Comments Add Comment

पश्चिम बंगालमा कम्युनिष्ट र कांग्रेसको ‘दोस्ती’

Rahul-Gandhi-and-Buddhadeb-Bhattacharya
कांग्रेस नेता राहुल गान्धी र कम्युनिष्ट नेता एवं पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य

१६ वैशाख, काठमाडौं । नेपालसँग सीमाना जोडिएको भारतको पश्चिम बंगालसहित पाँच राज्यमा यतिबेला विधानसभा चुनावको सरगर्मी बढिरहेको छ । यसक्रममा भारतीय कम्युनिष्टहरु दुईवटा राज्यमा आफ्नो गुमेको सत्ता फर्काउने रणनीतिमा छन् ।

बुधबार कोलकातामा कांग्रेस नेता राहुल गान्धी र कम्युनिष्ट नेता एवं पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य एउटै मञ्चमा देखिए । यो दृश्यले बंगालमा मात्रै होइन, दिल्लीमा पनि तरंग ल्याएको छ । पश्चिम बंगालको चुनावमा कांग्रेस र कम्युनिष्टवीच तालमेल भएको छ ।

कोलकाताको पार्क सर्कस मैदानमा आयोजित सभामा एकसाथ देखा परेका गान्धी र भट्टाचार्यले जारी विधानसभा चुनावबाट ममता बेनर्जीको तृणमूल कांग्रेसलाई ‘उखेलेर फालिदिने’ घोषणा गरे ।

जनसभालाई सम्बोधन गर्दै कांग्रेस आइका उपाध्यक्ष गान्धीले ममताको सरकारमाथि भ्रष्टाचारको आरोप लगाए । उनले शारदा घोटालामा जनताको पैसा लुटिएको, शारदादेखि नारदासम्म नेताहरुले पैसा खाएको र बेनर्जी महिला मुख्यमन्त्री भए पनि महिलामाथि हुने अपराधमा कमी नआएको आरोप लगाए ।

त्यस्तै फ्लाइओभर निर्माणमा भ्रष्टाचार भएकैले सो भत्कँदा कैयौं मानिसले ज्यान गुमाउनुपरेको राहुलले आरोप लगाए ।

संयुक्त सभामा राहुल गान्धी पुग्नुअगावै पश्चिम बंगालका पूर्वमुख्यमन्त्री भट्टाचार्य पुगिसकेका थिए । त्यहाँ वाम-कांग्रेस गठबन्धनका अन्य नेताहरु पनि थिए । गान्धी र भट्टाचार्यलाई खादा पहिर्‍याएर स्वागत गर्दा धेरैले अनौठो माने । यो दृश्यलाई भारतका सबै मिडियाले महत्वका साथ ‘कभरेज’ गरे ।

कम्युनिष्ट नेता भट्टाचार्यले बंगालबाट तृणमूललाई हटाउनकै लागि वाममोर्चा र कांग्रेस एउटै मञ्चमा उभिएको स्पष्टीकरण दिए । उनले तृणमूललाई हराउनु भनेको भाजपालाई हराउनु हो भन्ने तर्क गरे ।

बिहारको विधानसभामा कुल २९४ सीट छन् । ६ चरणमा हुने विधानसभाको चुनावको चौथो चरण सकिइसकेको छ । बाम-कांग्रेस गठबन्धन ममताको पार्टीलाई हराएर सत्ता हत्याउने रणनीतिमा लागेका छन् । अघिल्लो चुनावमा एकसीट पनि नजितेको बिजेपी पश्चिम बंगालमा खाता खोल्ने रणनीतिमा छ ।

सन् २०११ को चुनावमा ममताको तृणमूल कांग्रेसले पश्चिम बंगालमा १८४ सीट जितेर सरकार चलाएको थियो । पूर्वसत्तारुढ वाम पार्टीले ६२ सीट जितेको थियो । कांग्रेस आइले ४२ सीट जितेको थियो । अहिले यी दुबै दलहरु क्षेत्रीय पार्टीविरुद्ध एक भएर चुनावमा होमिएका छन् ।

गत चुनावमा पश्चिम बंगालमा बीजेपीको शून्य सीट थियो । तर, पछि उपनिर्वाचनमा उसले एक सीट पाएको थियो । प्रमुख तीन दलबाहेक पश्चिम बंगालमा अन्य पार्टीहरुको खासै धेरै सीट छैन । गत चुनावमा अन्य दलहरुले ६ सीटमात्रै जितेका थिए ।

विभिन्न भारतीय सर्वेक्षणले यसपटक ममताको पार्टीको केही जनमत खस्किने अनुमान लगाएका छन् । स्थानीय चुनावलाई समेत आधार मानेर वाममोर्चाले केही सीट बढाउने अनुमान गरिएको छ । पश्चिम बंगालमा तीन दशकसम्म एकलौटीरुपमा सरकार चलाएको कम्युनिष्ट पार्टी एक्लैले ममतासँग प्रतिस्पर्धा गर्न नसकेपछि कांग्रेस आइको सहारा लिएको छ । बिहारमा जस्तै बीजेपीलाई रोक्न दुईधारका पार्टीहरु आपसमा मिलेका थिए, पश्चिम बंगालमा पनि क्षेत्रीय दललाई रोक्न वाम-कांग्रेस गठबन्धन गरिएको छ ।

तर, सर्वेक्षणहरुले वाममोर्चाको केही बढ्दो जनमत र तृणमूलको घट्दो स्थिति देखिएता पनि वाम-कांग्रेस गठबन्धनले बहुमत ल्याउनु चुनौतीपूर्ण रहेको देखाएका छन् ।

भारतीय सञ्चार माध्यममा आएका विश्लेषणहरुका आधारमा भन्दा वाम-कांग्रेसले बहुमत ल्याउन पश्चिम बंगालमा कुनै करिश्मा नै हुनुपर्छ । तर, गत स्थानीय चुनावले भने वामपन्थीको पुनरोदयको संकेत गरेको छ ।

ममता र मोदीको बिग्रँदो सम्बन्ध

Modi-ana-Mamata-Benarjiपश्चिम बंगालकी मुख्यमन्त्री ममता र भारतीय सत्तारुढ पार्टी बीजेपीवीचको सम्बन्ध पनि यसपालि अरु चिसिएको छ । ममताले आफ्ना भाषणहरुमा गोर्खाल्याण्डको कुरा उठाउँदै भन्ने गरेकी छिन् कि गोर्खाल्याण्डलाई भड्काउने काममा बीजेपी लागिपरेको छ ।

उता दार्जीलिङ लगायतका पहाडमा रहेका नेपाली समुदायले भने विगतदेखि नै कांग्रेस आइ र वामपन्थीहरु भन्दा बीजेपीलाई नै बढ्दा सहानूभुति र मत दिँदै आएका छन् । ममता र गोर्खालीवीचको सम्बन्ध सुमधुर छैन ।

पश्चिम बंगाल राज्यअन्तरगत सिलिगुडी, डुबर्स र नक्सलबारी क्षेत्रमा नेपाली मूलको बसोबास रहेकाले यसले पनि चुनावी नतिजामा ममताको पार्टीलाई नकारात्मक असर पार्न सक्छ ।

केरलमा कांग्रेस र कम्युनिष्टवीच हानाथाप

भारतको राष्ट्रिय राजनीतिमा लगभग पत्तासाफको अवस्थामा पुगेको कांग्रेस आइका लागि असम र केरल दुबै राज्यमा आफ्नो सरकारको अस्थित्व कायम राख्नुपर्ने चुनौती छ ।

तर, केरल पनि वामपन्थीहरुका लागि एउटा त्यस्तो राज्य हो, जहाँ उसले पश्चिम बंगालमा जस्तै गुमेको सत्ता फर्काउनुपर्नेछ ।

कांग्रेसले गठबन्धन सत्ता जोगाउन खोज्ने र कम्युनिष्टले आफ्नो सरकार फर्काउन खोज्ने तानातानमा परेको छ केरलको विधानसभा चुनाव ।

कुल १४० सीट रहेको केरल विधानसभामा सन् २०११ को चुनावमा कांग्रेस गठबन्धनले ७२ सीटसहित बहुमत पाएको थियो । वाम गठबन्धनको ६८ सीट थियो । यसपटक वाम गठबन्धनको ८९ सीटसम्म आउन सक्ने दाबी गरिएको छ भने कांग्रेस गठबन्धन ४९ सीटको हाराहारीमा खुम्चने दाबी गरिएको छ ।

दिल्ली र बिहारमा नराम्रो पराजय भोगेको बीजेपीले यसपटक केरल र तमिलनाडूमा खाता खोल्ने रणीनिति लिएको छ । केरलमा बीजेपीले एक सीट ल्याएर खाता खोल्न सक्ने विभिन्न सर्वेक्षणहरुको दाबी छ ।

हाल निर्वाचनमा होमिएका भारतका पूर्वोत्तर पाँच राज्यमध्ये  १२६ सीट रहेको असममा क्षेत्रीय दलहरुसँग मिलेर सरकारमा पुग्ने रणनीतिमा छ बीजेपी, जुन कांग्रेस आइका लागि निकै ठूलो क्षति ठहरिन सक्छ ।

तमिलनाडू, जहाँको विधानसभामा २३४ सीट छन्, मा क्षेत्रीय पार्टीहरुका अगाडि राष्ट्रिय पार्टीको अवस्था निकै कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment