+
+
Shares

जेलका ‘नाइके’ को सरुवामा पनि यस्तो चलखेल !

भीमफेदी कारागारका चौकीदार जेलरभन्दा शक्तिशाली ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते १६:१०

Jail Logo१९ वैशाख, काठमाडौं । सरुवाको राजनीतिले सिंहदरबार मात्रै होइन, अपराधीहरुलाई थुन्ने जेलभित्र पनि चलखेल र राजनीति हुन थालेको छ । ४६९ जना बन्दीहरु रहेको मकवानपुरको भीमफेदी कारागारका नाइके लक्ष्मण पौडेलको सरुवाविरुद्ध त्यहाँका बन्दीले तीन दिनदेखि तालाबन्दी गरेका छन् ।

मकवानपुरको कारागारका बन्दी रमेश सिग्देलले अनलाइनखबरसँग भने- ‘हामीले तीन दिनदेखि कारागारको भित्रपटि्टबाट ताला लगाएका छौं, रिहा हुने समय भएका बन्दीहरु पनि जेलमुक्त हुन पाएका छैनन् औषधोपचार गर्नेहरु पनि तालाबन्दीका कारण बाहिर जान पाएका छैनन् ।’

अनि जेलभित्रै किन यसरी तालाबन्दी गरेको त ? यो प्रश्नमा सिग्देलले भने- ‘हाम्रा चौकीदार लक्ष्मण पौडेललाई यहाँबाट सरुवा गरेर कारागार विभागले नख्खु लैजान लागेको छ, उहाँसहित पाँच जनालाई सरुवा गर्न लागिएको छ, यो सरुवा नरोकिएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’

भीमफेदीमा अपराध फस्टायो: कारागार प्रशासन
कारागार प्रशासनले भने भीमफेदी कारागारभित्रैबाट आपराधिक क्रियाकलाप मौलाएको दाबी गरेको छ । कारागारका नाइके लक्ष्मण पौडेललगायतका केही व्यक्तिले जेलभित्रै बसेर विभिन्न आपराधिक गतिविधिमा बाहिरसमेत मानिसहरु परिचालन गर्ने गरेको र शान्ति सुरक्षामा असर पुर्‍याएकै कारण उनीहरुलाई त्यहाँबाट सार्ने निश्कर्ष निकालेको स्रोतको भनाइ छ ।

विभागले केही समयअघि दीपक न्यौपानेको नेतृत्वमा एउटा टोली भीमफेदी कारागारको निरीक्षणमा पठाएको थियो । सो टोलीले पनि भीमफेदी कारागारबाट आपराधिक कार्य भइरहेको प्रतिवेदन विभागलाई दिएको थियो । सोही आधारमा त्यहाँका नाइकेलाई सार्न खोजिएको विभाग स्रोतको भनाइ छ ।

जेलरभन्दा शक्तिशाली नाइके

ज्यान मारेको अभियोगमा जेल सजायँ कटाइरहेको चौकिदार लक्ष्मण पौडेलले क्षेत्रीय कारागार भीमफेदीका जेलरलाई आर्थिक प्रलोभनमा पारेर आफ्नो प्रभावमा लिई आपराधिक धन्दा चलाइरहेको स्रोतको आरोप छ ।

गत वर्ष पनि पौडेललाई भीमफेदीबाट सार्न खोजिएको थियो, तर कारागार विभागले अहिलेसम्म उनलाई त्यहाँबाट सरुवा गर्न सकेको छैन ।

लक्ष्मणले  लामो समय भीमफेदीमा बसेर आपराधिक गतिविधि बढाएकाले उनको ‘नेक्सस’ टुटाउनकै लागि अन्यत्र सामर्न लागिएको कारागार प्रशासनले अनलाइनखबरलाई बतायो ।

‘चाइनिज’को नामलिँदै तालाबन्दी

हाल धुलीखेल कारागारमा रहेका रमेश लामा ‘चाइनिज’ लाई भीमफेदीमा नाइके बनाएर सुरुवा गर्नका लागि कारागार विभागले पौडेललाई नख्खु पठाउन लागेको पौडेलका समर्थक सिग्देलले दाबी गरे । उनले भने- ‘राजधानीमा अष्ट्रिजको मासु पाइने एउटा रेष्टुरेन्टमा बसेर सरुवाका लागि पैसाको लेनदेनसमेत भएको हामीले सुनेका छौं, यसबारे कारागार विभागका हाकिममाथि छानविन होस् ।’

पैसा खाएर कारागार व्यवस्था विभागका हाकिमले चाइनिजलाई भीमफेदी सुरुवा मिलाउन खोजेको भन्दै आफूहरुले अख्तियारमासमेत विभागका महानिर्देशक हिमनाथ दवाडीविरुद्ध निवेदन दिइसकेको सिग्देलले बताए । उनले भने- ‘तर अख्तियारको टोली जेलमा आइनपुग्दै लक्ष्मण लगायत ५ जनालाई नख्खु सरुवा गर्न खोजियो ।’

को हुन् चाइनिज ?

स्रोतका अनुसार चाइनिज नामले चिनिने रमेश लामा सुरुमा अपहरण लगायतका केसमा जेल परेका थिए । पछि उनी लागू औषधमा थुनिएका छन् । लामालाई केही महिना भीमफेदी राखिएको थियो, तर उनी पुराना नाइके पौडेलका अगाडि टिक्न सकेनन् । त्यहाँबाट केही समय धादिङ जेलमा सरुवा गरियो । उनी केही समय केन्द्रीय कारागारमा पनि बसे ।

धादिङबाट लामाले डिल्लीबजार जान चाहेका थिए । तर, त्यहाँ गडबडी गर्न सक्ने भन्दै उनलाई उपत्यकाका कुनै पनि जेलमा राख्न प्रशासनले नदिएको स्रोत बताउँछ । धादिङबाट उनी धुलीखेल पुगेका छन् ।

गत साल सुन्धारास्थित केन्द्रीय कारागारमा बस्दा लामाले कैदीबन्दीमाथि गुण्डागर्दी गरेर दुःख दिएको भन्दै बन्दीहरुले विभिन्न निकायमा उजुरी दिएका थिए । उनको समूहले जेलभित्रै लागू औषधको धन्दा चलाएको भेटिएपछि उनलाई उपत्यकाबाट बाहिर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?