Comments Add Comment

चियाको मूल्य नतोके इलामका किसान पलायन हुने खतरा !

Chiya-Bagan-Ilam

१५ वैशाख, इलाम । चिया खेतीमा अग्रणी स्थानमा रहेको पूर्वीपहाडी जिल्ला इलामका किसानहरुले चियाको उचित मूल्य नपाउँदा मर्कामा परेका छन् ।

किसानले चियाको मुल्य नपाएपछि यहाँका किसान र उद्योगीबीची द्वन्द्व चुलिन थालेको छ । सरकारले चियाको न्यूनतम समर्थन मूल्य नतोक्दा आफूहरु मर्कामा परेको इलामेली चिया उत्पादन सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

किसानको चिया उत्पादन लागत बढेको तर सो अनुसारको मुल्य नपाइएको सुवेदीले बताए । ‘साना किसानहरु आफैं चियाको प्रसोधन गर्न सक्ने अवस्थामा नभएकाले सबै उत्पादित चिया ठूला उद्योगीलाई बेच्न बाध्य छौं,’ उनले भने- ‘उद्योगीले मुल्य नै दिँदैनन्, जसले गर्दा यहाँका किसानहरु चियाखेतीबाट पलायन हुने अवस्था छ ।’

इलाममा ठूला बगान (टि स्टेट) र साना किसानले करिब २० हजार घरधुरी चिया खेतीमा संलग्न रहेको चिया तथा कफि क्षेत्र विकास कार्यक्रम इलामका प्रमुख रामएकल यादवले जानकारी दिए । इलाममा कूल ४८ हजार घरधुरी छन् । कूल चिया कृषकमध्ये ७ हजार साना किसान छन् ।

यादवका अनुसार इलाममा मात्रै ८ सय ५ हेक्टर क्षेत्रफलमा चिया खेती फैलिएको छ । इलामका वाषिर्करुपमा ४१ ल्ाख ४६ हजार २ सय ७२ किलो चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्ड इलामले जनाएको छ ।

दार्जीलिंगको चियासँग अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेका कारण किसानलाई राम्रो मूल्य दिन नसकिएको उद्योगीहरु बताउँछन् । त्यसैगरी किसानले उत्पादन गरेको चियापत्ती अन्तराष्ट्रिय बजारमा गुणस्तरीय नभएको उद्योगीहरुको गुनासो छ ।

‘कोलकत्तामा दार्जीलिङको अर्थोडक्स चियाको मुल्य प्रतिकिलो २ हजार रुपैयाँ हुँदा नेपाली उद्योगीले उत्पादन गरेको चियालाई प्रतिकिलो ७/८ सय रुपैयाँ मात्रै दिइन्छ,’ मेची भ्याली चिया उद्योगका सञ्चालक विकेश प्रधानले भने ।

इलामको चियालाई भारतका कम्पनीले थोरै मूल्यमा किनेर आफ्नो ब्राण्डमा महंंगोमा बेच्ने उनले गुनासो गरे ।

वैशाख महिनामै उद्योगी र किसानबीच वृहत्त अन्तक्रिया गरी सरकारले चियाको न्यूनतम समर्थन मूल्य तोक्न पहल थाल्ने चिया तथा कफि विकास कार्यक्रम इलामका आयोजना प्रमुख यादवले बताए ।

किसानको आर्थिक सम्वृद्धिका लागि निकै महत्वपूर्ण मानिएको चिया खेतीबाट इलामका किसानहरु निराश भएको किसानहरुको भनाइ छ  । इलामले चियाबाट मात्रै मोटो रकम वैदेशिक मुद्रा आय आर्जन गर्दै आएको छ । तर, किसानले भने मूल्य नपाएको हुन् ।

अर्थोडक्स चियाको हरियो पत्तिमा उद्योगीले किसानलाई अधिकतम प्रतिकिलो ५३ रुपैयाँदेखि न्यूनतम ४० रुपैयाँसम्म दिँदै आएका छन् । उक्त चिया उत्पादनका लागि मल, गोडमेल, काँटछाँट, सिँचाइ, उपचार, ढुवानी बाहेक टिप्न मात्र प्रतिकिलो २० रुपैयाँभन्दा बढी लाग्ने किसानहरुले गुनासो छ ।

इलामका अधिकांश किसानले अर्थोडक्स चिया उत्पादन गर्दै आएका छन् । बजारमा भाउ राम्रो नभएकाले लागत मूल्य उठ्न कठिन भएको स्थानीय किसान पासाङ शेर्पाले गुनासो गरे । ‘यहाँका किसानहरु बगानमा रहेको चिया टिप्नेकी नटिप्ने दोधारमा छन्,’ शेर्पाले भने ।

लागत कटाएर मुस्किलले १५ प्रतिशत नाफा हुने उनको भनाइ छ । ‘नाफा त्यति थोरै हुन्छ, त्यै पनि चियामा बाँझी पर्दा यो खेतीबाट हातमुख जोड्नै कठिन छ,’ उनले भने ।

चिया टिप्ने मजदुरलाई दैनिक ज्याला करिब २ सय रुपैयाँ दिनुपर्ने र उनहीरुले ७/८ किलो मात्रै अग्र्यानिक चिया टिप्ने उनले सुनाए ।

चिया तथा कफी विकास बोर्डको सम्वनयमा झापामा सीटीसी चियाको न्यूनतम मूल्य तोकेको भए पनि इलाममा अर्थोडक्स चियाको मूल्य निर्धारण नहुँदा समस्या बल्झिएको हो ।

उद्योगीले चियापत्तिको मूल्य नदिएपछि स्थानीय किसानहरुले भने सहकारीमार्फत आफैं चिया प्रशोधन कारखाना खोल्ने तयारी गरिरहेको इलामेली सहकारीका अध्यक्ष सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment