१७ वैशाख, काठमाडौं । आउटलाइन रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीले शैक्षिक संस्थाहरुलाई लक्षित गर्दै ‘नोटिफ्लाई’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।
यो एप्लिकेसनले स्कुल तथा कलेजका सन्देशहरु आफ्ना विद्यार्थी तथा अविभावकलाई पुर्याउन मद्दत गर्छ । यसले स्कुल तथा कलेजहरुको समय र खर्च समेत घटाउने विश्वास गरिएको छ ।
अहिले स्कुल कलेजहरुले फोन वा एसएमएस गरेर विद्यार्थीलाई सूचना प्रवाह गर्दै आएका छन् । यो प्रकृया निकै झण्झटिलो र खर्चिलो हुने गरेको छ । नोटिफ्लाई एप्समार्फत सहजै निःशुल्क सूचना प्रवाह गर्न सकिने बताइएको छ ।
यो एप्सबाट क्यालेन्डर इभेन्ट, एटेन्डेन्स, टाइम टेवल, रिजल्ट, नोटिस, फि रिमाइन्डर, यातायात, होमवर्क, लाइब्रेरी, खाजा, न्यूजलेटर लगायतका सुचनाहरु विद्यार्थी तथा अविभावक प्रवाह गर्न सकिन्छ ।
यो एप्लिकेसन स्कुल, कलेज, विद्यार्थी र अविभावकका लागि उत्तिकै लाभदायक रहेको दाबी गरिएको छ । स्कुल कलेजका सूचनाहरु माउस क्लिक गर्ने वित्तिकै विद्यार्थी वा अविभावकको मोबाइलमा पुग्नेछन् । यसका लागि मोबाइलमा नोटिफ्लाई एप्स भने डाउनलोड गर्नुपर्ने हुन्छ ।
स्कुल कलेजले नोटिफ्लाई एप्सको प्रयोग गर्न चाहेमा कम्पनीले सफ्टवेर निःशुल्क जडान गरिदिने भएको छ । सेवा प्रदान गरेवापत कम्पनीले सर्भिस, ट्रेनिङ, टेलिफोन सपोर्टको मात्र पैसा लिन्छ ।
यो एप्लिकेसन प्रयोग गर्नका लागि कम्पनीले भिन्दा भिन्दै शुल्क तोकेको छ । प्रतिस्कुल एक वर्षका लागि १० हजार रुपैयाँ, दुई वर्षका लागि १६ हजार र तीन वर्षका लागि सेवा लिएमा २० हजार रुपैयाँ पर्ने कम्पनीले बताएको छ । यदि कसैले एप्स टेष्ट गर्न चाहेमा दुई हजार र प्रतिव्यक्ति २५ रुपैयाँ लिने कम्पनीको भनाइ छ ।
कम्पनीले स्कुल कलेजका सम्पूर्ण डाटाहरु सुरक्षित रहने दाबी समेत गरेको छ । बैंकमा राखेको पैसा जसरी सुरक्षित रहन्छ, त्यसरी नै स्कुल कलेजका डाटाहरु सुरक्षित हुने कम्पनी बताउँछ ।
कम्पनीले मे ६ तारिखदेखि हरेक शुक्रबार नोटिफ्लाई एप्सको बारेमा तालिम समेत प्रदान गर्ने जनाएको छ ।
प्रतिक्रिया 4