१९ वैशाख, काठमाडौं । व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महत्वपूर्ण भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवासँग आज नेविसंघका अध्यक्ष रञ्जित कर्णले देउवा निवास बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको जानकारी दिए ।
सभासद पनि रहेका कर्णलाई बोलाएर संघको महाधिवेशनको तयारीबारे नेता देउवाले जानकारी लिएका हुन् ।
नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले संघको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिएको भेटमा सहभागी संघका नेता ऋषिकेशजङ्ग शाहले जानकारी दिए ।
यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् ।
अबको १० दिनभित्र संघको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मितिका बारेमा निश्चित गरिने कर्णले जानकारी गराए ।
सभापति देउवाले आजै संघ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा. प्रकाशशरण महतलाई दिएका छन् । यसअघि सो जिम्मेवारी तत्कालीन महामन्त्री प्रकाशमान सिंहले सम्हालेका थिए ।
पार्टीको महत्वपूर्ण भ्रातृ संस्था नेविसंघको महाधिवेशन नौ वर्षदेखि हुन नसक्दा पार्टीको युवा वर्गमा ठूलो असन्तोष बढेको छ । रासस
प्रतिक्रिया 4