Comments Add Comment

यसरी बन्दैछ भैरहवा मुलुककै नमूना शहर

BhairwaAirport (2)२४ वैशाख, भैरहवा । एउटा यस्तो समय थियो, भैरहवा भन्ने वित्तिकै मानिसहरु नाक खुम्च्याउँथे । भत्किएका साँघुरा सडक, फोहोरै फोहोर, अव्यवस्थित शहर मच्छेडको खानी, यहाँको पहिचान थियो । तर, अहिले अवस्था ठ्याक्कै उल्टो भएको छ ।

अब भैरहवाले मुलुककै नमूना शहरको पहिचान बनाउँदैछ । फराकिलो ६ लेनको चिल्लो सडक, सडक छेउमा हरियाली, सफा तथा व्यवस्थित शहर, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटकको प्रमुख प्रवेशद्वार, व्यवस्थित रंगशाला, तारे होटलहरु यहाँको पहिचान बन्दैछन् । अहिले भैरहवा आउनेले नाक खुम्चाउँदैनन्, गौरवका साथ भैरहवाको नाम लिन्छन् ।

अहिले भइरहेको पूर्वाधार निर्माणको काम सम्पन्न हुँदा भैरहवा मुलुककै नमुना शहर बन्नेछ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा ठूला परियोजनाहरु बनिरहेका छन् । यस्तो लाग्छ, देशको विकास भैरहवा तथा लुम्बिनी क्षेत्रबाट सुरु हुँदैछ ।

6 lane sadak ko aakashe pool_bhairawaअहिले भैरहवाको विकास देख्दा सबै चकित हुन्छन् । भैरहवाको सरसफाइदेखि पूर्वाधार विकाससम्मको काम तिब्ररुपमा भइरहेको छ । अवको ३/४ वर्षभित्र भैरहवा मुलुककै आकर्षक र विकसित शहर बन्ने निश्चित छ । अहिले नै भैरहवा शहरले काँचुली फेरिसकेको छ ।

भैरहवामा अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । यो भैरहवाको गहना बन्ने स्थानीय बुद्धिजीवी बताउँछन् । भैरहवा बुटवल जोड्ने ६ लेनको व्यापारिक सडक यहाँको अर्को महत्वपूर्ण गहना हो । दुवै परियोजना भैरहवाको विकास तथा समृद्धिको मेरुदण्ड हुन् ।

एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७ सय १५ विगाहा क्षेत्रफलमा फैलिने यो विमानस्थललाई आकर्षक बनाउन ब्युटिफिकेसनमा विशेष ध्यान दिने परियोजना प्रमुख ओम शर्माले अनलाइनखबरलाई बताए ।

bhairabha_road (2)

भैरहवादेखि बुटवलसम्म बनिरहेको ६ लेनको व्यापारिक सडकलाई सर्वाधिक चासोका रुपमा पनि हेरिएको छ । मुलुककै ध्यान खिचेको यो सडकले भैरहवाको सुन्दरता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । अहिले नै भैरहवाको शहरी क्षेत्रमा  ६ लेनको सडक निर्माण सम्पन्न भइसकेको छ ।

आकाशे पुलसहित बन्ने यो सडक मुलुककै ठूला सडकमध्येको एक हो । अहिले काठमाडौंकौ कोटेश्वरदेखि भक्तपुरको सूर्याविनायकसम्म ८ किलोमिटर सडक ६ लेनको छ । भैरहवाको वीच भागमा रहेको यो सडकले भैरहवालाई निकै फराकिलो र आकर्षक बनाएको छ ।

Bhairahawa 6 Lane Sadak (3)

६ लेनको सडक परियोजनाका इञ्जिनियर लीलाबहादुर भण्डारीका अनुसार अहिलेसम्म भैरहवा र बुटवल क्षेत्रमा गरी ७.१ किलोमिटर सडक चौडा भइसकेको छ । मुलुककै नमूना सडक बनाउने लक्ष्य राखिएको यो सडक ०७४/०७५ सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

भैरहवाको बुद्धचोक, देवकोटा चोक र आँखा अस्पताल जाने बाटोमा आकाशे पुल राखिने भएको छ । आकर्षक डिजाइनमा रहने आकाशे पुल अपांगमैत्री हुने भण्डारीले जानकारी दिए । आकाशे पुलको स्केच तयार भइरहेको छ । यो पुल बनेपछि नेपालकै पहिलो अपांगमैत्री पुल हुनेछ ।

BhairwaAirport (1)विमानस्थलमा करिव ९ अर्ब रुपैयाँ लगानी गरेको एडीबीले भैरहवा शहरलाई व्यवस्थित तथा सुन्दर बनाउन पनि थप लगानी गरेको छ । भैरहवा नगर विकासमा एडीबीले पौने दुई अर्ब रुपैयाँ लगानी गरेको एकीकृत शहरी विकास आयोजनाका बरिष्ठ इञ्जिनियर एमलाल पाण्डे बताउँछन् ।

[sam_list] एडीबीको सहयोगलाई पहिलो प्राथमिकता शहरको सरसफाइमा दिइएको छ । शहरको फोहोर व्यवस्थापनका लागि पटखौली गाविसमा स्नेटरी ल्यान्डफिल बनाउने काम सुरु हुँदैछ । भैरहवाको सम्पूर्ण फोहोर यही ल्यान्डफिलमा फालिने पाण्डको भनाइ छ ।

‘६ विगाहा क्षेत्रफलमा ल्यान्डफिल बनाउँदैछौं, प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, एक महिनाभित्र काम सुरु गर्ने लक्ष्य छ’ आयोजना बरिष्ठ इञ्जिनियर पाण्डेले अनलाइनखबरसँग भने- ‘सबैभन्दा पहिला शहर सफा हुनुपर्‍यो, अनिमात्र अरु विकास निर्माणको कुरा आउँछ ।’

भैरहवाको धेरै ठाउँ वर्षातमा डुबानमा पर्छ । बढी डुबान हुने क्षेत्रमा ३२ किलोमिटर पक्की नाला बनाइँदैछ । २० किलोमिटर घाँस र फोहोर जमेको नाला सरसफाइ गरेर सहजै पानी बग्ने व्यवस्था मिलाइँदैछ ।

भैरहवा शहरको सुन्दरता बढाउन एडीबीले विशेष चासो दिएको छ । भैरहवा र लुम्बिनी क्षेत्रको एकीकृत विकास गरी वाषिर्क २० लाख पर्यटक भित्राउने एडीबीको लक्ष्य रहेको होटल व्यवसायी चन्द्रप्रकाश (सीपी) श्रेष्ठ बताउँछन् ।

6 lane road ko skech

भैरहवा शहरमा फराकिलो सडक निर्माण गर्ने, शहरमा हरियाली बनाउने, सरसफाई गर्न एडीबीले लगानी गरेको छ । अहिले एडीबीको सहयोगमा १३.३ किलोमिटर शहरी क्षेत्रको भित्री रोड भत्काएर स्तरोन्नति गरिँदैछ । शहरको गल्लामण्डी, मैत्रीपथ, नारायणपथ, चिल्ड्रेन पार्क रोड, उदयपुर रोड, जनक पथ र खजना पथ सडकको स्तरोन्नती काम भइरहेको छ ।

सडकको स्तरोन्नति गरेपछि छेउमा ग्रिनरी विकास गर्ने लक्ष्य राखिएको छ । शहरी क्षेत्रको सडक राम्रो र आकर्षक भएमा शहर त्यसै सुन्दर देखिन्छ । एडीबीले आफुले दिएको सहयोग राम्रोसँग सदुपयोग भएमा प्रोत्साहन स्वरुप रकम थपिदिन्छ ।

यहाँ पनि तोकिएको समयमा सम्पन्न हुनेगरी काम भइरहेको हुँदा एडीबी सकारात्मक देखिएको र रकम थपिदिने आशा रहेको बरिष्ठ इञ्जिनियर पाण्डेको भनाइ छ । पहिलो चरणको शहरी विकासको काम २०१७ को जुन ३० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाले एडीबीसँग दुई अर्ब रुपैयाँ थप सहयोग गर्न माग गरेको छ । यस विषयमा एडीबी पनि सकारात्मक रहेको बताइन्छ । यो सहयोग आएपछि थप ३५ किलोमिटर सडकको स्तरोन्नति गर्ने, उक्त सडकको छेउमा गि्रनरी विकास गर्ने, स्टेट लाइट जडान गर्ने, व्यवस्थित फुटपाथ बनाउने पाण्डेले बताए ।

BhairwaAirport (4)

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा शहरले काँचुली फेरिसक्ने पाण्डेको भनाइ छ । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले पनि वाषिर्क ५/६ करोडको सडक मर्मत, नालीहरुको निर्माण, सरसफाइ लगायतका कामहरु गर्दै आएको छ ।

भैरहवाको बेलहिया नाकामा अहिले धेरै ट्रक तथा कन्टेनर थुपि्रँदा निकै साँघुरो र फोहोर देखिन्छ । यही कुरालाई मध्यनजर गरी सरकारले निर्माणाधीन एकीकृत भन्सार जाँचपास चौकीको ५२ विगाहा जमिनमा व्यवस्थित यार्ड बनाउँदै छ । यार्ड बनेपछि बाटोमा थुपि्रने सबै ट्रक तथा कन्टेनर यार्डमा रहनेछन् । जसले बाटो क्लियर तथा सफा हुने छ ।

यसका अलवा भैरहवा तथा लुम्बिनी क्षेत्रमा बुद्धिष्ट चक्रपथ बनाउने काम पनि अगाडि बढेको छ । यसले यस क्षेत्रको आकर्षण थप बढाउने छ । ९० किलोमिटर बुद्धिष्ट सर्किट रामग्राम, देवदह, मणिग्राम, फर्साटिकर, लुम्बिनी हुँदै गोरुसिंगेसम्म पुग्ने छ । यो सडक १३ मिटर चौडाइको हुने बताइएको छ । जसको ९ मिटर पिच गरिने छ भने बाँकी भागमा नाली र फुटपाथ निर्माण गरिने छ ।

भैरहवाबाट लुम्बिनी जाने सडक पनि चार लेनको बनाउने प्रस्ताव भइसकेको छ । अबको तीन/चार वर्षभित्रमा यो सडक पनि चार लेनमा स्तरोन्नती भइसक्ने बताइएको छ । अहिले यो सडक साँघुरो भइसकेको छ । मुख्य सडकसहित भित्री सडकहरु फराकिला भएपछि भैरहवा आकर्षक देखिने छ ।

Bhirwa City

भैरहवाको अर्को आकर्षण बन्नेछ, विशेष आर्थिक क्षेत्र (सेज) । नेपालको पहिलो सेजले भैरहवाको सुन्दरतामा सुगन्ध थप्ने काम गर्नेछ । सेज निर्माण कार्य सम्पन्न भइसकेको छ, उद्योग सञ्चालन गर्नमात्र बाँकी हो । अबको तीन/चार महिनाभित्र यहाँ उद्योग लगाउन सुरु हुनेछ ।

अहिले नगरपालिका रहेको ठाउँमा भव्य मल्टिप्रपोज भवन बनाउने बहस सुरु भएको छ । बुट मोडलमा निजी क्षेत्रलाई दिएर त्यहाँ ९/१० तलाको भवन बनाउने लक्ष्य लिइएको छ । ग्राउन्ड र फष्ट फ्लोरमा नगरपालिकाको अफिस राख्ने, बाँकी तलामा सपिङ सेन्टर, मल्टिप्लेक्स सिनेमा हल लगायत राख्न सकिन्छ । यसले सहरको सुन्दरता बढाउनुका साथै भैरहवा लुम्बिनी घुम्न आउने पर्यटकलाई समेत आकषिर्त गर्ने छ ।

Bhairahawa 6 Lane Sadak (2)

भैरहवाको अर्को आकर्षण बनिरहेको छ, हेल्थ टुरिजम । यहाँ सुविधा सम्पन्न अस्पताल रहेका छन् । जुन भैरहवा शहरको आकर्षक पक्ष बनिरहेको छ । यहाँको आँखा अस्पतालमा भारत लगायतका देशबाट आँखा जँचाउन विरामीहरु आउँछन् । यहाँ हेल्थ टुरिजमको राम्रो विकास भइरहेको छ ।

भैरहवालाई मेडिकल हबका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । भैरहवालाई मेडिकल सिटीको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भवना छ । भारतसँग नजिक रहेको हुँदा यहाँ धेरै भारतीय विरामीलाई आकषिर्त गर्न सकिन्छ ।

BhairwaAirport (3)

लुम्बिनी आउने पर्यटक सबैभन्दा पहिला भैरहवा आउँछन । त्यही भएर भैरहवाको विकास अनिवार्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष रामकुमार शर्मा बताउँछन् । भैरहवादेखि नै पर्यटकले सुन्दर र शान्त वातावरणको महशुस गर्न पाउनुपर्ने उनको भनाइ छ ।

भैरहवामा अहिले सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने काम भइरहेको छ । रंगशाला पनि भैरहवाको महत्वपूर्ण आकर्षण बन्ने छ ।  अगामी केही वर्षमा सिद्धार्थ रंगशाला बन्नेछ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु हुनेछन् । जसले भैरहवाको पहिचान थप बढाउने छ ।

अहिले रंगशालाको मैदानमा माटो फिलिङ गर्ने काम सकिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल बताउँछन् । पछिल्लो समय भैरहवा तथा लुम्बिनी क्षेत्रम तारे होटलहरु खोल्ने होडबाजी चलेको छ । झण्डै आधा दर्जन पाँचतारे होटल खोल्ने घोषणा भइसकेको छ । लगानी घोषणा भएका तीन र चारतारे होटलको संख्या दोब्बर छ ।

भोलिका दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनहरु भैरहवा लुम्बिनी क्षेत्रमै आयोजना गर्न सकिने सम्भावना बढेको छ । यसले पनि भैरहवाको रौनकता थप्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

तस्विरः  कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment