाई ठग्नेहरु अनेक व्यवसायको बिस्कुन फिजाएर बसेका छन् । विदेश पठाउने क्रममा म्यानपावरले गर्ने ठगीको पाटो त योभन्दा बिकराल छ ।

विदेश जाने क्रममा युवाहरु काठमाडौं छिरेदेखि नै अनेक बाहनामा ठगिन्छन् । अशिक्षित युवालाई त फुस्ल्याउन ठगहरुलाई खासै गाह्रो पर्दैन । तर, शिक्षित र सचेत युवालाई पनि अनेकन प्रलोभनमा पारेर ठग्ने क्रम बढ्दै गएको छ ।

सानोतिनो कागजात नमिलेको बहानामा कतिपय सरकारी कर्मचारीले नै युवाको खल्तिको शिकार गर्छन् । म्यानपावरले ठग्छन् भन्ने आम मानसिकताका बीच ठगहरुको सञ्जाल भने अनेक तवरले विस्तार भएका छन् । यिनीहरुमा फोटो स्टुडियो, फोटोकपी सेन्टर, बीमा एजेन्ट, सरकारी कर्मचारी र घुमेर खाने दलालसम्म हुन्छन् ।

फोटो स्टुडियोमा अर्जेन्ट फोटोको नााममा ठगी हुन्छ भने फोटोकपी सेन्टरमा लाइन छैन भन्ने बाहनामा । बीमा एजेन्ट जतिसक्दो धेरै रकम उम्काउँ भन्ने धुनमा हुन्छन् भने कतिपय सरकारी कर्मचारी फाइल अल्झाएर टेबलमुनीबाट कारोवार गर्न लालायित हुन्छन् ।

कसरी रोक्ने त ?

राज्यले आफ्नो निकाय र कार्य प्रणालीलाई व्यवस्थित नगर्दासम्म ठगिने क्रम नरोकिने जानकारहरु बताउँछन् ।

श्रम तथा रोजगार मन्त्रालयका वैदेशिक रोजगार विज्ञ मधुबिलास पण्डितले रि-इन्ट्रीका कामदारलाई ताहाचलमै बोलाउने चलन फेर्नुपर्ने बताए । उनी ताहाचलस्थित वैदेशिक रोजगार विभागका पूर्व प्रमुखसमेत हुन् ।

‘यो अति समान्य प्रक्रिया हो,’ उनी भन्छन्, ‘विदेशबाट फर्किँदा कामदारले उतैको कम्पनीबाट टिकटदेखि भिसासम्मका सबै प्रक्रिया पुरा गरेर आएको हुन्छ । त्यस्ता कामदारको विवरण राख्नकै लागि ताहाचलमा बोाउनुपर्छ भन्ने छैन ।’

श्रमको इजाजत प्रणालीलाई अनलाइन प्रणालीमा लगे यसखाले समस्या हल हुने तर्क उनको छ । पण्डितले रि-इन्ट्रीका लागि अब छुट्टै निकाय खडा गर्नुपर्ने बताए ।

विमानस्थलमा नै रि-इन्ट्री डेस्क राखेर त्यहीँबाट सबै प्रक्रिया पुरा गराउन सकिने भन्दै उनले त्यसका लागि श्रम स्वीकृति प्रक्रियालाई अनलाइन प्रणलीमा लैजानुपर्ने सुझाव दिए ।

‘न त्यो कामदारलाई ताहाचाल पुर्‍याएर राज्यले कुनै सुविधा दिएको छ, न उसले राज्यसँग केही माग्न नै पाउँछ,’ पण्डितले भने, ‘सामान्य समयभन्दा एक घण्टाअघि छिरेर विमानस्थलमै कामदारले रि-इन्ट्री गराउने व्यवस्था गर्नुपर्छ ।’

 

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?