Comments Add Comment

आचारसंहिता उल्लङ्घन गर्नेमाथि प्रेस काउन्सिल कठोररुपमा प्रस्तुत हुन्छ

चितवनमा भइरहेको नेपाल पत्रकार महासंघको साधारण सभाको प्रेस काउन्सिल नेपालका तर्फवाट पूर्ण सफलताको कामना गर्दछु । साथै यो साधारण सभालाई सफल वनाउन उत्साहपूर्वक भेला हुनुभएका सम्पूर्ण पत्रकारहरुलाई प्रेस काउन्सिल नेपालको तर्फवाट बधाई तथा शुभकामना दिन चाहन्छु ।

Borna-Bahadur-Karki,-Press-Council-Nepalचितवनमा नेपाल पत्रकार महासंघको साधारण सभा यस्तो महत्वपूर्ण र संवेदनशील घडीमा भइरहेको छ, जतिवेला सिङ्गो मुलुकले कठीन र जटिल संक्रमणकालीन स्थितिवाट मुक्ती पाउने आशाका किरणहरु क्षितिजमा देखा पर्न थालेका छन् ।

बुद्धिमतापूर्ण तरीकाले सवै नेपाली एकजुट भै अघि वढ्न सकियो भने मुलुक र जनताले भोगिरहेको पीडादायी संक्रमणकालको अन्त्य मात्र हुने छैन, मुलुकले अभूतपूर्व दिशा र गति लिने सम्भावना पनि प्रवल छ । साथै वर्तमान अनुकूलतालाई होशियारीपूर्वक सदुपयोग गर्न सकिएन भने अकल्पनीय संकटमा मूलुक फस्न सक्ने भय पनि त्यति नै छ ।

यतिबेला संकटबाट मुलुक र जनतालाई मोचन गर्न सञ्चारमाध्यम र पत्रकारहरुले खेल्ने भूमिका निणर्ायक र महत्वपूर्ण रहेको जिम्मेवारीबोध गर्न सम्पूर्ण नेपाली मिडिया र पत्रकारहरुलाई प्रेस काउन्सिलका तर्फवाट अपिल गर्दछु ।

यहाँहरु सवै मिडियाकर्मी साथीहरुलाई थाहा छ, जतिवेला मुलुक संक्रमणकालीन अवस्थामा हुन्छ, त्यतिवेला मुलुकको राजनीति अस्थिर र राज्यका निकायहरु किंकर्तव्यबिमुढको अवस्थामा हुन्छन् । यस्तो विशिष्ट परिस्थितिमा राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले जिम्मेवारी र उत्तरदायी भूमिका निभाउनुपर्ने हुन्छ । यसतर्फ नेपाली मिडिया सचेत र सजग रहेको कुरामा प्रेस काउन्सिल नेपाल पूर्ण आश्वस्त छ ।

विगतका संक्रमणकालीन दिनहरुमा जातीय, क्षेत्रीय र राजनीतिक दलहरु वीचको अन्तरद्वन्द्वलाई चर्काएर नयाँ संविधान निर्माणमा अवरोध खडा गरी अन्यौल र अनिश्चिततामा मुलुकलाई फसाएर आन्दोलनका उपलव्धीहरुलाई संस्थागत हुन नदिने देशी-विदेशी तत्वहरुको षडयन्त्रका विषयमा तपाईँहरु विज्ञ नै हुनुहुन्छ । नयाँ संविधानलाई निर्माण हुन नसक्दा मुलुक असफल राष्ट्रतर्फ उन्मुख हुने दूरदृष्टि र पत्रकारिता व्यवसाय देश र जनताको लागि हो भन्ने कर्तव्य बोध गरी षडयन्त्रलाई असफल गराउन नेपाली मिडियाले खेलेको भूमिका उल्लेखनीय र प्रशंसनीय छ ।

प्रतिकूलतालाई चिर्दै अनुकूलतालाई सदुपयोग गरेकै कारणले नयाँ संविधान जारी भई कार्यान्वयनको चरणमा छ । हिजो संविधान जारी हुन नदिने कसरतमा लागेका तत्वहरु अर्को कोणवाट मुलुक र जनतामाथि प्रहार गर्दै अस्थिरता र अराजकता मच्चाउने दुस्प्रयास गर्न थालेका छन् । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भावमा खलल पुर्‍याउने उनीहरुले गर्दै आएका गतिविधि यसका उदाहरण हुन् ।

कुनै पनि देशको राष्ट्रियता र सामाजिक सद्भाव त्यो देशको मूल जग हुन्छ र यसलाई आँखाको नानी र्झ}{बचाउनु त्यो देशको नागरिकको प्रथम कर्तव्य हुन्छ । जिम्मेवार, उत्तरदायी सचेत नागरिकद्वारा गरिने पत्रकारिता व्यवसायवाट मुलुकको राष्ट्रियता र सामाजिक सद्भाव बचाउनमा महत्वपूर्ण र निणर्ायक भूमिका हुन्छ । यस्तो आफ्नो कर्तव्यलाई अझ सशक्त र प्रभावकारी बनाउनेतर्फ नेपाली सञ्चारमाध्यम र पत्रकारहरुको ध्यान केन्दि्रत हुन आवश्यक छ ।

दक्षिणपूर्वी एशियामा नेपाली सञ्चारमाध्यम र पत्रकारहरुले निभाएको भूमिका अग्र्रस्थानमा छ । मुलुकमा सञ्चालित ब्यवसायमध्ये मुलुक र जनताका लागि अति सहयोगी पत्रकारिता व्यवसाय बन्ने प्रवल सम्भावना छ । पत्रकारिता व्यवसायका समस्याहरुलाई समाधान गर्दै अघि बढ्न सकियो भने यो सम्भावनाले मूर्तरुप लिनेछ ।

संख्यात्मक रुपमा सञ्चार माध्यम र पत्रकारहरुको संख्या जति अभिवृद्धि भएको छ, त्यति गुणस्तर विकास हुन सकेको छैन । परिवर्तित परिस्थितिमा स्पष्ट लक्ष्य नेपाली पत्रकारिता ब्यवसायले निर्धारण गर्न नसक्दा मिसन पत्रकारिता व्यवसायिक पत्रकारितामा रुपान्तरण हुन सकेको छैन । साना लगानीका पत्रकार आफैंले सञ्चालन गरेका,  मोफसलका सञ्चारमाध्यम र पत्रकारको स्थिति आर्थिक रुपले मात्र होइन, गुणस्तरको दृष्टिले पनि कमजोर छ । यस्ता सञ्चारमाध्यमहरुलाई दीगो, टिकाऊ र प्रभावकारी बनाउन सकेमात्र नेपाली मिडियाले गरेको विकासलाई बचाउन अघि बढाउन सकिनेछ ।

त्यसैगरी पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाको समस्या, जनजाति, मधेशी, महिला तथा पिछडावर्ग क्षेत्र तथा समुदायको समाचार र न्युज रुममा समावेशीताको अभाव आदि नेपाली पत्रकारिता क्षेत्रका उल्लेखनीय समस्याहरु हुन् । यी समस्याहरु समाधान गर्दै पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्यका साथ मिडियाका लगानीकर्ता, सरकार र पत्रकारहरुसंग हातमा हात मिलाएर अघि बढ्न प्रेस काउन्सिल नेपाल कटिवद्ध र क्रियाशील छ ।

यहाँहरुलाई थाहा छ, प्रेस काउन्सिल नेपाल सम्पूर्ण नेपाली मिडिया र पत्रकारहरुको साझा अभिभावक संस्था हो । यो संस्थाको पहिलो र प्राथमिक कर्तव्य सञ्चारमाध्यम र पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रताको संरक्षण र सम्वर्द्धन नै हो भने दोस्रो कर्तव्य सञ्चारमाध्यम र पत्रकारहरुलाई आचारसंहिताको पालना गराई जिम्मेवार र उत्तरदायी बनाउने पनि हो । पहिलो कर्तव्य पूरा गर्नका लागि प्रेस काउन्सिलले नीति निर्माण गरी विविध कार्ययोजना कार्यान्वयन गर्दै आएको छ ।

दोस्रो, कर्तव्य पूरा गर्नका लागि प्रेस काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने केही सञ्चारमाध्यम र पत्रकारहरुलाई कारबाही पनि गरेको छ । यसरी कारबाही गर्दा प्रेस स्वतन्त्रता कुण्ठित नहोस् भन्नेमा प्रेस काउन्सिल सचेत छ । आचारसंहिता उल्लङ्घन गरी मुलुकको राष्ट्रियता र सामाजिक सद्भावमा जानीबुझि खलल् पुर्‍याउने मिडिया र पत्रकारहरुप्रति प्रेस काउन्सिल अलि कठोर रुपमा प्रस्तुत भएको छ । र आगामी दिनमा पनि यही नीतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गरिनेछ ।

-प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीले मंगलबार चितवनमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधरणसभामा व्यक्त विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment