Comments Add Comment

पेट्रोलः बजारमा फालाफाल, पम्पमा हाहाकार

no petrol
रौतहटको सडक किनारमा पेट्रोल बेच्न बसेकाहरु र पेट्रोल पम्पमा टाँगिएको सूचना

१४ वैशाख, रौतहट । रौतहटका पेट्रोल पम्पहरुको प्रभावकारी अनुगमन नहुँदा पेट्रोलियम पदार्थको कालोबजारी बढेको छ ।

रौतहटका पम्पहरुमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको देखिन्छ तर पम्प अगाडि नै बोतलमा राखेको खुल्ला पेट्रोल महंगो मूल्यमा किनबेच भइरहेको हुन्छ ।

एकसाता अघिदेखि जिल्लाका पम्पहरुमा पेट्रोल अभाव भएको हो । डिजल भने सबैजसो पम्पहरुले वितरण गरिरहेका छन् ।

रौतहट जिल्लामा ५१ वटा पेट्रोल पम्पहरु छन् । तिमध्ये २२ वटा पम्पले पेट्रोल समेत बिक्री गर्दै आएका छन् । तर, सदरमुकाम गौरमा रहेका चार पम्पसहित झुनखुनवा, सुकदेव चोक, जयनगर, गंगापिप्रा, शिवनगर, कटहरीया, झाँझपुल, गरुडा, सन्तपुर र चन्द्रनिगाहपुरका पेट्रोल पम्पहरुले तेल लुकाएर कालोबजारी गरिरहेका छन् ।

गौर-चन्द्रनिगाहपुर सडकखण्डमा पर्ने डेढ दर्जन पेट्रोल पम्पहरुले पेट्रोल नभएको सूचना टाँसेका छन् । तर तिनैले जर्किन तथा ठूला भाँडाहरुमा कालोबजारी गर्नेहरुलाई एक सय दश रुपैयाँको दरले पेट्रोल बेचिरहेका छन् । पम्प अगाडिकै सडकमा र पान पसलमा एक सय बीस रुपैयाँको दरले पेट्रोल सहजै किन्न पाइन्छ ।

‘चन्द्रनिगाहपुरदेखि गौरसम्म ४२ किलोमिटर सडकखण्डमा रहेका सबै पम्पमा खोज्दा पनि पेट्रोल पाइएन,’ सञ्चारकर्मी फणि महतले भने, ‘गौर आउनैपर्ने थियो, पम्पमा नपाएपछि पान पसलबाट महंगोमा तेल किन्नुपर्‍यो ।’

अनुगमन र निगरानी गर्नुपर्ने स्थानिय प्रशासनको उदासिनताका कारण पेट्रोलको कृत्रिम अभाव देखिएको हो । स्थानिय प्रशासनले समेत कुनै खोजिनिती नगरेपछि पम्प सञ्चालकहरुले पनि पेट्रोलको अभाव देखाइरहेका छन् ।

आयल निगमले बारा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा माग बमोजिमको पेट्रोल नदिएकाले वितरणमा समस्या देखिएको पम्प सञ्चालकहरुले बताएका छन् । खुल्ला रुपमा बोतलमा राखेर बिक्री गर्ने व्यापारीहरुले पम्पमा पेट्रोल आएको मौका छोपेर जर्किनमा लैजाने र महंगोमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् ।

तर यो कुरा स्वीकार्न पम्प सञ्चालकहरु तयार छैनन् । भारतबाट आएको धेरैजसो पेट्रोल नेपाल आयल निगमले काठमाडौं तथा पोखरा पठाएकाले तराईका जिल्लाहरुमा अभाव भएको उनीहरुको तर्क छ । ‘आयल निगमले आलोपालो प्रणालीमा पेट्रोल दिने गरेकाले अभाव देखिएको हो,’ रौतहट पेट्रोलियम बिक्रेता एसोसिएसन नेपालका अध्यक्ष महेश कुमार दासले भने ।

सबै जिल्लाहरुमा माग अनुसार वितरण गर्न पेट्रोल अपुग भएकाले जिल्ला जिल्लामा आलोपालो प्रणालीमा वितरण गर्न लागिएको आयल निगमको अमलेखगञ्ज डिपोका क्षेत्रीय प्रमुख चिलेन्द्र कार्कीले जानकारी दिए ।

खुल्ला रुपमा बिक्री भइरहेका पेट्रोलहरु नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताएका छन् । पेट्रोल वितरणमा पम्पहरुले बदमासी गरेको पाइएमा कारवाही गरिने समेत प्र्रजिअ बरालले बताए । पम्पहरुको अनुगमनका लागि समेत आफूहरुले तयारी गरिरहेको र पम्प सञ्चालकहरुलाई समेत सहज आपूर्तिका लागि निर्देशन दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment