+
+
Shares

विपद् व्यवस्थापनका लागि छुट्टै सरकारी संयन्त्र बनाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते १३:२३

earthquake-in-Nepal
२२ वैशाख, काठमाडौं । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले विपद् व्यवस्थापनको काममा समन्वय गर्नका लागि छुट्टै संरचना बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले बुधबार गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर छलफल गरी विपद् व्यवस्थापनका लागि अधिकार सम्पन्न संरचना बनाउन निर्देशन दिएको हो ।

समितिले विपद् व्यवस्थापनका लागि अलग्गै संरचना बनाउने सम्बन्धी विधेयक संसद्को चालु अधिवेशनभित्रै पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सदस्यहरुले भुकम्प, डढेलो, बाढीपहिरो जस्ता विपद्का काममा गृह मन्त्रालयको भूमिका प्रभावकारी नभएको भन्दै अलग्गै संरचना बनाउनुपर्नेमा जोड दिएपछि समितिले कानून नै बनाएर विपद् व्यवस्थापन सम्बन्धी संरचना बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सदस्यहरुले राष्ट्रिय अनुसन्धान विभागको भूमिकामाथि समेत प्रश्न उठाए । उनीहरुले विभाग पंचायतकालमा भन्दा निकै कमजोर बनेको र  गोप्य सूचनाहरु संकलन नगर्दा मुलुकमा विदेशी हस्तक्षेप बढेको बताए ।

समितिले शान्ति सुरक्षा, कारागार व्यवस्थापन, लागू औषध नियन्त्रण लगायतको कामलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायलाई आधुनिक प्रविधियुक्त बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयलाई पर्याप्त बजेट उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले पूँजीगत खर्च बढाउन गृह मन्त्रालयलाई पनि निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतका निकायले चालु आर्थिक वर्ष विनियोजित बजेटको जम्मा १६ दशमलव १३ प्रतिशत मात्र पूँजीगत बजेट खर्च गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?