
२२ वैशाख, काठमाडौं । हतियार र लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिगत केहि दिनदेखि काठमाण्डौ उपत्यकामा हातहतियारको कारोबार गर्ने गिरोह रहेको भन्ने गोप्य सूचनाका आधारमा अपराध महाशाखाबाट परिचालित विशेष टोलीले टेकुबाट सानेपा तर्फ जाने पुल नजिकबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङको शनिश्चरे ३ घर भइ हाल ललितपुरको बालकुमारी बस्ने ३१ वर्षीय नारायण श्रेष्ठ, मकवानपुरको हेटौडा-२ घर भइ सर्लाहीको लालबन्दी बस्ने ४५ वर्षीय रामचन्द्र थापा र ललितपुरको मनिखेल घर भइ हाल भक्तपुरको सानोठिमी बस्ने ३९ वर्षीय दिपक सापकोटा छन् ।
श्रेष्ठ २०६१ मा सशस्त्र प्रहरी जवानको भगौडा हुन् । उनले चितवन जिल्लामा सार्बजनिक अपराधमा समेत सजाय पाएको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ ।
हतियार बेच्ने योजना बनाइ सानेपाबाट छाउनी तर्फ गइरहेको अबस्थामा थापालाई हतियारसहित पक्राउ गरी अनुसन्धान गर्दा सापकोटा र श्रेष्ठ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
सापकोटा २०६२ सालमा मिना नेपालीको हत्यामा १० बर्ष कैद भुक्तान गरी मिति २०७२ कात्तिक ५ गते रामेछाप जिल्ला कारागारबाट छुटेका थिए ।
यसैगरी थापा डाँका चोरी मुद्दामा ६ बर्ष कैद भुक्तान गरी मिति ०७ २ कात्तिक ५ गते चितवन जिल्ला कारागारबाट छुटेका थिए ।
उनीहरूको साथबाट २ थान पेस्तोल र लागुऔषध लोरजेपाम तीन सय ट्याब्लेट बरामद भएको छ ।
प्रतिक्रिया 4